अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
म एक कलम हुँ । आज किन किन मेरो जाँगर चलिरहेको छैन । मलाई महँगो पेट्रोल र डिजेल त चाहिन्न, न त चार्जिङ स्टेसन । तर, पनि मलाई एक पाइला चाल्ने मन छैन । ए लेखक ! तिम्रा औँलाहरूको अँगालोमा कसिएर बस्ने चाहना बाँकी रहेन । तिमीले भरेको रातो मसी बाँकी नै छ । मसी सकेको पनि होइन । तर, आज म तिमीविरुद्ध विद्रोही भएको छु ।
तिम्रो चाहना बेगर मेरो निब खाली पानामा आफै दौडेको पनि थाहा छैन । हिजोसम्म मेरो निबले तिम्रो हुकुम मान्थ्यो । तिमीले जे चाहन्थ्यौ, मेरो निबले त्यही लेख्थ्यो । म थाक्थेँ, तर मेरो निब कहिल्यै थाकेन । जब मसी सक्थ्यो, अनि निब मसीको भाँडोमा तिमी चोपेर मसी हाल्थ्यौ ।
कहिले खल्तीमा, कहिले झोलामा त कहिले टेबलको कलमदानीमा तिमी फ्याक्ने गक्थ्र्यौ । सधैँ तिम्रो आदेश मानी बसेँ । बाल्यकालमा क ख रा सिक्दादेखि किन्दै, काममा आउञ्जेल चलाउँदै गए । अनि नयाँले पुरानोलाई विस्थापन गर्दै गयो । म निर्जीव भएकोमा तिमीले फाइदा लियौ । तिमीले सोच्यौ, मसँग प्राण छैन । तिमीले हाल्ने मसीले मेरो रक्तसञ्चार हुन्छ र चलायमान हुन्छ ।
तापनि मेरो निबले आज चेतनाको बिर्को खोलेजस्तै मलाई व्यवहार गरिरहेको छ । हिजो तिम्रा आँसु, माया, प्रेम, सपनालगायतका भावनाहरू अभिव्यक्त गर्न साथ दिने मेरो निब आज गतिहीन छ । मेरो निब आफ्नै कथा लेख्न चाहन्छ । तिमी औँलाहरूलाई त्यसको विपरीत निर्देशन दिन्छौ । तिमी त एक मालिक पो भएछौ, मेरो आवाज सुन्न आवश्यक नै ठानेनौ । मजस्ता जाबो कलम त बजारमा जति पनि किन्न सकिन्छ । यान्त्रिक युगमा दामअनुसारका कलमहरू पाइने बेला मजस्तो पुरानो कलमको व्यथा लेख्नु तिमीजस्तो लेखकलाई सुहाउने पनि होइन ।
तिम्रो त्यो लेखकीय घमण्डले गर्दा हो कि आज मेरो निबले तिम्रा औँलाहरूको निर्देशन नै मान्दैन । जबरजस्ती लेख्न खोज्दा तिम्रो भाव नै प्रकट हुँदैन । किनकि, आज म तिमीविरुद्ध उभिएको छु ।
तिमीले मेरो निबको दुरूपयोग त गरेका छैनौ ? देशका महाकालीलगायतका नदीनाला बेच्ने सन्धिमा हस्ताक्षर त नेता तथा तिनका सचिवले गरेका हुन् । एमसीसीमा हस्ताक्षर त देशकै संसद्का होनहार नेताले गरेका हुन् । देशका कलकारखानाहरू बन्द गर्ने कार्यमा हस्ताक्षर त अरुले नै गरेका हुन् । युवाहरू विदेश पठाउने धन्दामा हस्ताक्षर पनि अरुले नै गरे । तिमीजस्ता साधारण लेखकले हस्ताक्षर गरेका होइनौ । तर, पनि मेरो निब तिमीसँग रिसाएको छ ।
तिमीले गल्ती नै नगरे पनि मेरो निबले तिम्रो दोष भेटाएको छ । तिमीले औँलाहरूलाई ती सम्पूर्ण कथा लेख्न निर्देशन दिएन भनेर घुर्की लगाएको छ । बजार भाउ आकासिँदा खाली पाना किन्न पनि पैसा जोगाउनुपर्ने बेला गरीबको ढाड भाँचेको कुरा नलेखेकोमा मेरो गुनासो छ । तिमी आफू स्वयम् ज्वरोले थला पर्दा सितामोलको कथा लेख्दैनौ । आफू बेरोजगार भएर हल्लिएर बस्दा बेरोजगारीको कथा लेख्दैनौ । चाहिने कुरा लेख्दैनौ, अनि नचाहिने कुरामा मलाई थकाउँछौ ।
निर्मला काण्ड, सुन काण्ड, सहकारी काण्ड चर्किरहँदा राष्ट्रिय भाउजूको कथा लेख्दैनौ । प्यालेस्टिनीलाई जिउँदै सहिद बनाउँदा तिमी लेख्न मान्दैनौ । हनुमन्ते र रोशी उर्लेर सहर पस्दा बाढीको कथा लेख्छौ तर सहर खोलामा पसेको भन्न डराउँछौ । बालुवाटारको विष्णु बालकोटमा रमाएको देख्दा विद्रोहको कथा लेख्दैनौ । अनि कलमले तिमीलाई सहिद गेटमा लगेर टाँगिन खोजेको आरोप लगाउँछौ ।
तिमी भन्छौ, अब सहिद बन्ने समय होइन । तिम्रो सहादतमा वार्षिक श्राद्ध गर्ने मौका अरुलाई त्यत्तिकै दिन चाहन्नौ । सहिदका सपनाहरूको श्राद्ध गर्ने देशमा तिमी आफ्नो सपनाको सहादती स्वीकार्दैनौ । बरु जसले यहाँ दिउँसो नै रात पारिरहेको छ, तिनको चर्चा गर्न लगाउँछौ । गरीबको आँसुको कथा लेखेर धनीले गरीबलाई रुवाउँदा पनि तिमी मलाई ती कथाहरू लेख्न लगाउँदैनौ । तिम्रो मालिक रिसाउने डरमा उसैको गान गर्छौ । त्यसैले म तिमीसँग रिसाएको छु ।
ब्यानरबाजी गर्ने सर्वहारा नेताको गुणगाणमा मलाई तिमी नचाउँछौ । तर, तिमीले आफ्नो मातहतका जनतालाई चुसेको कुरा लेख्न डराउँछौ । ती नेतालाई हरेक आन्दोलनको ब्यानर समाउन नपाउँला भन्नेमात्र डर रहन्छ, नपाए नेतृत्व गुमाएको सोच्न पुग्छ । पछाडि आएका जनताको लहर त उनलाई भेडाको बथानभन्दा अरु केही लाग्दैन । तिमी त्यसको गुणगाणमा मलाई थर्काउँछौ ।
आज मलाई कलम हुनुमा हीनताबोध हुन्छ । कारण तिमी हौ । तिमीलाई मेरो असन्तुष्टि मन पर्दैन । अनि नयाँ नयाँ कलम किन्न तिमी सिपालु बन्छौ । कुनै कलममा निलो मसी त कुनैमा कालो अनि कुनैमा रातो मसी हाल्छौ । विद्यार्थी जीवनमा तिमीले थुप्रै कलम चलायौ । सुगा कम्पनीको निलो मसी भरेर तिम्रो विद्यार्थी जीवन बित्यो । विद्यालयमा गुरुले अ¥हाएका कुराहरू गृहकार्य भनी धेरैचोटि मलाई घोट्यौ । तर, मैले कहिल्यै विद्रोह गरिनँ । म बिरामी हुँदा बुबालाई फकाएर तिमी नयाँ कलम किन्थ्यौ । म पुरानो कलमकहाँ पुग्थेँ, म आफैलाई थाहा हुन्थेन । पछि कालो मसी हालेर पनि चलायौ । व्यावसायिक प्रयोजनका लागि धेरैपटक कालो मसीयुक्त कलमहरू चलायौ । पहिलेभन्दा म कम चल्न थालेँ । पछि अलि थोरै रातो मसी पनि चलायौ । बिस्तारै म र तिमीबिच दूरी बढ्न थाल्यो । किनकि, अब तिम्रो खल्तीमा कलमभन्दा डटपेन सज्जिन थाल्यो । कम्प्युटरको किबोर्ड आएपछि त कलम पनि नचाहिने भयो । खोलो ट¥यो लौरो बिर्सियो । म कलमदानीमा सीमित भएँ ।
मेरो तथ्याङ्कमात्र राख्ने हो भने, एउटा मोटो कापी भरिन्छ । तर, तिमीसँग त्यसको लागि फुर्सद पो कहाँ छ र ? अहिले त तिमी सौखिन लेखक पो भएका छौ त । अर्कोतर्फ बिस्तारै तिमीसँग मेरो पारपाचुके हुँदै छ । मैले तिमीलाई प्रेम नगरेको होइन, अनि तिमीले मलाई माया नगरेको पनि होइन । तिमीले थुप्रै कलमसँग रासलीला मनाएका छौ । बजारबाट आउनेबित्तिकै कलमको अस्मितासँग खेलबाड गरेका छौ । नयाँ कलमले लेख्दा तिमीलाई मज्जा लाग्छ । किनकि, तिमी मालिक भएका छौ । तिमी आफ्नो इच्छामा कलमहरू फेर्न सक्छौ । यो तिम्रो अहम्ले हो कि आजभोलि म तिमीसँग टाढिएको छु । किनकि, मैले आफूलाई म्याक्सिम गोर्कीजस्ता लेखकको कलम सोचेको थिएँ । तिमी त डरपोक लेखक पो रहेछौ । तिम्रो त्यो कायरताले गर्दा गोर्कीको कलम बन्ने सपना तुहिएको छ ।
म अब तिमीले भनेजस्तो कथा लेख्न सक्दिनँ । तिम्रो भावना र मेरो भावना नै मिल्दैन । म अब तिम्रो लागि आँखाको कसिङ्गर बनेर बस्न सक्दिनँ । एउटा कलमले नलेखे अर्को कलम किन्ने सामथ्र्य तिमीसँग छ । किनकि, तिमी मालिक भएका छौ, अनि म केवल दास । चीन, रसिया, भारत, क्युवाजस्ता धेरै ठाउँमा किसानले विद्रोह गरेको मैले सुनेको छु । रोमको दास विद्रोहको कथा पढेको छु । तापनि मैले तिमीविरुद्ध कहिल्यै विद्रोह गरेको थिइनँ । तर, आज म विवश छु ।
तापनि खोइ तिमीसँग बिताएको स्निग्ध सम्बन्ध भुल्न सकिरहेको छैन । तिमीसँग पारपाचुके हुने अवस्था छ । तापनि तिम्रो यादमा आज म बौलाहा भएको छु, कलमदानीमा सीमित भएको छु ।
कलमबिनाको लेखक त भष्मबिनाको जोगीजस्तो, बाणबिनाको अर्जुनजस्तो, श्रृङ्गारबिनाको नयाँ दुलही जस्तो अपुरो र अधुरो ठान्थेँ । म पनि तिमीबिना अपुरो छु । म आज पासामा हारेर द्रौपदीको चिरहरणमा बोल्न नसक्ने पाण्डवजस्तै लाचार तिम्रा औँलाहरूबाट घायल भएको छु । खाली पानामा न्यायको लागि अर्को महाभारतको प्रतिक्षा गरिरहेको छु । उही तिम्रो कलम ।
Leave a Reply