भर्खरै :

समाजवादी व्यवस्थाको लागि सङ्घर्ष गर्नु आजको आवश्यकता

समाजवादी व्यवस्थाको लागि सङ्घर्ष गर्नु आजको आवश्यकता

भक्तपुर, १० फागुन । फागुन १६ देखि १९ गतेसम्म हुन गइरहेको नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन भव्यरूपमा सफल बनाउन नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरले शनिबार नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सभासद् सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा कार्यकर्ता भेला भयो ।
नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले देश र जनताको निःस्वार्थरूपमा सेवा गरी समाजवादी आचरणलाई व्यवहारमा लागु गर्न संसारका सबै क्रान्तिकारीहरूबाट शिक्षा सिकेर समाजवादी व्यवस्थाको लागि सङ्घर्ष गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले जनताको निःस्वार्थ सेवा गरेकै कारण नेपाल मजदुर किसान पार्टी कम्युनिस्ट आन्दोलनमा एउटा प्रकाशस्तम्भको रूपमा अगाडि बढ्न सकेको हुँदा कामदारवर्गको समाजवादी व्यवस्थाको लागि राजनैतिकरूपले सचेत क्रान्तिकारी सङ्गठित शक्तिलाई शोषितपीडित जनताको घरदैलोमा फैलाउनु आजको कम्युनिस्ट कार्यकर्ताको दायित्व भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आज हाम्रो देशमा शैक्षिक बेरोजगारीको कहालीलाग्दो अवस्थाको कारण शिक्षित जनशक्ति विदेश पलायन हुन बाध्य छ । डाक्टर, इन्जिनियर, नर्स, वकिल, पत्रकारजस्ता बौद्धिक मजदुरहरू विदेसिनुको सम्पूर्ण दोष पुँजीवादी सरकारको अदूरदर्शी नीति तथा अकर्मण्यता हो । शैक्षिक विदेशी दलालहरूको भूमिकाकै कारण बिदेसिएका मजदुरहरूको जीवनसमेत अन्योलको स्थिति भएकोले स्वदेशमै रोजगारीको बन्दोबस्त गरी आत्मनिर्भर बन्नुपर्छ ।”
उहाँले साम्राज्यवादी अमेरिकाको युद्धको कारण अहिले प्यालेस्टिन र युक्रेनका जनताको जनजीवन तहसनहस भएको अवस्थालाई शिक्षाको रूपमा ग्रहण गरी एमसीसीजस्ता विदेशी लगानी भएको एनजीओ, आईएनजीओ, संस्थाहरूको कारण देशको सार्वभौम अधिकार हनन हुने खतरा छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष उपेन्द्र सुवालले नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन भव्यरूपमा सफल बनाउन विभिन्न समितिहरू गठन गरिएको हुँदा आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरी आर्थिक भौतिक र नैतिक सहयोगको लागि सम्पूर्ण कार्यकर्ताहरू आ–आफ्नो क्षेत्रमा क्रियाशील हुनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी डकर्मी सङ्घ, भक्तपुर सिकर्मी सङ्घ, नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ, नेपाल क्रान्तिकारी औद्योगिक मजदुर सङ्घ, विभिन्न औषधि कारखानामा कार्यरत मजदुरहरू, विभिन्न सङ्घ संस्थामा कार्यरत मजदुरहरूको सहभागिता भएको उक्त कार्यक्रममा आयोजक समितिका रमेश दुमरुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *