न्गुएन थि डिन्ह (Nguyen Thi Dinh)
- भाद्र १२, २०८३
भक्तपुरका जनताबाट दोस्रो कार्यकालका लागि हामी निर्वाचित भएको अढाइ वर्ष बितिसकेको छ । यस अवधिमा निर्वाचनको बेला जारी गरेको घोषणापत्रको आधारमा हामीले काम गर्दै छौँ । जनतालाई दिएको वचन एक एक गर्दै पूरा गर्ने क्रममा छौँ ।
‘नाचगानको राजधानी’ र ‘सांस्कृतिक नगर’ को उपमा पाएको भक्तपुर नगरलाई पछिल्लो चरणमा जर्मनीका वास्तुकलाविद् निल गोत्सोले ‘संसारकै ठुलो जीवित सङ्ग्रहालय’ को नाम दिनुभएको छ । यस्तो महत्वपूर्ण नगरको नेतृत्व गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ ।
भक्तपुर आकारको हिसाबले देशकै सानो नगरमध्ये एक भए पनि जनघनत्व धेरै भएको नगर हो । विश्वविख्यात सम्पदाहरू भएको दरबार क्षेत्र, टौमढी क्षेत्र र दत्तात्रय क्षेत्र यही नगरमा अवस्थित छन् । यहाँका उत्कृष्ट वास्तुकलाको आधारमा भक्तपुरका दरबार क्षेत्रलाई सन् १९७९ मा युनेस्कोले विश्व सम्पदामा सूचिकृत गरेको थियो भने भक्तपुरको पुरानो नगर क्षेत्रका मूल सडकको दायाँबायाँका घरहरूलाई पनि सम्पदा क्षेत्र घोषणा गरेको थियो । हामी त्यसको संरक्षणको साथै पुरानो नगरका सम्पूर्ण क्षेत्रलाई नै सम्पदा बस्तीको रूपमा विकास गर्ने कोसिस गर्दै छौँ । यहाँ मौलिक शैलीमा घर बनाउनेहरूका लागि अनुदानको व्यवस्था गरिरहेका छौँ ।
हाम्रा अग्रजहरूले भक्तपुरलाई संसारकै हेर्नलायक आकर्षक नगरको रूपमा विकास गर्ने सपना देख्नुभएको थियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक लेखेर यस्तै सुन्दर नगरको परिकल्पना गर्नुभएको हो । हामी त्यही पुस्तकलाई मार्गदर्शकको रूपमा लिएर सफा र सुन्दर भक्तपुरको सुदूर भविष्यको मार्गमा अघि बढिरहेका छौँ । शिक्षा, स्वास्थ्य उपचार, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माण र युवाहरूलाई रोजगारलक्षित कार्यक्रमहरू गरेर त्यही लक्ष्य प्राप्तिका आधारहरू निर्माण गर्दै छौँ ।
२०७२ सालको भूकम्पबाट पूर्ण र आंशिक क्षति भएका अधिकांश सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भइसकेको छ भने केही महत्वपूर्ण सम्पदाहरू निर्माणाधीन छन् । स्थानीय स्रोत, साधनहरूको अधिकत्तम प्रयोग गरी लिच्छविकालीन र मल्लकालीन सम्पदाहरूको संरक्षण कार्य जारी छ ।
अहिले भक्तपुर नेपालका बढी पर्यटकहरू भ्रमण गर्ने क्षेत्रहरूमध्ये एक भएको छ । नेपाल आउने विदेशी पर्यटकहरूमध्ये करिब २५ प्रतिशत पर्यटकहरूले भक्तपुर भ्रमण गरेको तथ्याङ्क छ । त्यसमा थप वृद्धि गरी भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्ने उद्देश्यअनुसार हामी काम गर्दै छौँ ।
समय समयमा आउने भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति, महामारीका रूपमा फैलिने कोरोनाजस्ता रोग र नाकाबन्दी तथा क्षेत्रीय युद्धजस्ता घटनाहरूले विदेशी पर्यटक भरपर्दो र स्थायी स्रोत नहुने शिक्षा हामीले प्राप्त ग¥र्यौँ । हाम्रो ध्यान अब आन्तरिक पर्यटनतर्फ केन्द्रित गर्दै छौँ ।
भक्तपुर महोत्सव आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने एक सिलसिला हो । गत मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म भक्तपुर महोत्सव सम्पन्न ग¥यौँ । त्यतिबेला भक्तपुरका मूर्त र अमूर्त सम्पदादेखि भक्तपुरका जीवनशैली, संस्कारहरू सबैले देख्ने अवसर पाए । ५ दिनमा महोत्सवको लाखौँले अवलोकन गरेका थिए । भक्तपुर महोत्सव पनि हाम्रो यस कार्यकालको महत्वपूर्ण कार्यको रूपमा इतिहासमा दर्ज हुने नै छ । भक्तपुर नगरपालिकाको आह्वानमा नगरवासीहरूले जसरी आ–आफ्ना सीप, कलाकौशलहरू टोल टोलमा प्रदर्शन गरे, त्यो आफैमा एउटा उदाहरणीय थियो । इमानदारीपूर्वक, निःस्वार्थ भावनाले त्यसरी भक्तपुरको उचाइ बढाउने कार्यमा सहयोग गरेका तमाम भक्तपुरवासीहरूलाई आजको यस अवसरमा धन्यवाद ज्ञापन गर्दछौँ ।
नेपाल मजदुर किसान पार्टीको सिद्धान्त, नीति र निर्देशनअनुसार देश र जनताको सेवा गर्नुलाई नै हामीले आफ्नो कर्तव्य ठानेका छौँ । पारदर्शिता, इमानदारिता र आर्थिक अनुशासनलाई ध्यानमा राखेर हामीले काम गरिरहेका छौँ ।
ख्वप विश्वविद्यालय स्थापना गर्ने भक्तपुरवासी जनताको चाहना हो । विश्वविद्यालय विधेयक पारित भएमा जसरी भक्तपुर नगरपालिकाले २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन गरेर देशभरका जनताका छोराछोरीहरूलाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ, त्यसरी नै चिकित्सालगायत अन्य क्षेत्रमा पनि सेवा गर्ने अवसर पाउनेछौँ । देश र जनताको सेवा गर्नेबाहेक हामी जनप्रतिनिधिहरूको अर्को कुनै स्वार्थ छैन ।
ख्वप विश्वविद्यालयको लागि भनपा वडा नं. १ स्थित सल्लाघारीको १०८ रोपनी जग्गा माग गरेको लामो समय भयो । अहिले नेपाल ट्रस्टको नाममा रहेको त्यो जग्गाबारे हामीले निरन्तर सम्बन्धित पदाधिकारीहरूको ध्यानाकर्षण गरिरहेका छौँ ।
अब म १६ औँ नगरसभापछि हालसम्म भक्तपुर नगरपालिकाको आयव्यय र नगरपालिकाले गरेका कार्यहरूबारे सङ्क्षिप्त विवरण प्रस्तुत गर्दछु :
आयतर्फ :
यस नगरपालिकाले चालु आ.व. २०८१/८२ को लागि अनुमानित रु. ६५ करोड ८३ लाख आन्तरिक स्रोतबाट आम्दानी हुने लक्ष्य राखेकोमा २०८१ पुस २४ गतेसम्ममा २५ करोड ४० लाख आम्दानी भई अनुमानको ३८.६० प्रतिशत प्रगति भएको छ भने बाह्य स्रोतबाट १ अर्ब ८० करोड २२ लाख आम्दानी हुने लक्ष्य राखेकोमा पुस २४ गतेसम्ममा ६२ करोड ७१ लाख प्राप्त भई ३४.८० प्रतिशत प्रगति भएको छ । आन्तरिक आम्दानी गत वर्षको सोही अवधिभन्दा ८ प्रतिशतले वृद्धि भएको छ भने बाह्य स्रोततर्फ ५ प्रतिशतले वृद्धि भएको छ ।
व्ययतर्फ :
यस नगरपालिकाको आ.व. २०८१/८२ मा चालु खर्च शीर्षकमा रु. १ अर्ब ५७ करोड ३ लाख रूपैयाँ विनियोजन गरिएकोमा २०८१ पुस २४ गतेसम्म ५५ करोड २५ लाख खर्च भई विनियोजित बजेटको ३५.१८ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्चतर्फ ९९ करोड ४० लाख रूपैयाँ विनियोजन भएकोमा सोही अवधिमा रु. २० करोड ३७ लाख खर्च भएको छ । जुन विनियोजित बजेटको २०.४९ प्रतिशत हो ।
वित्तीयतर्फ :
चालु आ.व. २०८१/८२ को लागि १० करोड विनियोजन गरिएकोमा आ.व. २०८१/८२ को पुस २४ गतेसम्ममा रु. २ करोड ३७ लाख खर्च भई विनियोजित बजेटको २४.३५ प्रतिशत प्रगति भएको देखिन्छ । चालु पुँजी र वित्तीयसमेत गरी कुल विनियोजित बजेट २ अर्ब ६६ करोड ४३ लाख १० हजार रूपैयाँमध्ये चालु आ.व.को पुस २४ गतेसम्ममा जम्मा खर्च ७८ करोड ६ लाख भएको छ, जुन विनियोजित रकमको २९.२९ प्रतिशत प्रगति भएको छ ।
क) शिक्षा
– भक्तपुर नगरपालिकाले ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन गरी देशभरिकै विद्यार्थीहरूलाई कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको छ । अहिले ख्वप विश्वविद्यालय स्थापनाको लागि हामीले प्रयास गरिरहेका छौँ । यस वर्ष सङ्घीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाको नेतृत्वमा सदस्य र पदाधिकारीहरू, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पनि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विभिन्न कलेजहरूको स्थलगत भ्रमण गरी शैक्षिक संस्थाहरूको भौतिक अवस्था र जनशक्तिको अवस्थाबारे जानकारी लिनुभयो । भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापना गर्न जग्गा प्राप्तिको लागि नेपाल ट्रस्टको कार्यालय र नेपाल ट्रस्टका संरक्षक भूमिसुधार मन्त्रीलाई अनुरोध पत्र बुझायौँ ।
– भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूबाट गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई वार्षिक करिब रु. ४ करोडको छात्रवृत्ति वितरण गरिरहेका छौँ ।
– उच्च शिक्षा हासिल गर्न चाहने गरिब तथा विपन्न विद्यार्थीहरूको लागि चालु आ.व. २०८१/८२ मा १५१ जना विद्यार्थीहरूलाई रु. ५ लाखका दरले शैक्षिक ऋण स्वीकृत गरी ऋण प्रवाह गरेका छौँ । हालसम्म उच्च शिक्षा अध्ययनका लागि ऋण लिनेहरूको सङ्ख्या ७५१ जना पुगेको छ ।
– ५७ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा नगरस्तरीय अन्तरविद्यालय चित्रकला प्रतियोगिता, राष्ट्रिय शिक्षा दिवसको अवसरमा विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता र १६ औँ पुस्तकालय दिवसको अवसरमा सामुदायिक तथा संस्थागत विद्यालयस्तरीय (कक्षा ९ देखि १२ सम्म) निबन्ध प्रतियोगिता सम्पन्न ग¥र्यौँ ।
– नगरभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धिका लागि नगर शिक्षा शाखामार्फत हाल कक्षा १० को एसईई तयारी परीक्षा सञ्चालन भइरहेको छ । त्यस्तै कक्षा ८ र ५ का विद्यार्थीहरूको नगरस्तरीय परीक्षाको तयारी पनि भइरहेको छ ।
ख) स्वास्थ्य
– भक्तपुर नगरपालिकाद्वारा १०० शøयाको ख्वप अस्पताल सञ्चालन गरिरहेकोमा त्यहाँबाट दिइने स्वास्थ्य सेवा र सुविधाको गुणस्तर वृद्धिको लागि आधुनिक स्वास्थ्य उपकरणहरू थप गर्ने कार्य जारी छ । आवश्यकताअनुसार चिकित्सक र नर्सहरूलगायतका जनशक्ति थप व्यवस्था गरी नगरवासीहरूलाई सरल र सहज स्वास्थ्य उपचारमा पहुँच पु¥याउन हामीले निरन्तर प्रयास गरिरहेका छौँ ।
– नगरवासीहरूलाई निःशुल्क रगत र निःशुल्क अक्सिजन वितरणको व्यवस्थालाई निरन्तरता दिइरहेका छौँ । चालु आ.व. २०८१/८२ को मङ्सिर मसान्तसम्ममा ४५० जनालाई निःशुल्क रगत र ५४२६ जना नगरवासीहरूलाई निःशुल्क अक्सिजन उपलब्ध गराइसकेका छौँ । यस अवधिमा ख्वप अस्पतालले १ लाख १५ हजारभन्दा बढी बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गरिसकेको छ ।
– चालु आ.व.को पुस २४ गतेसम्ममा यस नगरपालिका क्षेत्रका क्यान्सर, मुटुरोगी, मिर्गौला र मेरुदण्ड पक्षघाट भएका १०५ जना बिरामीहरूलाई रु. १५,७५,०००।– आर्थिक सहयोग प्रदान गरेका छौँ ।
– चालु आ.व.को पुस २४ गतेसम्ममा नगरपालिकाको व्यवस्थापनमा सञ्चालित आयुर्वेद सेवा १७ सय ९ जनालाई, घरदैलो नर्सिङ सेवा २० हजार १० जनालाई, आँखाको उपचार १४ हजार ९८३ जना र श्वासप्रश्वास केन्द्रबाट ९०१ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरियो ।
ग) संस्कृति तथा सम्पदा संरक्षण
– चालु आ.व. २०८१/८२ को साउन महिनादेखि मङ्सिर मसान्तसम्ममा भ.न.पा. ४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर, भ.न.पा. ६ चोछेँस्थित छुमा गणेश द्योछेँ, भ.न.पा. ७ गोल्मढीस्थित क्वाकचा गणेश मन्दिर र भ.न.पा. २ स्थित तापालाछी पाटी पुनःनिर्माण कार्य सम्पन्न भएका छन् भने २५ वटा सम्पदाहरू निर्माणाधीन अवस्थामा छन् ।
– सांस्कृतिक सम्पदा संरक्षण कार्यमा अमूल्य योगदान गर्ने २० जना सांस्कृतिक गुरुहरूलाई ४५ औँ विश्व पर्यटन दिवस २०८१ को अवसरमा सम्मान गरियो । सोही अवसरमा गुन्हीपुन्ही र सापारु पर्वमा प्रदर्शन गरिएका उत्कृष्ट सांस्कृतिक विधाहरू र सांस्कृतिककर्मीहरूलाई पनि पुरस्कृत गरियो ।
– भक्तपुरको कला संस्कृति, सम्पदा, मौलिक सीप र उत्पादनको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरी नगर र नगरवासीको आर्थिक विकास गर्ने उद्देश्यका साथ गत मङ्सिर २८ देखि पुस २ गतेसम्म आयोजना गरिएको भक्तपुर महोत्सव–२०८१ भव्यताका साथ सम्पन्न भयो । महोत्सवमा सांस्कृतिक कार्यक्रम, पौवा, तस्बिर, छ्वाली कला, चित्रकला, पोशाक, हलिमलि, वाद्यवादनका सामग्री, जीवन शैली, परम्परागत र आधुनिक खेलकुद, नौ बाजा, बौद्ध प्रकाशन, सहकारी गतिविधिलगायत प्रदर्शन गरिएका थिए । त्यसैगरी, ठाउँ–ठाउँमा कृषि उत्पादन, घरेलु तथा हस्तकलाका उत्पादनलगायतका प्रदर्शनी, खाना तथा दही महोत्सव, नवदुर्गा, कुमारी, दीपङ्कर बुद्ध र बुद्ध अस्तिधातु प्रदर्शन, व्यापार मेला, पुस्तक प्रदर्शनी र शैक्षिक प्रदर्शनी, शैक्षिक तथा साहित्यिक गतिविधि, नौका विहार र बालमैत्री गतिविधि तथा दीपावलीलगायतका ३२ वटा विधामा १८० भन्दा बढी स्थानमा विभिन्न प्रदर्शनीहरू भए । पूर्वमा बाहारे पुखु (कमलविनायक पोखरी) परिसरदेखि पश्चिममा न्हुपुखु (रानीपोखरी) परिसरसम्म, उत्तरमा ख्वप कलेज देकोचादेखि दक्षिणमा देगमना र महेश्वरी खेल मैदानसम्म भक्तपुरको पुरानो नगरपुरै क्षेत्रमा दैनिक १० हजारभन्दा बढीको सहभागितामा महोत्सवका विभिन्न विधाहरूको प्रदर्शनी गरिएको थियो । महोत्सवको अवधिमा आन्तरिक र बाह्य गरी ८ लाखभन्दा बढीले महोत्सवको अवलोकन गरेको अनुमान छ । महोत्सवकै अवसरमा मङ्सिर २९ र ३० गते दुई दिनसम्म खुला बाँसुरी बाजा प्रतियोगिताको आयोजना गरिएकोमा ४६ वटा समूहले भाग लिएका थिए । त्यस अवसरमा भक्तपुर महोत्सवसम्बन्धी ‘स्मारिका’, ‘तस्बिर पुस्तक’ र ‘सहकारी आवाज’ बुलेटिन सार्वजनिकीकरण गरियो ।
– २०७२ सालको भूकम्पले पूर्ण क्षति भएको थंथु दरबार पुनःनिर्माण कार्यलाई अगाडि बढाइएको छ । थंथु दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण भइरहेको छ ।
– हनुमन्ते खोलाको माटो झिकी नदी सुधार कार्य भइरहेको छ ।
घ) कृषि
– भक्तपुर नगरपालिकाद्वारा उत्पादित प्राङ्गारिक मल ५० प्रतिशत छुट अर्थात् प्रतिकिलो रु. १० मा बिक्री वितरण भइरहेको छ ।
– यस अवधिमा भक्तपुर नगर क्षेत्रका ५१३ वटा सामुदायिक कुकुरहरूको बन्ध्याकरण र ७७६ वटा सामुदायिक कुकुरलाई रेविज खोप लगाइएको छ ।
ङ) पर्यटन
– आ.व २०८१/८२ पुस २३ गतेसम्ममा गैरसार्क पर्यटकहरू ६७ हजार ९६९ जना र सार्क र चिनियाँ पर्यटकहरू ५१ हजार ४२४ जना गरी जम्मा १ लाख १९ हजार ३९३ जना पर्यटकहरू आगमन भएका छन् । गत वर्षको सोही अवधिमा जम्मा १ लाख १४ हजार ७९२ जनाले भ्रमण गरेका थिए । गत वर्षको तुलनामा उल्लेखित अवधिमा ४ हजार ६०१ जना पर्यटकहरू वृद्धि भएका छन् । यो गत वर्षको तुलनामा ४.०१ प्रतिशतले वृद्धि हो ।
– २०८१ पुस २३ गतेसम्ममा गैरसार्क पर्यटकबाट रु. १२ करोड २३ लाख र सार्क र चिनियाँ पर्यटकबाट रु. २ करोड ५७ लाख जम्मा रु. १४ करोड ८० लाख आम्दानी भएको छ । आ.व. २०८०/८१ को सोही अवधिमा गैरसार्क पर्यटकबाट रु. १० करोड ७५ लाख र सार्क र चिनियाँ पर्यटकहरूबाट रु. २ करोड ७५ लाख गरी जम्मा रु. १३ करोड ५० लाख आम्दानी भएको थियो । यस अवधिमा रु. १ करोड २९ लाख वृद्धि भएको छ ।
– विश्व पर्यटन दिवसको अवसरमा २७ सेप्टेम्बर २०२४ का दिन पहिलो समूहमा आएका पर्यटकहरूलाई स्वागत गर्नुको साथै भक्तपुर पर्यटन विकास समितिसँगको सहकार्यमा ‘भक्तपुरको पर्यटनः विगत, वर्तमान र भविष्य’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ग¥यौँ ।
च) वातावरण तथा सरसफाइ
– भक्तपुर नगरक्षेत्रभित्र उत्पादन हुने फोहोरलाई घरघरबाटै कुहिने वा नकुहिने छुट्याई नियमित सङ्कलन गर्दै आएका छौँ । कुहिने फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्ने र नकुहिने फोहोर पुनः प्रयोगको लागि पठाई बाँकी फोहोरलाई अन्तिम बिसर्जनको व्यवस्था मिलाउँदै आएका छौँ ।
– नगरपालिकाका जनप्रतिनिधिहरूको नेतृत्वमा कर्मचारीहरू र स्थानीय विद्यालय, कलेज, टीम, क्लव र स्थानीय जनताको सहभागितामा नगरका ऐतिहासिक पोखरी, मन्दिर परिसर, खोला तथा सार्वजनिक स्थलहरूमा हरेक महिनाको १ गते र १५ गते नियमितरूपमा पाक्षिक सरसफाइ अभियान सञ्चालन गरिरहेका छौँ ।
– हनुमन्ते खोला र खासाङखुसुङ खोला सुधारको लागि सल्लाघारी र हनुमानघाटको उपचार पोखरीहरू निर्माणाधीन छन् ।
– भक्तपुर सांस्कृतिक नगरक्षेत्र भित्र अव्यवस्थित ढङ्गले छरपस्तरूपमा रहेका तार र केबुलहरूलाई व्यवस्थित गर्न विद्युत्को तार भूमिगत गर्ने कार्य भइरहेको छ ।
छ) खानेपानी
– भक्तपुर नगर क्षेत्रमा मेलम्चीको खानेपानी नियमित वितरण भइरहेको छ । नगरक्षेत्रका परम्परागत पानीका स्रोतहरू पोखरी, इनार, ढुङ्गेधारालगायतका उचित मर्मत सम्भार र संवद्र्धन गर्ने कार्यहरू पनि भइरहेका छन् । त्यसैगरी, नगरका विभिन्न ठाउँहरूमा डिप बोरिङबाट उत्पादित पानी वितरण गरिरहेका छौँ ।
ज) खेलकुद
– भक्तपुर नगरपालिकाबाट दिंँदै आएका विभिन्न खेलहरूको नियमित प्रशिक्षणलाई निरन्तरता दिनुका साथै भनपा वडा नं. १० महालक्ष्मीस्थानस्थित बेखाल टेबलटेनिस प्रशिक्षण कभर्ड हल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ ।
– नगरका विभिन्न वडाहरूमा छिकोङ व्यायाम सञ्चालन भइरहेको छ । हाल नगरका प्रत्येक वडामा ५०/५० जना दैनिक छिकोङ व्यायाममा सरिक भइरहेका छन् । यसलाई थप व्यापक बनाउने प्रयास भइरहेको छ ।
– २०८१ असोज १० देखि १५ गतेसम्म यस नगरपालिका क्षेत्रका संस्थागत र सामुदायिक विद्यालयका खेलकुद शिक्षक शिक्षिकाहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरियो ।
– यस नगरपालिकाको आयोजना २०८१ कार्तिक ९ देखि १४ गतेसम्म नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता (भलिबल, फूटबल, कबड्डी, कराते, एथ्लेटिक्स, उसु, टेबलटेनिस, खोखो, पोर्टबल, ब्याडमिन्टन, तेक्वान्डो, बुद्धिचाल, जिम्नास्टिक, कसिमला पाँय् र बाघचाल) सम्पन्न भयो । उक्त प्रतियोगितामा ८१ वटा विद्यालयका २ हजार ५ सत्न्दा बढी खेलाडीहरूले भाग लिएका थिए ।
– २०८१ मङ्सिर २४ गते भक्तपुर दरबार क्षेत्रमा छिकोङ प्रदर्शनी गरियो । उक्त प्रदर्शनीमा ५०० जनाभन्दा बढी छिकोङ प्रशिक्षार्थीहरूको सहभागिता थियो ।
झ) युवा तथा रोजगार
– अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नगरका सबै वडाहरूमा ‘लागुपदार्थ दुव्र्यसनीबाट टाढा राख्न युवा–विद्यार्थीको भूमिका’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरियो ।
– नगरक्षेत्रभित्र लघु उद्यम विकासअन्तर्गत ३३ जना लघु उद्यमीहरूमध्ये २० जना उद्यमीहरूको स्तरोन्नतिको लागि पुनर्ताजगी तालिम प्रदान गर्न सहजीकरण गरियो ।
– यस आ.व. मा लघु उद्यम विकासको लागि ब्यागझोला बनाउने तालिम, छालाजुत्ता बनाउने तालिम, मोबाइल मर्मत तालिम र मोटरसाइकल मर्मत तालिम गरी ४ वटा तालिमहरू छनोट गरिएका छन् ।
– युवाहरूमा सीप विकास गरी स्वरोजगार बनाउन चिनियाँ भाषा, जापानी भाषा प्रशिक्षण, ग्यास चुल्हो मर्मत, सिलाइ मेसिन मर्मत, आधारभूत र एडभान्स सिलाइ तालिम, पाक शिक्षा, हेयर कटिङ, बुटिक र जग्गा नापजाँच तालिमजस्ता सीपमूलक तालिमहरू सञ्चालन भइरहेको छ ।
– प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यस नगरपालिका क्षेत्रभित्रका ३५० जना नगरवासीहरू बेरोजगारको सूचीमा सूचिकृत भएका छन् । जसमध्ये ६५ जना बेरोजगारहरूले न्यूनतम् १०० दिन बराबर रोजागारी प्राप्त गरिरहेका छन् ।
ञ) सहकारी
– भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूलाई नियमित र व्यवस्थित बनाई उत्पादनशील क्षेत्रमा लगानी गराई प्रोत्साहन गर्न सहकारी सङ्घ–संस्थाका कर्मचारी र पदाधिकारहरूको बिचमा सहकारी संस्थाको विगत, वर्तमान अवस्था र समसामयिक विषयमा अभिमुखीकरण गरियो ।
– भक्तपुर नगरपालिका क्षेत्रभित्रका सहकारी संस्थामा जम्मा भएको सामुदायिक विकास कोषको रकमबाट ख्वप अस्पतालको अक्सिजन प्लान्टलगायत स्वास्थ्य क्षेत्रमा खर्च गरिरहेका छौँ ।
ट) विकास निर्माण
– यस चालु आ.व.को ६ महिनामा विभिन्न १३ वटा योजनाहरू सम्पन्न भएका छन् भने थप ६२ वटा योजनाहरू चालु अवस्थामा छन् ।
– भ.न.पा वडा नं. ६ देकोचामा अरनिको सभाभवन निर्माण कार्य सुरु भएको छ । ११०० सीट क्षमता भएको उक्त सभाभवन २८ रोपनी जग्गामा निर्माण भइरहेको छ । पहिलो चरणको कार्य सम्पन्न गरी दोस्रो चरणको कामको टेन्डर प्रक्रियामा रहेको छ ।
ठ) विविध
– देकोमिवा इतापाके आवास योजनाअन्तर्गत जग्गाधनीहरूको जग्गा फिर्ता दिने कार्य भइरहेको छ भने गुनासोकर्ताको गुनासो सम्बोधन कार्यलाई निरन्तरता दिइएको छ । संशोधित नक्साअनुसार पूर्वाधार निर्माण कार्य पनि अगाडि बढिरहेको छ ।
– नियमितरूपमा बजार अनुगमन गरी अखाद्य वस्तु बेचबिखन, ढक तराजुमा नियमितता ल्याई उपभोक्ताको हित संरक्षण कार्यलाई निरन्तरता दिँदै आएका छौँ ।
– चालु आ.व २०८१/८२ को साउन १ देखि पुस २४ गतेसम्ममा २०३ वटा नक्सा दर्ता, १५३ वटा नक्सा पास, ६१ वटा निर्माण सम्पन्न प्रमाणपत्र जारी गरिएको छ ।
– यस नगरपालिका क्षेत्रभित्र आ.व २०८१/८२ मा ७२४८ जनालाई बैङ्क र वडामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छौँ ।
– चालु आ.व. २०८१/८२ मा यस नगरपालिकामा चीनको शान–नान सहरका प्रतिनिधिमण्डल, चीनको साङ्घाई नगरपालिकाका परामर्श समितिका महानिर्देशक मो फुछुन, चीनको सिचुवान सहरका प्रतिनिधिमण्डल, क्युवाका कार्यवाहक राजदूत अबेल अबाले डिस्पेन्ज, दक्षिण कोरियाका चेओरन नगरपालिकाका प्रमुख, प्रशान्त क्षेत्रका विश्वविद्यालयको साधारणसभामा सहभागी विदेशी प्राध्यापकहरू, चीनको छिङ्हाइ प्रदेशका प्रतिनिधिमण्डललगायतले यस नगरपालिकाको अवलोकन भ्रमण गर्नुभयो ।
– यस अवधिमा पोखरा महानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, मेलम्ची नगरपालिका, फिदिम नगरपालिका, दार्चुलाको महाकाली नगरपालिका, चितवन जिल्लाको राप्ती नगरपालिका, स्याङ्जा जिल्लाको फेदिखोला गाउँपालिका, दार्चुलाको अपिहिमाल गाउँपालिकाका प्रमुख, उपप्रमुखहरूको साथै कालिकोट, गोरखालगायत जिल्लाका विभिन्न स्थानीय तहका प्रतिनिधिमण्डलले भक्तपुर नगरपालिकाको अध्ययन/अवलोकन भ्रमणमा गरेका छन् ।
– यस नरपालिकाबाट ख्वप टेलिभिजनको स्थापना गरी २०८१ जेठ ३० गतेदेखि परीक्षण प्रसारण सुरु गरिएको छ ।
– चालु आ.व. २०८१/८२ को पुस २४ गतेसम्ममा २२५ वटा मुद्दाहरू फछ्र्यौट भएका छन् ।
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य उपचार, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माणजस्ता कार्यहरूमा स्थानीय जनताको साथ र सहयोग लिएर काम गर्दै छ । थुप्रै चुनौतीहरूबिच संविधानले निर्दिष्ट गरेबमोजिम भक्तपुर नगरपालिका समाजवादउन्मुख बाटोमा अगाडि बढिरहेको छ ।
(भक्तपुर नगरपालिकाको १७ औँ नगर सभामा भक्तपुर नपा प्रमुख सुनिल प्रजापतिले शुक्रबार व्यक्त गर्नुभएको मन्तव्य)
Leave a Reply