भर्खरै :

नेमकिपाको लक्ष्य पूरा गर्न नेक्रायुसङ्घ लागिपर्नु जरुरी

नेमकिपाको लक्ष्य पूरा गर्न नेक्रायुसङ्घ लागिपर्नु जरुरी

भक्तपुर २९, चैत । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समितिद्वारा नेपाल मजदुर किसान पार्टीको ८ औँ महाधिवेशनको सन्देश तथा महाधिवेशनमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्न शुक्रबार नगरस्तरीय युवा भेला आयोजना गरियो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले भन्नुभयो, “पुँजीपतिवर्गले आफ्नो देशसँगै अन्य देशमा शोषण गर्नु साम्राज्यवाद हो । दोस्रो विश्वयुद्धपछि संसारमा अमेरिकी डलरको साम्राज्य कायम भएको हो । सबै देशमा अमेरिकी डलर चल्नु नै डलर साम्राज्य हो ।”
नेपाल क्रान्तिकारी युवा सङ्घका कार्यकर्ताहरू राजनैतिक र सैद्धान्तिकरूपले परिपक्व भई समाजवादी गणतन्त्र प्रचार अभियानमा लाग्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले अन्धविश्वास र जाँड, रक्सी, जुवातासजस्ता विकृतिबाट समाजलाई जोगाएर सुसंस्कृत समाज निर्माणमा युवाहरू लाग्नु जरुरी भएको औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “मानिसले बाँच्नको लागि श्वास फेरेजस्तै सङ्गठनलाई जीवित राख्न पार्टी प्रकाशन निरन्तर अध्ययन र अन्तरक्रिया हुनु आवश्यक छ ।”
अतिथि सुवालले भन्नुभयो, “पुँजीवादी व्यवस्थाविरुद्ध जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादसम्म पुग्ने नेपाल मजदुर किसान पार्टीको दीर्घकालीन लक्ष्य हो । यो लक्ष्य प्राप्त गर्न युवाहरू सचेत र सङ्गठित भएर सहयोग गर्नु आवश्यक छ ।”
“प्रजग कोरियाका युवाहरू रातिसमेत जागा बसेर दक्षिण कोरियामा रहेका अमेरिकी साम्राज्यवादको सेनालाई जवाफ दिन तम्तयार भएर बसेका छन् । नेपाली युवाहरू पनि सचेत र सङ्गठित भएर बस्नु जरुरी छ ।” उहाँले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका उपाध्यक्ष लक्ष्मीभक्त लासिवाले भन्नुभयो, “युवा कार्यकर्ताहरू समाजमा बाटो देखाउने बत्तीजस्तै बन्नुपर्छ । योग्य र अनुशासित युवाहरूले मात्रै समाजलाई सही दिशामा डोहो¥याउन सक्ने भएकोले युवाहरू अध्ययनशील हुनु जरुरी छ ।”
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले नेपालीलाई ‘भाडाको सिपाही’ बनाउने गोर्खा भर्ती खारेज गराउन युवाहरू लाग्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष जगतराम धुख्वाको सभापतित्वमा सम्पन्न युवा भेलामा सङ्घका आर. मचामसी र एस. बासुकलाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *