अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
पेइचिङ डायरी
पेइचिङ बसेर नेपाल र चीनलाई जोड्ने सांस्कृतिक सम्पदाबारे चासो राख्दै विभिन्न सञ्चार माध्यममा मैले लेख्न थालेको एक दशक नाघ्यो ।
विशेषगरी पेइचिङमा अरनिकोले बनाएको श्वेत चैत्य, लामा मन्दिरमा रहेको २६ मिटर उचाइको मैत्रेय बुद्धको काठको मूर्ति, वल्लो शान्षी प्रान्तस्थित ऊथाईशानमा अरनिकोले बनाएको अर्को श्वेत चैत्य, तिब्बतमा भृकुटीले बनाउन लगाएको जोखाङ मन्दिरबारे मेरा दर्जन बढी लेख प्रकाशन भइसकेका छन् ।
केही वर्ष अगाडि पेइचिङको श्वेत चैत्यबारे मैले एउटा लेख लेखेको थिएँ । त्यो पढेर शुभचिन्तक अनुज श्रेष्ठले एउटा टिप्पणी गर्नुभयो । त्यसले मेरो ध्यान आकृष्ट गराएको थियो ।
उहाँले लेख्नुभएको थियो, पेइचिङमै एक नेपाली कलाकारले पञ्च प्यागोडा मन्दिर बनाएका छन् । यसबारे पनि लेखिदिनुप¥यो !
चिनियाँ भाषाको समेत ज्ञान भएका अनुज नेपाली र चिनियाँ संस्कृति तथा सम्पदाका स्वअध्येता पनि हुनुहुन्छ । टिप्पणी पढेपछि खुलदुली त भएको थियो तर कार्यव्यस्तताले सो विषयबारे अनुगमन गर्न बिर्सिएछु ।
केही दिन अगाडि सामाजिक सञ्जालमा उहाँसँग फेरि यही विषयमा कुराकानी भयो । उहाँले दिएको जानकारी पछ्याउँदै जनवरी ८ को बिहानै म त्यो सम्पदा भएको ठाउँमा पुगेँ ।
उक्त दिन अत्यधिक चिसो थियो । तीव्र गतिको सिरेटोले शरीर कठ्याङ्ग्रिँदै थियो । हातको पञ्जा खोल्न कठिन । तर, मोबाइलबाट फोटो खिच्न पञ्जा खोल्नैपथ्र्यो ।
बाहिरी वातावरण अधिक चिसो भए पनि मभित्र एक किसिमको न्यानोपन उम्लिँदै थियो । कुनै अज्ञात नेपाली सर्जकले निर्माण गरेको भनिएको मन्दिर परिसरमा रहेका हरेक कलामा म नेपाल सम्बन्ध खोज्न तम्सिँदै थिएँ ।
संस्कृतिसम्बन्धी उति ज्ञान मसँग छैन । मूर्तिकला, काष्ठकला, लिपिज्ञान, शिलाखेल, थाङ्का, कलाको भावभङ्गी आदि पर्गेल्ने क्षमता हुने कुरा भएन । तैपनि, सुक्ष्म ढङ्गले नियाल्ने, बुद्धका मूर्तिहरूमा चिनियाँ शैली र नेपाली शैलीको भिन्नता खोज्ने, भित्तेचित्रमा देखिने बज्र, शङ्ख, खड्ग आदिका कारण चिनियाँभन्दा फरक अनि नेपालीपनको नजिक रहेका तन्तु खुट्याउने प्रयास गर्छु जुन सत्यमोहन जोशीका किताबबाट केही ज्ञान प्राप्त भएको छ ।
त्यो दिन झलमल्ल घाम लागे पनि पेइचिङको तापक्रम ऋणात्मक ८ डिग्री सेल्सियस थियो । मन्दिर क्षेत्र प्रवेश गर्न २० युआन अर्थात् ३८० रूपैयाँ बराबरको टिकट काटेर भित्र गएँ ।
त्यहाँ राखिएका सूचना तथा जानकारी, मूर्तिहरू, चित्रहरू, कुँदिएका अक्षरहरू खोज्दा तीन घन्टा बित्यो । जति जिज्ञासा लिएर उक्त क्षेत्र पुगेको थिएँ, फर्किँदा झन् भारी थपियो । त्यहाँ जानु अगाडि र फर्किएपछि चिनियाँ वेबसाइटहरूमा उक्त मन्दिरबारे लेखिएका सामग्री खोजेर अनुवाद गर्दै पढ्न थालेपछि अझ जिज्ञासा र चासो पढ्न थाल्यो ।
मूलतः मनमा पलाएको प्रश्न अहिले पनि ज्युँकात्युँ छ । को होलान् ती महान् भिक्षु जसले ६ सय वर्ष अगाडि पेइचिङको केन्द्र भागमा त्यस्तो सम्पदा बनाए ? नेपालले ती भिक्षुबारे किन कुनै चासो राखेन ? चीनले पनि यसबारे नेपाललाई किन उचित जानकारी दिन आवश्यक ठानेन ?
चिनियाँहरूले यसलाई ‘टेम्पल अफ ट्रान्क्विलिटी’ अर्थात् पाँचवटा टावरको मन्दिर भन्छन् । यो मन्दिर सन् १४०३ देखि १४२४ को अवधिमा निर्माण भएको रहेछ । उक्त समय चीनमा मिङ वंशको शासनकाल थियो । त्यो समयमा अरनिकोको मृत्यु भएको लगभग ९७ वर्ष भइसकेको थियो ।
केही चिनियाँ वेबसाइटमा उल्लेख भएअनुसार नेपाली भिक्षु सलिशाले यो मन्दिर बनाउन लगाएका हुन् । सलिशाका (कतै कतै लिशा पनि भनिएको छ) अन्य नाम पनि थिए । उनलाई ‘पान्डा’, ‘हरिमा’ अथवा ‘ग्लिम्मा’ पनि भनिन्थ्यो भनेर चिनियाँ वेबसाइटले लेखेका छन् ।
यहाँनेर के स्पष्ट पारौँ भने, चीनमा आएका विदेशीहरूलाई चिनियाँ नामले नै बोलाइन्छ । विदेशी उच्चारणलाई चिनियाँमा परिणत गर्दा अनौठो सुनिन्छ । उदाहरणका लागि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा काम गर्ने सहकर्मी लक्ष्मी लम्साललाई चिनियाँहरूले दिएको नाम हो ‘लामुसार’ ।
चिनियाँ उच्चारणमा लक्ष्मी नभएकाले उनीहरूले लम्साललाई लामुसार बनाइदिए । अर्का सहकर्मी अजयलाई ‘आछाया’ बनाइदिएका छन् । मेरो नाम चेतनाथ चिनियाँ उच्चारणमा केही नजिक भएकाले ‘जेदनाथ’ बनाइदिएका छन् ।
यही कारण ती भिक्षुको खास नाम के थियो भनेर पत्ता लगाउन मुस्किल छ । तसर्थ नामले भन्दा कामले ख्याति कमाएका भिक्षुलाई नेपालले अझै चिन्न सकेको छैन ।
उनी कसरी पेइचिङ आइपुगे भन्नेबारे चिनियाँ वेबसाइटमा निकै रोचक कथा भेटिन्छ ।
चीनको वल्लो शान्षी प्रान्तस्थित ऊथाईशानमा अरनिकोले निर्माण गरेको विशाल श्वेत चैत्य छ । पेइचिङको श्वेत चैत्य जत्तिकै उचाइको यो चैत्य क्षेत्र विश्व सम्पदा सूचीमा अटाएको छ । यही श्वेत चैत्यको छेउमा छ पुनिङ (अहिलेको नाम युआनचाओ) ।
गुम्बामा तान्त्रिक पुजारीका रूपमा नेपालबाट आएका भिक्षु थिए सलिशा ।
चीनकै प्रख्यात युआनचाओ गुम्बा चीनका मिङ र छिङ वंशको शासनकालमा चिनियाँ बादशाहले पूजा गर्ने शाही गुम्बा थियो । सलिशा त्यहाँ ध्यान र अभ्यास गर्दै अरूलाई पनि प्रशिक्षण गराउँथे । चिनियाँ इन्टरनेटमा सलिशाको जीवनकाल सन् १३३५–१४२६ उल्लेख छ । चिनियाँ बादशाहबाट ‘महान् राष्ट्रिय गुरू’ उपाधि र सुनको छाप तथा विशाल खजाना ब्यानर उनलाई प्राप्त थियो ।
सन् १४०२÷०३ तिर चीनका तत्कालीन सम्राट सुआनचोङ चु चानचीले सलिशालाई पेइचिङ बोलाए । बोलाउनुको उद्देश्य बौद्ध धर्मलाई अझै व्यापक बनाउनु थियो । पेइचिङ आएर भिक्षु सलिशाले पाँचवटा सुनौला बुद्धका मूर्ति र बुद्धगयाको स्तम्भको डिजाइन बनाएर बादशाहलाई देखाए । उनले यसको कला र संस्कृतिसँगै दार्शनिक पक्षको व्याख्या गर्दै यस्तै सम्पदा बनाउन सकिने सुझाव पनि टक्र्याए ।
आश्चर्यजनक र अद्भूत डिजाइन अनि त्यसभित्र लुकेको दर्शनशास्त्रले चिनियाँ बादशाह चकित परे । फलतः उनलाई उक्त सम्पदा निर्माण गर्न अनुमति प्राप्त भयो ।
यो सम्पदा निर्माण गर्न बादशाह आफैले पेइचिङको पश्चिम–उत्तरमा पर्ने सानो नदीको उत्तरी किनारमा, सिक्वाङबाट २ माइल बाहिरपट्टिको क्षेत्र पनि छनौट गरेर स्थान निर्धारण गरियो । निर्माण सम्पन्न भएपछि मन्दिरको नाम पनि ‘चिआनचन’ राखिदिए ।
सन् १४२४ मा निर्माण सम्पन्न भएको यो मन्दिर सेतो सिंगमरमरले बनेको छ । पर्खालमा ढुङ्गामा जडित फलाम अक्सिडाइज गरिएको छ । यस कारण फलामबाट आएको खियाले पर्खालमा आकर्षक सुन्तले रङ पैदा गराएको छ । पञ्च प्यागोडाको आधारका रूपमा बनेको बीचको मुख्य भाग ते¥ह तलाको छ । चार कुनामा एघार तलाका प्यागोडा मन्दिर छन् । मन्दिरको माथिल्लो भागमा पाँचवटा स्तम्भ रहेकाले यसलाई पञ्च प्यागोडा भनिएको हो ।
मुख्य मन्दिरको चारैतिरका पर्खालमा बुद्धका मूर्ति बनाइएको छ । दक्षिणतिर ८० वटा र उत्तरतिरका पर्खालमा ८३ वटा बुद्धका मूर्ति छन् । त्यसैगरी, पूर्व र पश्चिमतिरको प्रत्येक पर्खालमा १०९ वटा छन् । चारतिर पर्खालमा जम्मा गरेर ३८१ वटा बुद्ध मूर्ति कुँदिएका छन् । मूर्तिहरूको मुद्रा फरकफरक छ ।
ऊथाईशानबाट पेइचिङ आएका नेपाली भिक्षु सलिशाले सन् १४२४ मा पञ्च प्यागोडा निर्माण पूरा गरेका थिए । प्यागोडा निर्माण गरेको दुई वर्षपछि सन् १४२६ मा उनले ऊथाईशान फर्किने इच्छा प्रकट गरे । चिनियाँ सम्राट सुआनचोङले अनुमति दिएनन् ।
अनि भिक्षुले आफू कुनै पनि हालतमा ऊथाईशान फर्किने, नभए प्राण त्याग्ने अडान लिए । सुआनचोङले उनको कुरै सुनेनन् । त्यही राती ९० वर्षीय नेपाली भिक्षुको मृत्यु भयो । भनिन्छ उनले प्राणायम विधिबाट आफ्नो प्राण त्याग गरेका थिए ।
यहाँनेर के स्मरणीय छ भने, अरनिकोले पनि आफ्नो जीवनको अन्तिम क्षण ऊथाईशानमै बिताउने इच्छा प्रकट गरेका थिए । अरनिकोको प्राण पनि पेइचिङमै गएको थियो । दुवै नेपाली महान् शिल्पकारको अन्तिम इच्छा पूरा भएन ।
नेपाली भिक्षुको मृत्युबाट सम्राट सुआनचोङ गहिरो पछुतोमा परे । उनले भिक्षुको अस्तु पेइचिङ र ऊथाईशानमा लगेर विसर्जन गर्न आदेश दिए । पेइचिङमा त्यही पञ्च प्यागोडा मन्दिर नजिक उनको अस्तु विसर्जन गरियो । अर्को अंश ऊथाईशानमा लगेर उनले ध्यान गरेको गुम्बा युआनचाओको बाहिरपट्टि विसर्जन गरियो । त्यहाँ पाँच मिटर अग्लो वज्र सिंहासनको शैलीमा सेतो प्यागोडा बनाइयो ।
चीनमा मिङ राजवंशपछि छिङ राजवंशको शासन सुरू भयो । छिङ राजवंशका बादशाह छिआनलोङले आफ्नी आमाको ६५ औँ जन्मोत्सव (सन् १७५१ मा) र ७५ औँ जन्मोत्सव (सन् १७६१ मा) मनाउन यो मन्दिर पुनर्निर्माण गराएका थिए । छिङ राजवंशकालमा यसलाई शाही मन्दिरको उपमा पनि दिइएको थियो । बादशाह छिआनलोङले जन्मोत्सवलगायतका विशेष समारोहका भित्तेचित्रहरू मन्दिरमा राखिएकाले यसको महत्व दर्शाउँछ । यसले विभिन्न कालखण्डमा विभिन्न आरोहअवरोह पार गर्दै आएको छ ।
यो अद्भूत सम्पदा छिङ वंशकालमा आगलागीमा परेर नस्ट भएको थियो । यद्यपि मध्य भागमा बनेको पञ्चब्रज प्यागोडा र त्यसको अगाडि रहेका किङ्कोका दुई रुख आगलागीबाट बचेका थिए । अहिले पनि चार सय वर्षभन्दा पुराना किङकोका यी दुइटा रुख संरक्षण गरेर राखिएको छ ।
सन् १८६० मा एङ्लोफ्रेन्चको सेना यो मन्दिरमा प्रवेश गरेर विध्वंश मच्चाएको इतिहास छ । सन् १९२७ मा चीनको तत्कालीन सरकारको मङ्गोलियन मठले यो मन्दिरलाई २५०० युआनमा ह्वाङ नामका व्यापारीलाई बेचेको थियो । ती व्यापारीले मन्दिर परिसरका सबै हल भत्काएर त्यहाँका महँगा काठ–पात र कलाहरू बेचिदिए । यो क्रमममा पुरानो शाही मन्दिर नस्ट भए पनि बिचमा रहेको पञ्च प्यागोडा बचेको थियो ।
सन् १९६१ मा जनवादी गणतन्त्र चीनको राज्य परिषदद्वारा अनुमोदित राष्ट्रिय प्रमुख सांस्कृतिक अवशेष संरक्षण एकाइका रूपमा यस मन्दिरलाई पनि सूचिकृत गरियो । स्मरणीय छ, उक्त समयमा पेइचिङमा अरनिकोले बनाएको श्वेत चैत्यलाई पनि राष्ट्रिय प्रमुख सांस्कृतिक अवशेष संरक्षण एकाइमा राखिएको थियो ।
पछि यो मन्दिरलाई पेइचिङ चिडियाखानाले अधिग्रहण ग¥यो र सन् १९८० को दशकसम्म आफ्नो क्षेत्रमा राख्यो । चिडियाखाना मन्दिरको आडमै छ ।
यो मन्दिर क्षेत्रमा हाल पेइचिङ शिलाखेल तथा कला सङ्ग्रहालय स्थापना गरिएको छ । पञ्च प्यागोडा मन्दिरको पूर्वपट्टि विदेशी मिसनरीहरूको लगभग ३४ वटा चिहान छ । ती चिहान एक शताब्दी अगाडिका हुन् । चीनमै मृत्युवरण गरेका मिसनरीको चिहान यसरी संरक्षण गरिएको हो ।
मन्दिरको पश्चिमपट्टि विशाल शिलालेख तथा ढुङ्गाका मूर्ति सङ्कलन गरिएको छ । यो पल्लो शान्षी प्रान्तको सिआनमा रहेको शिलालेख सङ्ग्रहालयपछिको चीनको सबभन्दा ठुलो शिलालेख सङ्ग्रहालय हो ।
मन्दिर परिसरमा राखिएको एउटा सूचनापाटीमा मेरो ध्यान पुग्यो ।
त्यहाँ लेखिएको छ, प्रारम्भमा सन् १४२४ मा निर्मित यो मन्दिर भारतीय बोधगयाको मन्दिरबाट प्रभावित छ । भारततिरबाट आएका एकजना भिक्षुले यसको डिजाइन गरेर बनाएका हुन् ।
भारततिरबाट आएका भिक्षु भनेर चीनले यो मन्दिर बनाउने व्यक्तिका बारेमा धेरै जानकारी दिन कन्जुस्याइँ गरेको छ । हुन त चीनले अझै पनि बुद्ध भारतमा जन्मिएका हुन् भन्छ !
पेइचिङकै लामा मन्दिरमा रहेको श्रीखण्डको २६ मिटर उचाइको मैत्रेय बुद्ध मूर्तिबारे पनि खास जानकारी उल्लेख छैन । नेपालको कपिलवस्तुबाट श्रीखण्डको एउटा रूख ल्याइएको मात्र भनिएको छ । खासमा त्यो मैत्रेय बुद्धको मूर्ति पनि नेपालका कालिगडले बनाएका हुन् । तर, यस्तो जानकारी चीनले दिन चाहेको छैन ।
पञ्च प्यागोडा मन्दिरमा कुँदिएका बुद्धमूर्तिको शैली र रञ्जना लिपिका बुद्धमन्त्रले पनि यो मन्दिर नेपालीले नै बनाएको भन्ने पुष्टि हुन्छ । यस मन्दिरबारे संस्कृति र सम्पदा अध्येताले खोज तथा अनुसन्धान गरेर थप कुरा उजागर गर्नुपर्छ । ती महान् नेपाली भिक्षुका बारेमा नेपाल र नेपालीले थाहा पाउन आवश्यक छ ।
– सेतोपाटी डटकमबाट
Leave a Reply