भर्खरै :

दसगजा ओगट्ने गरी भारतले लगायो काँडेतार !

  • फाल्गुन २, २०८१
  • गणेश विशु, बाँके
  • समाचार
दसगजा ओगट्ने गरी भारतले लगायो काँडेतार !

नेपाल–भारतको सिमानामा बाँधजस्तो सडक बनाएको भारतले दसगजा क्षेत्र ओगटेर काँडेतार लगाएको छ । नेपाली सुरक्षा अधिकारीसँग कुनै समन्वय नगरी भारतले दस गजा क्षेत्रमा पर्ने गरी काँडेतार लगाएको हो ।
बाँकेस्थित जमुनाह नाकादेखि पूर्वी क्षेत्रमा पर्ने दसगजामा यसअघि निर्माण गरिएको सडकको दायाँबायाँ काँडेतार लगाइएको छ । काँडेतार लगाउँदा भारतले नेपाली सुरक्षा अधिकारीसँग कुनै समन्वय नगरेको बाँकेका सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
दस र गजा दुई शब्द मिलेर दसगजा शब्द निर्माण भएको हो । दस भनेको हामीले प्रयोग गर्ने दस अङ्क हो भने गजा भनेको क्षेत्रफल नापिने एक एकाइ हो । एक गजामा तीन मिटर हुन्छ । दसगजा भनेको तीस मिटर हो । यसकै आधार बनाएर दुई देशबिचको सीमा क्षेत्रमा दसगजा छुट्याइएको हुन्छ । जुन दसगजा दुवै देशको साझा जमिन हो । यो जमिन दुवै देशले आफूखुसी प्रयोग गर्न पाउँदैनन् ।
दसगजाभित्र के गर्न पाइने के गर्न नपाइने भन्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा दुईदेशीय कानुन हुन्छन् । सोही आधारमा मापदण्ड तयार पारिएको हुन्छ । जुन दुवै देशले पालना गर्नुपर्ने हुन्छ ।
तर, भारतले दसगजा क्षेत्रको जमिन छुने गरी काँडेतार निर्माण गरेको छ । बाँध जस्तो निर्माण गरिएको सडक छेउछाउमा बिरुवा लगाएको छ । सोही बिरुवालाई गाईबस्तुबाट जोगाउन काँडेतार लगाइएको हुन सक्ने स्थानीयले बताएका छन् । जुनसुकै उद्देश्य भए पनि, उक्त काँडेतार दसगजा क्षेत्र पनि ओगटिएको छ ।
नेपालतर्फ पर्ने दुईवटा काँडेतारमध्ये पहिलो काँडेतार सीमा क्षेत्रमा गाडिएको पिल्लरमध्ये करिब सात÷आठ मिटरसम्म गाडिएको छ । दोस्रो १२ देखि १४ मिटरसम्ममा छ भने सडकको अर्कोपट्टि अर्थात् भारततर्फ पनि काँडेतार लगाइएको छ ।
जहाँ दसगजामा पर्ने तीस मिटर जमिनमा दुवै देशले केही गर्न पाउँदैनन् । सीमा क्षेत्र अनुगमन गर्दा उक्त काँडेतार सडक छेउमा लगाइएका बोटबिरुवाको रेखदेखकै लागि लगाइएको जस्तो देखिए पनि बाँकेका प्रमुख जिल्ला अधिकारीले खगेन्द्रप्रसाद रिजाल भने चोरीसिकारी र तस्करी रोक्न भारतले आफ्नो भूभागमा काँडेतार लगाएको दाबी गरे । भारतले दसगजा क्षेत्र नभई आफ्नै भूभागमा काँडेतार लगाएको उनको दाबी छ ।
उनले भने, “काँडेतार लगाउँदा भारतले सुरक्षा निकायसँग कुनै समन्वय गरेको छैन । उक्त काँडेतार दसगजामा नपर्ने र भारतीय भूभागमा पर्ने हुँदा हामीसँग समन्वय गर्न जरुरी पनि छैन ।”
काँडेतार लगाएको क्षेत्रमा आफू पुगेको भन्दै उनले भने, “भारतले काँडेतार नेपाली भूभाग तथा दसगजामा लगाएको छैन । भारतीय भूभागमा लगाएको छ ।”
दसगजाको भूभाग ओगट्ने गरी भारतले काँडेतार लगाउँदा पनि यहाँका प्रमुख जिल्ला अधिकारी र सीमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरी भने गम्भीर देखिएको छैन ।
पिल्लरबाट तीस मिटर दुरीमा उक्त काँडेतार छ या छैन जमुनाहबाट करिब एक सय मिटर जति पूर्व जाँदा सहजै देख्न सकिन्छ । कति भूभागमा भारतले काँडेतार लगाएको छ भन्ने पनि नेपाली सुरक्षा अधिकारी जानकार छैनन् ।
भारतले काँडेतार लगाएको क्षेत्र खेती लगाएको समयबाहेक अन्य समयमा गाईगोरु चरिचरण गर्न आउँछन् जसबाट जोगाउन भारतले काँडेतार लगाएको स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार भारतको वन विभागले काँडेतार लगाएको हो । जुन कुरा नेपाली सुरक्षा अधिकारीलाई जानकारी छैन ।

साभार : ‘नागरिक’ दैनिक – १ फागुन, २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *