भर्खरै :

ब्रिक्स शिखर सम्मेलनमा भाग लिन पुटिन र सी भारतमा

ब्रिक्स शिखर सम्मेलनमा भाग लिन पुटिन र सी भारतमा

नयाँदिल्ली, २६ भदौ (एएफपी) । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारत आइपुग्नुभएको छ । शनिबारदेखि सुरु हुने सम्मेलनमा मध्यपूर्व र युक्रेन युद्ध, विश्वव्यापी व्यापार अस्थिरता तथा ऊर्जा सुरक्षाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
चीनका राष्ट्रपति सी जिनपिङ पनि सम्मेलनमा सहभागी हुन भारत आउँदै हुनुहुन्छ । सन् २०१९ पछि उहाँको यो पहिलो भारत भ्रमण हो । भारत–चीन सीमामा घातक झडप भएको छ वर्षपछि हुन लागेको भ्रमणलाई दुई देशबिच सम्बन्ध सुधारको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ । यद्यपि सीमा विवाद, व्यापार घाटा र रणनीतिक प्रतिस्पर्धाका कारण अविश्वास अझै कायम छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राष्ट्रपति पुटिनसँग वार्ता गर्नुहुनेछ । रुस भारतको महत्वपूर्ण रणनीतिक साझेदार तथा प्रमुख इन्धन आपूर्तिकर्ता रहँदै आएको छ । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुहुने अपेक्षा गरिएको छ ।
ब्रिक्सको विस्तारसँगै मध्यपूर्वका विषयमा सदस्य राष्ट्रहरूबिच मतभिन्नता बढेको छ । भारतको अब्जर्भर रिसर्च फाउन्डेसनका हर्ष वी पन्तले खाडी क्षेत्रको द्वन्द्व यसपटकको सम्मेलनमा मुख्य विभाजनको विषय बन्न सक्ने बताउनुभयो । क्यापिटल इकोनोमिक्सका सिलान शाहले इरानमा जारी युद्धले विस्तारित ब्रिक्सको एकताको परीक्षा लिने बताउनुभयो ।
संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यान, साउदी विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी पनि सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । भारतले इरान र इजरायलसँगको सम्बन्ध तथा अमेरिकासँगको रणनीतिक साझेदारीलाई सन्तुलनमा राख्दै आएको छ ।
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
नयाँदिल्ली, २६ भदौ (एपी) । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि राजधानीका बासिन्दाको दैनिक आवागमन प्रभावित भएको छ । प्रमुख सडकमा ब्यारिकेड, जाँचस्थल र ट्राफिक प्रतिबन्ध लगाइनुका साथै हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले आवागमन सहज बनाउन सार्वजनिक बिदासमेत दिएको छ ।
सरकारी कार्यालय, विद्यालय तथा धेरै निजी व्यवसाय बन्द गरिए पनि कार्यालय जाने कर्मचारी, डेलिभरी चालक र दैनिक ज्यालादारीमा काम गर्नेहरूका लागि प्रतिबन्धले समस्या थपेको छ । सडक बन्द तथा मार्ग परिवर्तनका कारण छोटो दूरीको यात्रा पनि लामो बनेको र कतिपय क्षेत्रमा ट्याक्सी भाडा बढेको बासिन्दाले बताएका छन् ।
अटोरिक्सा चालक नीरज कुमारले प्रतिबन्धको सबैभन्दा ठुलो असर न्यून आय भएका मानिसलाई परेको बताउनुभयो । “यदि एक किलोमिटरको यात्रा आठ किलोमिटरको चक्करमा परिणत भयो भने हामीले के गर्नुपर्छ ?”, उहाँले प्रश्न गर्नुभयो । उहाँले विदेशी प्रतिनिधिका लागि सुरक्षा व्यवस्था गर्दा त्यसको भार सर्वसाधारणमाथि पर्न नहुने बताउनुभयो ।
डेलिभरी चालक मोहम्मद एलियासले प्रतिबन्धका कारण काममा पुग्नै कठिन भएको बताउनुभयो । “हामी काममा पुग्यौँ भने पनि ट्राफिकमा फस्नेछौँ । हामी काम गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलगायत नेताहरू शिखर सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ ।
ब्रिक्समा अहिले ११ देश सदस्य छन् । समूहले विश्वको करिब आधा जनसङ््रख्या तथा विश्वव्यापी ऊर्जा, स्रोत र आर्थिक उत्पादनको ठूलो हिस्सा प्रतिनिधित्व गर्छ । विकासोन्मुख देशहरूको भूमिका बढाउने उद्देश्यले ब्रिक्सले पश्चिमी नेतृत्वको विश्व व्यवस्थाको विकल्पका रूपमा आफ्नो प्रभाव विस्तार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *