भर्खरै :

पञ्चक विचार

  • माघ २४, २०८१
  • डा. वीरेन्द्रप्रसाद कायस्थ
  • विचार
पञ्चक विचार

ज्योतिषमा पञ्चकलाई अशुभ मानिन्छ । वास्तवमा, नक्षत्र चक्रमा कुल २७ नक्षत्रहरू छन् । तीमध्ये अन्तिम पाँच नक्षत्रलाई दूषित मानिन्छ । यी नक्षत्रहरू धनिष्ठा, शतभिषा, पूर्वाभाद्रपद, उत्तराभाद्रपद र रेवती हुन् । प्रत्येक नक्षत्रलाई चार चरणमा विभाजन गरिएको छ । पञ्चक धनिष्ठा नक्षत्रको तेस्रो चरणबाट सुरु भई रेवती नक्षत्रको अन्तिम चरणसम्म जारी रहन्छ । पञ्चकको समयमा कोही व्यक्ति मरेमा परिवारको ५ जना व्यक्तिको मृत्यु हुन्छ । पञ्चकमा मरेका व्यक्तिको शान्तिको लागि गरुड पुराणमा पनि उपायहरू दिइएको छ ।
पञ्चकमा कतिपय काम गर्न निषेध गरिएको छ । तर, सबै पञ्चक नराम्रो पनि हुँदैन । बुधबार र बिहीबारदेखि सुरु हुने पञ्चक राम्रो मानिन्छ र कुनै पनि शुभ कार्य गर्न सकिन्छ ।
पञ्चकका प्रकारहरू :
१. रोग पञ्चक :
आइतबारदेखि सुरु हुने पञ्चकलाई रोग पञ्चक भनिन्छ । यसको प्रभावले यी पाँच दिनमा शारीरिक तथा मानसिक समस्या उत्पन्न हुन्छ । यस पञ्चकमा कुनै पनि प्रकारको शुभ कार्य गर्नु हुँदैन । यस पञ्चकलाई सबै प्रकारका शुभ कार्यमा अशुभ मानिन्छ ।
२. राज पञ्चक :
सोमबारबाट सुरु हुने पञ्चकलाई राज पञ्चक भनिन्छ । यो पञ्चक शुभ मानिन्छ । यसको प्रभावले यी पाँच दिनमा सरकारी काममा सफलता मिल्नेछ । राजपञ्चकमा सम्पत्तिसम्बन्धी कार्य गर्नु पनि शुभ मानिन्छ ।
३. अग्नि पञ्चक :
मङ्गलबारबाट सुरु हुने पञ्चकलाई अग्निपञ्चक भनिन्छ । यी पाँच दिनमा अदालतमा फैसला, विवाद आदि र अधिकार प्राप्तिका लागि काम गर्न सकिन्छ । यो पञ्चकमा आगलागीको डर हुन्छ । यस पञ्चकमा कुनै प्रकारको निर्माण कार्य, औजार तथा मेसिनरी कार्य सुरु गर्नु अशुभ मानिन्छ । यी कार्यमा हानि हुन सक्छ ।
४) मृत्यु पञ्चक :
शनिबारबाट सुरु हुने पञ्चकलाई मृत्यु पञ्चक भनिन्छ । अशुभ दिनबाट सुरु हुने यो पञ्चक मृत्युजस्तै कष्टदायी हुन्छ भन्ने नामले नै सङ्केत गर्छ । यी पाँच दिनमा कुनै पनि जोखिमपूर्ण काम गर्नुहुँदैन । यसको प्रभावले विवाद, चोटपटक, दुर्घटना आदिको खतरा रहन्छ ।
५) चोर पञ्चक :
शुक्रबारबाट सुरु हुने पञ्चकलाई चोर पञ्चक भनिन्छ । विद्वान्हरूका अनुसार यस पञ्चकमा यात्रा गर्न निषेध गरिएको छ । यस पञ्चकमा कुनै पनि प्रकारको लेनदेन र व्यापार गर्नु हुँदैन । निषेधित काम गर्दा आर्थिक हानि हुन सक्छ ।
पञ्चकमा निषेधित काम :
– घाँस, काठ र अन्य सामग्री सङ्कलन गर्दा धनिष्ठको पाँचौँ भाग त्याग्नुपर्छ । दक्षिण दिशामा यात्रा गर्ने र घर छोप्ने काम त्याग्नुपर्छ ।
– पञ्चकमा ओछ्यान बनाउने, ओछ्यान किन्ने, ओछ्यान दान गर्ने आदि काम गर्नु हुँदैन । यसले ठुलो सङ्कट निम्त्याउन सक्छ ।
– धनिष्ठ नक्षत्रमा घाँस, काठ आदि ज्वलनशील वस्तुहरू जम्मा गर्नु हुँदैन, यसबाट आगो लाग्ने डर हुन्छ । पञ्चकको समयमा दक्षिण दिशामा यात्रा गर्नु हुँदैन, किनभने दक्षिण दिशालाई यमको दिशा मानिन्छ । यी नक्षत्रहरूमा दक्षिण दिशाको यात्रा गर्नु हानिकारक मानिन्छ ।
– रेवती नक्षत्रमा घरको छाना बनाउनु हुँदैन, यसले घरमा आर्थिक हानि र समस्या निम्त्याउँछ ।
पञ्चकमा शवको अन्तिम संस्कार गर्नुअघि योग्य पण्डितको सल्लाह लिनुपर्छ । यदि यो सम्भव छैन भने, मृत शरीरको साथमा, पीठो वा कुश (एक प्रकारको घाँस) मा बनेको पाँचवटा पुत्लाहरू शवमा राख्नुपर्छ र यी पाँचलाई पनि शवजस्तै पूर्ण विधिपूर्वक दाह संस्कार गर्नुपर्छ, त्यसपछि पञ्चक दोष उन्मूलन हुनेछ । (गरुड पुराण)
पञ्चकमा गरिने शुभ कार्य :
– पञ्चकमा आउने उत्तराभाद्रपद नक्षत्र वारसँगै सर्वार्थसिद्धि योग, धनिष्ठ, शतभिषा, पूर्वा भाद्रपद र रेवती नक्षत्र यात्रा, व्यापार, मुण्डन आदि शुभ कार्यमा उत्तम मानिन्छ ।
– पञ्चकमा विवाह आदि जस्ता शुभ कार्यहरू गरिन्छ ।
– पञ्चकमा पर्ने तीन नक्षत्र, पूर्वा भाद्रपद, उत्तरा भाद्रपद र रेवती आइतबार भएकोले आनन्द आदि २८ योगहरूमध्ये ३ शुभ योगहरू बन्छन् । यी शुभ योगहरू यस प्रकार छन् – चर, स्थिर र प्रवर्ध । यी शुभ योगबाट सफलता र आर्थिक लाभ हुने मानिन्छ ।
– रक्षाबन्धन, भाइटीकाजस्ता चाडपर्वहरूमा पनि पञ्चक नक्षत्रहरूको निषेधको विचार गरिएको छैन ।
– मुहूर्त चिन्तामणि ग्रन्थअनुसार पञ्चक नक्षत्रको शुभ फल ।
– धनिष्ठ र शतभिषा नक्षत्रहरूलाई चल संज्ञक मानिन्छ । यसमा कुनै पनि चलिरहेको काम जस्तै ः यात्रा, सवारी साधन खरिद, मेसिनरीसम्बन्धी काम सुरु गर्नु शुभ मानिन्छ ।
– उत्तरा भाद्रपद नक्षत्रलाई स्थिर संज्ञक नक्षत्र मानिन्छ । यसमा बीउ छर्ने, गृहप्रवेश गर्ने, शान्तिपूजा गर्ने र जमिनसँग सम्बन्धित स्थिर काम गर्नेजस्ता स्थिर काममा सफलता प्राप्त ।
– रेवती नक्षत्र मैत्री संज्ञक नक्षत्र भएकोले यस नक्षत्रमा कपडासँग सम्बन्धित चीजहरू, व्यापारसँग सम्बन्धित सम्झौताहरू गर्न, कुनै विवादको समाधान गर्न, गहना खरिद गर्ने आदि शुभ मानिन्छ ।
पञ्चक नक्षत्रको सम्भावित अशुभ प्रभाव :
– धनिष्ठ नक्षत्रमा आगलागीको डर हुन्छ ।
– शतभिषा नक्षत्रमा वादविवादको सम्भावना हुन्छ ।
– पूर्वाभाद्रपद रोग लाग्ने नक्षत्र हो, अर्थात् यस नक्षत्रमा रोगको सम्भावना बढी हुन्छ ।
– उत्तरा भाद्रपदमा आर्थिक हानिको सम्भावना हुन्छ ।
– रेवती नक्षत्रमा हानि र मानसिक तनावको सम्भावना हुन्छ ।
मृत्यु पञ्चक उपाय :
गरुड पुराणका अनुसार पञ्चकमा मृत्यु भएका व्यक्तिको शान्तिका लागि पञ्चकमा शव दाहसंस्कार गर्नुअघि योग्य विद्वान् पण्डितको सल्लाह लिनुपर्छ । पण्डितको निर्देशनअनुसार शवसँगै पीठो वा कुश (सुक्खा घाँस) बाट बनेका पाँचवटा पुतला राखिन्छन् र यी पाँचको पनि शवजस्तै पूर्ण विधिपूर्वक दाहसंस्कार गरिन्छ । यसो गर्नाले पञ्चक दोष हट्छ ।
दोस्रो, गरुड पुराणअनुसार पञ्चकमा कसैको मृत्यु भएमा केही सावधानी अपनाउनुपर्छ । सबैभन्दा पहिले नक्षत्र सम्बन्धित मन्त्रसहित बलि चढाएर दाह संस्कार गर्न सकिन्छ । नियमपूर्वकरूपमा चढाइने बलिदानले पुण्य फल दिन्छ । साथै, सम्भव भएमा, तीर्थस्थलमा दाह संस्कार गरियो भने यसले राम्रो परिणाम दिन्छ ।
पञ्चकमा के–के गर्ने ? के–के नगर्ने ?
पञ्चक अवधीमा शुभकार्य वर्जित मानिन्छ । यदि कुनै शुभकार्य गर्नैपर्ने भएमा ज्योतिषी, गुरु पुरोहित आदिको सल्लाह परामर्शअनुसार मात्र गर्नुपर्छ । पञ्चकभित्रमा गरिएका कार्यहरूको अशुभ परिणाम पाँच गुणा ज्यादा हुन्छ । तर, यस समयमा गृह प्रवेश, उपनयन, संस्कार, भूमिपूजन, रक्षाबन्धन आदि कार्यहरू गर्न स्वीकृत छन् भने विवाह, नामकरण, मुण्डन आदि पञ्चककालमा वर्जित गरिएको छ । श्राद्धादी कर्महरू व्रत आदिलाई कुनै रोक छैन । पञ्चक प्रवेश गर्ने वा सुरु हुने बारअनुसार पञ्चकको शुभाशुभ विचार्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *