भर्खरै :

“भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थल बनाउने हाम्रो प्रयास जारी छ”

“भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थल बनाउने हाम्रो प्रयास जारी छ”

कला, संस्कृति र सम्पदा मानव सभ्यताको सिलसिला हो । ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको महत्व र यसको सदुपयोगबारे जनचेतना अभिवृद्धि गर्दै यसको संरक्षण र संवद्र्धन गरी भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थल बनाउने हाम्रो प्रयास जारी छ । भक्तपुर नगरपालिकाले ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नारालाई सार्थक पार्दै विगत ४ दशकदेखि यहाँका मूर्त तथा अमूर्त सम्पदाहरू संरक्षण गर्दै यसमा आधारित पर्यटन उद्योगको विकास गरी नगरको आर्थिक विकास गर्न विभिन्न गतिविधिका साथ अगाडि बढिरहेको यहाँहरू सबैमा विदितै छ ।
भक्तपुरको मौलिकता, यहाँका कला, संस्कृति, सम्पदा, हस्तकला र घरेलु उद्योगमा आधारित मौलिक उत्पादन र मौलिक जीवनशैलीको विकास र प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटनमा आधारित पर्यटन उद्योगमार्फत नगर र नगरवासीहरूको आर्थिक गतिविधि बढाउँदै आय आर्जनमा समेत टेवा पु¥याउने उद्देश्यका साथ भक्तपुर महोत्सव २०८१ आयोजना गरेको यहाँहरूमा विदितै छ । भक्तपुर महोत्सव २०८१ सम्बन्धी २०८१ कार्तिक २८ गते पहिलो पत्रकार सम्मेलन गरी यहाँहरूलाई भक्तपुर महोत्सवको उद्देश्य र प्रारम्भिक तयारीबारे जानकारी गराइसकेका थियौँ । यसै सन्दर्भमा आज हामी पुनः भक्तपुर महोत्सवकै सम्बन्धमा भेटघाट गर्दै छौँ । हामी भक्तपुर महोत्सवको हालसम्म भएका तयारीबारे जानकारी दिँदै छाँै ।
यहीँ मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवसम्बन्धी सम्पूर्ण गतिविधिहरू लगभग तयार भइसकेको छ । जसअनुसार सांस्कृतिक कार्यक्रमअन्तर्गत २३ विभिन्न विधाका नाचहरूमा ६३ समूहले भाग लिनेछन् । त्यसको लागि भक्तपुर दरबार क्षेत्र, टौमढी क्षेत्र, दत्तात्रय क्षेत्र र क्वाठण्डौमा प्रस्तुतिको विशेष व्यवस्था मिलाएका छौँ । ६ वटा बाजा विधाका १०१ वटा सांस्कृतिक समूहले नगरको प्रदक्षिणा मार्ग परिक्रमा गरी प्रस्तुत गर्नेछन् । त्यस्तै, भक्तपुर नगरक्षेत्रका ३४ समूह, भक्तपुर जिल्लाका अन्य नगरपालिकाबाट ५ समूह र भक्तपुर जिल्ला बाहिरका अन्य जिल्लाबाट ८ समूह गरी जम्मा ४७ वटा बाँसुरी बाजा समूहबिच प्रतियोगिता हुनेछ । ती बाजा टोलीहरूमध्ये २०८१ मङ्सिर २९ गते ३३ वटा समूहको प्रस्तुति र मङ्सिर ३० गते बाँकी १३ वटा समूहको प्रस्तुतिको व्यवस्था मिलाएका छौँ । प्रतियोगिताको पुरस्कार वितरण मङ्सिर ३० गते क्वाठण्डौमा गरिनेछ । भक्तपुरको मुलाछेँ र वाकुपतिनारायण परिसरमा परम्परागत बाजाहरूको (विभिन्न किसिमका खिंहरू, लाला खिं, धाँ, नाय खिं, को खिं, ढोलक, तबला, धिमाय्, पछिमा, मादल आदि) प्रदर्शनी हुनेछ । त्यस्तै, नगरका ५ स्थानमा नौबाजा प्रस्तुतिको व्यवस्था गरेका छौँ भने भक्तपुर दरबार क्षेत्रमा परम्परागत नगरावादन प्रस्तुति हुने र नगरका टोल टोलमा ४६ वटाभन्दा बढी भजन समूहहरूले भजन प्रस्तुति गर्ने व्यवस्था भएको पनि यहाँहरू सबैमा जानकारी गराउन चाहन्छौँ । त्यस्तै, नगरका ६ स्थानहरूमा भुटेको अन्न र गेडागुडीबाट बनाइने हलिमलि प्रदर्शनी हुनेछ । भक्तपुरमा मनाइने विभिन्न किसिमका जात्रा पर्वहरूको नमुना प्रदर्शनीको व्यवस्था गःहिटीमा मिलाएका छौँ । जसमा पुलुकिसी, सुयाम्हा (परालको) भैलद्यो, ताहामचा, भैल खः, गाठामग र योसिंद्योको नमुना प्रदर्शनी हुनेछन् ।
प्रशन्नशील महाविहारमा कुमारी दर्शनको व्यवस्था मिलाइएको छ । प्रशन्नशील महाबिहारका साथै भक्तपुरका ५ वटा महाविहारहरूमा दीपङ्कर बुद्धको प्रदर्शनी हुनेछ । भक्तपुर इनाचो स्थित मुनिबिहारमा बुद्ध अस्तु र बौद्ध दर्शनको प्रदर्शनीको व्यवस्था मिलाएका छौँ । त्यस्तै भक्तपुरको प्रसिद्ध नवदुर्गाको द्यो ब्वेकेगु र दर्शनको व्यवस्था नवदुर्गा द्योछेँ अगाडि गःछेँमा हुनेछ ।
प्रसिद्ध ५५ झ्याले दरबारमा नेवार समुदायको परम्परागत पौभा चित्र प्रदर्शनी हुनेछ भने नगरका ७ स्थानमा तस्बिर (फोटो) प्रदर्शनी, २ स्थानमा चित्रकला प्रदर्शनी र लायकुमा छ्वालीकला प्रदर्शनी हुनेछ । नगरका ७ स्थानमा नेवार समुदायको परम्परागत पोशाक प्रदर्शनी र बिक्री वितरण तथा दत्तात्रय, लायकु र टौमढीमा नेवारी पोशाक बहालमा लिई फोटो खिच्ने व्यवस्था मिलाएका छौँ ।
नगरका ४ स्थान ब्यासी, भोलाछेँ, वातिकुथि र लाकोलाछेँमा नेवार समुदायका परम्परागत खेलहरूको (कसिमला पाँय्, घचा, अमुकासा, हेकंदला, धुँ चोलेचा, काना काना पिचा, घ्वाईं कासा, खिप कासा, लोहँ दायाँ खौदायाँ, वंवा थ्वं वा, कैँची, चि मुसि चि, ह्वांग्रा (खोपि), छुँ भौ कासा, हपालु, ताता मगचा, चिकासा, मण्डली क्येँकेगु, पाँय् म्हेतेगु, रुमाल कासा, च्याम्पति चाहिकेगु, बाँसको खोस्ताको फिरफिरे (कागजको), भुतिमा ब्वेकेगुलगायतको जीवन्त प्रदर्शनी हुनेछ । आधुनिक खेलतर्फ खो – खो, कबड्डी, किक बक्सिङ, तेक्वान्डो, कराँते, उसु, भलिबल, जिम्नास्टिकलगायतका खेलहरूको प्रदर्शनी सहिद स्मृति खेल मैदानमा हुने जानकारी गराउन चाहन्छौँ ।
भक्तपुरको मौलिक उत्पादन जुजु धौको महोत्सव लालाछेँ, स्वँग लोहँ (इनाचो) र जेलाँमा व्यवस्था मिलाएका छौँ । उक्त स्थानमा विभिन्न किसिमका दहीहरूको प्रदर्शनी र बिक्री वितरणसमेत हुनेछ ।
भक्तपुरको प्रसिद्ध भाज्या पुखु र कमलविनायक पोखरीमा खाना महोत्सव हुनेछ । उक्त स्थानहरूमा ४३ वटा स्टलहरूमा विभिन्न परम्परागत नेवारी तथा आधुनिक खाद्य परिकारहरूको बिक्री वितरण व्यवस्था मिलाएका छौँ । नगरभरि टोल—टोलमा स्थानीय समुदाय, महिला समूह, टीम क्लव, विद्यालय र सहकारी सङ्घ संस्थाहरूबाट २९ वटा खाद्य स्टलको व्यवस्था गरी भक्तपुर महोत्सवको अवलोकनको लागि आउनुहुने आन्तरिक र बाह्य पाहुनाहरूलाई विभिन्न खाद्य सामग्रीबाट सत्कार गर्ने पनि व्यवस्था मिलाएका छौँ ।
मानव समाजकै प्राचीन पेसामध्ये एक मृत्तिका कला भक्तपुरको तालाक्व र सूर्यमढीमा जीवन्त प्रदर्शनीको व्यवस्था मिलाएका छौँ । तालाक्व क्षेत्रमा नेवार समुदायमा जन्मदेखि मृत्यु संस्कारसम्म प्रयोग हुने माटाका भाँडाकुँडाको प्रदर्शनी हुने जानकारी गराउन चाहन्छौँ ।
नगरका विभिन्न ११ स्थानमा स्थानीय नेवारहरूको जन्मदेखि मृत्युसम्म गरिने विभिन्न संस्कारहरूमध्ये मचाबु ब्यंकेगु, मचा चिपं थिकेगु, न्यदा बुदीँ, प्यदा बुदीँ, ईहि, कय्ता पुजा, बाह«ा, बिहा, जंकोलगायतका संस्कारको नमुना प्रदर्शनीको व्यवस्था मिलाएका छौँ । नगरका विभिन्न स्थानमा परम्परागत सीप र कलासँग सम्बन्धित चिउरा कुट्ने, जाँड बनाउने, रक्सी बनाउने, धान कुट्ने, कपडा बुन्ने, थाज्या यनेगुलगायतका परम्परागत विधिहरूको जीवन्त प्रदर्शनीको व्यवस्था मिलाएका छौँ । भक्तपुरको साकोलान र इचाडोल दुई स्थानमा परम्परागत तरिकाबाट तोरीको तेल उत्पादन गर्ने चिकं सः प्रयोगको जीवन्त प्रदर्शनीको व्यवस्था मिलाएका छौँ ।
भक्तपुरको लामु गः मा विभिन्न १८ वटा प्रकाशन गृहहरूबाट २५ वटा स्टलहरूमा विभिन्न किसिमका पुस्तकहरूको प्रदर्शनी हुने भएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज देकोचा तथा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ लिबालीमा शैक्षिक प्रदर्शनीको व्यवस्था मिलाइएका छौँ । ख्वप कलेज देकोचामा २६ वटा विद्यालयहरूबाट र ख्वप इन्जिनियरिङ कलेजमा वास्तुसम्बन्धी ९ वटा, सिभिल इन्जिनियरिङसम्बन्धी १० वटा प्रदर्शनी गर्नेछन् । ख्वप कलेजमा साहित्यकार हृदयचन्द्र सिंह प्रधानका उत्कृष्ट नाटकहरू प्रत्येक दिन प्रस्तुत गरिनेछ ।
भक्तपुर नगरपालिका वडा नं. ५ पसिखेल तरकारी बजारमा हुने कृषि उत्पादनको व्यवसायिक प्रदर्शनी हुनेछ । तरकारी बजारमा स्थानीय व्यापारीहरूबाट तरकारी पसल सञ्चालन गर्न आवश्यक तयारी भइरहेको छ ।
भक्तपुर नगरपालिका वडा नं ५ भेलुखेलस्थित योसिंखेलमा १२ वटा विद्यालयहरूबाट बालमैत्री प्रदर्शनी हुनेछ । उक्त स्थानमा बालबालिकाको मनोरञ्जनको लागि फेस पेन्टिङ, किड्स प्ले स्टेसन, सांस्कृतिक कार्यक्रम, बाल खेल प्रतियोगिता, फ्री आटर््स कर्नर, बाल स्काउट्स गतिविधि, शैक्षिक सामग्री प्रदर्शनी, फोटो कर्नर, स्थानीय पिङ आदिको व्यवस्था मिलाएका छौँ ।
नगरका तीन स्थानहरू नः पुखु परिसर, नासमना र तेखापुखुमा घरेलु तथा साना उद्योगसँग सम्बन्धित परम्परागत सीप र कलाको जीवन्त प्रदर्शनी र सोसँग सम्बन्धित उत्पादनहरूको प्रदर्शनी एवम् बिक्री वितरणको व्यवस्था मिलाएका छौँ । भक्तपुरको थालाछेँ र गोल्मढीमा परम्परागतरूपमा धागो रङ्ग्याउने प्रदर्शनी हुनेछ ।
भक्तपुर नगरपालिका वडा नं ७ स्थित यातामा ९ वटा सहकारी संस्थाहरूबाट १४ वटा स्टलहरूमा सहकारीहरू गतिविधि प्रदर्शनी गरिनेछ । उक्त स्थानमा दैनिक सांस्कृतिक कार्यक्रम हुने र अवलोकनकर्ताहरूको लागि खाद्य स्टलको व्यवस्था रहेको जानकारी गराउन चाहन्छौँ ।
भक्तपुरको ४ वटा पोखरीहरूमा पाहुनाहरूको मनोरञ्जनको लागि नौका बिहारको लागि २३ वटा डुङ्गा व्यवस्था छ भने नःपुखुमा वाटर साइक्लिङको व्यवस्था गरेका छौँ ।
नगरका दुई स्थानहरू सानो ब्यासी र महेश्वरी खेल मैदानमा व्यापार मेलाको व्यवस्था मिलाएका छौँ । सानो ब्यासीमा आधुनिक डोम स्टलको व्यवस्था मिलाइएकोमा ४० भन्दा बढी स्टलहरूको बुकिङ भइसकेको छ भने महेश्वरी खेल मैदानको व्यापार मेला ९० भन्दा स्टल बुकिङ भइसकेको जानकारी गराउन चाहन्छौँ ।
तः पुखू र यातु बा¥हे पुखूमा दीपावलीको व्यवस्था मिलाएका छौँ भने भाज्या पुखुको जलेश्वर मन्दिरमा दीपावली हुने जानकारी गराउन चाहन्छौँ । यसका साथै भक्तपुर दरबार क्षेत्रमा मूर्तिकलाका कलाकारहरूबाट विभिन्न मूर्तिहरूको प्रदर्शनीको व्यवस्था मिलाएका छौँ । भक्तपुर महोत्सव अवलोकनको लागि आउने सम्पूर्ण पाहुनाहरूको लागि नगरका विभिन्न ७ स्थानहरूमा (क्वाठण्डौ, दत्तात्रय, टौमढी, तालाक्व, खःलाँ, रानीपोखरी, कमलपोखरी) महोत्सवलाई लक्षित गरी इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्कसँग सम्झौता गरी निःशुल्क वाईफाईको व्यवस्था मिलाएका छौँ ।
महोत्सवमा आउनुहुने सम्पूर्ण पाहुनाहरूलाई आवश्यक सेवा सुविधा प्रदान गर्न नगरका विभिन्न १८ स्थानमा सूचना केन्द्र, १४ स्थानमा प्राथमिक उपचार केन्द्र, ३० भन्दा बढी स्थानमा खानेपानी, ३० भन्दा बढी स्थानमा शौचालय सुविधा, २२ वटा पार्किङ स्थलको व्यवस्था मिलाएका छौँ । महोत्सवलाई मध्यनजर गरी महोत्सव सञ्चालन हुने नगरको पुरानो क्षेत्रमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म आकस्मिक सेवाबाहेकका सवारी साधन प्रवेश निषेध गर्न नगरका विभिन्न १९ स्थानमा प्रवेश निषेधको व्यवस्था मिलाएका छौँ ।
महोत्सव अवधिभर शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर, जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुृर, सशस्त्र प्रहरी बल भक्तपुरलगायतका सुरक्षा निकायहरूसँग समन्वय र सहकार्य भइरहेको जानकारी गराउन चाहन्छौँ । महोत्सवलाई भव्य र सभ्यरूपमा सञ्चालन गर्न स्थानीय स्काउटका ५०० र स्काउट मास्टर ७५ गरी कुल ५७५ जना स्काउटर परिचालन हुनेछ । प्रतिदिन २५० जनाको दरले मुख्य गतिविधिहरू हुने स्थानमा स्वयम्सेवा गर्नेछन् । विद्यालय र कलेजका विद्यार्थीहरू र आवश्यकताअनुसार स्वयम्सेवकहरू परिचालनको तयारी भइरहेको जानकारी गराउन चाहन्छौँ ।
विगतमा जस्तै उपस्थित सम्पूर्ण पत्रकार साथीहरूले महोत्सवको तयारीको विषयमा र महोत्सवको अवधिमा सम्बन्धित सञ्चारमाध्यमहरूबाट पर्याप्त प्रचारप्रसार हुने आशासहित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ । धन्यवाद !

(भक्तपुर नगरपालिकाका प्रमुख एवम् भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक सुनिल प्रजापतिले बुधबार आयोजित पत्रकार भेटघाटमा व्यक्त मन्तव्य – सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *