नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
मौसम राम्रो भए साइकिलिङको घुमफिर रमाइलो हुन्छ । अघिल्लो दिनको सहमतिअनुसार जनवरी ५ को बिहान हामी मेट्रो लाइन नं २ को अन्तिम स्टेसन लोङछ्वानयीबाट निस्कँदा बाहिर आकाश सफा र निलो थियो । मौसम सफा भएको सप्तहान्त घुम्न जाने मानिसको घुइँचो लाग्छ । लोङछ्वान पहाड चढ्न तम्तयार परिवारहरू बस स्टेसनमा पहाडको फेदसम्म जाने गाडी कुरिरहेका थिए । साइकल पसलबाट साइकल भाडामा लिनुअघि नजिकैको एउटा चमेनागृहमा मियान (झोलसहितको चाउचाउ, नेपालमा हामी प्रायशः थुक्पा पनि भन्छौँ ।) खान भित्र छि¥यौँ । चमेनागृहकी साहुनी मानौँ हामीलाई नै कुर्दै थिइन्, हामीले दुई बटुका मियान मागे पछि हतार हतार मियान उमाल्न लागिन् । हामीले बोल्नेबित्तिकै विदेशी भनेर ठम्याउन उनलाई कति गाह्रो परेन । चमेना गृहमा कहिलेकाहीँ थाइल्यान्ड र इन्डोनेसियाका विद्यार्थीहरू पनि खाजा खान आउने भएकाले उनले हामी पनि उतैतिरका हौ कि भनेर सोधिन् । हामीले ठट्टा गर्दै हामी त चिनियाँ नै हौँ भन्दा उनले एक क्षण नपत्याएजस्तै गरिन् । अनि भनिन्, कता सिन्च्याङतिर हो घर ? हामी फिस्स हाँस्यौँ र भन्यौँ, होइन, हामी नेपाली हौँ ।
उनले हार्दिकतापूर्वक टेबुलमा दुई ठुला बटुकाभरि मियान राखिदिइन् । टेबुलछेउको सिसीबाट भेनिगर मिसाएर हामीले सुरूप सुरूप मियान खान थाल्यौँ । मियानको खास सुरुवात चीनको उत्तरी भागबाट भएको थियो रे । तर, आजभोलि पूरै चीनभरि मियान चिनियाँ सर्वसाधारणबिच दैनिक खाइने लोकप्रिय खाना बनिसकेको छ । बजारको कुनै पनि कुनामा अथवा कुनै पनि चमेना गृहमा मियान प्रायशः सजिलै पाइने परिकार हो । चिसो मौसममा तातो झोलसहितको मियान खाँदा जीउ भित्रैबाट न्यानो भएको अनुभव हुन्छ । काङसु प्रान्तको लानचाउ सहरको मियान चीनभरि निकै लोकप्रिय मानिन्छ, जसरी पेचिङको हाँसको छोइला, सिछ्वानको होको । चमेनागृहहरूमा मियानका अनेक प्रकारका मियानसँगै लानचाउ मियान पनि मेनुमा उल्लेख गरिएको हुन्छ । एक बटुको मियान खाएपछि अब साइकल चढेर लोङछ्वान पहाड उक्लिन सकिने आत्मविश्वास जाग्यो ।
बजारको कुनामा रहेको साइकल पसलबाट दुईबाट साइकल भाडामा लिएर हामी उक्लियौँ लोङछ्वान पहाड । केही साताअघि चिनियाँ मित्र वनसँग हामी पैदल लोङछ्वान पहाड चढेका थियौँ । त्यो दिन हामी दिनभर पैदल पहाडका बाटा हिँडेका थियौँ । तर, साँझ ६ बजेसम्म हिँड्दा पनि हामी श चिङ स गुम्बा पुग्न सकेका थिएनौँ । फर्किने गाडी नपाइने चिन्ताले गुम्बा पुग्न केही किलोमिटर बाँकी हुँदै अर्को पटकलाई थाती राखी बाटैबाट फर्केका थियौँ । उतिबेला बाटामा साइकल चढेर यात्रा गरिरहेका चिनियाँ युवकहरू देख्दा कुनै दिन साइकल चढेर आउने रहर पलाएको थियो । त्यसो हुनुको अर्को एउटा कारण पनि थियो, लोङछ्वान पहाडको परिदृश्य झन्डै नगरकोटको पहाडजस्तै देखिन्छ । कहिलेकाहीँ सप्तहान्तमा साइकल चढेर नगरकोट उक्लिँदाको सम्झनाले लोङछ्वान पहाड साइकलमा उक्लिने चाहना पलाएको थियो । साइकल चढ्दै उक्लिएपछि अनुभव भयो, पहाडको परिदृश्यमात्र होइन, त्यहाँका वरपरका रेस्टुराँ र होटलहरू पनि नगरकोटकै सम्झना दिलाउने खालका थिए । छङ तु सहरको व्यस्त दैनिकी छल्न लोङछ्वान पहाडमा खोलिएका रिसोर्टमा आराम गर्न आउने मानिसहरूका सवारीले सडक व्यस्त थियो । लोङछ्वान पहाड विशेषतः वसन्तयाममा निकै सुन्दर हुनुपर्छ किनभने त्यहाँ भिरालो जग्गाभरि स्थानीयले आरुका बोट रोपेका छन् । वसन्तयाममा फुल्ने आरुका कोपिलाको रङ्गले पुरै पहाड कति सुन्दर देखिँदो हो ।
यसपटक भने हामीलाई पुग्नु थियो : श चिङ स गुम्बा । झन्डै साढे दुई घण्टाको साइकल यात्रापछि हामी श चिङ स गुम्बा पुग्दा मानिसहरूको घुइँचो लागिसकेको थियो । गुम्बाको मुलद्वारमा पुग्न केही मिटरयताबाटै स्थानीयहरू धुप बेचिरहेका थिए । उनीहरू बाटोमा आउने सबै यात्रुलाई धुप किन्न आग्रह गरिरहेका थिए – दक्षिणकाली जाँदा पुजाका सामग्री बेच्न बसेका स्थानीय जस्तै ।
श चिङ स गुम्बामा पनि सबै उमेर समूहका मानिस धुप र मैनबत्ती बालेर बुद्धको प्रार्थना गरिरहेका थिए । गुम्बा परिसरभित्रका आठ नौ वटा ठुलठुला चिनियाँ मौलिक कलात्मक वास्तुका भवनभित्र रहेका बुद्धका मूर्तिहरूलाई मानिसहरू घुँडा टेकेर घोप्टो परेर प्रार्थना गरिरहेका थिए । अनि भवनबाहिर धुप बाल्ने र बत्ती बाल्ने ठाउँमा मानिसहरूले बालेका धुपका धुँवा वरपर फैलिएको थियो । श चिङ स गुम्बा परिसरभित्रकै एउटा मन्दिर बाहिर बुद्धको प्रार्थनामा हातले घुमाउने फलामको गोलोमा रञ्जना लिपिमा ‘ऊँ माने पदमे हुँ’ कुँदिएको देख्दा खुसी अनुभव भयो । रञ्जना लिपि नेपाली माटोमा जन्मेको लिपि हो । त्यो लिपिका अक्षर चीनको यो ग्रामीण गुम्बामा देख्दा खुसी नहुने कुरै थिएन । त्यहाँ राखिएका ४२ वटा त्यस्ता घुमाउनेहरूमध्ये ४१ वटामा रञ्जना लिपिका अक्षर थिए । यसबाट काठमाडौँ उपत्यकाको बौद्ध धर्मको व्यापकता अनुभव गर्न सकिन्छ ।
श चिन स गुम्बा पहाडको फेदमा बनाइएको निकै पुरानो गुम्बा हो । यहाँ विभिन्न ठाउँका बौद्ध गुरुहरू आएर अध्ययन अनुसन्धान गरेको त्यहाँ बनाइएका उनीहरूका प्रतिमाबाट बुझ्न सकिन्छ । गुम्बाभित्रका भवनका वास्तु चिनियाँ प्राचीन शैलीका छन् । भित्रको सजावटमा कलात्मक चित्रकथाहरू कोरिएका छन् ।
धेरै मानिसहरूमा चीनमा धर्म मान्न पाइँदैन भन्ने भ्रम अझै व्यापक छ । कतिपय पश्चिमा सञ्चारमाध्यमका हचुवा प्रचारबाजीमा लागेर मानिसहरू चिनियाँहरूको कुनै धर्म हुँदैन भन्छन् । तर, चिनियाँ समाज नियालेका जो कोहीलाई यस्ता प्रचारबाजी हास्यास्पद लाग्छ । खासमा चिनियाँ समाज धार्मिक विषयमा निकै सहिष्णु समाज हो । बौद्धमार्गी, इसाई, मुस्लिम, ताओ धर्मावलम्बीहरू सबैले आफ्ना धार्मिक गतिविधि निर्धक्क गरिरहेका छन् । राज्यले उनीहरू सबैलाई समान सुरक्षा दिएको हुन्छ । राज्यकै लगानीमा सबै धर्मका धार्मिक पूर्वाधार निर्माण गरिएका हुन्छन् । तर, त्यस्ता धार्मिक गतिविधि तोकिएका ठाउँ जस्तै गुम्बा, मस्जिद र चर्चमा मात्र सीमित गर्नुपर्छ । सडक र चोकमा धार्मिक गतिविधि गर्न भने सुरक्षा र सार्वजनिक जीवनलाई ध्यानमा राखी निषेध गरिएको देखिन्छ ।
गत वर्षको डिसेम्बरमा एक जना इसाई मित्रको आमन्त्रणमा म छङ तुको सबभन्दा ठुलो गिर्जा घर (चर्च) गएको थिएँ । चीनका धार्मिक गतिविधिप्रति उत्सुकताको कारण मैले तिनी बेलायती मित्रको आमन्त्रण सजिलै स्वीकारेको थिएँ । डिसेम्बरको एउटा चिसो बिहान म उनीसँगै थियान फु स्क्वायर नजिकको गिर्जा घर पस्दा चिनियाँ इसाई महिलाहरू सबै आगन्तुकहरूलाई स्वागत गरिरहेका थिए । भवनभित्र दुई वटा अलग अलग गिर्जाघर रहेछन् । दोस्रो तल्लाको गिर्जामा चिनियाँ भाषामा प्रार्थना हुने रहेछ भने तल्लो तल्लाको गिर्जाघरमा अङ्ग्रेजी भाषामा । चिनियाँ भाषामा प्रार्थना गरिने गिर्जाघरको हल निकै ठुलो थियो र हजारौँ मानिस अटाउन सकिने खालको थियो । अर्को गिर्जाघर तुलनात्मकरूपमा सानो थियो र त्यहाँ विशेषतः छङ तुमा बसिरहेका विदेशी इसाईहरू सहभागी हुन्छन् । त्यो दिन अङ्ग्रेजी भाषामा प्रार्थना गरिने गिर्जाघरमा जिसस क्राइसको जन्मबारे नाटक मञ्चन गरिएको थियो । करिब डेढ सय विदेशीहरू त्यहाँ सहभागी थिए । केही अङ्ग्रेजी बोल्ने चिनियाँहरू पनि त्यहाँ सहभागी थिए । उनीहरूले अङ्ग्रेजीमा गीतहरू गाएका थिए । तर, गिर्जाघरभित्र राखिएका बाइबल भने सबै चिनियाँ भाषाकै थिए । कुनै पनि प्रति अङ्ग्रेजीमा थिएन ।
माथिल्लो तल्लामा हेर्न जाँदा त्यहाँ प्रार्थना सम्पन्न भइसकेको थियो । त्यहाँ अधिकांश सहभागी उमेर ढल्केका चिनियाँ महिलाहरू थिए ।
मेरा इसाई मित्र भन्दै थिइन्, चिनियाँ भाषाको प्रार्थना गीतको लय र अङ्ग्रेजी लय उस्तै हो । त्यसकारण, म कहिलेकाहीँ यहाँ पनि आउने गरेको छु । चीन, विशेषतः सिछ्वानमा इसाई धर्मको निकै लामो इतिहास भएको कुरा गिर्जाघर परिसरमै स्थापना गरिएको सङ्ग्रहालयबाट थाहा हुन्थ्यो ।
इस्लाम धर्मप्रति चिनियाँ बन्दोबस्त देख्दा पनि अचम्म लाग्छ । चीनका सबैजसो विश्वविद्यालयमा हलाल खाना पाइने अलगै चमेना गृह हुन्छन् । विशेषतः हलाल खाना खाने मुसलमानहरूका निम्ति ती चमेना गृह बनाइएका हुन् । कुनै भ्रमणको आयोजना गर्नुपर्दा सुरुमा भर्न लगाइने फारममा हलाल खाना खाने कति छन् भनी अलगै सूचना सङ्कलन गरिएको हुन्छ र त्यहीअनुसार खानाको बन्दोबस्त गरिएको हुन्छ । मुसलमानहरूको जनसङ्ख्या अत्याधिक भएका कतिपय देशहरूमा समेत यस्तो बन्दोबस्तको अपेक्षा गर्न सकिन्न । छङ तुको केन्द्र थियान फु नजिकैको मस्जिदमा हरेक शुक्रबार प्रार्थना गर्न विभिन्न देशका मुसलमानहरू जाने गर्छन् ।
सिन्च्याङबाट आएका चिनियाँ मुसलमानहरूले सहरका मुख्य बजारहरूमा हलाल खानाका चमेना गृह खोलेका हुन्छन् । त्यस्ता खाना खाने पसलमा ग्राहकको घुइँचो लागेको हुन्छ । अहिलेसम्म ३८ पटक चीनको यात्रा गरिसकेका अमेरिकी यात्री छङ तुमा हुँदा जहिल्यै मुसलमानहरूको पसलमा खाना खान मन पराउँछन् । उनले हामीलाई खाना खान बोलाउँदा सिन्च्याङका मुसलमानहरूले खोलेको त्यस्तै एउटा रेस्टुराँमा बोलाएका थिएनन् । सियान प्रान्तको केन्द्रकै रहेको ता यन था परिसरमा मुसलमानहरूको ठुलो बजार देख्दा इतिहासका जटिल बाटा कहाँ कसरी जोडिएका होलान् भनी मनन गर्न मन हुन्छ ।
ताओ धर्मका अधिकांश मन्दिरलाई हिजोआज पर्यटकीय केन्द्रको रूपमा विकास गरिएको देखिन्छ । सिछ्वान सभ्यताको निम्ति ज्यादै महत्वपूर्ण मानिएको तु च्याङ याङ सिञ्चाई क्षेत्रमा बनाइएको ताओ मन्दिरमा मानिसहरू इतिहास, संस्कृति, सभ्यताबारे बुझ्न जान्छन् । अधिकांशतः डाँडाको टुप्पामा बनाइएका त्यस्ता मन्दिरहरूका परिसरबाट देखिने मनोरम दृश्यका कारण दिनहुँ हजारौँ पर्यटक जान्छन् ।
त्यो दिन श चिङ स गुम्बा छोडेर हाम्रो अर्को गन्तव्य थियो, लोङछ््वान ताल । साइकलको रफ्तारसँगै हामी वरपर पहाडले घेरेको एउटा सानो उपत्यकामा पुग्यौँ, जहाँ किसानहरू खेतमा काम गरिरहेका थिए । फलफूलका रुखले उपत्यका भरिलो देखिएको थियो । बारीमा फलेका सुन्तलाले फाँटको कलेवर अझ सुन्दर बनाएको थियो । मोबाइलमा विद्युतीय नक्सा पछ्याउँदै जाँदा कतिबेला हामीले बाटो बिरायौँ थाहा भएन । तर, मोबाइलमा चार्ज हुञ्जेल हामी हराउने सम्भावना थिएन । ढिलो चाँडोमा गन्तव्यमा पुग्थ्यौँ । एक घण्टा जति भौँतारिएपछि हामी लोङछ्वान ताल पुग्यौँ । तल वरपरको जङ्गल र पर्यावरणको पूरै संरक्षण गरिएको देखिन्थ्यो । मानिस हिँड्न सकिने कच्ची सडकबाहेक ताल छेउछाउ अरू कुनै पनि संरचना बनाइएको थिएन । गहिरो लामो तालको निलो पानी निकै मनमोहक देखिएको थियो । तालछेउ गाउँकै बुढी बज्यैसँग आधा किलोको २ युआनमा किनेको सुन्तला पेटभरि खाएर हामी फर्कियौँ ।
अनि उही उकाली ओराली बाटो फर्किँदा हामी थाकेर फटक्क गलिसकेका थियौँ । अब केही बेरमा चिसो हावा चल्न सुरु हुनेछ । पसिनाले भिजेको लुगामा चिसो हावाले हान्दा हामीलाई अझ गा¥हो हुने थियो । त्यसकारण, हामीलाई चाँडोभन्दा चाँडो बेसी झर्नु थियो । पहाडका उकाली र ओराली गर्दै हामी लोङछ्वानयी पुग्दा साँझ परिसकेको थियो । पसिनाले निथ्रुक्क गलेका हामीलाई कतिबेला कोठा पुगौँला भइसकेको थियो ।

Leave a Reply