भर्खरै :

भकाभक युद्धस्तरमा काम भइरहेको रानीपोखरीको टेण्डर

– सुनिल बोहजू
‘मतलब म यति ठूलो महाराज भएर पनि केही गर्न सक्दिँन ?’  ‘मतलब म यति ठूलो महाराज भएर पनि केही गर्न सक्दिँन ?’
‘सक्नुहुन्छ महाराज, सक्नुहुन्छ ।’
‘हजुर धैर्य गर्न सक्नुहुन्छ ।’
साँच्चै १६ औं शताब्दीका कान्तिपुरी नगरीका प्रतापी राजा प्रताप मल्ल आजको समयमा ज्यूँदै हुनुहुँदो हो त उहाँसँग पनि धैर्य गर्नबाहेक अरु विकल्प हुने थिएन, सायद । प्रसङ्ग हो अहिले चलिरहेको नाटक रानीपोखरीको टेन्डरको । आस्था साँस्कृतिक परिवारले हाल लिबालीस्थित आफ्नै थिएटरमा सो नाटक मञ्चन गरिरहेको छ ।
नाटक अत्यन्तै मार्मिक र यथार्थपरक छ । १६ औं शताब्दीमा राजा प्रताप मल्लले आफ्नो माइलो छोरो चक्रवर्तेन्द्र मल्लको मृत्युको शोकमा डुबेकी महारानीलाई रिझाउन अहिलेको रानीपोखरी बनाउन लगाएका थिए, अहिले त्यो रानी पोखरी १२ वैशाखको महाभूकम्पले तहसनहस भएको छ । रानीपोखरीको पुनः निर्माण शिलान्यास गरेर देशभर भएको विध्वंसलाई युद्धस्तरमा पुननिर्माण गर्ने भन्ने सरकारी घोषणा थियो । आज भूकम्प गएको दुई वर्षभन्दा बढी बितिसकेको छ । तर रानीपोखरी त के सरकारी प्रशासन संयन्त्रले कुनैपनि ध्वस्त सम्पदालाई प्रभावकारी ढङ्गबाट पुनः निर्माण गर्न सकेको छैन । अझ विवादमात्र उब्जिएको अवस्थामा छ । त्यसो त आजको समयमा सरकारी संयन्त्रले गर्ने कुनै पनि विकास निर्माणको कार्य उदेकलाग्दो नै छ । कुनै पनि निर्माण कार्यमा कमिसन, घुसखोरी, नाफाघाटा, ठेक्कापट्टा यस्तै यस्तै चक्करले कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान चरितार्थ भइरहेको छ ।
नाटक रानीपोखरीको टेन्डर यही विकृतिमाथि टेकेर उभिएको छ । नाटकमा अहिलेको विकृत अवस्थाको चित्रण गर्न सोह«ांै सताब्दीका राजा प्रताप मल्ललाई आमन्त्रण गरिएको छ । त्यसो त सोह«ांै शताब्दीका राजा प्रताप मल्ल यो एक्काइसौं शताब्दीमा आउनु अनौठो संयोगमात्र हो । तर उहाँ यहाँ आएर फेरी त्यो रानीपोखरी पुनः निर्माण गरेको भए, के हुन्थ्यो होला ? अहिलेको सरकारी प्रशासन संयन्त्रले उहाँलाई कति घनचक्करमा घुमाउँथ्यो होला ? सरकारी कर्मचारीहरूले कसरी कामलाई अगाडी बढाउँथे होला ? यी र यस्तै प्रश्नहरूको खुल्दुली खोतल्ने काम गरेको छ यस नाटकले ।
महाराज प्रताप मल्लले रानीपोखरी निर्माणको घोषणा गरेर नाटकको सुरुवात हुन्छ । यसै सेरोफेरोमा नाटक अघि बढ्छ । रानीपोखरी बनाउने कामका लागि सरकारी इन्जिनियर शाक्यजीलाई आदेश दिइन्छ । उनले रानीपोखरी निर्माणको कामलाई घनचक्करमा घुमाउँदै घुमाउँदै कामलाई अघि बढाउँछन् । हरेक पल्ट जब शाक्यजी महाराजको दरबारमा हाजिर हुन्छन्, तब उनीसँग एक न एक बहाना अवश्य हुन्छ । उनको यो चालाले महाराज हैरान हुन्छन् । शाक्यजीको भूमिकाले नाटकलाई रसिलो बनाएको छ । उनलाई एक ‘चतुर’ र ‘चङ्खे’ स्वभावको इन्जिनियरको रुपमा नाटकमा प्रस्तुत गरिएको छ । उनको यही स्वभावका कारण महाराजको मन जित्न सफल भएका छन् दर्शकको पनि । तर शाक्यजी एक सरकारी इन्जिनियर भएर पनि आफ्नै प्राइभेट शाक्य कन्स्ट्रक्सन चलाएर बसेको कुरा दर्शकले मञ्चको सेट हेरेर बुझ्नुपर्ने बनाइएको छ ।
रानीपोखरी निर्माणको सिलसिलामा उनले चलाखीपूर्ण ढङ्गले विष्णुमति किनारको पानी चुहिने जग्गा खरिद गर्न लगाउँछन् । त्यो पनि दोब्बर तेब्बर मूल्यमा । यो कुरामा उनलाई ठेकेदार थापाजीले साथ दिन्छन् । तब यो कुराको सुइँको त्यस ठाउँमा बसिरहेका सुकुमवासीहरूका नेताले थाहा पाउँछन् । नेताजी शाक्यजीले थापाजीको ससुराको जग्गा दोब्बर तेब्बर मूल्यमा रानीपोखरीको निम्ति जग्गा अधिग्रहण गरेको थाहा पाएर आफ्नो सँगैको जग्गा पनि बढी कमिसनमा अधिग्रहण गराउन उद्यत हुन्छन् । यो कुराको निम्ति शाक्यजी पनि मञ्जुर हुन्छन् । यही परिदृश्यमा त्यहाँ बसिरहेका सुकुमवासीहरूका निम्ति रानीपोखरी कोलोनी बनाउने कुरा उठ्छ । यसरी रानीपोखरी निर्माणको कामभन्दा पनि बाहिरका कामहरूले प्राथमिकता पाउँछन् । रानीपोखरी निर्माण नहुँदै फेरी यस प्रोजेक्टमा अख्तियारको आँखा पर्छ । अख्तियारका साहजी यो प्रोजेक्टबाट आफ्नो भाग लिन उपस्थित हुन्छन् । यसले अख्तियारकै मान्छेहरू पनि आजका दिनमा कसरी बदनाम् छन् भन्ने उदाहरण पस्केर उनी मञ्चबाट बिदा हुन्छन् ।
फेरी यो प्रोजेक्टबाट आफ्नो भाग खोज्न हेमन्तजीको प्रवेश हुन्छ । उनले पनि यही प्रवृत्तिलाई हाँस्यरससहित पुनरावृत्ति गरेर मञ्चबाट ओझेल हुन्छन् । यसरी रानीपोखरी निर्माणको काम तगारै तगारोहरूबीच अघि बढ्छ । यता शाक्यजी निर्माण नै सुुरु नभए पनि भकाभक युद्धस्तरमा भइरहेको महाराजलाई सुनाउँछन् । पोखरी बनाउन एक साबेलसमेत ननिकाले पनि कागजी घोडा दौडाउने काम कहिले रोक्दैनन् । कहिले पर्ट चार्ट, कहिले रानीपोखरी निर्माण संस्थान, कहिले रानीपोखरी कोलोनी यस्तै यस्तै ।
यसरी रानीपोखरी निर्माणको घोषणा भएको वर्षौं बिते पनि रानीपोखरी निर्माणको कामले गति लिएको हुँदैन । यद्यपि राज्यकोषको चरम दुरुपयोग भने भइरहेको हुन्छ । बजेट खर्च गर्दा गर्दा राज्य कोष घाटा बजेटमा गइसकेको हुन्छ । तब चतुर शाक्यजी फेरी रानीपोखरी निर्माण संस्थानलाई सार्वजनिक कम्पनी बनाएर शेयर निष्काशन गरी सर्वसाधारण जनतामार्फत लगानी जुटाउने योजना बनाउँछन् । कम्पनीको आम्दानीका लागि रानीपोखरी वरिपरि डान्सबार, क्याफे, स्वीमिङ पुल आदि निर्माण गरी सो प्रोजेक्टबाट आम्दानी गरी लगानीकर्तालाई प्रतिफल (डेभिडेन्ट) दिने कुरा गर्छन् । अझ सके त फोरेन कोलाबोरेशनसम्मको सपना देखाउँछन् । महाराज यो कुराबाट वाक्क दिक्क भएर आफ्ना सचिव गार्ड र योजनाकार शाक्यजीलाई हकार्छन् ।
यसरी रानीपोखरी निर्माणको टेन्डरसम्म पनि ननिस्कँदै शाक्यजीको पदावधि पनि सकिने अवस्था आउँछ । रानीपोखरी निर्माण संस्थान स्थापना भएको २५ वर्षपछि बल्ल टेन्डर नोटिस निस्कन्छ । तब यो खबर सुनाउन जब शाक्यजी दरबार पुग्छन । तब थला परेका महाराज यो खबर सुन्ना साथ आफ्नो सिंहासनबाट लडेर प्राण त्याग गर्छन् । अनि शाक्यजीले आफ्ना पिए सुधीरमार्फत फेरी महाराज प्रताप मल्लको पूर्ण कदको सालिक बनाउने ठेक्काको टेन्डर नोटिस जारी गरी नाटक सकिन्छ ।  नाटक अहिलेको विकृतिलाई चित्रण गर्न सफल भएको छ । सरकारी प्रशासनको ढिलासुस्ती, घुसखोरी, कमिसनको चक्कर, लापरबाही, गुण्डागर्दी र केही कर्मचारीहरूको ‘चातुरता’ले फाइदा आफू लिने र दोष अरुलाई थुपार्ने प्रवृत्तिको प्रस्तुती मज्जैसँग गरेका छन्, यसका परिकल्पनाकारले । एक घण्टा चालीस मिनेटको नाटक हेर्न दर्शकले समय व्यतित भएको चालै पाउँदैनन् । हरेक दृश्यमा हास्यरस भएका कारण पेट मिची मिची हाँस्न पाउँछन् । अझ दरबारमा भएको नाचगानको कार्यक्रमले दर्शकलाई सुनमाथि सुगन्ध थपेर नाटकलाई ‘ड्रामाटिकल रिलिफ’ दिएको छ । नाटकको सेट डिजाइन भव्य र आकर्षक छ । दर्शकका लागि आरामदायी बस्ने व्यवस्था मिलाइएको छ । प्रकाश र ध्वनिको संयोजन मिलेको छ ।
अन्त्यमा आस्था सांस्कृतिक परिवारको प्रयासमा भक्तपुरमा ब्ल्याक बक्सभित्र नाटक हेर्ने र देखाउने संस्कृतिको बीजारोपण भएको छ । त्यसो त केही समय पहिले भक्तपुरकै कालिघाटको बासु कलेजको हलमा ब्ल्याक बक्स निर्माण गरी बौलाहाकाजीको सपना नाटक देखाएको थियो । अहिले आफ्नै प्रयासमा यतिसम्मको प्रयास गर्नसक्नु प्रगतिको लक्षण मान्न सकिन्छ । भक्तपुरमा यस्तो संस्कृतिलाई प्रवद्र्धन गर्ने सहयोगी हातहरूलाई कदर गर्नु आवश्यक छ । आस्थाको आदर्श समाज र प्रगतिशील संस्कृति निर्माणको अभियानले अझ गति लिओस्, शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *