हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव
- असार २४, २०८३
सन् २०२४ लाई फर्केर हेर्दा नेपालमा बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) ले धेरै नै चर्चा कमायो, जति सायद कुनै पनि विकास परियोजनाले कमाएको थिएन । यस्तो चर्चा नीति र योजना, अन्तर्राष्ट्रिय सम्बन्ध र वाणिज्य, पूर्वाधार निर्माण र ज्ञान–विज्ञान तथा प्रविधिको आलोकबाट या यी विषयका जानिफकार विज्ञहरूबाट बढी भएको भए राम्रो हुन्थ्यो । यसले कुनै तार्किक निष्कर्षमा लैजान्थ्यो । तर, धेरै चर्चा राजनीतिक वृत्तमा या यसैको सेरोफेरोमा भयो । यसले विषयवस्तुलाई जटिल बनाइदियो ।
सिल्क रोडमा विकसित अवधारणा
कतिपयले बीआरआईलाई ऋणको गलपासो ठाने र त्यसरी नै यसको अपव्याख्या भयो । श्रीलङ्का र बङ्गलादेशमा भएको राजनीतिक उथलपुथल, त्यहाँको सत्तापलटलाई समेत बीआरआईसित जोड्न भ्याए । बीआरआईको प्रस्तावक देश चीन हो, उसले यसको व्यापक प्रवद्र्धन पनि गरिरहेको छ, चाहे त्यो ऋण होस् या कुनै प्राविधिक सहयोग । यसमा लुकाउनुपर्ने केही छैन । संरचना निर्माणको लागि चीनले १ ट्रिलियन (१० खर्ब डलर) छुट्याएको कुरा उसले उहिल्यै भनिसकेको छ । यसको संयन्त्रसमेत बनिसकेको छ । उदाहरण एसियाली पूर्वाधार विकास बैङ्क हो ।
बीआरआई अवधारणा चीनले सन् २०१३ मा अघि सारेको हो । राष्ट्रपति सी चिनफिङले कजाकस्तान भ्रमणको बेला राजधानी अस्तानास्थित नजरबायेभ विश्वविद्यालयमा आयोजित एक प्राज्ञिक भेलालाई सम्बोधन गर्दा रेशमी मार्ग (सिल्क रोड) को चर्चा गरेका थिए ।
सिल्क रोडकै प्रारम्भ विन्दु सिआन आसपास हुर्के÷बढेका सीलाई यसको गहिरो छाप परेको थियो । ‘भूमिको इतिहास यसका जनताको इतिहास हो’ भन्ने कजाक भनाइको उद्धरण गर्दै उनले त्यहाँ भने, “अब नयाँ विश्व परिवेशमा सिल्क रोडलाई सबै मिलेर आर्थिक विकासको मार्ग बनाउनुपर्छ ।”
आजभन्दा २१ सय वर्षअगाडि तत्कालीन चिनियाँ सम्राट हानले शान्ति र मित्रताका लागि भनेर मध्य–एसियामा आफ्ना दूत झाङ छियान (ईशा पूर्व १९५–११४) लाई पठाएका रहेछन् । लडाइँ, मारकाट अनि एकापसमा वैमनस्यता प्रचुर रहेको त्यस्तो समयमा यस्तो काम निकै दुरुह थियो ।
पहाड, मरुभूमि, चिसो र गर्मी, अनि अविकसित यातायातका साधन– ऊबेलाको यात्रा सजिलो थिएन । चिनियाँ दूत झाङ छियानका लागि त्यो समयले पर्गेलेको ऐतिहासिक जिम्मेवारी थियो । उनले पूरा गरिछाडे । उनले छिचोलेको त्यो बाटो नै पछि ‘सिल्क रोड’ बन्यो । बीआरआईसम्बन्धी राष्ट्रपति सिको उल्लिखित पहिलो सम्बोधन टोकियो विश्वविद्यालयको वेबसाइटमा अहिले पनि पढ्न सकिन्छ । सिल्क रोड चीन, मध्यपूर्व र युरोप जोड्ने झन्डै ६ हजार ५०० किलोमिटर लामो गजबको बाटो हो । यही बाटो भएर मध्य एसिया र युरोपबाट न्यानो ऊन, गरम मसला, सुन चाँदीलगायत अन्य थुप्रै पैदावर चीन पुगे । ती चिनियाँ समाजको आवश्यकता बने ।
भारत र नेपालदेखि बौद्ध दर्शन पनि सिल्क रोड भएर चीन पुगेको थियो । चिनियाँ भिक्षुहरू यही बाटो भएर आउजाउ गरेका हुन् । सिल्क रोड नै नामाकरण किन हुन गयोभन्दा मध्यपूर्वलगायत युरोपभरि चीनबाट जाने मसलन्द सामानमध्ये रेशम नै सबभन्दा लोकप्रिय भयो । महत्वपूर्ण कुरा के हो भने सिल्क रोडले तीन अलगअलग भूगोल चीन, मध्यपूर्व र युरोपबिच संस्कृति, खानपान, रहन–सहन, दर्शन, ज्ञान–विज्ञान, प्रविधि, भाषा धेरै चीजलाई जोडिदियो । त्यहाँका मुलुकले समृद्ध हुने अवसर पाए । यो अवसर युरोपबाट फैलिएको औद्योगिक क्रान्तिको पूर्वसन्ध्यासम्म कायम रह्यो । त्यतिञ्जेल चीन र भारत विश्वकै सबभन्दा ठुला आर्थिक शक्ति थिए ।
सभ्यता र स्थानान्तरणको बिम्ब
बीआरआईअन्तर्गत रफ्तारमा कुद्ने रेल, समुन्द्र वारपार गर्ने विशाल पानीजहाज, चिल्ला–चौडा सडक, ठुलठुला बन्दरगाह र विमानस्थलहरू बनिरहेका छन् । निःसन्देह यससित लगानी, ऋण, आयात–निर्यात जोडिएको छ तर चर्चा जति गरे पनि बीआरआई पूर्वाधार निर्माण र व्यापार विस्तार मात्र होइन । यी भौतिक निर्माण र वित्तका कुरा भनेका बीआरआईको देखिने रूप मात्र हो । यसको सौन्दर्य बेग्लै छ ।
सिल्क रोड मानव स्थानान्तरण र सभ्यता विस्तारको एउटा बिम्ब हो । पृथ्वीका मानिसको गतिशील भइरहने जुन उत्कण्ठा छ, उसको अभ्युदयदेखि हुर्किएर आएको, त्यससित बीआरआईको भावना जोडिएको छ ।
एकचोटि कल्पना गरौँ, अफ्रिकाको कुनै उष्ण जङ्गलमा दुई÷साढे दुई लाख वर्षअघि उभिन आइपुगेको शारीरिकरूपले कमजोर फुच्चे होमो सेपिन्स कसरी अर्कटिक हुँदै रकी अनि एन्डिज पुगे होलान् ? हाम्रा पुर्खाहरू सिन्धु घाटीदेखि कुन जुक्तिले वाराणसी पुगे होलान् ? मानिसले तय गरेका यी सबै बाटो के ‘सिल्क रोड’ हैन ?
एक्काइसौँ शताब्दीको सङ्घारसम्म आइपुग्दा यिनै मान्छेले विज्ञान–प्रविधिमा अभूतपूर्व विकास गरेको छ । यसैको जगमा टेकेर आर्थिक उपलब्धि भएका छन् । आजभन्दा ३ सय वर्षअघिसम्म पृथ्वीमा मानिसको कुल धन २ खर्ब डलर थियो, अहिले १०० खर्ब डलर नाघेको छ ।
सामाजिक सूचकाङ्कमा उनीहरूको आयु ७२ वर्ष पुगेको छ जुन ३०० वर्षअघि ३५ वर्ष मात्र थियो । सोचनीय कुरा, यसैबिच धनी र गरिब राष्ट्रबिचको खाडल झनै गहिरिएको छ । जी–७ भनिने मुलुकहरूको प्रतिव्यक्ति आम्दानी ५७ हजार डलरभन्दा बढी छ जबकि ग्लोबल साउथ मुलुकहरूको यस्तो आम्दानी पाँच हजार डलरभन्दा कम्ती छ । यो विभेद यस्तोसम्म छ कि अक्सफामका अनुसार विश्व जनसङ्ख्याको ८० प्रतिशत ग्लोबल साउथमा छ । तर, समृद्धिको धन अधिकांश थोरै सङ्ख्याका धनी मुलुकहरूमा सङ्कलित छ, ग्लोबल साउथसित ३० प्रतिशत मात्र छ ।
विगत ३ सय वर्षमा विश्वको वाणिज्य मानचित्र व्यापकरूपले फेरियो । औद्योगिक क्रान्तिपछि युरोप र संयुक्त राज्य अमेरिकाको आर्थिक नीतिले विश्वभरिका मुलुकहरूको प्राकृतिक दोहन हुन थाल्यो । त्यही स्रोतबाट तिनले आफ्नो आर्थिक समृद्धि हासिल गरे ।
विज्ञान–प्रविधि अनि वैज्ञानिक–प्राविधिकहरू पनि त्यसैका लागि प्रयुक्त भए । खुला अर्थतन्त्र र नाफा मात्र आर्जन गर्ने बजारमा अब सद्भाव समृद्धि फैलाउने, दर्शन र वैज्ञानिक चिन्तनको परिपोषण गर्ने ‘सिल्क रोड’ त्यहाँ रहेन । मौलिक संस्कृति र सभ्यता पनि ¥हास हुँदै त्यसको ठाउँमा कथित आधुनिकतावाद झाँगिन थाल्यो ।
उल्लिखित पृष्ठभूमिमा पछिल्लो इतिहासबाट सीमान्तकृत गरिएका मुलुकहरूको समृद्धि र विकासका लागि नयाँ ढाँचाको सिल्क रोड अपरिहार्य हुँदै थियो । विश्वको उदीयमान आर्थिक तथा प्राविधिक शक्ति भएकाले चीनमाथि एकचोटि फेरि यो दायित्व आइपरेको छ ।
चीनले अघि सारेको पेटी तथा सडक (बेल्ट एन्ड रोड) को विकास परियोजनामा इतिहासको यही गाथा जोडिन आउँछ । मानव परिकल्पना र परिश्रमबाट आर्जित ज्ञान र प्रविधिको प्रयोग गर्दै जल, थल र आकाशको माध्यम हुँदै यसले विश्वका सबै मुलुक जोड्दै छ ।
बीआरआई सहकार्यको सम्झौतामा अहिलेसम्म चीनसमेत गरी १५० मुलुक र ३० भन्दा बढी अन्तर्राष्ट्रिय सङ्घ–संस्थाले हस्ताक्षर गरिसकेका छन् । स्वभावतः यसमा ग्लोबल साउथका अधिकांश मुलुक छन् । धनी मुलुकहरूले यसलाई प्रतिस्पर्धी ठानेको देखिन्छ, त्यो उनीहरूको समृद्धि खोसिने संशय हो । उनीहरूले परिवर्तित विश्वको सहअस्तित्व र सहकार्यलाई आत्मसात नगरी विभेदपूर्ण पुरातन मान्यता नै कायम राख्न खोजेको देखिन्छ ।
बीआरआई र विज्ञान–प्रविधि
बीआरआई संयुक्त राष्ट्र सङ्घबाट समेत प्रवद्र्धित परियोजना हो । महासचिव एन्टोनियो गुतेरेसले यसलाई दिगो विकासका १७ लक्ष्यहरू हासिल गर्न ठुलो सम्भावना बोकेको प्रयास भनेका छन् । बीआरआईको पक्षमा सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घीय स्थल तथा सामुद्रिक महादेशीय रेशमी मार्ग सहरहरूको गठबन्धन बनेको थियो ।
सन् २०१७ मा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले बीआरआईको प्रस्ताव पारित गरेको थियो र त्यही नै वर्ष चीनले विश्व स्वास्थ्य सङ्गठनसित एक सहमतिपत्रमा हस्ताक्षर गरेको थियो ।
वैज्ञानिक तथा प्राविधिक विकास बीआरआईको एउटा महत्वपूर्ण खम्बा हो । जस्तो उसले सन् २०१७ मा ३० देशका स्वास्थ्य मन्त्रीहरूको भेला गरेर पेइचिङ सञ्चार जारी गरेको थियो । गत वर्ष मात्र (सन् २०२३) चीनको छोङछिङमा बेल्ट एन्ड रोड विज्ञान तथा प्रविधि आदान–प्रदान सम्मेलन आयोजना भएको थियो । यसै परियोजनाअन्तर्गत चीनले ८० वटा मुलुकसित द्विपक्षीय सम्झौता गरिसकेको छ । ती देशमा ५० भन्दा बढी अनुसन्धानशाला र ७० वटा प्रविधि विकास अनि नवप्रवर्तन गरिने इन्डस्ट्रियल पार्कहरू निर्माण गरिएका छन् ।
सन् २०१९ मा अग्रणी वैज्ञानिक जर्नल नेचरले बीआरआई परियोजनाहरू सञ्चालित मुलुकहरूमा आफ्नो टोली पठाएर सर्वेक्षण गरेको थियो । ती मुलुकले विज्ञान–प्रविधिको क्षेत्रमा उल्लेखनीय क्षमता विकास गरिरहेको पाइयो । जस्तै– ग्लोबल साउथका २६ हजारभन्दा बढी युवाहरूले चीनमा तालिम प्राप्त गरेका छन् ।
बर्सेनि तीन सयजनाले पीएचडी छात्रवृत्ति पाइरहेका छन्, उनीहरूलाई चिनियाँ विज्ञान प्रज्ञा–प्रतिष्ठान (कास), त्रिस्टिको विश्व प्रज्ञा–प्रतिष्ठान (त्वास) का उत्कृष्ट अनुसन्धानशालाहरूमा गएर काम गर्ने मौका मिल्छ ।
बीआरआईको विज्ञान–प्रविधि परियोजनामा कृत्रिम बुद्धिमत्ता, रेलवे इन्जिनियरिङ र अति महत्वका खनिज साथै कृषि, जैविक विविधता र जलवायु परिवर्तनलगायतका आधारभूत विज्ञानका विषयहरू समेटिएका छन् ।
केन्याले यही सहयोगमा देशको सात हजार बिरुवा प्रजाति समेटिएको फ्लोरा प्रकाशन गर्दै छ । पाकिस्तान र अजरबैजान बीआरआईअन्तर्गत नै चीनको अन्तरिक्ष परियोजनामा सहभागी भइरहेका छन् । सन् २०३० सम्ममा चन्द्रमामा स्थायी प्रकारको अधार बनाउने उनीहरूको योजना छ ।
अधिकांश धनी मुलुकहरूले कोभिड, युद्ध, शरणार्थी समस्या आदिको बहानामा विज्ञानमा लगानी कटौती गरिरहेको सन्दर्भमा चीनको यस्तो परियोजनाले विश्व वैज्ञानिक नक्साको पुनर्लेखन गरेको छ ।
चीनले विकसित मुलुकहरूसितको वैज्ञानिक सहकार्य पनि जारी राखेको छ । चीन अहिले संसारकै सबभन्दा धेरै वैज्ञानिक रचना छपाउने देश बनेको छ । नेचरले बीआरआईअन्तर्गत सञ्चालित वैज्ञानिक अनुसन्धान र प्रविधि विकासका कार्यक्रमहरूको सराहना गर्दै पछि एक सम्पादकीय पनि छाप्यो ।
साझा विकास र समृद्धि, परस्पर सहयोग, कोही पराजित नहुने ‘विन–विन’ सहकार्य र मानव समुदायको साझा भविष्य बीआरआईका मूलभूत सिद्धान्त हुन् भन्ने देखिन्छ । यसमा २१ औँ शताब्दीको मानव कल्पना र महत्वाकाङ्क्षा प्रतिबिम्बित भएको पाउन सकिन्छ । यो एउटा विशाल सम्भावना बोकेको राजमार्ग हो । अब नेपाल गाउँको गोरेटोमै रमाइरहने या यो राजमार्गमा हाँकिने ? वर्तमान नेपालको मर्जी ।
(भुजु हाल चीनको नर्थवेस्ट विश्वविद्यालयमा प्राध्यापक छन् ।)
साभार : ‘नागरिक’ दैनिक, १२ पुस, ०८१
Leave a Reply