भर्खरै :

के चीन अमेरिकाको निम्ति खतरा हो ?

१६ माघ २०७४ (३० जनवरी २०१७) को दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा औपचारिक कार्यक्रममा राष्ट्रिय सुरक्षा रणनीतिमा चीनलाई एक प्रतिद्वन्द्वी र खतरा भएको बताएका थिए । त्यसबारे संरा अमेरिका र संसारकै बुद्धिजीवीहरूमाझ छलफल हुनु स्वाभाविक हो । बरु संसारले के अनुभव गर्दै थियो भने – संरा अमेरिका संसारकै निम्ति खतरा हो । अफ्गानिस्तान, इराक, लिविया र सिरिया अहिले संरा अमेरिकाबाट पीडित छन् । अलि पर जाने हो भने अर्थात् दोस्रो विश्वयुद्धपछि कोरिया, भियतनाम, लावस र कम्बोडियाको निम्ति पनि संरा अमेरिका नै एक खतरा थियो, एक आक्रमक थियो ।
एउटा नेपाली उखान छ, ‘जुत्ता लगाउनेलाई थाहा हुन्छ, जुत्ताले कहाँ पोलेको छ ।’ एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनतालाई थाहा छ – संरा अमेरिका संसारकै निम्ति एक खतरा छ । तर रेविका कार्ल भन्छिन् – संरा अमेरिका चीनको लागि मात्रै खतरा होइन, दशकौंदेखि सारा संसारकै निम्ति खतरा हो । उनी एक इतिहासकार र चीनबारेका विदुषी हुन् । तिनीले थपिन् – आर्थिक रुपमा सैनिक रुपमा वा कुटनैतिक रुपमा बढ्दै गएको चीनको दूरगामी दृष्टिकोणको तुलनामा आफूलाई संरा अमेरिकाले असम्भव अनुभव गरेको हुनाले चीनलाई खतराको रुपमा लिएका छन् । हुन पनि सोभियत संघको पतनपछि संरा अमेरिकाले आफूलाई एकमात्र महाशक्तिको रुपमा अनुभव गर्दै थियो र चीनको चौतर्फी प्रगतिका कारण चीनलाई आफ्नो प्रतिद्वन्द्वी सम्झ्यो ।
संरा अमेरिका आफ्नै इतिहासबाट संत्रस्त अमेरिकी रक्षा सचिव रेक्स टिलरसनले फ्रेब्रुअरीको सुरुमा आफ्नो ल्याटिन अमेरिकाको यात्रामा ‘युरोपेली उपनिवेशवादको सम्झना’ गर्दै ‘नयाँ साम्राज्यवादी शक्ति’ भन्दै चीनमाथि कटाक्ष गरेको बारे नेपालका संवेदनशील पक्ष अचम्ममा परेको चर्चाको विषय बन्यो । टिलरसनले मेक्सिको, अर्जेन्टाइना, पेरु, कोलम्बिया र जमैकाको यात्राको क्रममा चीनलाई ‘आफ्नो आर्थिक धुरीमा तान्न’ खोज्ने ‘लुटाहाको पात्र’ को रुपमा चित्रण गरे । अत्यन्त ठूलो व्यापारिक सम्बन्ध रहेको चीनमाथि संरा अमेरिकी राष्ट्रपति र रक्षासचिवजस्ता महत्वपूर्ण व्यक्तिहरूको अभिव्यक्तिले अमेरिकाको आर्थिक, व्यापारिक, सैनिक र कुटनैतिक नीतिमै ठूलो कमजोरी रहेको अनुभव गरेको अनुमान गर्न सकिन्छ । तर चीनको सम्बन्ध एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूसँगको कुटनैतिक सम्बन्धले आधा शताब्दी नाघिसकेको छ ।
आर्थिक, व्यापारिक र सांस्कृतिक सम्बन्धहरूले पनि दशकौं नाघिसकेको छ । अर्जेन्टाइना, ब्राजिल, चिली र पेरुसँग चीनको व्यापार सम्बन्ध सबभन्दा ठूलो छ । ती चार देशसँग चीनको व्यापार सम्बन्ध संरा अमेरिकाको भन्दा राम्रो स्थितिमा रहेको बताइन्छ । स्थिति यस्तै हो भने संरा अमेरिकी राष्ट्रपति र रक्षामन्त्री समेत किन चीनलाई ‘साम्राज्यवादी शक्ति’ र ‘उपनिवेशवादी’ र खतरा मान्न पुगे ? संरा अमेरिकाको पाँचौं राष्ट्रपति जेम्स मुनरोले आफ्नो कार्यकाल (१८१७–१८२५) मा युरोपेली उपनिवेशवादीहरूको विरोधमा खास गरी स्पेनको विरोधमा भनेका थिए – पश्चिमी गोलाद्र्ध अर्थात् ‘अमेरिका अमेरिकीहरूको निम्ति’ हो । त्यसपछि १९१४ सम्ममा क्यारेबियाली देश क्युवा, हाइटी र अन्य दक्षिण अमेरिकी देशहरूसँगै कोलम्बियाको पनामाका आदिवासीहरूलाई विद्रोह गराई राज्यको मान्यता दिएर पनामा क्षेत्र कब्जामा लियो, त्यहाँ जहाज चल्ने नहर बनायो र प्रशान्त महासागबाट एसिया पुग्ने छोटो बाटो बन्यो । त्यसपछि हवाई, ग्वाम, फिलिपिन्स कब्जा गर्दै चीनमा समेत हमला गर्न पुग्यो । संरा अमेरिका हिजोको आफ्नो पाप र आक्रमण्को इतिहासबाट आफै आक्रान्त हुँदैछ ।
श्रमिक साप्ताहिक २०७४ फागुन ८ को सम्पादकीय

Leave a Reply

Your email address will not be published. Required fields are marked *