अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सरकारमा कहिल्यै नगई, शत्रुको सामु नझुकी सिद्धान्तनिष्ठ राजनीति गर्ने दल नेपाल मजदुर किसान पार्टी नै हो । दलको सिद्धान्त र विचारसँग कहिल्यै सम्झौता नगर्ने, पद र पैसाको राजनीति नगरी इमानदारीपूर्वक देश र जनताको पक्षमा राजनीति गरिरहेको दल देशकै लागि अनुकरणीय पार्टी हो । नेमकिपाले गर्दै आएको यही सिद्धान्तनिष्ठ राजनीतिका कारण देशका सच्चा बुद्धिजीवी, राजनीतिक विश्लेषक र लेखकहरू देशको निम्ति नेमकिपा नभई नहुने दल मान्छन् । यस्तो खालको दलले नै सरकारको नेतृत्व गर्नुपर्ने कुरा सुनाउँछन्, लेख्छन् । यसरी अन्य राजनीतिक दल र जनताले प्रशंसा गरेको दल नेमकिपाको यही फागुन १६ गतेदेखि आठौँ अधिवेशन हुन गइरहेको छ । देश र जनताप्रति समर्पित भएर र देशको स्वाधीनता र सार्वभौमिकता रक्षा गर्न, अतिक्रमित नेपाली भूमि फिर्ता लिन निरन्तर सङ्घर्ष गरिरहेको दल नेमकिपाको झन्डामुनि देशका श्रमजीवी, उत्पीडित, शोषितपीडित जनता लाग्नु आवश्यक छ ।
एमसीसीको विरोधमा सशक्त आवाज उठाउने, प्रतिनिधिसभा भवन घेरेर पटक पटक खबरदारी गर्ने दल नेमकिपा हो । नेमकिपाले यो देशको निम्ति लडेको हो । यो सम्झौताले देशलाई दूरगामी असर नपरोस् भनी नेमकिपाले सरकारलाई खबरदारी गरेको हो । नेमकिपाले २०२५ सालमै भारतीय पक्षले नेपाली भूमि सुस्ता मिच्दा सोको विरोधमा भक्तपुरमा जुलुस प्रदर्शन गरेको थियो । नेपाली भूमि जोगाउनको निम्ति भएको उक्त विरोध प्रदर्शनमा प्रहरी दमन भएको थियो । जन्मेको आधारमा विदेशी नागरिकलाई वंशजको आधारमा नेपाली नागरिकता दिन नहुने अडान नेमकिपाको हो । हरेक नेपालीले नेपाली नागरिकता पाउनुपर्छ । तर, नेपालको दुई ठुला छिमेकी देश भारत र चीन रहेको र अझ नेपाल–भारत खुला सीमा भएको स्थितिमा जन्मको आधारमा नेपाली नागरिकता दिँदा कुनै बेला नेपाली अल्पमतमा पर्न सक्छ; नेपाली अल्पमतमा परेमा देशको स्थिति के होला ? तराईका जिल्ला अलग्ग गर्न धम्की दिने सांसदहरू हाम्रै संसद्मा छन्; देशै नरहने चेतावनी दिने सांसदहरू हाम्रै संसद्मा छन् । भोलि त्यसरी नै धम्की र चेतावनी दिने सांसदहरू तराईका सबै जिल्लामा निर्वाचित भएमा देशको स्थिति के होला ? के त्यस्ता सांसद, मन्त्री, मेयर, उपमेयर र वडाध्यक्षहरूले नेपालको स्वाधीनता र सार्वभौमिकताको निम्ति लड्लान् ? उनीहरूले नेपाललाई बचाउलान् ?
नेमकिपाले कहिले पनि आफ्नो दलगत र व्यक्तिगत स्वार्थको राजनीति गरेन । अतिक्रमित भूमि फिर्ता माग र फिर्ता मागको निम्ति सङ्घर्षमा पार्टीको कुनै दलगत स्वार्थ छैन । देशको भूमि जोगाउनु सरकारको दायित्व हो, दल र जनताको दायित्व हो । नेमकिपाले स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्दा कृषक र देशको निम्ति फाइदा हुने हो । मावि तहसम्म शिक्षा अनिवार्य र निःशुल्क तथा उच्च शिक्षालय निःशुल्क भयो भने देशका व्यापक जनताको भलो हुन्छ । विस्तारवादी नीति र साम्राज्यवादी नीतिको विरोध गर्नु भनेको देशको सुरक्षाको लागि हो; स्वाधीनताको निम्ति हो । यसमा नेमकिपाको कुनै दलगत स्वार्थ छैन । यसरी पार्टी स्थापनादेखि समग्र नेपाल र नेपाली जनताको निम्ति आवाज उठाउँदै आएको, सङ्घर्ष गर्दै आएको पार्टी नेमकिपाको आठौँ महाधिवेशन भक्तपुरमा हुन गइरहेको छ । उक्त अधिवेशनमा उद्घाटन सत्र सल्लाघारीको खुला ठाउँमा हुनेछ । उद्घाटन सत्र सुरु हुनुअघि एक टोली भक्तपुरको लान्चा फल्चा (पाटी) बाट र अर्काे टोलीको ¥याली कोटेश्वरबाट सुरु हुनेछ । जिल्ला जिल्लाले आफूले जिम्मा पाएको स्थानमा जिम्माअनुसार निश्चित स्थानमा निश्चित समयमा पुगेर अधिवेशन सफल पार्नुपर्छ ।
पार्टीको लक्ष्यअनुसार समाजवाद स्थापनाको निम्ति जनजागरण अभियानमा लागिरहने दल नेमकिपा हो । अरू दलका नेता तथा कार्यकर्ताहरू सिद्धान्त र विचारको राजनीति गर्दैनन् । उनीहरू झूट फलाक्छन्, छलछाम गर्छन्, लोभलालच देखाउँछन्, पैसा बाँड्छन् । सर्वसाधारण जनतालाई सुसूचित पार्ने काम गर्दैनन्; सांस्कृतिक स्तर उठाउने काम गर्दैनन्; समाजवाद र पुँजीवाद या कम्युनिस्ट पार्टी र पुँजीवादी पार्टीको भेदबारे बताउँदैनन् । तिनीहरू पद र पैसाको राजनीति गर्छन् । तिनीहरू सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर भागबन्डाको राजनीति गर्छन्; मित्र शक्तिको विरोध गर्न शत्रुसँग साँठगाँठ गर्छन् । तर, नेमकिपाले त्यस्तो राजनीति कहिल्यै गरेन । यसरी देश र जनताको पक्षमा शुद्ध राजनीति गर्ने, इमानदारीपूर्वक राजनीति गर्ने दल नेमकिपाको आठौँ अधिवेशनलाई सबै न्यायप्रेमी जनताले साथ दिनुपर्छ, सहयोग गर्नुपर्छ, समर्थन गर्नुपर्छ ।
Leave a Reply