भर्खरै :

अमेरिकी भन्सार कर देशलाई “राम्रो व्यवहारलाई नराम्रोले बदला दिने” कदम : चीनका विदेशमन्त्री

अमेरिकी भन्सार कर देशलाई “राम्रो व्यवहारलाई नराम्रोले बदला दिने” कदम : चीनका विदेशमन्त्री

पेइचिङ, २३ फागुन (एपी) । चीनका विदेश मन्त्री वाङ यीले चीनले संयुक्त राज्य अमेरिकाको ‘मनपरी भन्सार शुल्क’ को प्रतिशोध जारी राख्ने बताउनुभएको छ ।
उहाँले देशको वार्षिक संसदीय सत्रको ‘साइडलाइन’ मा शुक्रबार पत्रकार सम्मेलनमा वासिङ्टनमाथि ‘राम्रो व्यवहारलाई नराम्रोले बदला दिने’ आरोप लगाउनुभयो ।
अमेरिकाको फेन्टानिल सङ्कट नियन्त्रण गर्न मद्दत गर्ने चीनको प्रयासलाई दण्डात्मक भन्सार शुल्कले जवाफ दिइएको भन्दै उहाँले यसबाट दुई मुलुकबीचको सम्बन्धलाई तनावपूर्ण बनाइरहेको बताउनुभयो ।
“कुनै पनि देशले चीनलाई दबाउन सक्छ र एकै समयमा चीनसँग राम्रो सम्बन्ध कायम राख्न सक्छ भन्ने कल्पना गर्नुहुँदैन”, वाङले भन्नुभयो, “यस्ता दोहोरो कार्यहरू द्विपक्षीय सम्बन्धको स्थिरता वा आपसी विश्वास निर्माणका लागि राम्रा होइनन् ।”
जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कार्यालयमा फिर्ता आएदेखि दुवै मुलुकले प्रतिशोधपूर्ण जित्नेजति भन्सार शुल्कहरू पुनः लागू गर्न थालेका छन् ।
अमेरिकाले सबै चिनियाँ आयातमा २० प्रतिशतको समान भन्सार शुल्क लगाएको छ भने बेइजिङले कुखुरा, सुँगुरको मासु, सोया र गाईको मासुसहितका अमेरिकी आयातमा थप १५ प्रतिशत भन्सार शुल्क लगाएर तथा प्रमुख अमेरिकी कम्पनीहरूसँग व्यापार गर्न नियन्त्रण विस्तार गरेर प्रतिकार छ ।
अन्तर्राष्ट्रिय सहकार्यभन्दा माथि अमेरिकी हितको सुरक्षा गर्ने ट्रम्प प्रशासनको नीतिका बारेमा वाङले यस्तो दृष्टिकोण, यदि विश्वका हरेक देशले अपनाए भने ‘जङ्गली कानुन’ को परिणत हुने बताउनुभयो ।
“साना र कमजोर देशहरू पहिले जल्नेछन् र अन्तर्राष्ट्रिय व्यवस्था तथा नियमहरू गम्भीर आघातमा पर्नेछन्”, वाङले भन्नुभयो, “प्रमुख देशहरूले आफ्नो अन्तर्राष्ट्रिय दायित्वहरू पूरा गर्नुपर्छ … र कमजोरहरूबाट फाइदा लिन र धम्की दिन खोज्नुहुन्न ।”
युक्रेन युद्धमा वाङले राजनीतिक वार्ताको माध्यमबाट द्वन्द्व समाधानलाई समर्थन गर्ने चीनको स्थितिलाई दोहो¥याउनुभयो । उहाँले पछि फर्केर हेर्दा युक्रेन द्वन्द्व ‘रोक्न सकिने थियो’ भन्नुभयो ।
“सबै पक्षले सङ्कटबाट केही सिक्नुपर्छ”, उहाँले भन्नुभयो, “अन्य धेरै कुरामध्ये, सुरक्षा पारस्परिक र समान हुनुपर्छ, र कुनै पनि देशले अर्कोको असुरक्षामा आफ्नो सुरक्षा निर्माण गर्नु हुँदैन ।”
वाङले युक्रेन युद्धको अन्त्यमा अमेरिका र रुसबीच हालैको परामर्शहरू भए पनि चीन–रूस सम्बन्ध पहिलेजस्तै बलियो रहेको कुरामा जोड दिनुभयो । पेइचिङ र मस्कोले यस वर्ष दोस्रो विश्वयुद्धको अन्त्यको ८० औँ वार्षिकोत्सव मनाउन संयुक्त उत्सव मनाउने योजना बनाइरहेको पनि उहाँले बताउनुभयो ।
चीनले आफ्नै भएको दाबी गर्ने ताइवानका बारेमा वाङले ‘ताइवान कहिल्यै देश भएको छैन र भविष्यमा पनि कहिल्यै देश हुनेछैन’ भन्नुभयो ।
“ताइवान स्वतन्त्रताको पक्षमा वकालत गर्नु देशलाई विभाजित गर्नु हो, ताइवान स्वतन्त्रताको समर्थन गर्नु चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हो र ताइवान स्वतन्त्रतालाई मिलेमतो गर्नु ताइवान जलडमरुमध्यको स्थिरता कमजोर बनाउनु हो”, उहाँले भन्नुभयो, “ताइवानको स्वतन्त्रताको समर्थन गर्नेहरू केवल आगोसँग खेलिरहेका छन् र आफैँलाई जलाउनेछन् ।”
गाजाको नियन्त्रण लिने र प्यालेस्टिनीहरूलाई छिमेकी देशहरूमा पुनर्वास गर्ने ट्रम्पको योजनाबारे सोधिएको प्रश्नमा वाङले ‘गाजा प्यालेस्टिनीहरूको हो र यस क्षेत्रको स्थितिमा कुनै पनि जबरजस्ती परिवर्तनले नयाँ अशान्ति निम्त्याउनेछ’ भन्नुभयो ।
चीनले इजिप्ट र अन्य अरब देशहरूले अघि सारेको शान्ति योजनाको समर्थन गरेको भन्दै उहाँले प्यालेस्टिन र इजरायलका लागि दुई–राज्य समाधानका लागि बेइजिङको समर्थन पुनः दोहो¥याउनुभयो ।
“इजरायल–प्यालेस्टिन द्वन्द्व बारम्बार हुने गर्छ किनभने दुई–राज्य समाधान केवल आधा मात्र प्राप्त भएको छ”, वाङले भन्नुभयो, “इजरायल राज्य लामो समयदेखि एक वास्तविकता बनेको छ तर प्यालेस्टिन राज्य अझै पहुँचभन्दा धेरै टाढा छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *