हिमाल–पहाड–तराई बुझ्ने सरकारमा पुगेकै छैन
- चैत्र ६, २०८१
भक्तपुर, १ फागुन । गणेश माध्यमिक विद्यालयको ४४ औँ वार्षिकोत्सव कार्यक्रम, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको संविधानअनुसार विद्यालय शिक्षा निःशुल्क र अनिवार्य हुनु जरुरी छ† कतिपय देशमा समाजलाई बुद्धिजीवीकरण गर्न विश्वविद्यालय शिक्षासमेत निःशुल्क गरिएको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीले उत्पादन श्रमसँग जोडिएको शिक्षामा जोड दिँदै आएको छ । यसको लागि सरकारले पाठ्यक्रम र पाठ्यपुस्तकसमेत परिवर्तन गर्नु आवश्यक छ । यो विषय हामीले संसद् र सडकमा उठाउँदै आएका छौँ ।
“जनताका प्रतिनिधिले संसद्मा उठाएको विषयलाई सम्बोधन नगर्ने सरकार जनताको हुनेछैन, प्रजातान्त्रिक हुनेछैन ।” उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले आठ ओटा शैक्षिक संस्था सञ्चालन गरी देशभरिका ४३ हजारभन्दा बढी विद्यार्थीहरूलाई उच्च शिक्षाको ढोका खोलेको छ । ख्वप विश्वविद्यालय सञ्चालन गरी डाक्टरी शिक्षासमेत १५ लाख रुपैयाँमा दिने तयारी गरेको भक्तपुर नगरपालिकालाई सरकारले स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न पाउने अधिकार नभएको निहुँ राखी सर्वसाधारण जनतालाई उच्च शिक्षाको बाटो बन्द गर्दै छ ।”
नेपालको दोधारा चाँदनीमा भारतले भूमि अतिक्रमण गरेको समाचार सेलाउन नपाउँदै बाँकेमा नेपालीको भूमि मिचेर काँडेतार लगाएको सार्वजनिक भएको उल्लेख गर्दै उहाँले नेपाल भूमि अतिक्रमणको विरोध गरेका कञ्चनपुरका गोविन्द गौतमलाई भारतीय एसएसबीले गोली हानी हत्या गरेको स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, “जापानमा ६ वर्ष पुगेका बालबालिका सुरक्षितसाथ एक्लै विद्यालय जाने, पुग्ने, फर्कने बन्दोबस्त छ । नेपालमा भारतसँग खुला सिमाना भएको हुँदा बालबालिका हराउने, नेपाली चेलीहरूको बिक्री र सीमा तस्करसमेत भइरहेको छ । सरकारमा गएको दलले नेपाल – भारत खुला सीमा बन्द गर्दा देशलाई हित हुने विषय उठाउने साहस गर्दैन ।”
उहाँले भन्नुभयो, “देशको सन्तुलित विकास नहुँदा जिल्ला जिल्लामा विद्यालयहरूको भवन छ तर अभिभावकहरू विद्यार्थीसहित सहरतिर केन्द्रित हुँदा शिक्षकहरू पनि सहरमा सरुवा भइरहेका छन् । जिल्ला जिल्लाका जग्गा बाँझो हुँदा नेपालीलाई खाद्यान्न अभाव भयो । सरकारहरू युवालाई वैदेशिक रोजगारीमा पठाएर दाल, चामल, तरकारी फलफूल भारतसँग महँगो किन्दै छन् । कालीमाटी तरकारी बजारको रायको सागमा विषादी भएको र ती साग खाने नेपाली क्यान्सर रोगको शिकार भइरहेको सार्वजनिक भयो । प्रधानमन्त्री र मन्त्रीहरूले झण्डावाल गाडीमा हुइँकिनेबाहेक देश र जनताको हितमा एउटा उल्लेखनीय काम गर्न सकेका छैनन् ।”
विद्यार्थीहरूलाई सानो उमेरदेखि सङ्गीत, नृत्य, साहित्य, खेलकुदसमेत सिकाउनु जरुरी रहेको उल्लेख गर्दै उहाँले बढ्दो प्रदूषण र खानपान नमिल्दा बालबालिकामा रोग प्रतिरोधक क्षमता घटेर भाइरल ज्वरो लागिरहेको छ† यसतर्फ विद्यालय र अभिभावकहरू सचेत हुनु जरुरी छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका वाग्मती प्रदेश सभासद् गीता काफ्लेले अनिवार्य र निःशुल्क शिक्षाको निम्ति सडक र सदनमा आन्दोलन गरिरहेको विचार राख्नुभयो ।
सो कार्यक्रममा संयुक्त परीक्षा समिति भक्तपुरका अध्यक्ष रोशनराज तुइतुई, शिक्षा समन्वय तथा विकास एकाइ समितिका प्रमुख कमला ज्ञवाली, चाँगुनारायण नगरपालिका वडा नं ५ का अध्यक्ष जयन्द्र खड्का, गणेश माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक रत्नबहादुर ह्यौँमिखा, अवकाश प्राप्त शिक्षक हरिनारायण लागेजूले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्हुछेभक्त फोजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयबाट आयोजित विभिन्न अतिरिक्त क्रियाकलाप तथा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण, असल अभिभावकहरूलाई सम्मान एवं पुरस्कार वितरण तथा विद्यालयमा अनवरत सेवारत शिक्षक शिक्षकहरूलाई पुरस्कार वितरण तथा विद्यालयमा कार्यरत अनिवार्य अवकाश प्राप्त कार्यालय सहयोगी बुद्धिबहादुर फोजुलाई सम्मान गरिएको थियो । कार्यक्रमको अन्तमा विद्यार्थीहरूको कक्षागत नृत्य पनि प्रस्तुत गरिएको थियो ।
Leave a Reply