हो चि मिन्हको “जेल डायरी”
- जेष्ठ १२, २०८३
एसईईको परीक्षा भर्खरै सुरु भएको छ । अभिभावकहरूमा आफ्ना बालबालिकालाई कसरी राम्रो परीक्षा दिन सहयोग गर्ने भन्ने एकातिर चिन्ता र अर्कोतिर सहयोगका लागि उपाय के हुन सक्छ भन्ने जिज्ञासा उब्जिरहेको छ । यस्तो अवस्थामा चिन्तालाई भन्दा परीक्षा राम्रो गराउने प्रमाणित उपायहरूलाई ठाउँ दिँदा राम्रो परिणाम प्राप्त गर्न सकिन्छ ।
परीक्षा तनावपूर्ण हुनसक्छ । तर, सही तरिकाले अध्ययन गर्दा विद्यार्थीहरूलाई निकै राम्रो उपलब्धि प्राप्त गर्न सहयोग मिल्छ । परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न र तनाव कम गर्न विद्यार्थीहरूले योजना, सङ्गठन र स्मार्ट अध्ययन प्रविधिहरूलाई अपनाउँदा राम्रो हुन्छ । यहाँ केही महत्वपूर्ण चरणहरू छन् जसलाई अपनाउँदा परीक्षाको तयारीलाई निकै प्रभावकारी बनाउन सकिन्छ । अभिभावकहरूले यी कुराहरूलाई ध्यानमा राखी आफ्नो बालबालिकालाई सहयोग गर्ने हो भने सहज किसिमले नै परीक्षालाई उत्तीर्ण गर्ने तथा राम्रो परिणाम ल्याउने वातावरण बालबालिकालाई दिन सकिन्छ ।
१. योजनाबद्ध ढङ्गले अध्ययन गर्ने
विद्यार्थीहरूले राम्रोसँग सङ्गठित अध्ययन योजना तयार गर्नुपर्छ ताकि सबै विषयहरू व्यवस्थितरूपमा समेट्न सकियोस् । आफ्नो पाठ्यक्रमलाई साना भागहरूमा विभाजन गरी प्रत्येक विषयका लागि समय छुट्याउनुपर्छ । जुन विषयमा सुधार आवश्यक छ, तिनलाई प्राथमिकता दिनुपर्छ ।
२. अध्ययन सामग्री व्यवस्थित गर्नुपर्छ
विद्यार्थीहरूले सबै आवश्यक अध्ययन सामग्रीहरू, जस्तै नोट्स, पाठ्यपुस्तकहरू, अघिल्लो परीक्षा पत्र र सन्दर्भ सामग्रीहरू सङ्कलन गरी व्यवस्थितरूपमा राख्नुपर्छ ताकि अध्ययनको क्रममा समय जोगियोस् र सामग्री खोज्ने तनावले अध्ययनलाई असर नपरोस् । बस्ने ठाउँ सामग्रीको पहुँच आदि जस्ता कुरालाई जति सहज बनाउँछौँ त्यति नै अध्ययनमा जाँगर पनि लाग्दछ । अन्तिम समयसम्म कहाँ के गर्ने के पढ्ने भन्नेजस्ता कुरा बाँकी राख्यौँ भने पढाइ प्रभावकारी हुँदैन ।
३. परीक्षाको ढाँचा बुझ्ने
अघिल्लो प्रश्नपत्रहरूको समीक्षा गरेर वा शिक्षकसँग सोधेर परीक्षाको ढाँचा बुझ्न आवश्यक छ । प्रश्नहरूको प्रकार (बहुविकल्पीय, निबन्ध वा समस्या समाधान) बुझ्दा तयारीको सही दिशा तय गर्न सकिन्छ । कहिलेकाहीँ विद्यार्थीले परीक्षाका लागि महत्वपूर्ण सामग्रीमा भन्दा कम महत्वका सामग्रीमा बढी काम गर्छन् वा सम्पूर्ण सामग्रीलाई उति नै महत्व दिएर पढ्दछन् । ज्ञान प्राप्त गर्नको लागि गर्नुपर्ने त्यही कुराहरू नै हुन् तर हाम्रो फोरमेटिभभन्दा सबमेटिवलाई बढी महत्व दिने अर्थात् परीक्षाले ज्ञान वृद्धि गर्नेभन्दा पनि अन्तिम समयमा जानेका कुरा सबै लेखेर बुझाउने प्रणालीमा (जसमा विद्यार्थीले अन्तिम समयमा प्राप्त गरेको प्रतिफललाई बढी महत्व दिइन्छ) देशअनुसारको भेष भनेजस्तै कस्ता प्रश्न आउँछन् भन्ने कुरालाई बुझ्न निकै जरुरी हुन्छ ।
४. प्रभावकारी अध्ययन प्रविधि अपनाउनुपर्छ
अध्ययनलाई प्रभावकारी बनाउने अनेक विधिहरू विकास भएका छन् । तीमध्ये सक्रिय पुनरावृत्ति (Active Recall) पढ्नेमात्र होइन, आफूलाई प्रश्न सोधेर उत्तर दिने प्रयास गर्ने , विस्तारित पुनरावृत्ति (Spaced Repetition) निश्चित अवधिमा अध्ययन सामग्री दोहो¥याएर सम्झने क्षमता बढाउने , अघिल्लो परीक्षा पत्रहरू अभ्यास गरेर आत्मविश्वास बढाउने, नेमोनिक्स (Pnemonics) र माइन्ड म्यापजस्ता जटिल अवधारणाहरू सम्झन सजिलो बनाउनेजस्ता विधिहरू प्रयोग गर्न सकिन्छ ।
५. स्वस्थ जीवनशैली अपनाउनुपर्छ
विद्यार्थीहरूले शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्नुपर्छ ताकि प्रभावकारीरूपमा अध्ययन गर्न सकियोस् । आतिएर २४ सै घण्टा पढ्नेभन्दा पनि कम्तीमा सात–आठ घण्टाको पर्याप्त निद्रा पु¥याउनुपर्दछ जसले मस्तिष्कलाई सहज राख्न र स्मरण शक्ति सन्तुलित राख्न सहयोग मिल्दछ । मस्तिष्कलाई ऊर्जा दिन सन्तुलित आहार खानुपर्छ । सम्पूर्ण पोषण पुग्ने खाना खाने तर अत्यधिक माछामासु सेवन गर्ने जस्ता कार्यलाई कम गर्ने । नियमितरूपमा व्यायाम गरे तनावसमेत कम हुन्छ । तर, व्यायाम गर्दा धेरै थाक्ने खालको भन्दा पनि शरीरलाई स्फुर्त राख्ने खालको हलुका मध्यम खालका विकल्पहरू चयन गर्दा राम्रो हुन्छ जसले रक्त सञ्चारलाई गतिशील राख्नका साथसाथै मस्तिष्कमा अक्सिजनको मात्रालाई समेत राम्रोसित प्रवाह गर्छ । शरीरमा पानीको मात्रालाई सन्तुलितरूपमा कायम राख्नुपर्छ जसले विविध शारीरिक प्रक्रियाहरूमा मद्दत पु¥याउँदछ । शरीर हाइड्रेटेड राख्दा पढ्दा टाउको आँखा दुख्नेजस्ता समस्याहरूलाई समेत निकै कम गर्न सकिन्छ । बिच–बिचमा ब्रेकसमेत लिँदा राम्रो हुन्छ ।
६. रट्ने बानी हटाउनुपर्छ
विद्यार्थीहरूले रट्ने प्रवृत्तिलाई त्यागेर विषयलाई गहिरोरूपमा बुझ्न प्रयास गर्नुपर्छ । गहिरोसित अध्ययन गरेका कुरा दीर्घकालीन स्मरणमा बस्ने भएकोले हत्तपत्त बिर्सिइँदैन ।
७. अध्ययन समूह बनाई तयारी गर्दा राम्रो
साथीहरूसँग अध्ययन गर्दा विषयलाई बुझ्न सजिलो हुन्छ र शङ्का समाधान गर्न सकिन्छ । कहिलेकाहीँ एकोहोरो बुझाइले गलत तयारी भइरहेको हुनसक्छ यस्तो अवस्थामा सङ्गठित तयारीले भुल्चोक हुने अवस्थालाई निकै न्यूनीकरण गर्छ । सामूहिक तयारीका क्रममा विद्यार्थीहरूले अरूलाई सिकाउने प्रयास पनि गर्नुपर्छ, जसले ज्ञानलाई अझ प्रभावशाली बनाउँछ, उपलब्धिको भावनालाई जागृत गराउँछ र अध्ययनमा समेत रुचि बढ्दछ ।
८. परीक्षासम्बन्धी तनाव व्यवस्थापन गर्नुपर्छ
विद्यार्थीहरूले शान्त र आत्मविश्वासी रहने प्रयास गर्नुपर्छ । तनाव व्यवस्थापन गर्न गहिरो सास लिने विधिहरूका साथसाथै माइन्डफुलनेस अभ्यास गर्न सकिन्छ । शरीरलाई आरामदाय स्थितिमा राखेर लामो स्वास तान्ने र फाल्ने यसलाई केही समय निरन्तरता दिने । परीक्षाकै क्रममा धेरै तनाव हुँदा पनि यस कार्यलाई गर्न सकिन्छ । आफूलाई वर्तमानमा महसुस गरी आफूमा कस्तो भावनाहरू आइरहेका छन्; मस्तिष्कमा कस्ता विचारहरू चलिरहेका छन् र शरीरमा कस्तो अनुभूति भइरहेको छ जस्ता कुरामा ध्यानलाई केन्द्रित गर्न सकिन्छ । यी कुराले तनावलाई कम गर्न सहयोग गर्दछ । सकारात्मक सोच र सफलताको कल्पना गर्नाले पनि आत्मबल निकै बढ्दछ ।
९. प्रभावकारी पुनरावृत्ति गर्नुपर्छ
परीक्षाको केही दिनअघि पुनरावृत्तिको लागि समय छुट्याउनुहोस् । मुख्य अवधारणाहरू, सूत्रहरू र सारांशहरूमा ध्यान केन्द्रित गर्नुहोस्, अन्तिम समयमा आत्तिएर यो पनि आउँछ कि त्यो पनि आउँछ कि भन्दै नयाँ विषयहरू खोज्नुभन्दा पनि आफूले जानेका कुराहरूलाई राम्रोसित परीक्षामा लेख्ने हिसाबले तयारी गर्दा राम्रो हुन्छ । शतप्रतिशत ल्याउनेभन्दा शतप्रतिशत दिने प्रयास गर्नुस् ।
१०. परीक्षा दिने दिनको तयारी राम्रो गर्नुपर्छ
परीक्षा अघिको रात राम्रोसँग निद्रा लिनुपर्छ र परीक्षा केन्द्रमा पनि समयमै पुग्दा तनाव कम हुन्छ । आवश्यक सामग्री (कलम, क्याल्कुलेटर, परिचय पत्र, घडी आदि) व्यवस्थित हुनुपर्दछ । बसाइँको पोजिसन सजिलो छ कि छैन ध्यान दिनुपर्छ ।
आत्तिएर एन्जियस हुँदै प्रश्नपत्रलाई खोतल्ने बानी गर्नु हुँदैन । आरामदायी स्थितिमा रहेर सरलरूपमा प्रश्नलाई हेर्ने र सजिलो हुने गरी उत्तर लेख्न सुरु गर्नुपर्दछ । उत्तर लेख्दा घडी आदिको प्रयोग गरी समयलाई व्यवस्थापन गर्दै जाँदा अन्तिम समयमा हतारो हुँदैन । खासगरी व्यक्तिपरक सबजेक्टिभ लामा उत्तर माग्ने प्रश्नलाई सुरुमा नै क्यालकुलेट गरेर निश्चित समय छुट्याउँदा राम्रो हुन्छ । प्रश्नका समूहलाई समेत निश्चित समय छुट्याउँदा राम्रो हुन्छ ।
विद्यार्थीले मात्र नभई परीक्षा केन्द्रमा रहेका गार्डहरूले समेत ध्यान भङ्ग हुने गरी कार्य गर्नु हुँदैन । बाहिर–भित्र गरिराख्ने , एउटा विद्यार्थीले गल्ती गर्दा सबैलाई डिस्टर्ब हुने गरी कारबाही गर्नेजस्ता कुराहरू निरन्तर भइरहन्छन् । यसले खासगरी ध्यान केन्द्रीकरण गर्न अप्ठ्यारो हुने विद्यार्थीलाई यसै पनि गा¥हो भइरहेको अवस्थामा झनै अप्ठ्यारोमा पार्दछ । यी कुरालाई व्यवस्थापनले समेत ध्यानमा राखी व्यवस्थितरूपमा अगाडि बढाउनुपर्दछ ।
विद्यार्थीहरूले परीक्षाको तयारीलाई निरन्तर प्रक्रिया मान्नुपर्छ जसमा अनुशासन र प्रभावकारी रणनीतिहरूको आवश्यकता हुन्छ । यी चरणहरू पालना गरेर, विद्यार्थीहरूले आफ्नो प्रदर्शनलाई उच्च बनाउन सक्दछन् र आत्मविश्वासका साथ परीक्षा दिन सक्दछन् । पछिलाई नसाँची छिटो तयारी सुरु गर्ने, व्यवस्थित रहने र सकारात्मक दृष्टिकोण राख्ने ।
(भट्टराई हाल नेपाल एकेडेमी अफ साइकोलोजीमा अध्यक्ष तथा प्रमुख मनोविद्का रूपमा कार्यरत हुनुहुन्छ ।)
Leave a Reply