भर्खरै :

रुसविरुद्ध युक्रेनको अमेरिकी छद्म युद्ध र स्वतन्त्र प्यालेस्टिनमा इजरायलको हमला

रुसविरुद्ध युक्रेनको अमेरिकी छद्म युद्ध र स्वतन्त्र प्यालेस्टिनमा इजरायलको हमला

भक्तपुर, २१ फागुन । ३६ औँ अन्तर्राष्ट्रिय पथ प्रदर्शक दिवस २०२५ को अवसरमा भक्तपुर स्थानीय पथ प्रदर्शक परिचालन समितिको आयोजनामा बुधबार प्रशंसापत्र वितरण कार्यक्रम भयो ।
उक्त कार्यक्रममा अनुशासित भई पथ प्रदर्शकको काम गर्ने चार जना पर्यटकहरूलाई नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रशंसापत्र वितरण गर्नुभयो । कार्यक्रममा सांसद सुवालले पर्यटकहरू देशको गोप्य कुरा हासिल गर्न पर्यटकको रूपमा आउने गुप्तचरहरू पनि हुने भएकाले पथ प्रदर्शकहरू सचेत हुनुपर्ने बताउनुभयो । उहाँले रुसविरुद्धको युक्रेनको अमेरिकी छद्म युद्ध र स्वतन्त्र प्यालेस्टिनमा इजरायलले हमला गर्नु अमेरिकी साम्राज्यवादको स्वार्थले भएको बताउनुभयो ।
पथ प्रदर्शकहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनैतिक अवस्था अध्ययन गर्नुपर्नेमा जोड दिँदै उहाँले नेपालको राजनैतिक परिवर्तन सरकारमा गएका दलका नेताहरूलाई भारतको निर्देशन तथा इसारामा गराएको र हरेक निर्वाचनमा भारतीय पैसा खर्च गरी निर्वाचनमा जितेकोले हाम्रो देश स्वाधीन हुन नसकेको बताउनुभयो ।
उहाँले आफ्नो देशका युवाहरूलाई देशमा नै उत्पादनको कार्यमा नलगाई विदेशमा दाससरह काम गर्न पठाएर देशलाई आयातमुखी बनाई देशको अर्थतन्त्र कमजोर बनाउनुमा अहिलेसम्मका सबै पँुजीवादी सरकारहरू जिम्मेवार भएको बताउनुभयो ।
प्रजातन्त्र र लोकतन्त्रको नाममा आजसम्मका सरकारहरूले देशको सार्वजनिक उद्योग र कलकारखानाहरू कौडीको मोलमा निजीकरण गरी केही व्यापारीहरूलाई पोस्ने काम गरेकोले देशको अर्थतन्त्र खस्कँदै गएकोले समाजवादी व्यवस्थाबारे अध्ययन गरी जनताको हितको लागि पथ प्रदर्शकहरू पनि सचेत हुनुपर्ने सांसद सुवालले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूले समाजवादउन्मुख व्यवस्थाको लागि शिक्षा र स्वास्थ्य क्षेत्रमार्फत जनताको सेवा गर्दै आएको र जनताका छोराछोरीलाई न्यून शुल्कमा डाक्टरलगायत उच्च शिक्षा प्रदान गर्न ख्वप विश्वविद्यालय स्थापना गर्न लागिपरेको उल्लेख गर्दै उहाँले त्यसको लागि सल्लाघारीको खुला क्षेत्र उपयुक्त भएको बताउनुभयो ।
भक्तपुर स्थानीय पथ प्रदर्शक परिचालन समितिका संयोजक गौतमप्रसाद लासिवाले पथ प्रदर्शकहरूले आफ्नो व्यक्तित्व विकास गर्न अध्ययनमा जोड दिनुपर्ने, हरेक काम अनुशासित र कर्तव्यनिष्ठ भई गर्नुपर्ने, लागूपदार्थ, मद्यपान र धूमपानजस्ता कुलतबाट टाढा हुनुपर्ने, सही सूचना प्रदान गर्नुपर्ने, लोभमा फसेर गलत कार्यमा नफस्न सचेत पार्नुभयो ।
उहाँले यस वर्षको अन्तर्राष्ट्रिय पथ प्रदर्शक दिवसको नारा पथ प्रदर्शक शान्तिको दूत भएकोले सबै पथ प्रदर्शकहरूले शिष्ट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्मा, सदस्य रामसुन्दर भेले र भक्तपुर पर्यटक प्रहरी प्रमुख अजित ठाकुरले पनि शुभकामना मन्तव्य राख्नुभयो । दिवसको अवसरमा पथ प्रदर्शकहरू विक्रम सुवाल, सन्तोष थापा, भुवन छुँजु र जयराम शाहीलाई प्रशंसा पत्र वितरण गरी सम्मान गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *