भर्खरै :

शीतलहरका कारण रूपन्देहीका विद्यालयमा बिदा

बुटवल, २४ पुस । केही दिनयता बढेको चिसोका कारण रूपन्देहीका स्थानीय पालिकाहरूले विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
पछिल्लो एकसाता यता रूपन्देही, नवलपरासी, कपिलवस्तुलगायत तराई क्षेत्रमा बाक्लो हुस्सुसहित शीतलहर चलेको छ ।
शीतलहरसँगै बढेको अत्यधिक चिसोले जनजीवन प्रभावित बनेको छ ।
चिसो बढेपछि तिलोत्तमा नगरपालिकाले विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले बुधबार सूचना जारी गर्दै पुस २५ गतेदेखि २९ गतेसम्म नगरपालिकाभित्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले चिसोका कारण बालबालिकाहरूको स्वास्थ्यमा समस्या हुन सक्ने भएकोले नगरपालिका भित्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको जानकारी दिनुभयो ।
नगर प्रमुखस्तरीय निर्णयबाट दिइएको उक्त बिदालाई वार्षिक बिदामा समायोजन गर्न पनि नगरपालिकाले भनेको छ । यसअघि रूपन्देहीकै मर्चवारी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकाले विद्यालयहरूमा सार्वजनिक बिदा दिइसकेका छन् ।
मर्चवारी र सम्मरीमाई गाउँपालिकाले पुस २२ गतेदेखि माघ २ गतेसम्म जाडो बिदा दिएका छन् भने कोटहीमाई गाउँपालिकाले पुस २९ गतेसम्म बिदा दिएको हो । चिसो अत्यधिक बढेका कारण बालबालिका, वृद्धवृद्धा, बिरामी, अशक्त तथा दैनिक मजदुरी गरी जीविकोपार्जन गर्नेहरू प्रभावित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *