अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सबैभन्दा राम्रो र विश्वकै उत्कृष्ट मानिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विश्वमै बदनाम भएको छ । उत्कृष्ट व्यवस्था कुनै नेताले भनेर हुने होइन । यो व्यवस्था उत्कृष्ट हो भने उत्कृष्ट काम हुनुपर्छ; हरेक नागरिकको जीवन सुनिश्चित हुनुपर्छ । हरेक नागरिकको खाने, लाउने र बस्ने व्यवस्था हुनुपर्छ । सबैजनाले स्वास्थ्य सेवा पाउनुपर्छ । पैसा, स्वास्थ्य सेवा केन्द्र र अस्पतालमा चिकित्सक र औषधिको कमीको कारण कुनै बिरामी मर्नुपर्ने छैन । देशभरि बिजुली पुग्नुपर्छ; खानेपानी पुग्नुपर्छ; बाटो पुग्नुपर्छ; स्कूल, कलेज पुग्नुपर्छ; स्वास्थ्य केन्द्र, अस्पताल, चिकित्सक र औषधिको सेवा हुनुपर्छ । सबैले काममाम पाउनुपर्छ । के यस्तो व्यवस्था देशमा छ ?
उत्कृष्ट व्यवस्था भएको मुलुकमा भ्रष्टाचार हुनु हुँदैन । कमिसनको खेल हुनु हुँदैन । धाक, धम्की, बल र पैसाको आधारमा राजनीतिमा सक्रिय हुने होइन । छलकपट, षड्यन्त्र र झूटको राजनीति हुनु हुँदैन । सबैले न्याय र समानता पाउनुपर्छ । जातीय छुवाछूत र भेदभाव हुनु हुँदैन । जातीय राजनीति गर्नु हुँदैन । सङ्कीर्ण राजनीति गर्नु हुँदैन । गरिबीबाट मुक्त हुनुपर्छ । सबै उच्च शिक्षा हासिल गर्ने अवसर पाउनुपर्छ । जनताका दैनिक उपभोग्य वस्तुको कमी हुनु हुँदैन । देश आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्छ । देशको अर्थतन्त्र मजबुत हुनुपर्छ । देशको बजेट विदेशी ऋणमा बनाउनु हुँदैन । सिद्धान्त र विचारको राजनीति हुनुपर्छ । अन्धविश्वास, कुरीति हटाउनुपर्छ । सबैमा नागरिक भावना हुनुपर्छ । सांस्कृतिक स्तर हुनुपर्छ । देशभक्त हुनुपर्छ । अन्तर्राष्ट्रवादी भावना हुनुपर्छ । नेताहरूले सिद्धान्त र विचारको आधारमा राजनीति गर्नुपर्छ । उनीहरूले छिनछिनमा विचार बदल्नु हुँदैन । कमसेकम गणतन्त्रलाई संस्थागत गर्नुपर्छ । गणतन्त्रको बदनाम गर्ने काम गर्नु हुँदैन । कम्युनिस्ट पार्टी कम्युनिस्टको सिद्धान्त र विचारको आधारमा चल्नुपर्छ ।
आकर्षक र मीठा कुरा बक्ने, तर व्यवहारमा लागु नगर्ने काम राजनीतिक नेताहरूले गर्नुहुँदैन । सानो काम पनि नगर्ने ठुलो दलको के अर्थ रहन्छ र ? आज शासक दलका नेताहरूले जनतालाई यथार्थ कुरा बुझाएनन्, देशभक्तिको भावना दिएनन्, राजनीति देश र जनताको सेवा गर्न हो भनी बताएनन् । यसैले यहाँ अराजनीतिक गतिविधि बढ्यो, उच्छृङ्खल गतिविधि बढ्यो; हत्या हिंसाका घटनाहरू भइरहे; महिला बेचबिखन भइरह्यो; बेपत्ता पार्ने र अङ्ग बेच्ने काम भइरह्यो । यसरी विकृति र बेथितै बेथितिले घेरेको यो देशको व्यवस्था कसरी उत्कृष्ट हुन्छ ।
उत्कृष्ट व्यवस्था भनिएको यो देशमा किन बढी भ्रष्टाचार हुन्छ ? कमिसनको खेल किन हुन्छ ? पद र पैसाको निम्ति किन राजनीति हुन्छ ? दल फुटाउने राजनीति किन हुन्छ ? दल फुटाउनकै निम्ति किन संविधान संशोधन हुन्छ ? भ्रष्टाचारीहरू किन कारबाहीमा पर्दैनन् ? भ्रष्टाचार किन नियन्त्रण हुँदैन ? सहकारी ठगहरूलाई खोइ कारबाही ? नक्कली भुटानी शरणार्थीको प्रकरण कहाँ पुग्यो ? ललिता निवास प्रकरणको मुद्दा कहाँ पुग्यो ? मुद्दा लगाउने अनि कारबाहीको प्रक्रिया अघि नबढाउने ?
सरकारले आपराधिक गतिविधि नियन्त्रणमा किन ध्यान दिँदैन ? ध्यान दिइएको भए आधा माग पूरा हुन्थ्यो । यसले सरकार संवेदनशील नभएको थाहा हुन्छ । सरकार गम्भीर नभएको थाहा हुन्छ । सरकार सञ्चालकहरू गम्भीर, संवेदनशील भएनन्, देश र जनताप्रति समर्पित भएनन् भने यो सरकार कसरी लोकतान्त्रिक हुन्छ ? कसरी उत्कृष्ट व्यवस्थाको सरकार हुन्छ ? शासकहरूलाई भ्रष्टाचार कसरी हुन्छ, कसले गर्छ भन्ने थाहा छ । तर, भ्रष्टाचार गर्ने ती व्यक्तिहरू शासकहरूकै छत्रछायामा हुन्छन् । भ्रष्टाचारीहरूको खोजीनीति भयो भने आफ्नै नेता, कार्यकर्ता भ्रष्टाचारमा पर्छ । त्यही कारण भ्रष्टाचारको राम्रो छानबिन हुँदैन । भ्रष्टाचारीमाथि कारबाही भइरहेको देखाउन भ्रष्टाचारको अभियोग लगाउने तर अभियोगको टुङ्गो नलगाउने काम सरकारले गरिरहेको छ । यसकारण, शासकहरू गहिराइमा गएर भ्रष्टाचारको छानबिन गर्दैनन्† भ्रष्टाचारीहरूमाथि कारबाही गर्दैनन् । यही देशको विडम्बना हो ।
Leave a Reply