भर्खरै :

नेवाः समुदायमा चलिआएको परम्परागत लोकोपचार पद्घति

  • माघ १७, २०८१
  • डा. वीरेन्द्रप्रसाद कायस्थ
  • विचार
नेवाः समुदायमा चलिआएको परम्परागत लोकोपचार पद्घति

नेवाः समाजमा आफ्ना वरपरको वातावरण, चालचलन, धर्म, संस्कृति, भौगोलिक परिस्थिति आदि अनुसार परापूर्व कालदेखि लोकोपचार पद्घतिबाट उपचार गर्दै आइरहेका छन् । वास्तवमा लोकको निम्ति लोकले नै प्रयोग गर्दै आइरहेको लोक विश्वास र लोक पद्घति भएको उपचारलाई लोकोपचार भनिन्छ । उपचार गर्ने क्रममा आफ्ना वरपर भएका माटो, रङ्ग, पानी, आगो, घाम, ध्वनि, हावा, फलाम आदि वस्तुहरूलाई प्रयोग गर्दै आएका छन् । प्रत्येक प्रकृति प्रदत्त वस्तुहरूमा आ–आफ्नै खाले केही न केही गुण रहेका हुन्छन् । तिनै गुणलाई आ–आफ्ना आस्था विश्वास र अनुभवको आधारमा उपचार विधि प्रयोग गर्दै आइरहेका छन् । लोकपचारमा सामाजिक संरचना, जाति, भाषा, धर्म, भौगोलिकता आदिमा फरक वा समानता हुन सक्छ । लोकोपचार ऋग्वेद कालीन विभिन्न सूत्रहरू तन्त्र मन्त्रको रूपमा रहेतापनि नेपालमा आयुर्वेदिक उपचार पद्धति लिच्छाविकालदेखि नै व्यवस्थित थियो भन्ने कुरा राजा नरेन्द्रदेवको पालामा देउपाटनमा रहेको रोगीहरूको लागि कल्याण वा उपचारको लागि आरोग्य भवन निर्माण गरेको अभिलेखबाट स्पष्ट हुन्छ ।
नेवाः समुदायमा चलिआएको परम्परागत स्वास्थ्योपचारका विभिन्न पद्धतिहरूमध्ये १) मन्त्र तथा स्तुति चिकित्सा २) व्रत तथा उपवास चिकित्सा ३) रङ्ग तथा रत्न चिकित्सा ४) औषधि स्नान चिकित्सा ५) यन्त्र चिकित्सा ६) तन्त्र चिकित्सा ७) योग चिकित्सा ८) आयुर्वेद चिकित्सा ९) ज्योतिषीय चिकित्सा १०) प्राकृतिक चिकित्सा ११) ग्रहपूजा र १२) ग्रहपदार्थको दान आदि मुख्य रूपमा प्रचलित छन् । यी पद्घतिलाई मुख्यतया आठ प्रकारमा विभाजन गर्न सकिन्छ ।
१) आफ्ना वरपर पाइने भौतिक सामान प्रयोग गरी गरिने उपचार पद्धति – जस्तैः खरानी दल्ने , विभिन्न लेप लगाउने, टाँस्ने आदि ।
उदाहरणः— जनै खातिराको परम्परागत उपचारमा जनै खटिरा आउने व्यक्तिले किसली (माटाको पालामा चामल, सिङ्गो सुपारी र चानचुन पैसा) नारायाण मन्दिरमा चढाउने र चित्रकारले नेपाली कागजमा सिंहको एक जोडी चित्रलेखी खटिरा आएको दुई स्थानमा सिंहको मुख फर्काएर टाँसिन्छ वा जोडी सिंहको चित्र लेखिन्छ । नभन्दै उक्त खटिरा आएको मानिसमा बिस्तारै खाटिराहरू हराउँंदै जान्छ र निको हुन्छ पनि । वास्तवमा कसरी सिंह टाँस्दैमा खतिराहरू बिलिन भए । यसमा वैज्ञानिक कारण लुकेको छ । सिंहको चित्र बनाउने रङ्ग विशेष प्रकारको औषधीय गुण भएका जडीबुटी र रसायनबाट बनेको हुन्छ । सिंहको चित्र सेतो, रातो र कालो रङ्गले लेखिन्छ । सेतो रङ्गमा जिंक अक्साइड, रातोमा सल्फर मर्करी र कालोमा कार्बन तत्वहरू रहेका हुन्छन् । यिनै तत्वहरू शरीरमा टाँसिन गई रासायनिक प्रतिक्रिया भई औषधिको रूपमा काम गर्दछ । औषधीय गुण भएको रङ्गको प्रभावले खटिराको विस्तारलाई रोक्न सकिन्छ । यो रङ्गले एन्टिसेप्टिकको पनि काम गर्छ । यसकारण सिंह लेखाएपछि खटिरा पाक्ने सम्भावना कम हुन्छ र खटिरा चाँडै सुक्छ । (जनै खटिरा –लोक उपचार)
२) झारफुक गर्ने उपचार पद्धति :–जस्तै तन्त्र मन्त्र प्रयोग गर्ने, विभिन्न देवी देवताको प्रार्थना गर्ने आदि । उदाहरणः— नेवारी समुदायले खटिरा उपचारको लागि सीतालामाजुलाई पूजा गर्ने चलन छ । राजा रणबहादुर शाहको पालामा ठेउला महामारीको रूपमा काठमाडौँ उपत्यकामा देखा परेको थियो । उक्त ठेउलाबाट आफ्ना छोरा राजकुमारलाई जोगाउन उपत्यकामा भएका ससाना बालबालिकाहरूलाई देश निकाला गरेका कथनहरू रहेका छन् ।
३) भूतप्रेत, डाँकी सँकिनी, बोक्सी, मसान आदि मानवेत्तर प्राणीलाई विश्वास गरी गरिने उपचार पद्घति – झाक्री, दोबाटोमा पन्छाउने आदि । क) जस्तैः ज्योतिषीय चिकित्सा आयुर्वेदका विभिन्न चिकित्सा विधिमध्ये भूतबाधा ग्रहचिकित्साभित्र पर्ने उपचार विधि पनि हो ।
ख) दोबाटोमा पन्छाउने बौ वाय् ज्याः नेवाः समाजमा काँचो माटोको सानो दहीको कटारो वा सलिचा (एक प्रकारको माटोको भाँडो) मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीबिरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोलबाहिरको दोबाटो वा चौबाटोमा लगेर राखी बौ वाय् ज्या अर्थात् भूत पन्छाउने कार्य गरिन्छ । ग) बौ वाय् ज्या गर्ने क्रममा कसैकसैले कुखुराको बलि पनि दिने चलन छ । बौ वाय् ज्या सँगसँगै घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास छ ।
घ) साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा बालेर दोबाटोमा लगेर राख्ने) गरिन्छ । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरूको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास (नेवार समुदायको मानिस मर्दा उसको लुगा फाल्ने ठाउँ) मा लगेर सेलाउने गरिन्छ ।
४) देवी देउतालाई भाकल गरी धार्मिक पूजाआजा गरी गरिने उपचार पध्दति भाकल गरी बलि दिने ,नेवारहरूले किसली चढाउने आदि ।
जस्तैः नेवाः समाजमा अदृश्य दैवीय शक्तिसँग जोडिएका विभिन्न चलन छ । तीमध्ये एउटा विधि भनेको ‘किसली तयेगु’ हो । किसली तयेगु भनेको सानो तरिकाले भाकल गर्नुसरह हो ।
मनोकामना पूरा गर्न आफूलाई विश्वास लाग्ने देवीदेवताकहाँ गएर सानो सली (माटोबाट बनेको कचौरा) मा चामल, सुपारी र पैसा राखेर चढाउनु हो । यसमा सुपारी राख्दा ठाडो टाउको माथि हुने गरी राख्नुपर्छ । आफूले चाहेको जस्तोसुकै मनोकामना राख्न सकिन्छ– विशेषतः रोगव्याधी भएको बेला रोग हटाइदिन देवताकहाँ गएर किसली राखिन्छ ।
आफ्ना शुभकार्य पूरा गर्न पनि आफूलाई मनपर्ने इष्टदेवताकहाँ गएर किसली राख्न सकिन्छ । त्यस्तै मन भयभित भएको अवस्था भयरहित रहन भैरव मन्दिरमा गएर किसली चढाउने गरिन्छ भने कुलदेवताकहाँ गएर पनि विघ्नबाधा हटाइदिन यसरी किसली चढाउने चलन छ ।
५) अन्धविश्वासमा परि गरिने उपचार पद्धति : छोराछोरी पाउन, मोहनी लगाउने आदि ।
६) ज्योतिषीय चिकित्सा : ग्रह, नक्षत्र, दशाफलअनुसार उपचार गर्ने पद्धति ः राहु ,केतु र शनि आदि देखाउने, विभिन्न वस्तु जस्तै औँठी, धागो, टीका धारण गर्ने आदि ।
क) ज्योतिषीय आधारमा अपनाइएको उपचार पद्धतिमा रत्नधारण पद्धतिलाई ज्योतिषका ग्रन्थहरूमा महत्वका साथ उपस्थापन गरिएको छ भने आयुर्वेदिक उपचार पद्धतिमा रत्न तथा खनिज पदार्थको भस्म प्रयोग गरिन्छ । (फोटो गुगल इन्टरनेट)
जस्तैः भूगर्भभित्र रहेका पदार्थहरूको सङ्घटनबाट निर्मित रत्नहरू व्यक्तिको जन्मकालीन ग्रहको अनुकूलता र प्रतिकूलतालाई हेरेर धारण गर्ने गरिन्छ । अग्निपुराण गरूड पुराण, लगायतका शास्त्र, ज्योतिष ग्रन्थ र विभिन्न वैदिक ग्रन्थमा वर्णन र विवेचना गरिए अनुसार भूगर्भमा रहेका विभिन्न उच्चकोटीका रत्नहरू सयौँ प्रकारका रहे पनि सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र, शनि, राहु, केतु आदि ग्रहका दोष निवारण गर्नका लागि क्रमशः माणिक, मोती, प्रवाल, पन्ना, पुखराज, हिरा, नीलम, गोमेद र वैदूर्यमणि प्रयोग गर्ने नियम रहेको छ ।
ख) ग्रहजन्य दोषबाट उत्पन्न रोगको उपचारमा ग्रह सम्बन्धित जडीबुटी धारण गर्ने र त्यसको चूर्ण रस प्रयोेग गर्ने, ग्रह सम्बन्धित द्रव्यले स्नान गर्ने ।
ग) ग्रहदशा प्रतिकूल हुँदा औषधि उपचारमा ढिलाइ हुने, प्रभावकारी नहुने हुन्छ । त्यसैले ग्रहको दोष हटाई उपचार गर्दा प्रभावकारी हुन्छ ।
घ) निश्चित औषधि सङ्ग्रह, निर्माण तथा प्रयोग गर्दा निश्चित नक्षत्रमै गर्नुपर्ने निर्देशन छ । चरक सहिताअनुसार सूर्य, चन्द्रको ग्रहणकाललाई औषधि उपचारका दृष्टिले शक्ति आधातकालका रूपमा लिएको छ ।
७ ) रङ्ग चिकित्सा :
शरीरमा रङ्गको सन्तुलन बिग्रनाले विभिन्न प्रकारका रोगहरूले जन्म लिने गर्दछन् । रङ्ग चिकित्सा अनुसार घाँटीको रोग, स्वरभङ्ग, गलगाँड र फोक्सो सुन्निएर उत्पन्न ज्वरो, गाठागुठी, दाद, हिस्टेरिया तथा मुटुको धड्कन आदिमा आकाशे रङ्गको आवश्यकता पर्दछ । यस्तो रोगको लागि पुष्पराजबाट निर्मित गोली अत्यन्त लाभदायक हुन्छ ।
शरीरमा रङ्गको सन्तुलन हाम्रो जन्मकुण्डलीमा विभिन्न ग्रहको स्थितिअनुसार बन्ने र बिग्रने गर्दछ । अतः रत्नको प्रयोगले शरीरको रङ्गलाई सन्तुलित पार्न सकिन्छ । यसप्रकार हामी विभिन्न रोगबाट बच्न सक्छौँ । रत्नशास्त्रीको मान्यता छ कि प्रत्येक रत्नको आफ्नो एउटा विशिष्ट रङ्ग हुन्छ, जुन निम्न प्रकारका छन् —
क) उदाहरणः व्यक्तिको जन्मकुण्डलीमा सूर्य प्रतिकूल छन् । यसको मतलब यो हो कि उसमा रातो किरणको कमी भयो । यो कमीको कारणले उभ्दासित शक्ति गुण क्षीण भयो । अतः उसलाई ज्वरो या खोकी आदि रोगले दुःख दिन थाल्दछ । यस्तो स्थितिमा सूर्यको रातो किरणमा तीव्रताका साथ आफूमा आत्मसात गर्न सक्ने रत्न धारण गर्नुपर्दछ । यसको लागि उचित रत्न माणिक हो । माणिक धारण गर्नाले त्यो व्यक्ति रोगमुक्त हुन्छ । रङ्गले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ ।
रातो रङ्गलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । त्यसैले देवताहरूले रातो रङ्गको पहिरन लगाएको हुन्छ । रातो भनेको सङ्घर्षमय जीवनलाई एकमुष्ट पारेर सजाई राख्ने प्रतीक हो । अधिकांशलाई मनपर्ने रङ्ग हो– रातो । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ । हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ । स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकका रूपमा लिइने यो रङ्गहोलीमा पनि विशेष प्राथमिकताका साथ प्रयोग गरिन्छ । रातो रङ्गलाई साहस र प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ । रातो रङ्ग मन पराउने मानिसहरू महत्वाकाङ्क्षीका साथै जिज्ञासु एवं जोसिला हुन्छन् । कफ रोग नाशक, हेमोग्लोबिन बढाउने, आइरनको कमी र रगतसम्बन्धी समस्यामा यो रातो रङ्गलाई प्रयोग गर्दा फाइदा हुन्छ ।
ख) हरियो रङ्गलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रङ्ग पनि भनिन्छ । हरियो रङ्ग मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने खालका हुन्छ । उनीहरू झैझगडा पटकै मन पराउँदैनन् । यो रङ्ग मन पराउने मानिसहरूको आत्मविश्वास कम हुने विश्वास गरिन्छ । उदाहरणः व्यक्तिको जन्मकुण्डलीमा बुध प्रतिकूल छन् । यसको अर्थ यो हो कि उसमा हरियो किरणको कमी भयो । यो कमीको कारणले उभ्दासित शक्ति गुण क्षीण भयो । अतः उसलाई अजीर्ण, वायु रोग, डायरिया आदि रोगले दुःख दिन थाल्दछ । यस्तो स्थितिमा बुधको हरियो किरणमा तीव्रताका साथ आफूमा आत्मसात गर्न सक्ने रत्न धारण गर्नुपर्दछ । यसको लागि उचित रत्न पन्ना हो । पन्ना धारण गर्नाले त्यो व्यक्ति रोगमुक्त हुन्छ ।
ग) पहेँलोः यो रङ्गलाई भक्ति र धर्म परायणताको रूपमा लिइन्छ । यो रङ्ग मन पराउने मानिसहरू धर्मकर्मप्रति बढी विश्वास गर्छन् । पहेँलो रङ्ग भगवान श्रीकृष्णको प्रिय रङ्ग हो ।
होलि हिन्दू धर्मावलम्बीहरूको चाड भएकोले यो रङ्गको विशेष प्रयोग हुन्छ । कतिपय समुदायमा त रातो र पहेँलो अबिर दलेर होलि खेल्ने परम्परा पनि छ । यो रङ्गको सम्बन्ध खुसी र हर्षसँग पनि छ । मनोविज्ञहरूका अनुसार यो रङ्ग मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्न उत्साहित हुन्छ ।
उदाहरणः व्यक्तिको जन्मकुण्डलीमा वृहस्पतिको प्रतिकूल छन् । यसको मतलब यो हो कि उसमा पहेलो किरणको कमी भयो । यो कमीको कारणले उभ्दासित शक्ति गुण क्षीण भयो । अतः उसलाई कलेजोसम्बन्धी, मांसपेशी आदि रोगले दुःख दिन थाल्दछ । यस्तो स्थितिमा वृहस्पतिको पहेलो किरणमा तीव्रताका साथ आफूमा आत्मसात गर्न सक्ने रत्न धारण गर्नुपर्दछ । यसको लागि उचित रत्न पुष्पराज हो । पुष्पराज धारण गर्नाले त्यो व्यक्ति रोगमुक्त हुन्छ ।
घ) कालो रङ्ग इष्र्या र स्वार्थसँग सम्बन्धित हुन्छ । यो रङ्ग मनपराउने मानिसहरू आफ्ना इच्छा र भावना खुलस्त रूपमा भन्न चाहँदैनन् । तुरून्तै रिसाउने खालका हुन्छन् । नीलो रङ्गलाई धर्मयुद्धको प्रतीक मानिन्छ । नीलो रङ्गले मानवता र धैर्यतालाई दर्शाउँछ । त्यसैले नील वर्णका भगवान विष्णुले अधर्मको नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको मान्यता पनि सुन्न पाइन्छ । यो रङ्गलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ । त्यसैले पनि यो रङ्गको प्रयोग बढी हुन्छ । यो रङ्ग मन पराउने मानिसहरू सन्तुलित विचारधाराका हुन्छन् । उनीहरू अलि बढी चिन्तित स्वभावका हुने हुन्छन् ।
उदाहरणः व्यक्तिको जन्मकुण्डलीमा शनि प्रतिकूल छन् । यसको मतलव यो हो कि उसमा नीलो किरणको कमी भयो । यो कमीको कारणले उभ्दासित शक्ति गुण क्षीण भयो । अतः उसलाई हड्डी, दाँत र नङ आदि रोगले दुःख दिन थाल्दछ । यस्तो स्थितिमा शनिको नीलो किरणमा तीव्रताका साथ आफूमा आत्मसात गर्न सक्ने रत्न धारण गर्नुपर्दछ । यसको लागि उचित रत्न निलम हो । निलम धारण गर्नाले त्यो व्यक्ति रोगमुक्त हुन्छ ।
ङ) सेतोः यो रङ्गलाई शुद्धताको प्रतीक मानिन्छ । कर्ममा विश्वास राख्ने व्यक्तिहरू सेतो रङ्ग मनपराउँछन् । चहकिलो सेतो रङ्गलाई सफा एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ । धेरैलाई मनपर्ने रङ्ग हो ।
उदाहरणः व्यक्तिको जन्मकुण्डलीमा चन्द्र र शुक्र प्रतिकूल छन् । यसको मतलव यो हो कि उसमा सेतो किरणको कमी भयो । यो कमीको कारणले उभ्दासित शक्ति गुण क्षीण भयो । अतः उसलाई थाइराड, मृगौला र वीर्य विकार आदि रोगले दुःख दिन थाल्दछ । यस्तो स्थितिमा चन्द्र र शुक्रको सेतो किरणमा तीव्रताका साथ आफूमा आत्मसात गर्न सक्ने रत्न धारण गर्नुपर्दछ । यसको लागि उचित रत्न मोती र हीरा हो । मोती र हीरा धारण गर्नाले त्यो व्यक्ति रोगमुक्त हुन्छ ।
८) चिकित्सा पद्धतिहरूमध्ये सङ्गीत चिकित्सा (म्युजिकथेरापी) पनि एक माध्यम हो । विशेषज्ञहरूको भनाइअनुसार सङ्गीत ध्वनिविज्ञानको एक शाखा हो । सङ्गीतको इन्फ्रा र अल्ट्रासोनिक ध्वनिहरूले न्युरान इलेक्ट्रिक इम्पल्स शरीरको विभिन्न भागमा पठाएर मस्तिष्कलाई सक्रिय गर्छ, स्नायु प्रणालीको ‘एकस्ट्रासेलिल्युर मेट्रिक्समा प्रवाह उत्पन्न गर्छ र विकृत चिन्तनलाई रोकेर मनोविकारलाई हटाउँछ । त्यसैले सङ्गीतले रोग निको हुनको लागि मात्र मद्दत गर्दैन । यसले स्वस्थ रहन समेत सघाउँछ ।(फोटो गुगल इन्टरनेट)
प्राचीन समयदेखि नै सङ्गीतको प्रयोग चिकित्सा क्षेत्रमा गरिदैँआएको देखिन्छ । आयुर्वेदमा पित्त बढी हुँदा मधुर सङ्गीतको श्रवण गर्न सुझाइएको छ । मधुर सङ्गीत शिशु स्याहार कक्षमा राख्न सल्लाह दिइएको छ । मिठो सङ्गीतको प्रयोग क्षयरोगको उपचार उच्च रक्तचाप, अनिद्रा, मानसिक तनाव, दुखाइ, हृदय रोग आदिमा फाइदा पु¥याउने तथा बेहोस भइसकेपछि पुनः होसमा ल्याउन सहयोगी साधनको रूपमा सङ्गीतलाई प्रयोग गरिएको तथ्य विभिन्न अनुसन्धानबाट पनि प्रमाणित भइसकेको छ ।
अन्त्यमा, ज्योतिष चिकित्साले शरीरको कुन भाव वा कुन तत्व असन्तुलन वा कमी भएको छ र त्यो रोगको प्रभावकारीता कहिलेसम्म रहन्छ भन्ने विषय ज्योतिषशास्त्रको आधारमा पत्ता लागेपछि उपचार गर्न सजिलो हुने हुँदा ज्योतिष र चिकित्सा पद्धतिबिचको अन्तरसम्बन्धमा कसिलो पार्ने खालको यस्तो सम्बन्धले दुई शास्त्रलाई अति सन्निकटता प्रदान गरेको पाइन्छ । जस्तैः ज्योतिषी शास्त्रअनुसार कुनै पनि अपरेसनका लागि गोचरमा चन्द्रमा सही हुनुपर्छ । यदि खराब चन्द्रमामा अपरेसन गरेमा अपरेसन सही नहुने हुन्छ । रोगीको खराब चन्द्र भन्नाले जन्म राशिबाट छैटौँ, आठौँ र द्वादश भावको गोचरको चन्द्रमा हो । यसबाहेक अपरेसन गर्ने डाक्टरको पनि चन्द्रमा सही हुनु अति आवश्यक छ । खराब भएमा अपरेसन सही नहुने, डाक्टरहरूको राय भिन्न हुने र डाक्टर रोगीको पनि राय नमिली रोगीले अति कष्ट भोग्नुपर्ने वा मृत्यु हुने हुन्छ । त्यस्तै डाक्टरको चन्द्र र रोगीको चन्द्र पनि षष्ठ, अष्टम, द्वादश भावमा भएमा पनि उपरोक्त फल पाउनुका साथसाथै अपरेसन सही नभई पुनः अपरेसन गर्नुपर्ने वा अपरेसनपछि पनि लामो समयसम्म तकलिफ हुने हुन्छ । यसबाहेक अपरेसन गर्न नहुने समय हो, चन्द्रको भ्रमण मिथुन धनु र मीन राशीमा । अपरेसनको लागि अति उपयोगी समय हो । पूर्णिमाको ५ दिन पहिले र ५ दिनपछि साथै वृष, सिंह वा कुम्भ राशिमा भ्रमण गरेको चन्द्रमाको बेलामा । तर जुन राशिमा चन्द्रमा छन्, त्यस राशि सम्बन्धित अङ्गको अपरेसन त्यस समय गर्नुहुँदैन ।
(ज्योतिष र रोग )
आधुनिक चिकित्साविज्ञानको उद्भव हुनु अघि नै सङ्गीत तथा रत्न चिकित्सा पद्घति विकसित भइसकेको देखिन्छ । त्यस्तै कृत्रिम बच्चा जन्माउने टेस्टट्युबबेबी, अकुपङ्चर, प्लाष्टिक सर्जरी आदिको अवधारणा उहिल्यै प्रचलनमा आइसकेको विदित हुन्छ । देवराज इन्द्रले अश्विनीकुमारबाट शल्यचिकित्सा र आयुर्वेदको ज्ञान प्राप्त गरेका थिए, तदनुरूप उनले अत्रि ऋषिको पुत्रीलाई चर्मरोगको शल्यक्रिया गरेका थिए । दुर्योधन दुशासन सयपुत्रमध्येका ‘टेस्टट्युबबेबी’ थिए । यी केही उदाहरण हुन् । आधुनिक चिकित्साविज्ञानले मानिसको शिर अर्को मानिसमा जोड्ने नवीन अवधारणा ल्याएको छ । यो अवधारणा त हाम्रो यहाँ उहिल्यै लोकप्रिय भइसकेको थियो । स्वस्थानीव्रतकथामा शिरविहीन हुनपुगेका गणेशमा हात्तीको शिर प्रत्यारोपण गरेको र उसैगरी दक्षप्रजापतिलाई बोकाको शिर प्रत्यारोपण गरेको कथा स्मरणीय छ । (डा.कायस्थ, वीरेन्दप्रसाद, विक्रम संवत् २०७७ माघ, नेवाःसंस्कार र चिकित्सा ज्योतिष )

Leave a Reply

Your email address will not be published. Required fields are marked *