भर्खरै :

युक्रेनभन्दा विकराल स्थिति छ गाजामा

युक्रेनभन्दा विकराल स्थिति छ गाजामा

सन् १९९६ को युक्रेन ।
मेरी जेठी छोरी ओक्साना चिकित्सा पढ्दै थिइन् । उनले गाजाका एक नवयुवा मोहम्मद अल–हिस्सीलाई भेटिन् । मोहम्मद पनि चिकित्सा पढ्दै थिए । उनी स्वदेश फर्केर आँखाको डाक्टर बन्ने उद्देश्यले आएका थिए ।
दुई वर्षपछि ओक्साना र मोहम्मदको बिहे भयो ।
सन् २००१ मा मोहम्मदले स्नातकोत्तर पास गरे । पाँच वर्षपछि उनले गाजा फर्किने निधो गरे ।
सन् २००६ जनवरी २७ मा मेरा पति र मैले हाम्रा दुई मायालाग्दा नाति र नातिनीलाई बिदा ग¥यौँ ।
त्यो दिन तुसारो परेको थियो । निकै चिसो दिन थियो । बाटोमा हाम्रो घुँडाघुँडा आउने हिउँ जमेको थियो ।
सन् २००७ मा छालाको क्यान्सर लागेर मेरा पतिको निधन भयो ।
ती वर्षहरू निकै मुस्किलले कटे । तर पनि बेलाबेला गाजाबाट मेरा नाति–नातिनाले फोन गर्दा वा सन्देश पठाउँदा मलाई आनन्दको अनुभूति हुन्थ्यो ।
मेरो जेठो नाति एमदले मलाई गाजा घुम्न आउनु भनेर चिठी पठाइरहन्थ्यो । उसका तीन भाइबहिनी युक्रेन छोडेर गाजा पुगेपछि जन्मेका थिए ।
मलाई गाजा भ्रमण निकै खतरनाक र थकानपूर्ण हुनेछ भन्ने थाहा थियो । तैपनि, मैले सन् २०१२ र २०१८ मा त्यहाँ जाने निधो गरेँ । मलाई मेरो प्यारो परिवारलाई भेट्ने हुटहुटी थियो ।
सन् २०१२ मा म सुरुङको बाटो हुँदै गाजा गएँ र त्यही बाटो फर्केँ पनि ।
मलाई सधैँ मेरी छोरी र नाति–नातिनाको झल्को आउँथ्यो । त्यसैले बिस्तारै ममा गाजाप्रतिको माया–मोह बढ्दै गयो ।
सन् २०२२ फेब्रुअरी २४ मा म एकाबिहानै उठेँ र दैनिक कामको तरखर गर्न थालेँ । अचानक मैले चारै दिशाबाट साइरन बजेको आवाज सुनेँ ।
अकस्मात्, बिजुली गयो । फोन र इन्टरनेट पनि बन्द भयो ।
रुसले युक्रेनमा आक्रमण गरेको रहेछ । बमबारी सुरु भयो । छरछिमेकमा मान्छेहरू मर्न थाले ।
त्यो बेला मलाई निकै सकस भयो । लगातारको तनावले गर्दा मेरो स्वास्थ्य खस्किन थाल्यो ।
युद्ध चाँडै टुङ्गिएला भन्ने लागेको थियो । तर, त्यसो भएन ।
दिन प्रतिदिन लडाइँ चर्किँदै गयो ।

शून्यबाट सुरु गर्दा
गाजामा रहेका मेरा नाति–नातिना र छोरी जसोतसो मसँग सम्पर्कमा रहे । तिनले सधैँ मलाई सान्त्वना दिइरहे । युक्रेनको युद्ध टुङ्गिने छाँट नदेखेर उनीहरूले मलाई गाजा आएर आफूहरूसँगै बस्न भने ।
मैले आनाकानी गरिरहेँ । गाजा जानुको अर्थ फेरि शून्यबाट सुरु गर्नु हुन्थ्यो । तर, मेरी छोरी र उसका छोराहरूले मलाई आश्वस्त पारे । तिनले जस्तोसुकै परिस्थितिमा पनि आफूहरूले मलाई सघाउने बताए ।
सन् २०२३ जनवरीको कुरा हो । मेरी छोरी प्यालेस्टिनबाट युक्रेन आइन् । उनले मेरा सबै मालमत्ता बेचिन् र अर्को महिना म उनीसँगै गाजा गएँ ।
एमद र खालिद मेरा नाति हुन् । तिनले हामीलाई रफाह नाकामा पर्खिराखेका रहेछन् । त्यो नाकाले गाजा र इजिप्टलाई छुट्याउँदो रहेछ । मैले ती नातिलाई नभेटेको पाँच वर्ष भइसकेको थियो ।
म ट्याक्सीबाट ओर्लेँ र तिनलाई अङ्गालो हालेँ र धेरै रोएँ । तिनलाई फेरि भेट्न पाउँदा मलाई सन्तोष लाग्यो ।
नयाँ जीवन सुरु गर्न मलाई सबैले सहयोग गरे । मेरा ज्वाइँका बुबाले मलाई एउटा घर दिए । त्यो घरमा म मेरो नाति खालिदसँगै बस्न थालेँ ।
खालिदसँग मैले धेरै समय बिताएँ । ऊ मलाई सखारै उठाउँथ्यो र विश्वविद्यालयमा पढ्न जानुअघि ऊ मेरो लागि खाजा तयार पाथ्र्यो ।
पढाइमा खालिदले उत्कृष्ट नतिजा ल्याउँदै थियो । तेस्रो वर्षको कक्षा चल्न थालेपछि उसले काम गर्न थाल्यो ।
ऊ कहिल्यै खाली हात घर फर्किन्नथ्यो । मेरो लागि कुनै न कुनै चकलेट लिएर आउँथ्यो । कहिले ऊ मलाई घुमघाम गर्न जाऔँ भन्थ्यो ।
खालिदले मेरो जीवनमा रस भ¥यो । म तङ्ग्रिँदै गएँ । फेरि जीवनका पल प्रतिपलको आनन्द लिन थालेँ ।
मैले गाजा र गाजाको सुन्दर संस्कृतिलाई आफ्नो बनाएँ ।
गाजामा पारिवारिक सम्बन्ध निकै बलियो पाएँ । मलाई रमादान पर्वमा हुने जमघट मन प¥यो । इदको रीतिथिति मन प¥यो । गाजामा पाइने शिक्षाप्रतिको गहिरो मोह र ज्येष्ठ नागरिकहरूप्रतिको अगाध आदरभावले मेरो मन छोयो ।

त्राहीत्राही
सन् २०२३ अक्टोबर ७ को दिन थियो । बिहानै रकेट र बम विस्फोटले झस्केर म ब्युझेँ ।
म एकदम आत्तिएँ । तर, मेरी छोरीले मलाई शान्त पारिन् ।
उनले मलाई हप्ताभरमै यो हिंसा टुङ्गिन सक्ने बताइन् ।
अक्टोबर ८ को दिन स्थिति निकै गम्भीर थियो । इजरायलको बमबारी र गोलीबारीको कर्कश आवाज जताततै सुनिन्थ्यो ।
दिन बित्दै गए । स्थिति झन् बिग्रिँदै गयो । बिजुलीको तार र पानीको पाइप काटियो । पसलमा सरसामान रित्तिँदै गयो । लगातार महँगी बढ्दै गयो ।
अप्ठेरो झन् बढ्यो । इजरायलले बमबारी र गोलीबारी गर्न बन्दै गरेन । पहिला चर्को सिट्टी बज्थ्यो र लगत्तै मुटु नै थर्काउने विस्फोट हुन्थ्यो । यही हाम्रो दैनिकी बन्दै गयो ।
मैले धेरै दिन गाजा सहरको शेख रादवान टोलमा परिवारसँगै बिताएँ । बाहिर त्राहीत्राही मच्चिए पनि घरभित्र सामान्य अवस्था कायम गर्न खोज्यौँ । तर, सन्त्रास कहिल्यै कम भएन ।
विभत्स हिंसाबिच खालिद बिरामी भयो ।
दिनदिनै उसको रगत जँचाउनुपर्ने भयो । सन् २०२३ अक्टोबर १६ को दिन थियो । रगत जँचाउन अस्पताल जाँदा म पनि खालिदसँगै गएँ ।
अस्पतालको दृश्य विभत्स थियो† प्रलय नै आएजस्तो । मानिसहरूको बाक्लो घुइँचो लागेको थियो ।
घाइतेहरू अङ्गभङ्ग थिए । कसैले हात गुमाएका थिए त, कसैको खुट्टा चोइटिएको थियो । अस्पतालको गल्लीमा घाइतेहरू रगतपच्छे भएर पल्टिरहेका थिए । भवनभरि नै पीडाको एकतमासको चित्कार सुनिन्थ्यो ।
मैले एक वर्षसम्म युक्रेनमा युद्ध देखेभोगेकी थिएँ ।
तर, यो अर्कै थियो । यो युद्ध थिएन । यो कति भयावह थियो भने यसलाई शब्दमा वर्णन गर्नै सकिन्न ।
अस्पतालबाट घर फर्किने बेला हामी मेरो जेठो नाति एमदको अवस्था बुझ्न उसको घर रहेको गाजा सहरको अल–रिमाल इलाकामा रोक्कियौँ ।
इजरायलले एक हप्ताअघि अल–सुसी मस्जिदमा बम हानेको थियो । त्यो मस्जिद एमदकै घरको अघिल्तिर थियो । पूजा–अर्चना गर्ने स्थान भग्नावशेषको थुप्रोमा परिणत भएको थियो ।
बमबारी सुरु भएको एक हप्तामात्र पुगेको थियो । सडकभरि रगतका टाटा परिसकेका थिए । जताततै चिथ्रा परेका लास र तिनका चोक्टाहरू देख्न सकिन्थ्यो ।
जीवनमा पहिलोपल्ट मैले नरसंहारको असर देखेँ । यत्तिकैमा हाम्रो अगाडि पिउने पानी बोकेको एउटा ट्रक आइपुग्यो । लगत्तै ट्रकको वरिपरि मानिसहरू जम्मा भए । सबैजना आ–आफ्ना पानीका कन्टेनर भर्न खोज्दै थिए ।
नसोचेको कुरा भयो । हामीले त्यो भिडमा एमदलाई पनि देख्यौँ । ऊ पनि अलिकति पानीका लागि आफ्नो पालो पर्खिँदै थियो ।
आफ्नो कन्टेनरमा पानी भरेपछि एमद हुत्तिँदै हामीतिर आयो र हामीलाई ग्वाम्मै अङ्गालो हाल्यो ।
एमदले हामीलाई बचेखुचेका आफ्ना मालताल जम्मा गरिरहेको कुरा बतायो । भोलिपल्ट उसले हामीकहाँ बस्न आउने योजना बनाएको रहेछ ।
मैले किन भनी सोधेँ । जवाफमा उसले मलाई आफ्नो अपार्टमेन्ट हेर्न भन्यो ।
उसको अपार्टमेन्ट हेर्दा त्यहाँभित्र लडाइँ लडिएको जस्तो देखिन्थ्यो । इजरायलले अगाडिको मस्जिदमा आक्रमण गर्दा ठुलो विस्फोट हुनाले मूल ढोका धुजाधुजा भएको थियो ।
अपार्टमेन्टभरि सीसाका टुक्राटाक्री छ्यालब्याल थियो । झ्यालका सीसा र अन्य भग्नावशेषजति असरल्ल थिए ।
अपार्टमेन्ट अब बस्न लायक रहेन भनी अनुमान लगाउन गा¥हो भएन ।

सन्त्रास
घाम डुब्न लाग्यो । भोलिपल्ट भेट्ने विश्वास लिएर हामीले एमदलाई बिदाको हात हल्लायौँ । सडकमा कतै पनि स्ट्रीट लाइट थिएनन् । सबथोक चकमन्न हुँदै गयो ।
ट्याक्सी भेट्न पनि धेरै समय लाग्यो । ट्याक्सीमा पस्नै लाग्दा कारको सामुन्ने केही पड्केको आवाज आयो ।
वातावरण नै सन्त्रासपूर्ण बन्यो । हामी विस्फोटले उडाएको धुँवामा रुमल्लियौँ । त्यो धुँवा विषालु हुने नै भयो ।
जेजस्तो भए पनि चालकले गाडी हुइँकाइरहे । घर पुग्दा खालिद र म पसिनाले निथ्रुक्कै भएका थियौँ । सास फेर्न पनि मुस्किल भयो ।
भित्र पस्दाघरि हामी ओछ्यानमा पल्टियौँ ।
मेरी छोरी फटाफट काममा लागिहालिन् । उनले हाम्रा नाकमा न्यानो लुगा राखिन् । सास फेर्न अलि सजिलो हुन थाल्यो ।
हप्ताभरि रगत जाँचेपछि डाक्टरहरूले खालिदको रगतमा हेमोग्लोबिनको मात्रा घटेको र प्लेटिलेट्स त घटेर खतरापूर्ण तहमा झरेको पत्ता लगाए । अनि अक्टोबर १७ को साँझपख हामीले झन् दुःखद खबर सुन्यौँ । खालिदलाई रगतको क्यान्सर रहेछ ।
खबर सुनेर मेरो आँखाबाट बर्बरी आँसु झर्न थाल्यो । खालिद मेरो करुणाभावले ओतप्रोत नाति हो ।
अक्टोबर १९ को दिन म ८ वर्षको नाति जमजमसँग भ¥याङबाट ओर्लिँदै थिएँ । अचानक सिट्टी बजेको चर्को आवाजले मेरो कान खायो ।
हावामा धुँवा र धुलो भरियो ।
बमका छिर्काले घरका चारवटा झ्याल हावामा उडे । झ्यालका पल्ला जमजम र मेरो सामुन्ने खसे ।
केही सेकेन्डपछि हामीले बमबारीमा बचेका छिमेकीहरूको चित्कार र रुवाबासी सुन्यौँ । ती चित्कार नसा नै बाउँडिने खालका थिए ।
फुटेको सीसाले कताकति चोटपटक लागे पनि जमजम र म घाइते हुनबाट भने जोगियौँ ।
हाम्रो भवनबाट केही मिटर पर मैले बमविस्फोटले बनेको ठुलो न ठुलो भ्वाङ देखेँ ।
यो बमबारीमा इजरायलले अल–हिस्सी परिवारका चौध सदस्य मा¥यो । विस्फोटको ताप कति शक्तिशाली हुँदोरहेछ भने भुइँमा अलिकति अस्तु छोडेर केही लास बाफजस्तै उडिरहेका थिए ।
यी कहालिलाग्दा दृश्य देख्दादेख्दा मेरो स्वास्थ्य बिग्रिँदै गयो । मुटु चस्किन थाल्यो र चिन्ता बढ्न थाल्यो ।
खालिदको क्यान्सरको उपचार गर्नुपर्ने थियो । उसकी आमा र मैले उसलाई तुर्की–प्यालेस्टिनी मैत्री अस्पताल लग्यौँ । डाक्टरहरूले उसको उपचार गर्नका लागि त्यहाँ पर्याप्त साधनस्रोत नभएको बताए ।
उनीहरूले खालिदलाई विदेश लगेर उपचार गर्नुपर्ने बताए ।
हामी अस्पतालभित्रै थियौँ । एकाएक इजरायलले तुर्की–प्यालेस्टिनी मैत्री अस्पतालमाथि पनि बमबारी गरे ।
निसानेबाज (स्नाइपर) हरूले अस्पताल छोडेर भाग्न खोज्ने जोकोहीलाई ताकीताकी गोली हान्न थाले । एउटा यस्तै गोली खालिदलाई राखेको कोठाको झ्यालमा लाग्यो । झ्यालको सीसा चकनाचुर भएर भुइँमा छ्यालब्याल भयो ।
हामी अस्पतालको भुइँतलामुनि शरण लिन बाध्य भयौँ । धेरै दिनसम्म हामी धेरैजना त्यही कक्रक्क परेर बसिरह्यौँ । पछि मात्र हामीलाई एम्बुलेन्समा राखेर अस्पतालबाट बाहिर निकाल्ने चाँजो मिलाइयो । हामी घर फर्कियौँ ।

जीवन–गुरु र आशाको दियालो
सन् २०२३ नोभेम्बर ६ को दिन आयो । हाम्रो पूरै परिवार उत्तरी गाजाबाट दक्षिणमा पर्ने रफाहतर्फ लाग्यो । हामी ‘सुरक्षित मार्ग’ मा हिँडिरह्यौँ । इजरायलले रफाह जाने सडकलाई यहीँ नाम दिएको थियो ।
जिन्दगीका सबैभन्दा पीडादायी रातमा समेत मैले कुनै दिन दिनदहाडै निसानेबाजहरूको आँखैसामु यात्रा गरौँला भन्ने सोचेकी थिइनँ । बाटोमा गाडीहरू विस्फोट भएको, लासहरू सडिरहेको, हातखुट्टा अनि हाडखोर लथालिङ्ग अवस्थामा छरिएको दृश्य हेर्दै कुनै दिन यसरी यात्रा गर्नुपर्ला भनेर मैले कहिल्यै चिताएकी थिइनँ ।
चार घण्टासम्म लगातार हिँड्नुप¥यो । त्यो निकै पीडादायी भयो किनभने सन् २०१८ यता मेरो घुँडाको जोर्नी अलि बेर हिँड्यो कि चह¥याउने गर्छ । भएन भनेर उर्खमाउलो गर्मीले सडक नै हपहपी हुने गरी तताएको थियो । मेरा ज्वाइँले मलाई जागै राख्न बेलाबेला मेरो निधारमा पानी छम्किरहे ।
त्यो कष्ट मैले कसरी काटेँ हुँला म अझै भन्न सक्दिनँ । उमेरले म अब छिट्टै ६८ वर्षकी हुन्छु । मेरै छिमलका अन्य महिलाहरूले कसरी त्यो सङ्घर्षको आँधीबेहरी पार गरे हुनन् ? म बुझ्न सक्दिनँ ।
इजरायलले रफाह मानवीय क्षेत्र हो भनेको थियो । तर, त्यो झूटो रहेछ । रफाहमा हामीले दिनकै वरपर बमबारी भएको आवाज सुन्यौँ ।
एक टुक्रा रोटी भेट्न भौतारिनु दैनिक चुनौती बन्न थाल्यो । गहुँ सबैभन्दा दुर्लभ सामान बनिसकेको थियो ।
पिउन योग्य पानी भेट्न गा¥हो थियो ।
हामी एउटा भवनको तेस्रो तलामा बस्यौँ । मेरी छोरीका साथीहरूले हामीलाई आफूकहाँ शरण दिएका थिए । हामीले पानीका कन्टेनर बोकेर तेस्रो तला पु¥याउनुपथ्र्यो । त्यसपछि त्यो पानी हामीले परिवारका सात सदस्यबिच बाँड्नुपथ्र्यो ।
नुहाइधुवाइ गर्ने, बाथरुम प्रयोग गर्ने अथवा भरपर्दो इन्टरनेट प्रयोग गर्ने कुरा भोगविलास बन्न पुगेका थिए । कहिलेकसो मात्र ती सुविधा पाइयो । अत्यावश्यक सामान खोज्न सारा बजार चहार्नुपथ्र्यो । तैपनि, खाली हात फर्किनुपथ्र्यो ।
सन् २०२३ नोभेम्बर ९ को दिन थियो । खालिद र मैले आपत्कालीन उपचारको लागि गाजा छोडी जोर्डनतर्फ लाग्यौँ । मेरा अन्य चार नाति–नातिना र तिनका आमाबुबा रफाहमै रहे ।
गाजालाई पछिल्तिर छोड्दै गर्दा मलाई शान्ति जरुरी छ तर त्यो टाढाटाढा पनि देखिँदैन भन्ने लाग्यो ।
गाजाले लगातार चुनौती ब्यहोर्दै आएको छ । आक्रमणमा परेर गाजा झन् अर्कै बनेको छ । मेरो लागि गाजा एउटा जीवन–गुरु र आशाको दियालो बनेको छ ।
जेजस्तो भए पनि गाजा मलाई आफ्नै घरजस्तो लाग्छ । त्यहाँ पारिवारिक र सामाजिक मेलजोलमा खुब मलजल गरिन्छ । त्यसले मलाई प्रतिरोध र आनन्दको वास्तविक अर्थ सिकाएको छ ।
मेरो यात्रा जारी छ । तर, मेरो मुटुमा आशाको एउटा दियालो बल्दै छ । एक दिन गाजामा शान्तिले सुखको सास फर्नेछ ।
(ओलेना बोएको युक्रेनी नागरिक हुन् । युक्रेन युद्धका कारण सन् २०२३ फेब्रुअरीमा उनी गाजा गएर त्यही बस्न थालिन् । हाल उनी जोर्डनमा छिन् । त्यहाँ उनी आफ्ना बिरामी नातिको उपचार गराउँदै छिन् । उनको यस संस्मरणलाई उनका नाति खालिदले रुसी भाषाबाट अङ्ग्रेजीमा उल्था गरिदिएका हुन् ।)

स्रोत : इलेक्ट्रोनिक इन्तिफादा
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *