भर्खरै :

नोभेम्बरमा भित्रिए एक लाख १४ हजार पर्यटक

नोभेम्बरमा भित्रिए एक लाख १४ हजार पर्यटक

काठमाडौँ, १६ मङ्सिर (सेतोपाटी) । सन् २०२४ को नोभेम्बर महिनामा एक लाख १४ हजार पर्यटक भित्रिएका छन् ।
पर्यटन बोर्डको तथ्याङ्कअुसार गत महिनाभरिमा एक लाख १४ हजार ५०१ पर्यटक भित्रिएका हुन् । अघिल्लो महिना अक्टोबरमा एक लाख २४ हजार पर्यटक भित्रिएका थिए । पर्यटकीय सिजनमा पर्वतारोहण, पदयात्रा र धार्मिक यात्राका लागि पर्यटकहरू नेपाल आउने गरेको बोर्डले जनाएको छ । तर, यसपालिको सिजनमा अपेक्षा गरेअनुसारको पर्यटक नबढेको बोर्डका निर्देशक मणि लामिछानेले बताउनुभयो ।
“पर्यटकीय सिजनमा हामीले डेढ लाख बढी पर्यटक आउँछन् भन्ने आकलन गरेका थियौँ । तर, बाढी पहिरो र विमानस्थल बन्दलगायतले पर्यटकले बुकिङ रद्द गरे, त्यसैले आगमन केही घट्यो”, उहाँले भन्नुभयो ।
यसपालि घुम्न आउनेमध्ये सबैभन्दा धेरै १९ हजार ९१५ भारतीय पर्यटक रहेका छन् । त्यस्तै, अमेरिकाबाट १० हजार, चीनबाट ९ हजार, अस्ट्रेलियाबाट ४ हजार, श्रीलङ्काबाट ४ हजार, बेलायतबाट साढे ६ हजार पर्यटक आएका छन् ।
तथ्याङ्क हेर्दा अघिल्लो महिनाको तुलनामा श्रीलङ्काबाट नेपाल घुम्न आउने पर्यटक बढेका छन् । अघिल्लो महिना एक हजार पर्यटक घुम्न आएका थिए भने यसपालि चार हजार ३९५ पर्यटक आएका छन् । त्यसैगरी, बङ्गलादेशबाट ५ हजार, जर्मनीबाट झन्डै ४ हजार पर्यटक भित्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *