भर्खरै :

युवाविहीनतालाई अन्त्य गर्न शिक्षामा परिवर्तन आवश्यक

युवाविहीनतालाई अन्त्य गर्न शिक्षामा परिवर्तन आवश्यक

अवसरको खोजीमा मानिसहरू एक देशबाट अर्को देशमा जान, बसाइँसराइ गर्नु अन्तर्राष्ट्रिय अभ्यास हो । यसबाट एक स्थानको श्रम, जनशक्ति, सभ्यता र संस्कृति अर्को ठाउँमा पुग्दा विकास र समृद्धि हुन्छ । यही कुरालाई मनन गरेर विकसित देशले वस्तु निर्यात गरेझैँ विकासोन्मुख देशका सस्तो युवा श्रमशक्तिलाई आफ्नो फाइदाको लागि किनिरहेको छ । नेपालका लाखौँ युवा सीमित स्वार्थ पूर्तिका लागि विदेशको अधिकतम तापक्रममा पसिना रगत बगाउन तयार हुँदा नेपालमा युवाहरूको सङ्ख्या कम हुँदै गएको छ ।
नेपालमा १६ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाहरूको सङ्ख्या वि.सं. २०७८ को जनगणनाअनुसार ४२.५६ प्रतिशत अर्थात् १ करोड २४ लाख १२ हजार १ सय ७३ जना रहेको छ । देशको मेरुदण्ड, परिवर्तनका संवाहक उर्वर, जोशजाँगर तथा हिम्मतवाला युवाहरूको ठुलो सङ्ख्याले देशको विकास र परिवर्तनमा फड्को मार्नुपर्ने हो । तर, विडम्बना उत्पादन र श्रमसँग गाँसिएको शिक्षा नहुँदा माटो नछुने प्रवृतिले १९.०८ प्रतिशत युवा पूर्ण बेरोजगार, ३६ प्रतिशतभन्दा बढी युवा अर्धबेरोजगार छन् ।
देशमा उपलब्ध खनिज, वनजङ्गल, वनस्पति, जडिबुटी, फलाम, तामा, युरेनियम, पेट्रोल, कोइला, पानीजस्ता प्राकृतिक सम्पदाको न्यायोचित प्रयोग र अनुसन्धान गरी उत्पादन, सीपमूलक र श्रमसँग गाँसिएको शिक्षा नहुँदा वर्षमा लाखौँ युवा रोजगार र शिक्षाको लागि घरबार बेचेर विदेश पलायन भइरहेका छन् । सरकार तथा नीतिनिर्माताहरू आफ्नो स्वार्थअनुरुपको नीति योजना ल्याई सामान्य जनताको जीवनलाई असहज बनाइदिएको छ । देशभित्र विरोधका स्वर निस्किएला भनेर युवाहरूलाई विदेश पठाउन टिकट, पासपोर्ट तथा भिसामा सहजीकरण गरिरहेको छ ।
उत्पादन, सीपमूलक र श्रमसँग गाँसिएको शिक्षाको वकालत नगरी नेताका आसेपासेले मात्रै अवसर पाउने सामान्य नागरिकले उच्च शिक्षा हासिल गर्दा नि कुनै कामको अवसर केही नदेखिँदा १६ देखि ४० वर्ष उमेर समूहका दैनिक हजारौँ उर्वर शिक्षित तथा दक्ष जनशक्तिलाई विदेश पलायनको बाटो रोज्न बाध्य पारी देश परनिर्भरतातिर धकेलिएको छ ।
उर्वर भूमिमा उन्नत जातको खाद्यान्न तथा बिरुवा लगाउन छोडी विदेशी माटोको बिरुवा रोप्न लालायित छौँ हामी । यसले गर्दा मानव स्वास्थ्यलाई नराम्रो असर गर्ने विदेशी औषधि तथा रसायन प्रयोग गर्न नेपाली बाध्य छन् । यसबाट नेपालीको क्रयशक्तिमा ¥हास हुँदै आएको छ । फलस्वरुप नेपाली युवाहरू सामान्य परिवार चलाउनसमेत विदेशको अधिकतम तापक्रममा आफ्नो जीउज्यानको जोखिम मोलेर दास बन्नुपर्ने अवस्था छ ।
नेपालको अथाह प्राकृतिक सम्पदाबाट विदेशीहरूले अधिकतम फाइदा लिइरहँदा पनि हामी नेपाली विदेशीको डलरमा चुर्लुम्म डुब्दा नेपालको ऐतिहासिक समृद्धिलाई जोगाइराख्न हम्मेहम्मे अवस्था छ । शिक्षा र रोजगारीको नाउँमा दैनिक हजारौँ उर्वर युवाशक्ति विदेसिँदा देशको कहालीलाग्दो अवस्था सृजना हुने निश्चित छ । विदेसिने प्रवृत्तिले देशको समृद्धि र विदेशीको आक्रमणबाट राष्ट्र बचाउन मुस्किल छ ।
उत्पादन, सीपमूलक र श्रमसँग जोडिएको शिक्षा नहुँदा नेपालमा १२ कक्षा उत्तीर्ण पछि धेरै युवा देशको अवस्थाबाट दिक्क मानेर युवा पुस्ता भविष्य र अवसरको खोजी गर्दै अध्ययन भिसामा होस् या कामदार भिसामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापानजस्ता देशमा जाने लहर नै बढेको छ । घरलाई ऋण बोकाएर उच्च शिक्षा अध्ययन, आफ्नो भविष्य सुन्दर बनाउन देशमा युवाशक्तिलाई देशको समृद्धि र विकासमा सकृय बनाउने योजना र रोजगारीको कुनै ग्यारेन्टी नहुँदा विदेशमा समृद्धिको सपना देख्न लालचित र विवश छन् युवा ।
देशको राजनीतिक स्थिति र सरकारी कर्मचारीको रवैया प्रजातन्त्रसहितको गणतान्त्रिक देशमा कुनै भविष्य नदेखिँदा देश युवाविहीन हुने खतरा छ ।
सरकारले देशमा उपलब्ध वनजङ्गल, वनस्पति, जडिबुटी, खनिज, फलाम, तामा, युरेनियम, पेट्रोल, कोइला, जडिबुटीजस्ता प्राकृतिक स्रोत सम्पदाको अध्ययन अनुसन्धान, उत्खनन र प्रयोगसम्बन्धी व्यवहारिक शिक्षा नदिँदा सामान्य काम पाउनको लागि १२ कक्षा पास गर्नेबित्तिकै युवाको ध्यान विदेशतिर जान लालायित छन् । एक त युवा जनशक्तिलाई नेपालमा राख्नसक्ने वातावरण सरकारले बनाउन सकेको छैन भने अर्कोतर्फ तिनै युवा शक्ति निराश र दिकदार बनेर सरकारलाई गाली गर्दै आफ्नो देश नेपालप्रति नै नकारात्मक हुँदै आएको छ ।
संविधानसभाले घोषणा गरेको गणतन्त्र र सङ्घीयतासहितको तीन तहको सरकार एकआपसमा हातेमालो गरेर स्थानीयरूपमा उपलब्ध स्रोत साधनजस्तै खनिज, वनजङ्गल, वनस्पति, जडिबुटी, फलाम, तामा, युरेनियम, पेट्रोल, कोइला, पानीको उपलब्धता पहिचान गरेर सीपयुक्त आवश्यक जनशक्ति निर्माण गर्ने र वस्तु उत्पादनमा जोड दिनुपर्छ । यसले विदेश पलायन हुने युवालाई धेरै हदसम्म रोक्न सकिन्छ ।
देशको मेरुदण्ड, परिवर्तनका संवाहक उर्वर, जोशजाँगर तथा हिम्मतवाला युवालाई स्वदेशमै उचित अवसर र वातावरण दिई तिनीहरूको विचार र प्राविधिक ज्ञानलाई देशको विकास, राजनीति र निर्णय प्रक्रियामा सहभागी गराउनुपर्दछ । यसले विदेशी राष्ट्रको थिचोमिचो र हेपाहा प्रवृत्तिलाई निरुत्साहित गरी समृद्ध राष्ट्र बनाउन सहयोगी भूमिका निभाउँछ ।
शिक्षालाई वैज्ञानिक, व्यवहारिक बनाएर स्थानीय सीप र कलाको विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी देशभक्ति तथा नैतिकताको शिक्षा युवामा दिनुपर्छ । स्थानीय स्रोतहरूको उचित प्रयोग र उत्पादनबाट युवामा श्रमप्रति सम्मान गर्ने संस्कारको विकासका लागि शिक्षाको माध्यमबाट तीन तहको सरकार एक आपसमा हातेमालो गरेर अघि बढ्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *