भर्खरै :

पुँजीवादको विकल्प भनेको समाजवाद

पुँजीवादको विकल्प भनेको समाजवाद

भक्तपुर, १५ पुस । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा विश्व सर्वहारावर्गका महान् गुरुहरू स्तालिन र माओ त्सेतुङ जन्म जयन्तीको अवसरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले लेनिनवादी शिक्षाअनुसार २०१९ सालदेखि प्रतिक्रियावादी सङ्घ संस्थामा घुसेर देश र जनताको निःस्वार्थरूपले सेवा गर्दै आइरहेको नेमकिपाले कहिल्यै व्यक्तिहत्यामा विश्वास नगरेको बताउनुभयो । क्रान्ति सफल पार्न बहुसङ्ख्यक कामदारवर्गलाई नै राजनीतिक र सैद्धान्तिकरूपले परिपक्व बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले हरेक कार्यकर्ताले अध्ययनलाई जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुँजीवादी राज्य व्यवस्थामा भ्रष्टाचारीहरूलाई कारबाही नगरी झन् संरक्षण गरिएको हुन्छ । पुँजीपतिवर्ग नाफाकै निम्ति काम गर्छ । उसले देश र जनताको हितमा काम गर्दैन । पुँजीवादको विकल्प भनेको समाजवाद नै हो । समाजवादी राज्य व्यवस्थामा जन्मेदेखि नै मृत्युसम्म सरकारले हेर्छ । कामदारवर्गको स्वर्ग भनेको समाजवाद हो ।”
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका प्रतिनिधि विष्णुराम दुमरुले माक्र्सवादी सिद्धान्तअनुसार रुसमा लेनिन र स्तालिनले सन् १९१७ मा अक्टोबर क्रान्ति सफल पारी समाजवादी राज्य व्यवस्था स्थापना गरे भने चीनमा माओ त्सेतुङको नेतृत्वमा सन् १९४९ मा जनवादी गणतन्त्र स्थापना गरी समाजवादी राज्य व्यवस्था कायम गरेको बताउनुभयो ।
उहाँले पुँजीवादले २–३ सय वर्ष लगाएर गरेको विकास समाजवादी रुस र चीनले २०–३० वर्षमै गरेर देखाएको बताउँदै साम्राज्यवादीहरू चीनविरुद्ध चलखेल गर्दै छन् भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वको सभापतित्वमा भएको कार्यक्रममा सदस्यद्वय आर. प्रजापति र पूर्णगोपाल राजचलले पनि आ–आफ्नो विचार राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *