भर्खरै :

नयाँ सरकारले सहकारीका विसङ्गति हटाउन नसक्ने

नयाँ सरकारले सहकारीका विसङ्गति हटाउन नसक्ने

भक्तपुर, २५ असोज । पवित्र बचत तथा ऋण सहकारी संस्था लि.को १९ औँ साधारणसभा आइतबार सम्पन्न भयो ।
सभामा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेले अहिलेको नयाँ सरकारका मन्त्रीहरूमा विभिन्न विषयवस्तुबारे ठोस ज्ञान, योजना र गम्भीरताको अभाव रहेकाले सहकारी क्षेत्रमा देखिएका समस्याको तत्काल समाधान हुने सम्भावना कम रहेको बताउनुभयो ।
सहकारी संस्थाहरूमा मौलाइरहेका विसङ्गति हटाउने नाममा महिनैपिच्छे नयाँ–नयाँ नीति नियम ल्याउने गरिएको भए पनि ती नियम विज्ञहरूसँगको अध्ययन तथा अनुसन्धानका आधारमा नभई हचुवाको भरमा ल्याउने गरिएको उहाँले बताउनुभयो ।
भक्तपुर नगरमा अहिले पनि सात–आठवटा सहकारी संस्थामा निक्षेप गुमाएका बचतकर्ताहरूका गुनासा वडा कार्यालय र नगरपालिकामा आइरहेको वडाध्यक्ष बिजुक्छेँले जानकारी दिनुभयो ।
पवित्र साकोसका पूर्वअध्यक्ष नारायणभक्त थाले आर्थिक मन्दीका कारण सहकारी संस्थाहरूमा ऋण लगानी हुन नसक्दा संस्थामा तरलता कायम रहेको भए तापनि समग्रमा संस्थामा कुनै समस्या नदेखिएको बताउनुभयो ।
अर्का अतिथि विश्वबहादुर दुवालले सहकारीहरूको अवस्था र सरकारले हठात् ल्याउने नीतिनियमका कारण सहकारी संस्थाहरूमा अझै भद्रगोलको अवस्था देखिएको बताउनुभयो । ब्याजदर कम भएको भन्दै ब्याजसमेत तिर्न नसक्ने गरी ऋण लिँदा आफू र संस्था दुवै अप्ठ्यारोमा पर्नसक्ने भएकाले यसतर्फ सचेत रहन उहाँले बचतकर्ताहरूलाई आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष राजन धौभडेलको सभापतित्वमा सम्पन्न सभामा संस्थाको प्रतिवेदन सदस्य अनिका याकामीले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कोषाध्यक्षको प्रतिवेदन निकिता शाखकर्मी र लेखा समितिको प्रतिवेदन जीवन सैजुले प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *