भर्खरै :

पुँजीवादी व्यवस्थामा शोषित पीडित जनताको हक अधिकार सुनिश्चित नहुने

पुँजीवादी व्यवस्थामा शोषित पीडित जनताको हक अधिकार सुनिश्चित नहुने

सर्लाही, २३ पुस । नेपाल मजदुर किसान पार्टी सर्लाहीको आयोजनामा कार्यकर्ता भेला चन्द्रनगर गाउँपालिकामा मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले भन्नुभयो, “नेमकिपा माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा अङ्गीकार गरी जनताको हक, अधिकार सुनिश्चित गराउनको लागि सडक र सदनमा सङ्घर्षरत रहेको छ ।”
नेमकिपाले लेनिनवादी नीतिअनुसार प्रतिक्रियावादी सङ्घ संस्थामा पसेर पनि देश र जनताको पक्षमा काम गर्ने हेतुले संसद्लाई उपयोग गरिरहेको उहाँले बताउनुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र पनि पुँजीवादी व्यवस्था भएकोले यसबाट शोषित, पीडित जनताको हक अधिकार सुनिश्चित हुन नसक्ने भएकोले समाजवादी व्यवस्था स्थापना गराउनको लागि यहाँ बहुमत जनता नेमकिपामा आबद्ध हुनका लागि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका अर्का केन्द्रीय सदस्य सरोज साहले मधेसमा मधेसवादी दलहरूले जातीय र क्षेत्रीय नारा लगाएर यहाँका सर्वसाधारण जनताको हक, अधिकार ओझेलमा पार्ने गरिरहेका छन् भन्नुभयो ।
तराई अन्न उत्पादन गर्ने भण्डार भए तापनि यहाँका किसानहरूले समयमा गुणस्तरीय बीउबिजन, मलखाद् र उपयुक्त सिँचाइको व्यवस्थापन नहुँदा यहाँका अधिकांश किसानहरूको खेती गर्नेतर्फ दिन प्रतिदिन आकर्षण घट्दै गएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय कोषाध्यक्ष जगतराम धुख्वाले यहाँका शासक दलहरूले उद्योग, कलकारखानाहरू निजीकरण र कौडीको मोलमा बेच्दा अधिकांश युवाहरू वैदेशिक रोजगारमा जान बाध्य भएको बताउनुभयो ।
कार्यक्रम नेमकिपा सर्लाहीका सदस्य रामाकान्त कापरको सभापतित्वमा सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *