भर्खरै :

सङ्गीत चिकित्सा विभिन्न रोगहरूको शास्त्रीय सङ्गीतबाट उपचार – १

  • माघ ७, २०८१
  • डा. वीरेन्द्रप्रसाद कायस्थ
  • विचार
सङ्गीत चिकित्सा विभिन्न रोगहरूको शास्त्रीय सङ्गीतबाट उपचार – १

विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक माध्यम हो । यसले हाम्रो स्वास्थ्यमा मात्र नभई जीवनशैलीलाई नै आनन्ददायी र सुखमय बनाएर जीवनलाई सरल र स्वस्थ बनाउँछ । सङ्गीत यस्तो चिकित्सा हो जसमा मानसिक र शारीरिक रोगलाई तीव्र, मध्यम र मन्द स्वर, तरङ्गद्वारा ठीक पार्ने प्रयास गरिन्छ । विशेषज्ञहरूको भनाइअनुसार सङ्गीत ध्वनि विज्ञानको एक शाखा हो । सङ्गीतको इन्फ्रा र अल्ट्रासोनिक ध्वनिहरूले न्युरान इलेक्ट्रिक इम्पल्स शरीरको विभिन्न भागमा पठाएर मस्तिष्कलाई सक्रिय गर्छ, स्नायु प्रणालीको ‘एक्स्ट्रासेलिल्युर मेट्रिक्स’मा प्रवाह उत्पन्न गर्छ र विकृत चिन्तनलाई रोकेर मनोविकारलाई हटाउँछ । त्यसैले सङ्गीतले रोग निको हुनको लागि मात्र मद्दत गर्दैन । यसले स्वस्थ रहनसमेत सघाउँछ ।
सङ्गीत मानवको भौतिक, मानसिक र मनोवैज्ञानिक दुर्बलताबाट मुक्त हुनको लागि उपयोग गरिन्छ । सामवेदमा रोग निवारणको लागि सामगायनको विधान पाइन्छ । नारद्कृत सङ्गीत मकरंद, शारंगदेव कृत सङ्गीत रत्नाकर, मतंगकृत बृहद्देशी, क्रोंचमुनिको ग्रन्थ कुर्णकप्रभा, चरक संहिता, मैंद ऋषिको ग्रन्थ शब्द–कौतुहल, अग्नि पुराण इत्यादि शास्त्र ग्रन्थहरूमा सङ्गीत पनि रोग उपचारको मुख्य साधन बताएका छन् । मध्यकालमा सङ्गीतद्वारा अनेक चमत्कारिक प्रयोगको कथा, किंवदन्तिहरू छन् । आधुनिक कालमा पनि सङ्गीतले चमत्कारिक कार्य गरेको छ । त्यसैले सङ्गीतमा रोग निवारक क्षमता छ ।
सङ्गीतमा निहित विभिन्न स्वरूपका आकर्षक ध्वनिको सीधा सम्बन्ध मानव मनको सूक्ष्म एवं कोमल संवेगसँग हुन्छ । ध्वनिले विशेष संघात रासायनिक परिवर्तन पैदा गर्छ । यसप्रकार, विभिन्न ध्वनिको मिश्रणबाट निर्मित सङ्गीत विभिन्न प्रकारको भावको निर्माण गरी मानव शरीरमा गहिरो असर गर्छ । यो प्रभावोत्पादक क्षमताको प्रयोग चिकित्सा रूपमा शारीरिक र मानसिक सन्तुलन व्यवस्थित राख्ने उद्देश्यले गरिन्छ । यहीँ प्रभावात्मक प्रकियालाई Music Therapy अथवा ‘सङ्गीत–चिकित्साको नामबाट जानिन्छ । अर्थात्, सङ्गीतको सुमधुर स्वरले शारीरिक मानसिक विकार विकृतिको उपचार नै’ सङ्गीत चिकित्सा हो । यो कला र विज्ञानमा समन्वय छ । यो अन्तर्वैैयक्तिक प्रकिया हो जसले एक प्रशिक्षित सङ्गीतज्ञ र सङ्गीत चिकित्सक आफ्ना बिरामीको स्वास्थ्यमा सुधारको लागि सङ्गीतलाई उपयोग गर्दछन् । सङ्गीत–चिकित्साको मूलतत्व शास्त्रीयसङ्गीतमा छ ।
१८७० मा जब ग्रामोफोनको आविष्कार भयो तब सङ्गीत उपचारमा गुणात्मक परिवर्तन आयो । १९ सौँ शताब्दीको उत्तराद्र्ध एवं २० सौँ शताब्दीको सुरूमा युरोपमा सङ्गीत–चिकित्सालाई सम्मानका साथ हेरेको थियो र यसको प्रयोगले मानसिक रोग ठीक गर्न लागे । यसपश्चात् अवसाद एवं तनावजन्य रोगलाई हटाउन प्रक्रृया सुरू गरे । द्वितीय विश्वयुद्धको समयमा अमेरिकामा यसको लोकप्रियता बढे, र सङ्गीत–चिकित्साको प्रयोग युद्धबाट प्रभावित मनोरोगीलाई गरे । १९४४ मा मिसिगन विश्वविद्यालयद्वारा सङ्गीत–चिकित्साको पाठ्यक्रम तयार गरे र १९४६ मा कन्सास विश्वविद्यालयमा आरम्भ गरियो । सन् १९५० मा ‘नेसनल एसोसिएसन फार म्युजिक थेरेपी’ स्थापित भएपछि सङ्गीत चिकित्साको क्षेत्रमा अनुसन्धान एवं अन्वेषणको कार्यमा विस्तार भयो ।
सन् १९४४ मा छिमेकी राष्ट्र भारतमा महात्मा गान्धी अस्वस्थ हुँदा त्यसबेलाका सङ्गीतज्ञ मनहर बर्बेले सङ्गीतद्वारा उनलाई स्वस्थ पारेको थियो । त्यस्तै सन् १९३३ मा प्रसिद्घ शास्त्रीय सङ्गीत पं.ओमकारनाथ ठाकुरले इटलीको तत्कालीन शासक मुसोलिनीको इन्सोम्निया (अल्प निन्द्रा) को समस्यालाई ‘राग पुरिया’ द्वारा उपचार गरेका थिए । प्राचीन मिश्रमा पनि सङ्गीतद्वारा मानसिक अस्वस्थताको उपचार गरिन्थ्यो । चरक संहिता ‘सिद्घिस्थान’को छैटौँ अध्यायमा सङ्गीत चिकित्सकीय प्रभाव वर्णन गरिएको पाइन्छ । मठमन्दिरमा उपयोग गरिँदै आएको गीतसङ्गीत, भजनकीर्तनले विभिन्न शारीरिक समस्यासँगै उदासी रोगलाई हटाउनमा प्रभावकारी रहेको पाइन्छ ।
विद्वानहरूले विभिन्न पुस्तकको माध्यमबाट सङ्गीत–चिकित्साबारे चर्चा गरेको पाइन्छ । एन्ड्रयु वाटसनको अनुसार “शास्त्रीय सङ्गीतमा प्रयोग हुने राग सङ्गीत चिकित्साको मुख्य आधार हो । लेखक आर. मैकलीनको भनाइअनुसार’’शास्त्रीय सङ्गीत मानसिक शान्तिलाई सक्रियता ल्याउने दिव्य औषधि मानिन्छ । वैज्ञानिकहरूको अध्ययनले देखाएअनुसार यदि अति शैली व्यक्तिले कम्तीमा एक घण्टा हरेक दिन शान्त र सजिलो धुन सुन्छ भने स्वास्थ्य स्थिति अझ राम्रो हुन्छ । यसले ह्दयमा माइकोडियल सङ्कुचन बढाउन मद्दत गर्छ । तर कष्टप्रद आवाजहरूले पूर्णतया विपरीत प्रभाव पार्छ, प्रायः ती ध्वनिले हानि गर्न सक्छ ।
सङ्गीत चिकित्सा उच्च रक्तचाप, मधुमेह, उदासी रोग (डिप्रेसन), एन्जाइटी न्युरोसिस, इमोसनल ट्रमा, स्पिरिचुअल ट्रमा, माइस्थेनिया ग्रेविस, मल्टिपल स्केलोरोसिस, क्रोनिक फटिक सिन्ड्रोम, फाइब्रोमाएल्जियालगायतका थुप्रै शारीरिक समस्यामा प्रभावकारी हुन्छ । चिकित्साको इतिहासमा उल्लेख भएअनुसार प्राचीन मिश्रमा पनि सङ्गीतद्वारा मानसिक अस्वस्थताको उपचार गरिन्थ्यो । चरक संहिताको ‘सिद्घिस्थानको छैटौँ अध्यायमा पनि सङ्गीत चिकित्सकीय प्रभावको वर्णन गरिएको पाईन्छ ।
एकाग्रता बढाउनका लागि प्राकृतिक स्वर लहरी सुन्नु फाइदाजनक मानिन्छ । समुन्द्रको छालको स्वर, पानी पर्नुको स्वर, पानीको बहावको स्वर, चराचुरूङ्गीको स्वर लगायतका रिदममा रहेको प्राकृतिक स्वर लहरी सुनेर व्यक्ति विशेषले आफ्नो एकाग्रता बढाउन सक्छ । रक्तचाप स्थिर गर्न शान्त ध्वनिहरू सुन्नु पर्छ । ‘राति सुत्ने बेलामा राग दरबारी सुन्नुभयो भने निन्द्रा राम्रो आउँछ, तनाव हट्छ, राग जौनपुरीले एसिडिटी (अम्लता) व्यवस्थित गर्छ, राग कल्याणीले मुटुको स्याहार गर्छ, । सङ्गीत थेरेपीले सकारात्मक भावनालाई वृद्धि गरी मानसिक तनावलाई र अनिन्द्रालाई राहत दिन मद्दत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *