अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
१८ वर्ष भइसकेको रहेछ । वीरगञ्जको जनसभामा आफ्नै आँखासामु बम पड्केको त्यो घटना । अहिले सम्झिँदा पनि आङ सिरिङ हुन्छ । यस अवधिमा पटक–पटक वीरगञ्ज पुगियो तर त्यहाँको रङ्गशाला भने पुग्न पाएको थिएन । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवस मनाउने सिलसिलामा माघ १४ गते वीरगञ्ज पुग्दा त्यसबेलाको घटनालाई सम्झेर साथीहरूसँगै त्यहाँको रङ्गशाला पुग्यौँ । बिहान शीतलहर चलिरहेको थियो । कठ्याङ्ग्रिने जाडो थियो । बाक्लो हुस्सुले गर्दा नजिकका दृश्यहरूसमेत राम्रोसँग देख्न सक्ने अवस्थामा थिएनौँ ।
यस अवधिमा देशमा दुईपटक संविधानसभाको निर्वाचन सम्पन्न भई नयाँ संविधान जारी भइसकेको छ । संविधानबमोजिम दुई–दुईपटक सङ्घ, प्रदेश र स्थानीय तहहरूको निर्वाचन भई सङ्घीयता पनि कार्यान्वयनमा आइसकेको छ भने देशमा नेका, एमाले र माओवादी नेतृत्वमा धेरैवटा सरकारहरू बनिसकेका छन् । तर, रङ्गशालाले रूपमा परिवर्तन हुनु त के कुरा निकै जीर्ण भइसकेको र रङ्गशालाभित्र केही ठाउँको मर्मतको काम भइरहेको पायौँ । तर, त्यो रङ्गशाला भन्न लायक भन्ने देखिँदैन । वरपर भित्र–बाहिर जताततै फोहर, पाराफिटहरू बिग्रेका, भत्केका र चौरमा लामालामा घाँसहरूले धपक्क छोपेका देख्दा खेल मैदान भन्न लजाउनुपर्ने अवस्था छ । रङ्गशाला पुग्दा त्यतिबेलाको त्यो बम पड्केको दृश्य भने झलझली सम्झनामा आयो । जनआन्दोलनको क्रममा धेरैपटक जीवन सङ्कटमा परेका घटनाहरू उद्यापि मानसपतलमा ताजा छन् । त्यसमध्येको बिर्सनै नसक्ने घटनाहरूमध्येको एक हो, वीरगञ्ज रङ्गशालामा आफ्नै आँखासामु बम बिस्फोटको त्यो घटना ।
घटना २०६३ साल माघ १६ गतेको हो । त्यो दिन सात राजनैतिक दल (नेमकिपा, नेका, एमाले, नेका (प्रजातान्त्रिक) जनमोर्चा नेपाल, संयुक्त वाममोर्चा, नेपाल सद्भावना पार्टी) र माओवादीको संयुक्त आयोजनामा वीरगञ्ज रङ्गशालामा जनसभा भएको थियो । उक्त दिन बिहानैदेखि वीरगञ्ज बजारमा मानिसको चहलपहल बढ्न थाल्यो । सात दलको आह्वानमा पर्सा र तराईका विभिन्न जिल्लाहरूका गाउँ–गाउँ र बस्ती–बस्तीबाट मानिसहरू जनसभामा सहभागी हुन आउन थाले । जताततै विभिन्न भेषभूषा लगाएका मानिसहरू आ–आफ्ना पार्टीका झन्डाहरू बोकेर स–साना जुलुसहरू लिएर कोही रङ्गशालातर्फ गइरहेका थिए त कोही जुलुसहरू एकत्रित भएर विशाल जुलुसमा मिसिन पुगेका थिए । विशाल जुलुस निर्धारित समयमा रङ्गशालामा पुग्यो ।
भर्खर अन्तरिम संविधान जारी भएको थियो । त्यतिबेला नेकाका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार चलिरहेको थियो । शान्तिपूर्ण आन्दोलनरत सात दल र माओवादीको समर्थनमा बनेको शक्तिशाली सरकार थियो । सबै दलले जनसभामा सक्दो बढी मानिस भेला गर्न विशेष तयारी गरेका थिए । एक प्रकारको आन्दोलनरत दलहरूको त्यो शक्ति प्रदर्शन पनि थियो । रङ्गशालामा दसौँ हजारको सङ्ख्यामा मानिस जम्मा भएका थिए । एकातिर भर्खर शक्तिहीन बनाइएका राजालाई दलहरूको शक्ति देखाउनु थियो भने अर्कोतर्फ मधेसी फोरमलगायत तराईकेन्द्रित आन्दोलन गरिरहेका दलहरूलाई तह लगाउनु पनि दलहरूका लागि त्यो प्रदर्शन र सभाको आवश्यकता थियो ।
सहभागीहरू रङ्गशालामा भरिभराउ थियो । दिउँसोको करिब २ बजेबाट जनसभा सुरु भयो । वक्ताहरूमा नेमकिपाबाट म (सुनिल प्रजापति), नेकाबाट तत्कालीन विज्ञान तथा प्रविधिमन्त्री फरमुल्ला मन्सुर, एमालेबाट भरतमोहन अधिकारी, माओवादीबाट वर्षमान पुन (अनन्त), नेपाल सद्भावना पार्टीबाट सरिता गिरी र वाममोर्चाबाट सीपी मैनाली थिए ।
माघको महिना भए पनि वीरगञ्जमा मौसम त्यति अनुकूल थिएन । बिहानैदेखि सिमसिम पानी परिरहेको थियो । मौसमको कारण जनसहभागितामा कुनै कमी थिएन । जोस र जाँगरले भरिपूर्ण हजारौँ जनता गाउँ–गाउँबाट आएका थिए । जनआन्दोलनको बलले राजालाई घुँडा टेकाउन सफल भएकोमा जनतामा विजयीको त्यो उत्साह र जोस स्पष्टै देखिन्थ्यो । त्यो स्वाभाविक पनि थियो ।
बोल्ने वक्ताहरू सबैको एउटै स्वर थियो, तोकिएकै समयमा संविधानसभाको निर्वाचन गर्ने । विभिन्न पार्टीका नेताहरूले जनताबाट निर्वाचित संविधानसभाले बनाएको संविधानले नेपाली जनताको भविष्य कोर्ने बताएका थिए । नयाँ संविधानमा राजा पनि अरु नागरिक सरह बस्न बाध्य हुने कुरा बताउँदा सहभागीहरूबाट गडगडाहत ताली बज्थ्यो । सभामा कुनै पनि मूल्यमा संविधानसभाको निर्वाचन गर्ने वक्ताहरूले प्रतिबद्धता गरेका थिए । संविधानसभाको निर्वाचनलाई बाधा पु¥याउने कुनै पनि चुनौतीको सामना गर्न तयार रहेको प्रायः वक्ताहरूको एउटै भनाइ थियो ।
बोल्ने प्रत्येक वक्ताको लागि १०–१० मिनेट समय निर्धारण गरिएको थियो । आमसभा सुरु भइसक्दा पनि बाहिरबाट स–साना समूह समूहमा जुलुसहरू आई नै रहेका थिए । सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । ठाउँ–ठाउँमा पुलिसहरू र सशस्त्र पुलिसहरूले सुरक्षा दिइरहेका थिए ।
रङ्गशालाको पाराफिटको छेउमा मेरो स्थान थियो । पालैपालो बोल्ने क्रम चलिरहेको थियो । वक्ताहरूको जोसिलो भाषणसँगै तालीको गडगडाहत आवाजले रङ्गशाला थर्किन्थ्यो । अन्तिम वक्ता थिए, फरमुल्ला मन्सुर । उनी बोलिरहेकै बखत रङ्गशाला बाहिर ठुलो आवाज आयो । हुल तितरबितर भयो । घडी हेर्दा समय ३ बजेर ५५ मिनेट गएको थियो । ‘बम पड्क्यो बम पड्क्यो’ को आवाजले सभालाई केही क्षण स्तब्ध बनायो । तर, कार्यक्रम भने रोकिएन । निरन्तर चलिरह्यो । बम पड्केको ठाउँ हामी बसेको ठाउँबाट २०–२५ मिटरको दुरीमा पारफिटको ठीक तल थियो । धुलो धुवाँले केही पनि स्पष्ट देख्न सक्ने अवस्था थिएन । रङ्गशालाको पाराफिट छेउमै बसेको कारण तलका सबै दृश्यहरू राम्ररी हेरिरहेका थियौँ । मान्छेहरूको दौडधुप, रुवाबासीसँगै एम्बुलेन्स र प्रहरी भ्यान कुडेका सबै दृश्यहरू हेर्दै थियौँ । सभामा सहभागी जनता आतङ्कित भए । सभाका आयोजकहरूले ‘शान्ति शान्ति’ भनिरहेका थिए । बम बिस्फोटबाट दुई दर्जन घाइते भएको र प्रमुख जिल्ला अधिकारीसमेत घाइते भएको हल्ला चल्यो ।
जनसभा केही समयपछि नै सम्पन्न भएको घोषणा गरियो । हामी त्यो दिन त्यहीँ बस्यौँ । रातको ७ बजे र ८ बजतिर गरी दुईपटक बम पड्केको ठुलठुलो आवाज सुन्यौँ । तर, घाइतेको विवरण के कति भयो त्यो भने एकिन थाहा भएन ।
प्रतिगमनविरुद्ध आन्दोलनरत सात राजनैतिक दल र माओवादीको संयुक्त आन्दोलनको परिणाम २०६३ साल वैशाख ११ गते संसद्को पुनःस्थापना भयो । २०४७ सालको संविधान खारेज गरी संविधान सभाबाट नयाँ संविधान निर्माण गर्ने सहमतिअनुसार सर्वोच्च अदालतका पूर्वन्यायाधीश लक्ष्मण अर्यालको संयोजकत्वमा अन्तरिम संविधान मस्यौदा समिति गठन गरियो । उक्त समितिले सात दलका शीर्ष नेताहरूलाई बुझाएको मस्यौदालाई अन्तिम रूप दिई २०६३ माघ १ गते अन्तरिम संविधान जारी गरियो ।
अन्तरिम संविधानमा सङ्घीयता र समावेशितालाई समेट्न नसकेको भन्दै मधेसी जन अधिकार फोरमलगायत मधेसकेन्द्रित दलहरूको आह्वानमा अन्तरिम संविधान च्याट्ने जलाउने कार्यक्रमहरू गर्दै आन्दोलन भइरहेको थियो । उता सात राजनैतिक दलले पनि संविधानसभा निर्वाचन प्रचारप्रसारको लागि ठाउँ–ठाउँमा जनसभाको आयोजना गर्दै थिए । मधेसका जिल्लाहरू विशेषगरी बारा, पर्सा, रौतहट, सर्लाही, सिराहा, सप्तरीमा सङ्घीयता र समावेशीको आवाजले चर्को रूप लिंदै थियो ।
सात दलको विभिन्न जिल्लामा जनसभा गर्ने क्रममा सात दल र माओवादीले माघ १६ गते वीरगञ्जमा आमसभा गर्ने निर्णय गरेका थिए । उक्त सभामा पार्टी निर्देशनअनुसार नेपाल मजदुर किसान पार्टीको तर्फबाट वक्ताको रूपमा मैले सहभागिता जनाउनुपर्ने थियो । प्रकाश श्रेष्ठ, विकल प्रजापति र पुरुषोत्तम ग्वाछाका साथमा हामी माघ १५ गते नै वीरगञ्ज पुगेका थियौँ । मधेसका जिल्लाहरूमा आन्दोलन चर्किरहेको बेला सभा सहज नहुने दृश्य पहिले नै स्पष्ट थियो ।
मधेसी जनअधिकार फोरमको आयोजनामा काठमाडौँ माइतीघरमा भएको संविधान च्यात्ने कार्यक्रममा पक्राउ परेका नेता कार्यकर्ताहरूलाई छुटाउन तराईमा आन्दोलन चर्काइएको थियो । तराईका विभिन्न जिल्लाहरूमा आन्दोलन गर्ने क्रममा सिराहाको लाहानमा आन्दोलनकारीहरूले महेन्द्र राजमार्ग अवरोध गरिरहेको बेला पूर्वबाट आएका माओवादी नेता राम कार्कीले जबरजस्ती बाटो काट्न खोज्दा फोरम कार्यकर्ताले रोक्न खोजेका र त्यस क्रममा माओवादी कार्यकर्ताले चलाएको बन्दुकको गोली लागेर फोरम कार्यकर्ताको ज्यान गएको फोरमको दाबी थियो ।
माघ २५ गते तत्कालीन राष्ट्र प्रमुख एवं सरकार प्रमुख गिरिजाप्रसाद कोइरालाले राष्ट्रको नाउँमा सम्बोधन गरेर देश सङ्घीय संरचनामा जाने, समानुपातिक समावेशी हुने, निर्वाचन क्षेत्र बढाउने र नागरिकता समस्या समाधान गर्ने प्रतिबद्धतापछि मात्र तराईका जिल्लाहरूमा चलिरहेको त्यो आन्दोलन रोकिएको थियो । संविधानसभाको निर्वाचनपछि सारेर मधेसी जनअधिकार फोरमलगायत अन्य दलहरूले पनि निर्वाचनमा भाग लिने वातावरण निर्माण भएको थियो ।
Leave a Reply