अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
लघु कथा
विमल र विमलाकी छोरी सुन्तली विदेशमा डाक्टरी शिक्षा पढेर भर्खरै नेपाल फर्केकी थिइन् । सामान्य लेखपढमात्र भएका आमाबुबालाई सुन्तलीले सम्झाइन्, “अब मैले एक वर्ष नेपालको कुनै अस्पतालमा एक वरिष्ठ डाक्टरअन्तर्गत बसेर बिरामीको उपचार गर्ने प्रयोगात्मक शिक्षा प्राप्त गर्नुपर्दछ । त्यसपछि म कुनै अस्पतालमा जागिर पाउन योग्य हुनेछु । मैले मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गरिसकेकी छु ।”
विमलले छोरी सुन्तलीलाई डाक्टरी शिक्षा पढाउन आवश्यक खर्च व्यवस्थापनको लागि धेरै दुःख गरेका थिए । विमलाले पनि सुन्तलीलाई आवश्यक वातावरण तयार गरी दिएकी थिइन् ।
सुन्तलीको एउटा सरकारी अस्पतालमा एक वरिष्ठ पुरुष डाक्टरको मातहतमा प्रयोगात्मक शिक्षा सुरु भयो । एक महिना बित्यो । सुन्तली लगनशील भएर वरिष्ठ डाक्टरको मातहतमा बिरामीको उपचार गर्ने काममा खटिन् ।
अस्पतालमा डाक्टरहरूको आरामको लागि एउटा कोठामा दुईओटा शøया राखिएको थियो । एकदिन दिउँसै डाक्टर सुन्तलीलाई त्यो वरिष्ठ पुरुष डाक्टरले अस्पतालको डाक्टर आराम गर्ने कोठामा तानेर चुकुल लगाए र डाक्टर सुन्तलीमाथि हातपात गरे । वरिष्ठ डाक्टरबाट मुख थुनिएकी सुन्तलीको आवाज पनि निस्केन । आफ्नै अभिभावकजस्तो र गुरुसमेत वरिष्ठ डाक्टरबाट आफूमाथि हातपात हुनेबारे डाक्टर सुन्तलीलाई विश्वास पनि थिएन ।
धेरै अगाडि एक महिला प्रहरी कर्मचारी सुन्तली नामकैलाई एक पुरुष प्रहरीबाट हातपात भएको डाक्टर सुन्तलीले सुनेकी थिइन् । त्यो वरिष्ठ डाक्टरको आफूमाथिको हातपात डाक्टर सुन्तलीलाई त्यस्तै लाग्यो । केही वर्षअगाडि निर्मला पन्तलाई बलात्कारपछि हत्या गरिएको घटना पनि डाक्टर सुन्तलीले सम्झिन् ।
डाक्टर सुन्तलीले आफ्नो भएभरको साहस निकालेर आफूमाथि हातपात गर्ने वरिष्ठ डाक्टरविरुद्ध प्रतिकार गरिन् । त्यहीबेला कसैले ढोका ढक्ढक्याएको आवाज सुनियो ।
वरिष्ठ डाक्टरले चुकुलको ढोका अलिकति खोलेर हेरे । ढोका ढक्ढक्याउने एक अर्को पुृरुष डाक्टर थिए । वरिष्ठ डाक्टरले आफूलाई टाउको दुखेकोले चुकुल लगाएर आराम गरी बसेको झूटा कुरा गरे र औषधि ल्याइदिन अर्को डाक्टरलाई आग्रह गरे । वरिष्ठ डाक्टरको आदेश पालना गर्न अर्को डाक्टर औषधि लिन गए । त्यहीबेला वरिष्ठ डाक्टर कोठाबाट निस्केर कुलेलम ठोके ।
डाक्टर सुन्तली दुविधामा परिन् । वरिष्ठ डाक्टरबाट आफूमाथि भएको हातपात सार्वजनिक गर्ने वा चुप लागेर बस्ने ! डाक्टर सुन्तलीले घटनाबारे कसैलाई बताउने आँट पनि गरिनन् ।
डाक्टर सुन्तलीले महिला हिंसाविरुद्ध लड्ने साहस गरिन् । अस्पतालका प्रमुख डाक्टर, स्वास्थ्यकर्मीहरूलाई घटनाबारे बताइन् र नेपाल प्रहरी कार्यालयमा उजुरी दिइन् । अस्पतालमा सीसीटीभीको व्यवस्था छ । आफूमाथि भएको हातपात भएको कोठाभित्र सीसीटीभीको क्यामेरा थिएन तर वरिष्ठ डाक्टर उक्त कोठाभित्र र बाहिर गरेको सीसीटीभी फुटेजमा छ । यो बलियो प्रमाण हो ।
उक्त वरिष्ठ डाक्टरले यसअगाडि पनि अस्पतालका अन्य महिला स्वास्थ्य कार्यकर्तालाई हातपात गरेको सार्वजनिक भयो ।
अस्पतालका वरिष्ठ डाक्टर, नर्स र कर्मचारीहरू सबैले डाक्टर सुन्तलीलाई साथ दिए र प्रहरीले पनि साथ दिए । अन्ततः वरिष्ठ डाक्टर पक्राउमा परे ।
वरिष्ठ डाक्टर पक्राउ परेलगत्तै सत्यलाई ढाकछोप गर्ने पिशाचहरू सल्बलाए । पैसाको लोभ देखाउन थालियो । महिलाको चीर हरणलाई पैसासँग साट्ने प्रस्ताव आयो ।
डाक्टर सुन्तलीले अठोट गरिन्, “महिला हिंसाविरुद्ध सम्पूर्ण स्वास्थ्यकर्मीहरूको साथ लिएर लड्नेछु । जोसुकै होस् दानवहरूलाई कानुनबमोजिम कारबाही गराउने गर्छु ।”
अन्ततः दानवी व्यवहार गर्ने वरिष्ठ पुरुष डाक्टरलाई जेल सजाय भयो । समाजमा महिला हिंसा गर्नेहरू निरुत्साहित भए ।
डाक्टर सुन्तलीले सो अस्पतालमा प्रयोगात्मक शिक्षा प्राप्त गरी देशको कुनाकाप्चामा गएर बिरामीको सेवा गरिन् । केही वर्षपछि डाक्टर सुन्तलीले पनि विशेषज्ञ डाक्टर उत्तीर्ण गरिन् र भर्खरै उत्तीर्ण भएका डाक्टरहरूलाई आफूसँगै राखेर प्रयोगात्मक शिक्षा दिइन् ।
२०८१ कार्तिक २१ गते
Leave a Reply