भर्खरै :

बेलायतमा नवउदारवादले निम्त्याइरहेको फासीवाद

बेलायतमा नवउदारवादले निम्त्याइरहेको फासीवाद

लोकतन्त्रको गिरावट उग्र–दक्षिणपन्थी पार्टी सत्तामा आउँदा होइन, जब कुनै मध्यपन्थी पार्टीले जनताको लोकतन्त्रप्रतिको आशा तोड्छ, तब सुरू हुन्छ । जब कियर स्टार्मरको सरकार न्यायपूर्ण, हरित र कल्याणकारी देशको आकाङ्क्षामा प्रहार गर्छ, त्यसले लेबर पार्टी मात्र होइन, राजनीतिप्रतिकै विश्वास समाप्त गर्छ । तर, यो खेल के हो ? किन सरकार आफ्नै पुनः निर्वाचन रोक्ने नीति अख्तियार गर्छन् ? किन पुराना वित्तीय नियममा अडिग रहन्छन्, जब तिनले झन्डै सबै र विशेषतः गरिबलाई, थप सङ्कटमा पार्छन् ? किन दुई बच्चा सामाजिक सुरक्षा सीमा, स्थानीय आवास भत्ता र अशक्तता लाभजस्ता लोककल्याणकारी योजना कटौती गरिन्छ ? सबै प्रश्नको जवाफ एउटै विचारधारामा छ, नवउदारवाद, जसले सार्वजनिक सेवा सङ्कुचित गर्दै धनाढ्यलाई फाइदा पु¥याउँछ । यसकै कारण जनताको असन्तोषले अन्ततः उग्र–दक्षिणपन्थी शक्तिलाई सत्तामा पु¥याउँछ ।
किन सरकार अपव्ययिताको नीतिमा रहन्छ, जबकि बेलायतले यसको अन्त्यको पक्षमा मतदान गरिसकेको छ ? किन अनुभवले असफल देखाइसकेको अपव्ययितालाई निरन्तरता दिइन्छ, जसले आर्थिक वृद्धिलाई नै कमजोर बनाउँछ ? किन आफ्ना मतदातालाई, विशेषगरी वातावरणप्रति सचेत जनतालाई तिरष्कार गरिन्छ ? किन हरित प्रतिबद्धता तोडिन्छन्, संरक्षण नीति हटाइन्छन्, विमानस्थल विस्तार गरिन्छन् र वातावरणीय नियामक निकायलाई कमजोर पारिन्छ ? किन विरोध नियन्त्रणका कठोर कानुन लागू गरिन्छन् ? किन २००८ को वित्तीय सङ्कटबाट पाठ सिकेर बनाइएका नियम हटाइन्छन्, जब कि यसको परिणाम भनेकै अर्को सङ्कट नै हुनसक्छ ? किन सम्पत्ति कर अस्वीकार गरिन्छ जब कि धनीमाथि न्यून कर लगाए पनि अर्बौं पाउन्ड राजस्व उठ्न सक्छ ? किन ‘बेलायतबाहिर स्थायी बसोबास नभएका’ माथि उचित कर लगाइँदैन ?
पछिल्ला १५० वर्षमा पुँजीवादले लोकतन्त्रलाई कमजोर वा ध्वस्त पार्ने प्रयास गरिरहेको छ ।
किन लोकतन्त्र पुनर्जीवित गर्ने समानुपातिक प्रतिनिधित्वको नीति उपेक्षा गरिन्छ ? किन धनाढ्यको राजनीतिमाथिको नियन्त्रण हटाउने पहल नगरी राजनीतिक कोष सङ्कलनका नियम फेरबदल गरिन्छ ? उत्तर एउटै छ, नवउदारवाद । जसले धनाढ्यका हितमा सरकारलाई नियन्त्रण गर्छ, जनताको आशा तोड्छ र अन्ततः उग्र–दक्षिणपन्थी शक्तिलाई सत्तामा ल्याउँछ । किन उग्र–दक्षिणपन्थी ‘रिफर्म’ पार्टीका सन्देश, ब्रान्डिङ र क्रूरतालाई अनुकरण गरिन्छ ? यो प्रतिस्पर्धा शरणार्थीलाई सबैभन्दा निर्मम रूपमा कसले दमन गर्न सक्छ भन्नेमा हुन्छ ? मध्यम–वाम पक्षधर पार्टीले उग्र–दक्षिणपन्थी नीति अवलम्बन गर्ने प्रशस्तै प्रमाण छन् । यिनले राजनीतिक रूपमा वामपन्थ ढल्केका मतदाता गुमाउँछन्, जसको तुलनामा दक्षिणपन्थीबाट पाउने मत थोरै हुन्छ । उग्र–दक्षिणपन्थी सन्देश ग्रहण गर्दा उग्र–दक्षिणपन्थी पार्टी नै विजयी हुन्छन् ।
यी नीति अचम्म लाग्ने खालका देखिन्छन् । तर, यी सबै एउटै सिद्धान्तबाट उत्पन्न हुन्छन्, अर्थात् नवउदारवाद । सन् १९७९ देखि बेलायतमा हाबी रहेको यो विचारधाराले अपव्ययिता, सार्वजनिक सेवाको निजीकरण र सङ्कुचन, विरोध र मजदुर युनियनलाई नियन्त्रण गर्ने नीति, नियम खुकुलो पार्ने तथा धनाढ्यका लागि कर कटौती अनिवार्य ठान्छ । ‘उद्यमशील समाज’ निर्माण गर्ने नाममा यसले वास्तवमा ‘नयाँ कब्जाको युग’ सिर्जना गरेको छ, जहाँ शक्तिशालीले पानीदेखि घरजग्गासम्मका आवश्यक स्रोतमाथि कब्जा गर्छन् । यसले सरकारलाई शरणार्थी र अन्य कमजोर समूहलाई बलिको बोको बनाउनेबाहेकको विकल्प नै दिँदैन ।
नवउदारवादबाट हट्न खोज्ने पार्टीलाई सञ्चारमाध्यम र दक्षिणपन्थी थिङ्क ट्याङ्कले उग्र रूपमा आक्रमण गर्छन् । तर, नवउदारवादले लेबर पार्टीलाई यति धेरै किन परिवर्तन ग¥यो ? यसको उत्तर खोज्न पुँजीवादलाई थप राम्रोसँग बुझ्नुपर्छ । पुँजीवादलाई बारम्बार ‘वाणिज्य’सँग जोडेर भ्रम पैदा गरिन्छ । जबकि यी दुई एक–अर्कासँग गाँसिएका छैनन् अर्थात् पुँजीवाद वाणिज्यविनै अस्तित्वमा रहन सक्छ र वाणिज्य पुँजीवादविनै चल्न सक्छ । पुँजीवाद एक विशिष्ट आर्थिक प्रणाली हो, जसको जरा करिब ६ सय वर्षअगाडि उपनिवेशवादी लुटसँग गाँसिएको छ । यसको गति निरन्तर अगाडि बढ्छ, जसमा राज्य र निजी शक्तिशाली संस्थाले कानुनको बलमा साझा स्रोतलाई निजी सम्पत्तिमा परिणत गर्छन् । यसलाई लोकतान्त्रिक नियन्त्रणबाट मुक्त गरिदिएपछि डोनाल्ड ट्रम्पको अमेरिकामा देखिएजस्तै स्वरूप लिन्छ ।
पछिल्ला एक सय ५० वर्षमा पुँजीवादले आफ्नै प्रत्यक्ष प्रतिद्वन्द्वी रहेको लोकतन्त्रलाई कमजोर पार्ने वा ध्वस्त पार्ने प्रयास गरिरहेको छ । २० औँ शताब्दीको सुरुतिर यसका लागि ‘फासीवाद’ अत्यन्त उपयोगी माध्यम बन्यो, जसलाई युरोप र जापानका धनी व्यक्तिले लागु गरेका थिए । तर, सन् १९४५ पछि यो उपाय असफल बन्न थाल्यो । त्यसैबेला अर्को उपाय जन्मियो नवउदारवाद । यसको पहिलो औपचारिक चर्चा सन् १९४४ मा प्रकाशित दुई पुस्तक अर्थात् फ्रेडरिक हायकको ‘रोड टु सर्फडम’ र लुडविग भोन मिसेसको ‘ब्युरोक्रेसी’ मा देखिएको थियो । यी लेखक फासीवादविरोधी भए पनि पुँजीका लागि यी लेखकको विचार फासीवादजत्तिकै लाभदायक बन्यो । सन् १९४७ भित्रै विश्वका धनाढ्य यसमा ठुलो धन लगानी गर्न थाले । तिनले ‘थिङ्क ट्याङ्क’, शैक्षिक विभाग, सरकारका सल्लाहकार, सम्पादक र पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गरेका थिए ।
नवउदारवाद लोकतान्त्रिक अपेक्षालाई पूर्ण रूपमा नष्ट गर्न सक्षम छ । जब अपेक्षा मर्छ दक्षिणपन्थी चरमपन्थ राजनीतिमा बन्न पुग्यो, त्यो रिक्त स्थानमा छिर्छ । यसरी नवउदारवादले फासीवाद र दासत्वतर्फको बाटो निर्माण गर्छ । मानवीय कल्याण र प्रकृतिमाथिको क्षति बढ्दै जाँदा बेलायतको लेबर, अमेरिका डेमोक्य्राट र अस्ट्रेलियाको लेबरजस्ता दलले आफ्नै साहस पुनः जागृत गर्नुपर्छ । लोकतन्त्रलाई पुनर्जीवित गर्न, समुदायमा सशक्तीकरण ल्याउन र समान सहभागितालाई प्रवद्र्धन गर्न आवश्यक छ ।
(मन्बियट द गार्डियनका स्तम्भकार हुन्)

द गार्डियनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *