भर्खरै :

उपत्यकाको सुन्दर भविष्यको लागि स्थानीयबाहेकलाई घरजग्गा खरिद बिक्री बन्द गर्ने कानुनी व्यवस्था आवश्यक

उपत्यकाको सुन्दर भविष्यको लागि स्थानीयबाहेकलाई घरजग्गा खरिद बिक्री बन्द गर्ने कानुनी व्यवस्था आवश्यक

काठमाडौँ, २३ पुस । सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा काठमाडौँ उपत्यकाका नगर प्रमुख एवम् उपप्रमुखहरूसँग प्रस्तावित वाग्मती कार्ययोजना (२०२४–४४) माथि छलफल कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख तथा उपप्रमुखहरूले उपत्यकाको सुन्दर भविष्यको लागि स्थानीयबाहेकलाई घरजग्गा खरिद गर्न रोक लगाउने कानुन निर्माण गर्नुपर्ने, वाग्मती कार्ययोजना प्रकृतिमैत्री रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै वाग्मती करिडोरलाई व्यवस्थित गनुपर्ने तथा हरियाली कायम हुने ढङ्गले कार्ययोजना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री सिंहले २० वर्षे वाग्मती कार्ययोजनालाई मूर्त रूप दिन सरोकारवाला निकायहरू आवश्यक छलफल गरी छलफलबाट प्राप्त सुझावहरूलाई समेटेर अगाडि बढ्ने योजना रहेको बताउनुभयो ।
वाग्मती कार्ययोजना कार्यान्वयनको सिलसिलामा प्रकृतिमैत्री प्रविधिको प्रयोग गरी अगाडि बढ्नुपर्र्ने बताउँदै उहाँले पुर्खाले प्रयोग गरेका प्रविधिहरू पनि प्रयोग गर्न सकिने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले काठमाडौँ उपत्यकामा बस्ती विकास नियन्त्रणविना वाग्मती सफाइ अभियान सफल नहुने बताउँदै उपत्यकामा बाहिरका मानिसले घर जग्गा खरिद गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने र समयअनुसार सङ्घीय राजधानी दाङ जिल्लामा सानुपर्र्ने जनसङ्ख्या नियन्त्रणका प्रमुख उपायहरू हुनसक्ने धारणा राख्नुभयो ।
वाग्मती सभ्यताको लागि अरबौँ खर्च भए पनि उपलब्धिमूलक काम हुन नसकेको बताउँदै उहाँले खोला सफा राख्न नगरकोट र शिवपुरीजस्ता पानीको स्रोत भएको क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरी त्यसको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइनुपर्ने बताउनुभयो ।
अनियन्त्रित ढङ्गले अव्यवस्थित प्लटिङको विकास र अध्ययनविना निजी प्लानिङ गर्नेलाई स्वीकृति दिँदा खोलामा प्रदूषण बढिरहेको बताउँदै उहाँले भक्तपुर नपाले सरसफाइ ऐनबमोजिम विभिन्न कानुन निर्माण गरी काम गरिरहेको बताउनुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कार्ययोजनामा उपत्यकाका सांस्कृतिक सम्पदाहरू संरक्षण गर्ने विषय पनि समावेश हुनुपर्ने बताउँदै खोला सुरक्षाको लागि निर्माण भएका रिटेनिङ वालहरूले विपद् निम्त्याइरहेको बताउनुभयो ।
वैदेशिक ऋणबाट मुलुकलाई विकास गर्ने नीतिले मुलुक डुब्ने खतरा भएको बताउँदै उहाँले ललितपुर महानपाले कुनै पनि सङ्घ संस्थालाई जग्गा दिने काम बन्द गरेको बताउनुभयो ।
सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले २० वर्षे कार्ययोजना उपत्यकाका नगरपालिकाहरूसँग जोडिएको विषय भएको बताउँदै उहाँले छलफलबाट प्राप्त सकारात्मक सुझावहरूलाई समेटेर कार्ययोजनालाई पूर्णता दिइने बताउनुभयो ।
उपत्यकाका नदी प्रणाली संरक्षण र नदी किनारामा भएका सम्पदा संरक्षण कार्ययोजनाका मुख्य विषयहरू भएको उहाँले बताउनुभयो ।
गोदावरी नपाका प्रमुख गजेन्द्र महर्जनले उपत्यकाका राजकुलोहरू पुनःनिर्माण गर्नुपर्ने बताउँदै करिडोर निर्माण गर्ने ठाउँमा भएका बस्तीहरूको व्यवस्थापनतर्फ पनि ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।
दक्षिणकाली नपाका प्रमुख मोहन बस्नेतले दक्षिणकालीमा पनि करिडोर निर्माण गर्नुपर्ने बताउँदै आर्थिक प्रगतिसहितको कार्ययोजना आवश्यक भएको बताउनुभयो ।
बुढानीलकण्ठ नपाका उपप्रमुख अनिता लामाले उपत्यका अति अस्तव्यस्त भइसकेको बताउँदै कार्ययोजनाले आत्मनिर्भरताको बारे पनि सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, कीर्तिपुर नपाका उपप्रमुख शुभलक्ष्मी शाक्य, ललितपुर महानपाका उपप्रमुख
मन्जली शाक्य, तार्केश्वर नपाका प्रमुख कृष्णहरि महर्जन, बुढानिलकण्ठ नपाका प्रमुख मिठाराम अधिकारी, नागार्जुन नपाका उपप्रमुख सुशिला अधिकारी, गोकर्णेश्वर नपाका प्रमुख दीपककुमार रिसालले प्रस्ताविक कार्ययोजनाहरूबारे राय–सुझाव प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सी.डी.ई उद्धव नेपाल कार्ययोजनाको उद्देश्यबारे प्रस्ट पार्नुभएको थियो । आयोजना प्रमुख नारायणप्रसाद भण्डारीले कार्ययोजनाबारे प्रस्तुतीकरण दिनुभएको थियो । कार्यक्रममा सहरी विकास मन्त्रालय भवन विभागका उपमहानिर्देशक रवीन्द्र बोहराले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *