अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
मानवशास्त्र, समाजशास्त्र, नेपालको कला, पुरातत्व, नेपालको सामाजिक इतिहास, सामाजिक संरचना, नेपालका जातीय संस्कारसम्बन्धी एक दर्जनभन्दा बढी कृति रचेका प्राध्यापक प्रेमकुमार खत्रीको अर्काे भिन्न कृति हो – ‘समसामयिक निबन्ध’ । जीवनको उत्तारचढावमा आफूले भोगेका, देखेका, पढेका र सुनेका कुरालाई समेटिएर लेखिएको यो कृतिमा कुनै निश्चित दर्शनको पण्डित्याइँ छैन ।
बुढ्यौलीको गोधुलीमा रुमलिँदा नयाँ पुस्ताका नयाँ सोचविचार, व्यवहार शैलीबाट उत्साहित, मन्द हतोत्साहदेखि पीडितसम्मको अवस्था झेलेका प्रा. खत्रीको विविध विषयमा आफ्नो मनको बह पोख्दापोख्दै तयार भएको यो कृति थोरै साभार र धेरै नयाँ विषय समेटिएको सङ्कलन हो ।
दाता पाएसम्म भिख माग्न नछोड्ने शासकहरू गरिबलाई माथि उठ्न नदिने र आफू तल झर्न नमान्नेहरूको वर्ग विश्लेषण गरिएको यो कृतिमा देश डुवाउन पल्केकाहरूले थोत्रो कपडामा झुप्रामा बास बस्न बाध्य नेपालीहरूको दुःख नबुझेको प्रा. खत्रीको दुःखेसो छ । पुर्खाबाट चलिआएको सदाचार, सद्भाव, सहकार्यका स्रोत र सन्देशलाई नयाँ पुस्ताले आत्मसात गर्नुपर्ने मार्मिक पक्ष र पुर्खालाई चिनेर र बुझेर अघि बढ्नुको सट्टा बेवास्ता गर्ने या परदेश जाने नयाँ पुस्ता र यहाँको नाता तोडेर विदेश पठाउन पाउँदा मख्ख परेका आमाबुबाप्रति घोचपेच गरिएको छ ।
उत्पादन भनेको श्रमबाट उब्जेको वस्तु हो† सीपको प्रतीक हो । चेतबाट चेतना र त्यसबाट संस्कृति उत्पन्न हुन्छ । सांस्कृतिक विविधता मानव जगत्को एक साझा सम्पदा हो । सांस्कृतिक विविधता राष्ट्रको विकासको स्रोत हो । संस्कृति मानव सोच र व्यवहारको विशाल भण्डार हो । संस्कृतिमा नयाँपन आउनु नराम्रो नभए पनि पुराना संस्कार, व्यवहार छोड्ने प्रवृत्ति गलत हो । परिवार र समुदायमा बसेका मानिसले संस्कृति बनाउने, अभ्यास गर्ने हो र बचाउने हो । संस्कृति मानव चेतनाको उच्चतम बिन्दु हो, यो मानव समाजको बहुआयामिक पक्ष हो । नेपालका सबै क्षेत्र, जाति वा आस्थासित आबद्ध सम्बद्ध संस्कृतिको सूक्ष्म अध्ययनले प्रत्येक संस्कृतिका पछाडि त्यस समुदायको जीवन दर्शन रहेको हुन्छ । संस्कार र संस्कृतिको दृष्टिले कुनै एक समुदाय धनी वा गरिब हुन नसक्ने प्रा. खत्रीको तर्क अस्वाभाविक होइन । संस्कृतिबिनाको कुनै जाति वा समुदाय छैन, दर्शनबिनाको उनीहरूको मौलिक जीवन शैली, सामाजिक संरचना, अभ्यास र संस्कार छैन । सबै दर्शन र संस्कृतिको अभिभावकको भूमिका खेलेमा संस्कृतिको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण हुन्छ । नयाँ पुस्ताले संस्कृतिलाई जीवन्त राख्नुपर्छ, परिमार्जन गर्नैपर्छ† जीवनोपयोगी बनाउनुपर्छ । विकृति, ढोँगी, खर्चिला र समाजमा विचलन ल्याउने कामलाई दुरुत्साहित बनाइनुपर्छ । सभ्यता मानिसको भौतिक उन्नति हो भने संस्कृति उसको मानसिक उन्नति हो । संस्कृति उन्नत मानव मस्तिष्कको द्योतक र जीवन पद्धति हो । यसरी प्राध्यापक खत्रीले नेपाली सभ्यता, संस्कृति र दर्शनबारे विश्लेषण गरेका छन् ।
देशको राष्ट्रिय झन्डा, मुद्रा, सीमा नक्सा, विशिष्ट व्यक्ति, प्राकृतिक र अन्य सम्पदाहरूलाई राष्ट्रको स्वायत्तता, स्वाभिमान र सार्वभौमिकताको प्रतीकको रूपमा मान्नुपर्छ भन्ने उनको धारणा छ । महात्मा गान्धी भारतको स्वतन्त्रताका प्रतीक, लेनिन, माओ त्सेतुङ, क्यास्ट्रो आ–आफ्नो देशको मुक्तिका प्रतीक, बुद्ध विश्वकै अहिंसा र शान्तिका प्रतीक, सगरमाथा विश्वकै शिर, चीनको पर्खाल अगम्य उत्साह र श्रमको प्रतीक मानिएको छ, ‘प्रतीक : अर्थ र प्रयोगको विशाल संसार’ शीर्षकको निबन्धमा ।
नेपालको सम्पदा क्षेत्रमा शताब्दीपुरुष सत्यमोहन जोशीको योगदानबारे पनि चर्चा गरिएको छ । पैदल हिँडेर शरीरलाई तन्दुरुस्ती बनाउने, असल कर्म नै संस्कृति ठान्ने सत्यमोहन जोशी संस्कृति, पुरातत्व, भाषा, कलाका क्षेत्रमा बृहत् अध्ययन गर्ने, अनुसन्धान गरेर देश विदेशमा ख्याति कमाएका वाङ्मयका युगपुरुष हुन् । नेपाली लोक साहित्य, लोक गाथा र जीवन दर्शनबारे अनुभव सँगालेका साहित्यानुरागी, शिल्पी अनुसन्धान गर्ने उनी कहिले व्यक्ति र कहिले संस्थाको रूपमा प्रस्तुत हुन्थे ।
युवा विदेश पलायन नभई देशलाई संसारसामु चिनाउनुपर्छ भनी सन्देश छरेको यो कृतिमा देशभक्तिको भावना पोखिएको छ । सम्पदा शिक्षालाई प्राथमिक तहदेखि पढाउनुपर्ने आवश्यकता औँल्याइएको यो कृतिमा अमूर्त संस्कृति वा सम्पदा क्षेत्रका विश्वविद्यालय अग्रसर हुनुपर्ने लेखकको विचार रहेको छ ।
कर्णाली सभ्यताको समग्र अध्ययनको प्रारम्भिक चर्चामा भाषा, साहित्य र जनजीवनको संस्कृति क्षेत्रलाई सिञ्जाको केन्द्र मानिएको छ । लिमी, सिमिकोट, सिञ्जा आदि क्षेत्रलाई सुर्खेत सङ्ग्रहालयको नेतृत्व जोडेर थालनी गर्नुपर्ने आवश्यकताबोध गरिएको छ ।
मिथिलाको राजधानी र सांस्कृतिक केन्द्रको रूपमा सुविख्यात नगरी जनकपुरलाई केन्द्र मानिएको छ । प्राचीन नेपालको मिथिला वैदिक साहित्य र दर्शनको घर मानिएको छ । मिथिलाको राजधानी जनकपुर शैक्षिक केन्द्र मानी जनकपुर विदेहको राजधानी र शैक्षिक सभ्यताको राजधानीको रूपमा हेरिएको छ ।
‘मिथिला परिक्रमा’ भाग २ मा परिक्रमाको आवश्यकता र महत्वबारे चर्चा गरिएको छ । वैदिककालदेखि नै चर्चित व्यक्ति, स्थान, देवमूर्ति, मन्दिर र पवित्र स्थानको परिक्रमा गर्ने चलन अद्यापि छ । सामाजिक सङ्गठनात्मक प्रवृत्तिलाई प्रोत्साहित गर्न, आपसी स्नेह र सद्भाव बढाउन परिक्रमा गर्ने गरेको उहिलेको चलनको स्मरण गरिएको छ ।
ज्ञान आर्जन गर्ने पुस्तकालय र आर्जित ज्ञान अन्तरक्रिया, प्रवचन, अध्ययन गोष्ठी गरेर अरुलाई बाँड्ने स्थल वाचनालयको आवश्यकता र महत्वबारे पनि कृतिमा चर्चा गरिएको छ । सद्भाव, सदाचार, स्वच्छ प्रशासन, स्वच्छ आचरण, स्वच्छ राजनीति, स्वच्छ प्रशासन, सहभागितामूलक शिक्षा, राजनीति र संस्कृतिको निम्ति तथा भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीको अन्त्यको लागि सुसूचित पार्ने केन्द्रको रूपमा ठाउँ–ठाउँमा वाचनालय आवश्यक हुन्छ ।
पुङ न पुच्छरको भाषण गर्ने नेताहरूप्रति इङ्गित गर्दै लेखक एवम् प्राध्यापक खत्रीले हचुवा नीतिको आत्मसात गर्ने घिचुवा नेताहरूको लामो झर्काेलाग्दो भाषणले दर्शकहरू वाक्कदिक्क भएको प्रसङ्ग पनि कृतिमा उल्लेख गरिएको छ । तराईमा अहिले पनि वर्गीय शोषण, सामाजिक विकृतिजन्य भेद कायम भएको, अभाव र पीडाले तराईका जनता पीडित भएको स्मरण गरिएको छ ।
विश्वविद्यालयले प्राध्यापकहरूलाई अनुसन्धान कोष उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउँदै लेखक खत्रीले देशोपयोगी सिद्धान्त बोकेको पीएचडी शोध देशको लागि आवश्यक भएको भनी सरकारको ध्यान खिचेका छन् ।
प्राध्यापक खत्री नयाँ पुस्ताको बिदेसिने क्रम नरोक्दा स्वदेश विदेशमा युवा पुस्तामा संस्कृत चेतमा ¥हास आएकोमा चिन्तित छन् । युवा पुस्ता ऊर्जाशील, क्षमतावान् भए पनि ठुलो जमात श्रमबजारमा बिकेकोमा चिन्ता व्यक्त गर्दै सुशिक्षित र दीक्षित नयाँ पुस्तामा पर्याप्त चेत, अभ्यास, सोच र सदाचार आवश्यक भएको प्रा. खत्रीको अभिमत छ ।
राजनीति देशको मूल नीति भएकोले यसले देशको सर्वातामुखी विकासका लागि दरिलो खाका कोरेर र कार्यान्वयनमा जानुपर्ने प्राध्यापक खत्रीको मत समय सान्दर्भिक देखिन्छ । देश कुनै पनि प्रकारको उपनिवेशमा फस्न नहुने उनको जोड रहेको छ । जहाँ गरिबी छ, अभाव छ, त्यहाँ नेता छैनन्, हुँदैनन् भनी छेड हानिएको यस कृतिमा नेपालमा सद्भाव, सहभागिता र सम्मिलन र सदाशयतालाई सामाजिक द्वन्द्वको जग हाल्ने र द्वन्द्व सिर्जना गर्न नहुने उनको अभिमत न्यायोचित देखिन्छ ।
सालहरू ढल्दै जाँदा उमेरले जिरो स्पर्श गर्ने सङ्केत पाएपछि सो स्पर्श नगर्दै एउटा सानो विचारसङ्ग्रह प्रकाशित गर्ने मनलाई पूरा गर्न यो कृति प्रकाशमा आएको हो । विभिन्न जातिका इतिहास, भाषा, अधिकार, संस्कृति शोधलाई अभियानको रूपमा लाने अभियन्ता लेखकलाई सम्मान–पुरस्कार, जातिको इतिहास लेखनलाई प्रोत्साहित गर्न पनि यो कृति थोरै समयमा छापिएको प्रा. खत्रीको अभिमत छ ।
निबन्धमा कुनै दर्शनको पण्डित्याइँ छैन । निबन्ध टेबुलगफजस्तो देखिन्छ । यसमा प्रारम्भ र अन्त्यको मिलनबिन्दु देखिँदैन । हरेकजसो निबन्धमा ‘सार’ र ‘पृष्ठभूमि’ दिइएको छ । निबन्धको बिचबिचमा सहायक शीर्षकहरू दिइएका छन् । कहीँकतै उपसंहार पनि दिइएको छ । मानवशास्त्र, समाजशास्त्र, पुरातत्व, कला, सामाजिक इतिहास, संस्कृति र जातीय संस्कारसम्बन्धी ग्रन्थ लेखिसकेका प्रा. खत्रीले समसामयिक विषयमा निबन्ध लेखेर साहित्यिक आयाममा पाइला टेकेर साहित्यको फाँटलाई अझ चौडा बनाएका छन् ।
‘समसामयिक निबन्ध’ सम्पदा अनुसन्धान सदनले प्रकाशित गरेको हो । २०८० चैतमा प्रकाशित यो पुस्तकको मूल्य रु. ५०० रहेको छ । प्रकाशक र लेखकलाई साधुवाद छ ।
Leave a Reply