‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकलगायत अन्य सञ्चारमाध्यममा प्रकाशित अन्तर्वार्ता सङ्कलन ‘समय र विचार’ पार्टीको सातौँ महाधिवेशनको अवसर पारी वि.सं. २०७६ साल असोजमा प्रकाशित गरिएको थियो भने अहिले पार्टीको आठौँ महाधिवेशनको सँघारमा का. रोहितका सङ्कलित अन्तर्वार्ता ‘समय र विचार’ भाग–२ पत्रकार समाज नेपालद्वारा प्रकाशित भएको छ । यस सङ्कलनमा पार्टीको ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र जनवर्गीय एवम् पेसागत समाजलगायतका प्रकाशन तथा अन्य सञ्चार माध्यममा अध्यक्ष रोहितले व्यक्त गर्नुभएको विचार र अभिव्यक्तिहरू सङ्ग्रहित छन् ।
पाठकवर्गले सहजै पढ्न र बुझ्न सक्ने गरी सरल भाषामा सम्पादित यस पुस्तकमा अध्यक्ष रोहितले नेपालको विभिन्न कालखण्डमा भएको आन्दोलनको इतिहास, देशका शासक दलहरूको राजनीतिक सिद्धान्त र चरित्र, सच्चा कम्युनिस्ट पार्टीको सिद्धान्त, उद्देश्य र व्यवहारसँगै नेपालको शासक कम्युनिस्ट पार्टीको सिद्धान्त र व्यवहार, नेमकिपा र अरु दलहरूबिचको भिन्नता, देशघाती एमसीसी र एसपीपी सम्झौता, एकाधिकार पुँजी, साम्राज्यवाद र विस्तारवादको चरित्र, फासीवाद, अवसरवाद, अराजकतावाद, साहित्य, नाजीवाद, बडा राष्ट्रवाद अहङ्कारवाद, सङ्कीर्ण राष्ट्रवाद, अन्धराष्ट्रवाद र पार्टीको महाधिवेशनलगायतको विषयमा जनतालाई बुझाउने हेतुले अध्यक्ष रोहितले सरल र स्पष्ट भाषामा दिनुभएको अभिव्यक्ति महत्वपूर्ण र समय सान्दर्भिक र त्यति नै अध्ययनोपयोगी छ ।
राजनीति भनेको राज्य नीति हो अर्थात् नीतिहरूको राजा नै राजनीति हो । प्रकारान्तरमा निःस्वार्थरूपले इमानदारीपूर्वक देश र जनताको सेवामा समर्पित सार्वभौम सिद्धान्तमा आधारित नीति भनेकै राजनीति हो । कुनै एउटा निश्चित दर्शन, विचार एवं वर्गीय सिद्धान्तको आधारमा आदर्श समाज निर्माण गर्ने उद्देश्यले स्थापित व्यक्तिहरूको सङ्गठित समूह नै राजनीतिक दल हो । तसर्थ, हरेक राजनीतिक दलको मुटु भनेको त्यसले अँगीकार गरेको सिद्धान्त नै हो जसरी एउटा मान्छेको जीवन मुटुबिना सम्भव छैन त्यसरी नै सिद्धान्त र निश्चित गन्तव्यबिनाको राजनीतिक दलको जीवन्त पनि सम्भव हुने गर्दैन । त्यसैले, माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई अँगीकार गर्दै जनताको प्रजातन्त्र र समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य लिएर नेपाल मजदुर किसान पार्टीको स्थापना भएको हो । ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’, ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’, पाकिस्तानको विभाजन र नेपालको तात्कालीन स्थितिमा मजदुर सङ्घर्ष सँगसँगै किसान सङ्घर्षलाई पनि वर्गसङ्घर्षको रूपमा अगाडि बढाउनेजस्ता सैद्धान्तिक आधारशिलाको जगमा टेकेर नेमकिपाको स्थापना भएको हो । वामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवादविरुद्ध सङ्घर्ष गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई जगैदेखि उठाउने उद्देश्यले संशोधनवाद र अराजकतावादविरुद्ध स्थापनाकालदेखि नै नेमकिपा सङ्घर्षरत छ । नेमकिपा स्थापनाकालदेखि नै निःस्वार्थरूपले इमानदारीपूर्वक देश र जनताको सेवामा समर्पित छ । त्यसैले, नेमकिपा हरकोहीलाई राजनीति भनेको सिद्धान्त बेचेर खाने व्यापार नभई निःस्वार्थपूर्वक गरिने देश र जनताको सेवा हो भन्ने शिक्षा निरन्तररूपमा दिँदै जनताको सैद्धान्तिक र सांस्कृतिक स्तर उकास्ने काममा लागिपर्दै आइरहेको छ । नेपालको शासक कम्युनिस्टहरू माओवादी र एमाले रूसको नरोधवादी र भारतको नक्सलवादी विचारधारात्मक लाइनबाट प्रभावित र निर्देशित छन् । परिणामस्वरूप २०२८ सालको झापा विद्रोहमा व्यक्ति हत्याको लाइन अँगीकार गर्दै आएको एमाले र दसवर्षे सशस्त्र जनयुद्धको नाममा हतियार उठाएर १२ बुँदे दिल्ली सम्झौतामार्फत शान्तिपूर्ण राजनीतिमा पदार्पण भई सत्ता पुगेका माओवादी अहिले उम्किनै नसक्ने गरी संशोधनवाद र दक्षिणपन्थी अवसरवादमा पतन भएको घामजतिकै छर्लङ्ग छ । त्यसैले, नेपाल मजदुर किसान पार्टीले सैद्धान्तिक सङ्घर्षमा व्यक्ति हत्या र संसद्वादी संशोधनवादको लाइनबाट समाजमा आमूल परिवर्तन गर्न सकिँदैन भन्ने कुराको वैज्ञानिक अध्ययन र गहन छलफल गर्दै अराजकतावाद र संशोधनवादविरुद्धको सङ्घर्षलाई अगाडि बढाएको हो ।
हरेक कम्युनिस्टहरू देशभक्त र अन्तर्राष्ट्रवादी हुन्छन् । देशभक्त भनेको देशलाई माया गर्ने, देशको स्वतन्त्र, सार्वभौमिकता, स्वाधीनता र अखण्डतालाई अक्षुण्ण राख्दै त्यसको रक्षाको निम्ति बाहिरी र भित्री देशघाती र देशद्रोही शक्तिको विरुद्धमा हरदम सङ्घर्ष गर्ने भावना बोकेर मुकाबिला गर्नु नै देशभक्त हो । कुनै एक देशको परिधिभित्र केन्द्रित हुनुलाई सङ्कुचित ठानी विश्वका सबै देशहरूलाई एकै एकाइको रूपमा लिएर विश्व वा पुरै मानव जातिलाई अखण्ड मानी सोही अनुरूप सङ्गठित वा असङ्गठितरूपमा आचरण तथा कार्य गर्नमा जोड दिने सिद्धान्त नै अन्तर्राष्ट्रवाद हो । प्रकारान्तरमा अन्तर्राष्ट्रिय स्तरको कार्य क्षेत्र, अन्तर्राष्ट्रिय कर्तव्य र विश्व बन्धुत्ववाद नै अन्तर्राष्ट्रवाद हो । यसर्थ, नेमकिपाले स–साना स्वतन्त्र र सार्वभौम देशहरूमाथि साम्राज्यवादी, विस्तारवादी तथा उपनिवेशवादीहरूले गरेको नाङ्गो हस्तक्षेप, थिचोमिचो, अन्याय र अत्याचारविरुद्धमा सडक र सदनमा सङ्घर्ष गर्दै संसारको जुनसुकै देशमा भएको देशभक्तिपूर्ण आन्दोलनहरूको पक्षमा समर्थन जनाउँदै आफ्नो अन्तर्राष्ट्रिय कर्तव्य पूरा गरी सच्चा अन्तर्राष्ट्रवादी कम्युनिस्ट पार्टीको रूपमा आफूलाई विश्वमाझ परिचित गर्दै आइरहेको छ । नेपालको छद्मभेषी शासक कम्युनिस्ट पार्टीहरूले भने साम्राज्यवादी र उपनिवेशवादीहरूको हमला, थिचोमिचो, अन्याय र अत्याचारको विरुद्धमा सङ्घर्ष नगरी उल्टै समर्थन जनाउँदै आफ्नो अन्तर्राष्ट्रिय कर्तव्यबाट च्युत भएको कुरा घामजतिकै छर्लङ्ग छ । नेपालको ७१ स्थानमा ६० हजार हेक्टरभन्दा बढी भूमि भारतीय विस्तारवादले मिचेको छ । नेपालका नदीनालाहरूमा भारतीय एकाधिकार पुँजीले हैकम जमाइरहेको छ । नेपाललाई भारतको सुरक्षा छातामा राख्ने गरी भएको सन् १९५० को देशघाती असमान सन्धिले नेपाल सार्वभौम देश होइन भारतको प्रदेशजस्तै बनाइएको छ । भारतीय विस्तारवादको यस्तो देशघाती असमान सन्धि, थिचोमिचो र हस्तक्षेपको विरुद्धमा नेमकिपा स्थापनाकालदेखि नै सडक र सदनमा देशभक्त जनताको आवाजलाई बुलन्द गर्दै निरन्तररूपमा सङ्घर्षरत छ । यसको ठीक उल्टो नेपालको कम्युनिस्ट र प्रजातन्त्रवादी भनाउँदा शासक दलहरू भने आफ्नो देशको सीमा सुरक्षा र सार्वभौमिकता रक्षाको निम्ति एक शब्द, एउटा वाक्यसमेत बोल्न डराउँछन् । आफ्नो देशको निम्ति लडाइँ लड्दै मर्नुपर्ने शासकहरू भारतीय विस्तारवादको अन्याय, अत्याचार, थिचोमिचो र हस्तक्षेपको विरोध बोल्न डराएर विस्तारवादी शासकवर्गसामु आत्मसमर्पण गर्दै उठबस गर्नु लम्पसारवादी किन होइन ? यी शासकहरू न त कम्युनिस्ट हुन् न त यिनीहरू प्रजातन्त्रवादी नै हुन् । माओले भन्नुभएको छ, “कम्युनिस्टहरूले यमराजको ढोका ढकढक्याउँछन्, साम्राज्यवादी र विस्तारवादीहरूसँग डराउनेहरू प्रजातन्त्रवादी र कम्युनिस्ट हुन सक्दैनन् ।”
नेपाल मजदुर किसान पार्टी सिद्धान्त र व्यवहारको सवालमा अरुभन्दा धेरै भिन्न छ । नेमकिपा सिद्धान्तमा हिमालझैँ अटल र व्यवहारमा चट्टानझैँ मजबुत हुँदै सम्झौताहीन सङ्घर्षमा छ । नेमकिपाले क्रान्तिकारी संसद्वादलाई उपयोग गर्दै आइरहेको छ । यदि नेमकिपाले क्रान्तिकारी संसद्वादलाई उपयोग नगरेको भए पानीभित्र लुकेका चट्टानहरूले राती ठुलठुला जहाजलाई पनि क्षति पु¥याएजस्तै रातो लुगा लगाएका नक्कली कम्युनिस्ट, नक्कली वामपन्थी र नक्कली समाजवादीहरूले सारा जनतालाई थाहै नदिई पुँजीवादी नर्कमा पु¥याउने थिए ।
तर, नेमकिपाले सदन र सडक, अन्तरक्रिया र गोष्ठीहरूमा साधारण कामदार जनता र बुद्धिजीवी जनताबिचमा कुनै कुरालाई नलुकाई देखिने वर्गशत्रु र रातो लुगामा हरियो घाँसभित्र लुकेका सर्परूपी वर्गशत्रुहरूलाई जनतामाझ उदाङ्ग्याउने कामलाई स्थापनाको समयदेखि नै निरन्तर गर्दै आइरहेको छ । हो, हाम्रो जस्तो गरिब, निरक्षर र सांस्कृतिक स्तर नउठेको बहुसङ्ख्यक कामदार जनता भएको देशमा माक्र्सवाद र लेनिनवादजस्तो गम्भीर सिद्धान्तलाई तुरुन्तै अनुसरण गराउन समय लाग्नु स्वाभाविक हो । हजारौँ वर्षको अन्धविश्वासको कारण बोक्सी, छारे रोग र अन्य मानसिक रोगमा समेत अरुलाई दोष दिने तथा महिलाको महिनावारीमा छाउगोठमा राख्ने अन्धविश्वासको विरोधमा सङ्घर्ष गर्न झन्डै २०–३० वर्ष लाग्यो भने सामन्तवाद र पुँजीवादको विरोधमा सङ्घर्ष गर्न निश्चय पनि एक ऐतिहासिक समय लाग्छ । तर, बहुमत कामदार जनताको चेतनास्तर माथि उठ्दै जाँदा सङ्घर्षलाई अगाडि बढाउन सक्ने परिस्थिति अनुकूल हुँदै जानेछ ।
हिजो नेमकिपालाई संसद्वादी आरोप लगाउने रातो झन्डाको विरोध गर्न रातो झन्डामाथि उठाउने अवसरवादी र नक्कली कम्युनिस्टहरू आज संसद्बाटै सरकारमा गएर पुँजीपतिवर्ग र व्यवस्थाको हित गर्ने ऐन कानुनहरू बनाउँदै आइरहेका छन् । संरा अमेरिका र भारतीय विस्तारवादको अगाडि आत्मसमर्पण गर्दै एमसीसीको डुङ्गामा बसेर हिन्द–प्रशान्त रणनीतिक वा सैन्य गठबन्धनमा सामेल हुँदै छन् । नेपाली जनताका आफ्नै पिछलग्गूहरूको आँखाको पट्टी खोलेर देखाउन नेमकिपाले पुरानो र नयाँ पुस्तालाई विश्वको जटिल राजनीतिबाट शिक्षित गर्न कष्टसाध्य काम बडो साहस र फूर्तिका साथ गर्दै आएको छ । नत्र अन्जानमा हाम्रो देश विदेशी सेनाको अखडा बन्ने छ । हाम्रो देशलाई दक्षिण एसियाको काबुल (अफगानिस्तान) बनाइने छ ।
नेमकिपालाई संसद्वादी भन्नेहरू अहिले आफ्नो मकुन्डो खोली सबैको सामुन्ने साम्राज्यवाद र विस्तारवादको पिछलग्गू साबित भइसकेका छन् । इतिहासलाई नियालेर हेर्दा ४८ वर्ष अगाडि देशमा एकदलीय पञ्चायती व्यवस्था थियो । राजतन्त्र र पञ्चायतको नाममा केही शोषक, सामन्त र जमिनदारवर्गले जोताहा किसान जनतालाई शोषण गर्दै थिए । गाउँ–गाउँका सबल युवाहरूलाई बेलायत र भारतीय गोर्खा सेनामा भर्ती गराउन पठाउँथे, त्यसबाट शासक एवं सम्भ्रान्तवर्गले आर्थिक लाभ पाउँथे । त्यसकारण, २००७ सालदेखिका सबै प्रकारका सरकारहरूले आजसम्म गोर्खा भर्ती केन्द्रको असमान सन्धिलाई खारेज गरी आफ्नै देशमा योग्यताअनुसारको काम र कामअनुसारको ज्याला वा पारिश्रमिक दिनसकेका छैनन् ।
४८ वर्षअगाडि पञ्चायती राजतन्त्रको विरोधमा नेपाली काङ्ग्रेस र पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको साथै अन्य विभिन्न कम्युनिस्ट घटकहरू पञ्चायतको विरोधमा प्रजातन्त्रको पक्षमा सङ्घर्ष गर्दै थिए ।
पुष्पलालकै कथनमा नेपाली काङ्ग्रेस पार्टी भनेको ‘विदेशी पुँजीपरस्त’ थियो । वर्तमान समयमा पनि नेपाली काङ्ग्रेस अमेरिकी साम्राज्यवाद र भारतीय जनता पार्टी (भाजपा) को फासीवादी भारतीय एकाधिकार पुँजी एवम् विस्तारवादकै पूजा गर्दै गरेको सर्वविदितै छ । त्यसबेला पुष्पलाल नेपाली काङ्ग्रेसबिना नेपालमा तत्काल केही मौलिक परिवर्तन गर्न सम्भव छैन भनेर सोच्थे भने प्रमुख दुश्मन राजा महेन्द्र र राजतन्त्र ठान्थे । त्यसबेलाको अवस्थामा कम्युनिस्ट पार्टीभित्र सैद्धान्तिक सङ्घर्ष हुँदा रोहितले भने विदेशी पुँजीपरस्त पुँजीवादी पार्टी नेपाली काङ्ग्रेस, सामन्तवादमा आधारित राजतन्त्र र भारतीय एकाधिकार पुँजीरूपी तीन टाउके सर्प नै नेपाल र नेपाली जनताको मुख्य दुश्मन हो भनी ठम्याउँदै सैद्धान्तिक अडान राखेका थिए ।
‘व्यक्तिहत्या’ र ‘व्यक्तिगत आतङ्कवाद’ को बाटोबाट मात्र क्रान्ति सम्भव छ भन्ने रूसको नरोधवादी र भारतको नक्सलवादी आन्दोलनबाट प्रभावित आजको ‘एमाले’ का केही व्यक्तिले समाजलाई बिटुल्याएका हुन् । नेमकिपाले रूसको नरोधवादी र भारतको नक्सलवादी दुईवटै लाइन गलत हो, व्यक्तिहत्याबाट आमूल परिवर्तनको आशा राख्ने चिन्तन अराजकतावादी दृष्टिकोण हो । केही व्यक्ति बहादुर हुँदैमा समाजमा आमूल परिवर्तन आउँछ र गर्न सक्छ भन्ने होइन । बरु, लाखौँ लाख कामदार जनता राजनीतिकरूपमा सचेत नभइकन समाजमा आमूल परिवर्तन नआउने भएकोले बहुमत सर्वहारावर्गका जनतालाई क्रान्तिको निम्ति राजनीतिकरूपले सचेत, सैद्धान्तिक र वैचारिकरूपमा सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउँदै जनतालाई समाजवादी विचारधाराले शिक्षित पार्दै जनसांस्कृतिक स्तरलाई उँचो पार्ने काममा नेमकिपा निरन्तर सक्रियताका साथ लागिरहेको छ ।
त्यस किसिमको अन्योलको परिस्थितिमा किसान आन्दोलनलाई अगाडि बढाउन, नेपाली काङ्ग्रेसको सहयोगबिना कम्युनिस्ट आन्दोलन अघि बढाउन, रुसी सामाजिक साम्राज्यवादको अफगानिस्तानमाथिको हमलाको विरोध गर्न, भारतीय विस्तारवादले पूर्वी पाकिस्तानमा सैनिक आक्रमण र हस्तक्षेप गरेको एवं सिक्किमलाई भारतमा विलय गराएको विरोधको परिस्थितिमा वाग्मती, नारायणी र जनकपुर अञ्चलका साथीहरूसँग मिलेर नेपाल मजदुर किसान पार्टीको प्रादुर्भाव भएको कुरा नेमकिपाको हरेक प्रशिक्षण, विचार गोष्ठी र अन्तरक्रिया कक्षाहरूमा छलफल व्यापकरूपमा हुने नै गर्छ ।
त्यसबेला पुष्पलाल समूहको केन्द्रीय समितिमा ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेको खोटा विचारहरूको खण्डन’ र ‘सोभियत संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ पुस्तकहरूमार्फत आफ्नो दृष्टिकोण राखी नेमकिपाको स्थापना भएको थियो ।
नेमकिपा समाजवाद स्थापनाको निम्ति सङ्घर्षरत छ । समाजवाद भनेको राज्यले मान्छे जन्मेदेखि मृत्युसम्मको सबै जिम्मेवारी लिनु, उत्पादनका मुख्यमुख्य साधनहरूलाई सामजिकीकरण गर्दै व्यक्तित्व विकासमा समान अवसर प्रदान गर्नु, शिक्षा, स्वास्थ्य निःशुल्क गर्नु, योग्यताअनुसारको काम, कामअनुसारको ज्यालाको बन्दोबस्त गर्नु, किसानहरूको हितलाई प्राथमिकतामा राख्दै क्रान्तिकारी भूमिसुधार लागु गर्नु, वर्गीय भेदलाई सन्तुलनमा ल्याउन प्रगतिशील कर प्रणाली लागु गर्नु, राज्यको नेतृत्वमा उत्पादन र वितरण गर्नुका साथै सिङ्गो समाजलाई नै बुद्धिजीवीकरण गर्नु हो । समाजवाद दालभात डुकुको मात्रै समस्याको समाधान होइन, बरु उच्च सांस्कृतिक स्तरले युक्त समाज निर्माण गर्नु पनि हो ।
नेमकिपाका कार्यकर्ताहरू पहिलेदेखि नै इमानदारीपूर्वक देश र जनताको निःस्वार्थरूपले सेवा गर्ने भावनाले सङ्गठनका कष्टसाध्य काममा निरन्तररूपमा लाग्दै आइरहेका छन् । छलछामले जनताको सांस्कृतिकस्तरमा आमूल परिवर्तन हुँदैन भन्ने विषयमा नेमकिपाको नेतृत्व स्पष्ट छ । यसकारण, अन्य कम्युनिस्ट र समाजवादी भनिएका दलहरूले जस्तै विश्वासको सङ्कट नेमकिपाले झेल्नुपरेन । नेमकिपाको लक्ष्यमा अहिलेसम्म कुनै भ्रम छैन । त्यसैले, अरु दलहरूको जस्तो महाधिवेशनहरूको लुछाचुँडी र भाँडभैलो नेमकिपाले अहिलेसम्म झेल्नु नपरेको कुरा छर्लङ्गै छ ।
देश र जनता, सिद्धान्त र नीतिप्रति समर्पित राजनीतिक दलमात्र होइन एक प्राज्ञिक संस्थामा समेत नियम र अनुशासन लागु हुन्छ । नेमकिपाभित्र पनि सामूहिक जीवन हुन्छ, कुनै पार्टी सदस्यले मात्र होइन नेताले पनि नीति, नियम र अनुशासनमा बस्नुपर्ने हुन्छ र आ–आफ्नो कर्तव्यलाई पालना गर्नुपर्ने हुन्छ । जस्तै सोभियत सङ्घको एकेडेमीका एक सदस्य पास्तरनाक भन्ने कवि र साहित्यकारले ‘डा. जिवागो’ भन्ने एक उपन्यास लेखे । एकेडेमीले त्यो पुस्तक नछाप्ने निर्णय ग¥यो र व्यक्तिगत पनि नछपाउन भनिएको थियो । तर, लेखकले गैरकानुनी वा गुप्तरूपले त्यस पुस्तकलाई इटाली लगेर छापेपछि त्यस पुस्तकलाई नोबेल पुरस्कार दिइयो ।
त्यो पुरस्कार लिने हो भने लेखकले सोभियत नागरिकता त्याग्नुपर्ने घोषणा सोभियत सरकारले ग¥यो । त्यो घटना वि.सं. २०१५ सालतिरको हो र त्यसबेला नेपालमा पहिलो महानिर्वाचन हुँदै थियो । त्यही घटनाबारे त्यसबेला नेपालका लेखक, कवि र कलाकार दुई भागमा विभाजित भयो । एकेडेमीको सदस्यको नाताले पास्तरनाकले आफ्नो संस्थाको ऐन कानुन र नियमलाई मान्नुपर्ने थियो, त्यो पुस्तकलाई गुप्तरूपले विदेशमा छाप्न त्यहाँको तत्कालीन कानुनले दिँदैनथ्यो । एकेडेमीको नियम र निर्णयको विरोध वा देशकै कानुनको विरोध भएको हुँदा पास्तरनाकको कार्य गलत, गैरकानुनी र समाजवादविरोधी थियो ।
यसकारण, राजनीतिक दलमा पनि सदस्यहरूले व्यक्तिगत इच्छाको नाममा गर्ने काम कारबाही पार्टीको अहितमा हुनुहुन्न, बरु पार्टीको कामलाई प्राथमिकता दिनु आवश्यक छ । व्यक्तिको नराम्रो कामले पार्टीमा पर्ने प्रभावबारे ध्यान दिनुपर्ने हुन्छ । आ–आफ्नो पदअनुसारको दायित्वसँग पनि पार्टी सदस्य सम्बन्धित हुन्छन् ।
हरेक राजनीतिक दलको आ–आफ्नो विधानअनुसार निश्चित समयमा पार्टीको महाधिवेशन पनि हुने गर्छ । महाधिवेशन भनेको सामान्यतया हरेक राजनीतिक पार्टीको सबैभन्दा ठुलो बैठक र शक्तिशाली अङ्ग हो । अर्थात्, कुनै पनि दलको महाधिवेशनले त्यस दलको सिद्धान्त, नीति, नाम र झन्डासमेत फेर्न सक्छ । नेतृत्व हेरफेर गर्न सक्छ ।
नेमकिपामा आबद्ध भएका सङ्घर्षशील धेरै अनुशासित र कर्तव्यनिष्ठ कार्यकर्ताहरूमध्ये इतिहासले बिर्सन नसक्ने सिद्धान्तनिष्ठ, कर्तव्यनिष्ठ, अनुशासित, निडर एवम् पार्टी र मजदुर, किसान जनताबिचको इमानदार सेतु, एक क्रान्तिकारी योद्धा एवं किसान कार्यकर्ता जयराम बासुकलाको वास्तविक जीवन सङ्घर्ष र राजनीतिक सङ्घर्षको यथार्थतालाई पनि पुस्तकमा नयाँ पुस्तालाई प्रेरणा मिल्ने र मिलाउने गरी उल्लेख गरिएको छ । किसान कार्यकर्ता जयराम बासुकला भौतिकरूपमा हामीमाझ नरहे पनि पार्टी र जनताबिच अमर र अविस्मरणीय हुनुहुन्छ । उहाँको सङ्घर्ष र योगदान नयाँ पुस्ताको निम्ति प्रेरणाको स्रोत हुनुका साथै वर्तमान समयमा पनि सङ्घर्षमा मार्गनिर्देशक बनिरहेको छ ।
अध्यक्ष रोहितको विचार र अभिव्यक्तिहरू सङ्कलित यस पुस्तकले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा सुसूचित पार्दै नयाँ र पुराना पुस्ताका कार्यकर्ताहरूलाई अझ उत्साह र सक्रियताका साथ सङ्घर्षमा अगाडि बढ्न थप ऊर्जा प्रदान गरेको छ ।
Leave a Reply