अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
मधेसका दलित बस्ती पुग्दा लाग्छ, मानौँ समय टक्क अडिएको छ । दलित बालबालिका प्रायः स्कूल जाँदैनन् । गए पनि भागेर आउँछन् । स्कूलमा सरकारले रु.१५ को खाजा दिएको छ कक्षा ५ सम्मका विद्यार्थीलाई । त्यो पैसा लिन पनि पालिकाका कर्मचारीलाई १० प्रतिशत घूस खुवाउनुपर्छ । दलितहरू कक्षा १० सम्म पुग्दा पनि नेपाली अक्षर राम्ररी चिन्न नसकेकाबारे शिक्षक बेखबर छन् ।
माक्र्स, लेनिन, बीपी, पुष्पलालको गुण गाएर नथाक्ने नेताहरूले मधेसका दलितको अवस्था सुधार्न एक कदम पनि चालेका रहेनछन् भन्ने मधेस गएपछि बुझियो । कत्राकत्रा भाषण गर्ने ‘मधेसवादी’ नेताहरूले दलित (मेहत्तर, मुसहर, राम, सदाय, डोम, चमार आदि) को घरमा चर्पी नभएर तलाउलाई नै उपयोग गरेको देखेका छैनन्† त्यही तलाउको पानीमा भाँडा माझेर त्यही थालमा खाने, त्यही तलाउमा नुहाउने र लुगा धुने गरेको देखेका छैनन् ?
“दलितहरूका लागि जे गर्न पनि हामी पछि पर्दैनौँ” भनेर ठुलो आवाज उठाएर मरिहत्ते गर्ने मधेस र काठमाडौँका नेताले दलितहरू बिमारी पर्दा र अन्य समस्या पर्दा ६० प्रतिशत ब्याजमा ऋण लिएको देखेका छैनन् ?
काठमाडौँको सिहंदरबारभित्र र स्वास्थ्य मन्त्रालयको घुम्ने मेचमा बसेका तथा कतिपय समाजवादी र साम्यवादी नेताहरूले पक्कै पनि मधेसका दलितको अवस्था थाहा नपाएका होइनन् । तर, उनीहरू यसप्रति एकरत्ति गम्भीर छैनन् । नत्र गणतन्त्र आएको यत्रो समय बितिसक्दा र पालिकामा करोेडौँ बजेट जाँदा पनि दलितको अवस्था बीसको १९ पनि नहुनु अचम्म होइन र?
प्रचण्डपथका हिमायतीहरू दलितको अवस्था सुधार्न दिलोज्यानले लाग्छौँ भन्ने उद्घोष गर्थे । तर, ती हावामा बिलाए । एकचोटि बाबुराम भट्टराईले मधेस गएर दलितको भान्सामा खाएको तस्बिर पनि हाले । तर पनि मधेसका दलितको नर्कमय जीवन सुधार्न कुनै वाद पनि काम लागेनन् । दलित यस्तै अवस्थामा रहे मात्र आफ्नो राजनीतिक दुनो सोझिइरहने बुझाइ अधिकांश दलमा देखिएको एक प्राध्यापकको प्रतिक्रिया वास्तवमै मननयोग्य छ ।
मधेसजस्तो अन्न भण्डारमा पनि दलित बालबालिका अति कुपोषणको शिकार छन् । कुपोषित भएकाले उनीहरू पढ्न सक्दैनन् । त्यसैले खानका लागि नेताहरूकै घरमा बस्छन् । त्यसैले यो स्थिति मधेसका नेतालाई प्रिय छ । उनीहरू दलितलाई विकासको मूलधारमा ल्याएर आफ्नै खुट्टामा बन्चरो किन हानून् ?
दलितको शिक्षकको भनाइ थियो– खाजाको पैसा निकासा गर्न पालिकाका कर्मचारीले १० प्रतिशत मागे । मैले दिन्न भनेँ । त्यसपछि निकासा नभएकाले मेरो विद्यालयमा खाजा दिने गरेको छैन । यही कारण बच्चा पनि धेरै आउँदैनन् । अझ दलित त आउँदै आउँदैनन् । तर, आफैँ दलित समुदायको भए पनि यी शिक्षक पालिकामा यसविरुद्ध आवाज उठाउन सक्दैनन् ।
दलित नेताहरू भने काठमाडौँ बसेर मनुस्मृति र बाहुनलाई गाली गर्दैमा थाक्दैनन् । आफ्नो गाउँ ठाउँमा देखिएको यस्तो बेहाल कसरी अन्त्य गर्न सकिन्न भन्नेमा उनीहरूको ध्यान फिटिक्कै छैन । बाहुनलाई तथानाम भन्न सक्नेले मधेसका दलितको घरमा गएर राज्यले दिने सुविधा पाए/नपाएकोबारे किन नसोधेको ? नपाएको भए दिलाउन किन प्रयास नगरेको ? यसबारे जानकारी किन नदिएको ?
माक्र्सवाद, लेनिनवाद र बीपीको भनाइ कण्ठ पारेर भाषण गर्न सजिलो छ तर त्यो भाषणले दलित किशोरीलाई बाल विवाह हुनबाट बचाउँदैन, गर्भवतीलाई पोषण दिँदैन, सुत्केरीको स्तनमा दूध आउँदैन । खोइ यो कुरा बुझेको ? दलित बालबालिकालाई विद्यालय पठाउन खोइ पहल गरेको ? प्रस्ट छ कि काठमाडौँमा बसेर अरूलाई गाली गर्दैमा मधेसका दलितको अवस्था सुध्रन्न । न उनीहरूले गर्ने राजनीतिले दलितको अवस्था नै परिवर्तन हुन्छ ।
मधेसवादको गीत गाएर नथाक्ने मधेसी नेताहरू दलितलाई मधेसका सन्तान नै मान्दैनन् कि ? होइन भने कहिलेसम्म दलितहरूले ६० प्रतिशत ब्याजमा ऋण लिनुपर्ने ? कहिलेसम्म दलितका सन्तान अशिक्षित भइरहने ? नेताहरूको दास भइरहने ? अपमानित भएर पशुसरह गाली खाइरहनुपर्ने ? डोमको जस्तो बुद्धि, चमारजस्तो अनुहार, मेहत्तरजस्तो व्यवहार भनेर दलितलाई अपमान गर्ने शब्दहरू कहिलेसम्म कायमै राख्ने ?
यस्तो अवस्थामा पनि दलितको भलाइका भनेर खोलिएका मधेसका संस्था गुपचुप छन् । दलित मुक्तिको आवाज उठाउनेहरू बोल्दैनन् । भारतका बीआर अम्बेडकरको जीवनीलाई ध्यानमा राखेर किताब लेख्ने दलित नेता, कम्युनिस्ट नेता, काङ्ग्रेसी नेताले कहिल्यै मधेसी दलितको अवस्था सुधार्ने काम गरेनन् ।
Leave a Reply