ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
सामन्ती धनी–साहुकारहरू जनतालाई विभिन्न तरिकाले चुस्छन् । जसमध्ये रूपैयाँ या मालसामान र गाई–वस्तु दिई ब्याज र ब्याजको स्याजसमेत गरी दुगुना–चौगुना लिन्छन् । साहुले एकातिर ब्याज लिन्छ भने अर्कोतिर कोसेली पनि खान्छ । हामीलाई थाहा भएअनुसार ब्याज र कोसेली खाने चलन तल लेखिएका छन् –
ढ्याके ब्याज : केही समय पहिले पाँच पैसालाई ढ्याक भन्ने चलन थियो । साहुले गरीबलाई ऋण दिँदा १ रूपैयाँको पाँच पैसा ब्याज लिन्थ्यो । साथै कोसेली पनि खान्थ्यो र सघाउने भनेर सयको २ देखि ५–६ सम्म खेतालासमेत खान्थ्यो । खेताला र कोसेली खाने चलन अझै छ ।
नुने ब्याज : केही वर्ष पहिले नेपालमा तिब्बतबाट नुन ल्याइन्थ्यो । नेपालबाट तिब्बतमा जान–आउन सक्ने घाँटीहरूसम्म नेपालीले चामल लगी नुन साटेर ल्याउने गर्थे । ५–६ दिन देखि १२–१५ दिनसम्म भिरपखेराको असजिलो बाटो हिँडी नुन बोक्नुपथ्र्यो । धनी–साहुकारले गरीबलाई ऋण दिँदा ब्याजको सट्टा नुनका भारी बोकाउने कबुल गराउँथ्यो । कोसेली पनि खान्थ्यो । ठाउँ र मौका हेरी सयको १ खेपदेखि ४–५ खेपसम्म नुनका भारी बोकाउने चलन थियो । कहाली लाग्ने भिरको बाटो भारी बोकेर हिँड्दा कति गरीबका ज्यान गए र जाँदै छन् । भारततिरबाट नुन आउन थालेपछि केही कम भयो तापनि यो चलन अझै छ ।
चोके ब्याज : रूखको हाँगा पलाएको ठाउँलाई चोक भनिन्छ । एउटा रूखमा धेरै चोक हुन्छन् । त्यस्तै, १ वर्षको १२ महिनालाई १२ चोक सम्झी साहुले सयको ५ देखि ७–८ सम्म चोके खान्छ । धनी–साहुकारले गरीबलाई ऋण दिँदा यही चलनअनुसार १२ चोक लिन्छ । कतै–कतै यसलाई महिनावारी पनि भन्ने चलन छ । यसैलाई चोके ब्याज भनिन्छ । महिनावारी ब्याजलाई चोके ब्याज भनिन्छ ।
धाने ब्याज : साहुले गरीबलाई ऋण दिँदा सयको १० पाथीदेखि २ मुरीसम्म धाने ब्याज कबुल गराउँछ । तर, ब्याजको धान नगदमा फेरि सावाँमा खान्छ र सरकारी दरअनुसारको ब्याज दर जनाई तमसुक गराउँछ । यसरी सोझा जनताबाट चौगुणा असुल गर्छ । यसैलाई धाने ब्याज भनिन्छ ।
तोरी ब्याज : यो पनि धाने ब्याजजस्तै हो । २८ या ३० पाथी तोरीको १ बोरा भन्ने चलन छ । तोरी पाकेपछि बोराको रु. २०० हुनेछ भने १–२ महिना पहिले नै साहुले बोराको रु. ६०–८० सम्ममा लान्छ । त्यस्तै, धानको भाउ पनि मुरीको रु. ९०–१०० पुग्छ भने साहुकारले १–२ महिना पहिले नै मुरीको २० देखि ४० सम्म बैना दिन्छ । यसरी दुगुना असुल गर्छ । यसलाई छिनुवा पनि भनिन्छ ।
कोसेली : गरीब जनताले आफूलाई चुसाउन आफै धनी–साहुकारको पाउ पर्नुपर्छ र दस औँला जोडी बिन्ती गर्नुपर्छ । यस्तो कसरी भयो ? धनीले रूपैयाँ ब्याजमा लगाई शोषण गर्नुपर्ने भए तापनि गरीब ऋण माग्न जाँदा गजक्क परेर फुल्छ र अक्करमा पारी चौगुना लिने दाउ हेर्छ । गरीब जनताले आँसु बहाउँदै साहुको अगाडि अनेक दुःख पोख्छन् र आफूलाई चुसाउन साहुको ढुङ्गोसरि मन पगाल्छन् । अनि मात्रै साहुले चर्को ब्याजका साथै कोसेली र सघाउने लिन कबुल बराउँछ ।
कोसेलीमा ठेकी भनेर सयको ५ मानादेखि १ पाथीसम्म घिउ लिन्छ या ५–६ धार्नीको खसी लिन्छ । आसामी लाहुरे छ भने जुत्ता–कोट या त्यस्तै राम्रा र दामी लुगा र अरू मालसामान ल्याइदिने कबुल गराउँछ । गरीब जनताले जति दुःख गरे पनि धनी साहुकारले सिरी–खुरी पार्छ ।
साभार : जनताको साहित्य, बुलेटिन ५, अप्रिल–मई, १९७७
Leave a Reply