अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
नेपाली जनता बारम्बार प्रश्न गर्दै छन् – शासक दलहरू, देशलाई कहिले आत्मनिर्भर बनाउने ? आफ्नै खुट्टामा उभ्याउने ? गुलियो चास्नीमा झिँगा बसेजस्तै सत्ताको चास्नीमा फसेका, स्वाद चाखेका नेताहरूले हिजो पञ्चायत व्यवस्थाको अन्त्य गर्न सङ्घर्ष गरेका थिए । त्यसबेला तिनीहरूमा दशभक्तिको भावना सिद्धान्त, विचार, आदर्श, र समर्पणको भावना थियो । आवश्यक पर्यो भने देशको लागि ज्यान दिन पनि तयार हुने भन्थे । कार्यकर्तालाई पनि त्यसरी नै तयार गरिएको थियो । त्यसैको परिणाम २०४६ सालको जन आन्दोलनले पञ्चायत ढल्यो । तर, पञ्चायतको अवशेष बाँकी रह्यो । पञ्चायत ढलेको ३५ वर्ष भयो । त्यसको अवशेष शासक दलहरूमा प¥यो । त्यसैले आज देश आत्मनिर्भर भएन । तर नेताहरू धनी भए । उनीहरू मेरो सुन्दर प्यारो गाउँ, जन्मभूमि भन्छन् । तर, काठमाडौँ आई बङ्गला ठड्याएर बसेका छन् । अनि देशको सन्तुलित विकास कहाँ हुन्छ ? भष्टाचार गरेर, अकुत सम्पत्ति जोडेर देश विकास कहाँ हुन्छ ? यसमा राष्ट्रसेवक, उच्च कर्मचारीहरू पनि अछुतो रहेनन् । उनीहरू विदेशीको विभिन्न नामका गुलियो चास्नीमा डुबे । यसको प्रभावमा उनीहरूमा स्वच्छ र देशभक्ति भावना भएन ।
यी शासक दलका नेताहरू ३५ वर्षसम्म पालैपालो सत्तामा गए । उनीहरूले सत्ताको स्वाद चाखे । त्यसको स्वादले या विदेशीको एनजीओ, आइएनजीओको गुलियो चास्नीले देशभक्ति भावना, विचार, नैतिकता सबै माटोमा मिल्यो । उनीहरू कसैले पनि देशलाई आत्मनिर्भर बनाउन खोजेनन् । देशको लागि रगत पसिना बगाउन र कार्यकतालाई नमुना बन्न सिकाइएन । जसरी पनि राजनीति र विकासको नाममा छिटो धन कमाउन सिकाइयो, देशको सम्पत्तिमा रजाइँ गर्न, देशको सम्पत्ति बेच्न र युवा विद्यार्थीहरूलाई रोजगार र पढ्ने नाममा विदेशमा पठाउन हौस्याइयो । देशका युवा, विद्यार्थीहरूलाई विदेश पठाएर देशको विकास हुने होइन, देश आत्मनिर्भर हुने होइन । नेपालका ८० लाख युवा विद्यार्थीहरूलाई नेपालमा साम्राज्यवाद, विस्तारवाद, उपनिवेशवादविरुद्ध आवाज उठ्छ, विरोध हुन्छ, कम्युनिस्टको आन्दोलन अगाडि बढ्छ भनेर उनीहरूले रोजगार र पढाइको नाममा विदेश पठाउन हौस्याएका हुन् । देशघाती एमसीसी सम्झौताको विरोधमा, महाकाली सन्धिको विरोधमा कति युवा, विद्यार्थीहरू प्रतिरोधमा सडकमा ओर्लने उनीहरूले हेक्का राखेकै होला ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छँे (रोहित) ले आजभन्दा ४० वर्ष अगाडि नै एक पर्यवेक्षकको नाममा आधार साप्ताहिक वर्ष १,२०४१ साल अङ्क १९ देखि २६ सम्म क्रमशः ‘नेपालको आर्थिक सन्दर्भ, के नेपाल आफ्नै खुट्टामा उभिन सक्नेछ ?’ र ‘जनसङ्ख्या नियन्त्रणबाट तुलनात्मक अध्ययन’ शीर्षकका लेखहरू प्रकाशित गर्नुभयो । उहाँले त्यसैबेला नै छिटो आर्थिक विकास गरी नेपाललाई आत्मनिर्भर बनाउन सकिने उपायहरूबारे बेलाबेलामा सभा, बैठक, छलफल, गोष्ठी र सम्मेलनमा कार्यकर्ता र जनतालाई प्रशिक्षित गर्दै आउनुभएको थियो । यही लेखहरूको सँगालो ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ भन्ने पुस्तक हो । यो २०४६ असारमा प्रथम पटक प्रकाशित भएर २०५८ साउनमा दोस्रो संस्करण प्रकाशन भयो । शासक दलका नेताहरू त्यतातिर नलाग्दा देश यसको ठीकविपरीत गलत दिशातर्फ गइरहेको हो । महत्वपूर्ण पुस्तकको यो विचार, शासक नेताहरूको दिमागमा पसेन । उनीहरूको दिमागमा अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवादले कालोपट्टि बाँधिदिएको छ । शासक दलहरूले त्यसबेलादेखि यो पुस्तकको भावना, मर्म, सन्देशअनुसार काम गरेको भए ८० लाख हाम्रा युवा विद्यार्थीहरू विदेशीको सेवा गर्न बाहिरिनु पर्ने थिएन । उनीहरू देशमै बसेर पढ्ने र देशकै लागि यही बसेर काम गर्न वातावरण हुने थिए ।
नेपाली शासक दलका नेताहरूले किन त्यसो गर्न आँट गर्दैनन् ? किन चुपचाप रहेर लम्पसार बस्छन् ? अमेरिकी राष्ट्रपति मुनरोले ल्याटिन अमेरिकी देशहरू सेरा अमेरिकाको करेसाबारी हो, त्यहाँ मेरो अनुमतिबगेर कोही पस्न पाइँदैन भनेजस्तै नेपाल, दक्षिण एसिया र भारतको आँगन, करेसाबारी हो । यहाँ पनि उसको अनुमतिबेगर कोही देश आउन पाइँदैन भन्ने उनको एकाधिकार, हैकम र हस्तक्षेप नेपाल र नेपाली जनताले भोग्दै आएका छन् । नेपालले उनको आदेशलाई वास्ता नगरी चीनलगायतका मित्र देशहरूसँग देशलाई अत्मिनिर्भर बनाउन, विकास गर्न सहयोग लिन खोज्दा बाहिरी दुनियाँलाई देखाउन राम राम भन्दै नाकाबन्दी गरेर घाँटी अँठ्याएको नेपाली जनताले कहिले पनि बिर्सन सक्दैनन् ।
वि. सं. २०१८ मा नेपालले छिमेकी मित्र राष्ट्र चीनसित कोदारी राजमार्ग बनाउने सम्झौता गर्याै भनेर तत्कालीन भारतीय प्रम जवाहरलाल नेहरूले नाकाबन्दी गरे । वि. सं. २०२७ सालमा प्रम कीर्तिनिधि विष्टले नेपालको उत्तरी सीमा नाकामा बलजफ्ती राखेको १८ वटा भारतीय सैनिक चेकपोस्ट हताउँदा भारतीय प्रम इन्दिरा गान्धीले त्यसको बदलामा नाकाबन्दी गरिन् । वि.सं २०४५ सालमा भारतको अनुमतिबिना, ऊसँग नसोधी चीनबाट कोदारी राजमार्ग हुँदै एन्टी एयरक्राफ्ट गणलगायतका हतियार ८४ बाकस ल्यायो भनेर भारतीय प्रम राजीव गान्धीले नाकाबन्दी गरे । यो तेस्रो पटकसम्मको नाकाबन्दीले नेपाललाई त्यति असर पार्न सकेन किनभने त्यसबेला नेपाल कृषिमा आत्मनिर्भर थियो । तर, २०७२ भएको नाकाबन्दीले नेपालको घाँटी अँठ्याउने काम गरेको नेपाली जनताले पीडा बिर्सेका छैनन् । त्यसो हुनुको कारण गहुँ, चामल, तरकारीलगायतका सबै उपभोग्य सामानमा भारत निर्भर बनाइसकेको थियो । कृषिप्रधान देश हाल कृषिमा भारत निर्भर छ । अबको नाकाबन्दी त्योभन्दा कठोर हुनेछ । त्यसै नाकाबन्दीको कारण नेपाली जनता भोकभोकै बस्नुपर्यो । यो नाकाबन्दीबाट यहाँका शासक दल र नेताहरू अझै चेतेका छैनन् । त्यसबाट पाठ सिकेर शासकहरूले देशलाई अगाडि बढाउनुपर्ने हो । उनीहरूलाई जसरी पनि सत्ता चाहिएको छ । उनीहरू देशघाती काममा फसिसकेका छन् । २०७२ सालको विनाशकारी भूकम्पले ठुलो धनजनको क्षतिको पीडा भोगिरहेको नेपाल र नेपाली जनतालाई खुला मन र सहानुभूति राखेर सहयोग गर्नुपर्नेमा भारतले भनेजस्तो संविधान घोषणा गरेन भनेर तराईकेन्द्रित दलका नेताहरूलाई बाटो, नाकामा उपद्रो गराएर इन्धन, ग्यास खाद्यान्नलगायतका सामान रोकेर नाकाबन्दी गरेका थिए । नेपालको सार्वभौम र स्वाधीन अधिकारमाथि हस्तक्षेप गर्न भारतीय विदेशमन्त्री एस. जय शङ्कर नेपाल आएर सरकारलाई दबाब दिएको थियो । तर, त्यसलाई अस्वीकार गरी प्रम सुशील कोइरालाको पालामा राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ घोषणा गरे । त्यसको झोकमा नाकाबन्दी गरिएको थियो । शासक दल र त्यसका नेताहरूमा देशभक्ति भावना हुनुपर्छ । देशलाई स्वतन्त्र, आत्मनिर्भर बनाउन र विकास गर्न अगाडि बढ्नुपर्छ ।
Leave a Reply