चे, फिडेलको संस्मरणमा – १५
- कार्तिक ७, २०८२
“बिगार्न जसले पनि सक्छ, बनाउन कसैकसैले मात्र सक्छन् । आन्दोलन गर्न, तोडफोड गर्न, जलाउन, रिस देखाउन, विभाजन गर्न जसले पनि सक्छन् तर सम्झाउन, निर्माण गर्न, संयमित हुन, निःस्वार्थी बन्न र एकताबद्ध भई आन्दोलनबाट उपलब्धि दिलाउन गा¥हो छ ।” यो भनाइ एक नैतिक पाठ मात्र होइन, यो राजनीतिक इतिहासको कठोरतम यथार्थ हो । जनताको रगत–पसिनाले प्राप्त क्रान्तिको उपलब्धिलाई संस्थागत गर्न नसक्दा इतिहासले कस्तो दुःखद मोड लिन्छ भन्ने साक्षी फ्रान्सेली क्रान्ति र नेपालका परिवर्तनपछिका दशकहरू हुन् ।
फ्रान्सेली राज्यक्रान्ति (सन् १७८९) ले सदियौँ पुरानो राजतन्त्रको जग हल्लायो र संसारलाई ‘स्वतन्त्रता, समानता, भ्रातृत्व’ को महामन्त्र दियो । राजा लुई सो¥हौँको विलासी जीवनशैली, जनतामाथि असमान करभार र भोकमरीले जन्माएको विद्रोहलाई ‘एन्लाइटेन्मेन्ट’ ले बौद्धिक चेतना दियो । तर, क्रान्ति सफल भएपछि त्यसको लगाम भीडतन्त्रको हातमा पुग्यो ।
दुर्भाग्यवश, क्रान्ति गर्ने ऊर्जालाई राष्ट्र निर्माणमा लगाउन सक्ने दूरदृष्टि रोब्सपियरको ‘रेइन अफ टेरर’ (भयावह शासन) मा हरायो । असहमतिलाई दबाउँदा हजारौँ निर्दोष गिलोटिनमा परे र अन्ततः रोब्सपियर स्वयं पनि त्यही नियति भोग्न बाध्य भए । केही वर्षमै क्रान्तिको उपलब्धि अराजकतामा विलय भयो र नेपोलियनले आफूलाई सम्राट घोषणा गरे । विश्वले एकपटक फेरि देख्यो—सत्ताको मोह, प्रतिशोध र अविवेकी जोशले कसरी लोकतान्त्रिक जगलाई ध्वस्त पार्छ ।
नेपालको पछिल्लो जेनजी आन्दोलनलाई हेर्दा यो पीडादायी समानता महसुस हुन्छ । २०४६ सालको प्रजातन्त्र, २०६२÷६३ को गणतन्त्र स्थापनापछि पनि जनताले सुशासन पाउन सकेनन् । नेताहरूको नैतिक पतन, चरम भ्रष्टाचार र ‘सिन्डिकेट’ ले देशको अर्थतन्त्रलाई खोक्रो बनायो । यही दलगत असफलता, संस्थागत बेथिति र असक्षम नेतृत्वप्रति नागरिक आक्रोशले जेनजी आन्दोलनको रूप लियो । युवा पुस्ताको ऊर्जा र सामाजिक सञ्जालको शक्तिले तत्कालीन सत्तालाई चुनौती दियो । यो परिवर्तनको आवाज उठाउनु त सजिलो भयो, तर त्यसको विकल्पको स्पष्ट खाका कसैले दिन सकेन ।
नेपालमा २०४६ सालदेखि २०७९ सालसम्म आइपुग्दा, जनताले व्यवस्था परिवर्तनका लागि ठुलो मूल्य तिरेका छन् । राणा शासनको अन्त्यदेखि राजतन्त्रको विसर्जनसम्म आइपुग्दा ‘परिवर्तन’ त भयो, तर संस्थागत सुधार र जवाफदेही नेतृत्वको अपेक्षा अझै अपूरा छन् । गणतन्त्र स्थापनापछिको एक दशकसम्म पनि संसद् विघटन, सरकार परिवर्तन र सत्ताको निरन्तर लुछाचुँडीले राजनीतिक स्थायित्वलाई ठुलो प्रश्नचिह्न लगाएको छ । इतिहास साक्षी छ—जनताले आन्दोलनमा ऊर्जा खर्च गर्छन्, तर परिणाम फेरि पुरानै दलदलमा सीमित हुन्छ ।
जेनजी आन्दोलनले कम्तीमा दुईवटा कटु सत्य उजागर गरेको छः १. नेपाली युवामा परिवर्तनको आकाङ्क्षा मरेको छैन, तर त्यो ऊर्जा ‘रिभल्ट’ (विद्रोह) मा मात्र सीमित भएको छ । २. पुराना राजनीतिक शक्तिहरूप्रति घृणा गहिरिँदै गएको छ, तर त्यसको सशक्त, व्यावहारिक र निःस्वार्थ विकल्प तयार भएको छैन ।
फ्रान्सेली अनुभवले सिकाउँछ—भीडको हुङ्कार र क्षणिक विद्रोहले स्थायी समाधान दिँदैन । आक्रोशको ज्वाला सजिलै बाल्न सकिएला, तर त्यसलाई विवेक र दूरदृष्टिको इन्धन दिएर राष्ट्र निर्माणको कार्यशालामा रूपान्तरण गर्न अत्यन्त कठिन छ । राजनीतिक स्थायित्वका लागि नेपालले अब तीन आधारलाई प्राथमिकता दिनैपर्छ :
१. संविधान र कानुनी शासनको निसर्त सम्मानः व्यक्ति वा दलभन्दा माथि विधि र संस्थालाई स्थापित गर्ने ।
२. सकारात्मक वैकल्पिक योजनाः वर्तमानलाई अस्वीकार मात्र होइन, वैकल्पिक व्यवस्था कसरी निर्माण गर्ने भन्ने व्यावहारिक खाका प्रस्तुत गर्ने ।
३. संस्थागत सुधारमा जोडः भावनात्मक नाराभन्दा सार्वजनिक सेवा, शिक्षा, स्वास्थ्य, अर्थतन्त्रजस्ता क्षेत्रमा देखिने गरी संरचनागत सुधार गर्ने ।
इतिहासले देखाएको सत्य यही हो—क्रान्ति गर्न वा बिगार्न सजिलो होला, तर त्यसका उपलब्धिलाई टिकाउन र राष्ट्र निर्माण गर्न कठिन, संयमित र निःस्वार्थ नेतृत्व चाहिन्छ । जेनजी आन्दोलन एक चेतावनी हो कि लहड, भीडतन्त्र र विवेकहीन जोशले नेपाललाई स्थायित्व र प्रगतितर्फ होइन, फेरि अराजकताको बाटोतर्फ लैजान सक्छ । अब क्रान्तिको विरासतलाई बचाउने अग्निपरीक्षा नेतृत्वको काँधमा छ ।
Leave a Reply