भर्खरै :

हाम्रो संस्कृति

  • बैशाख १०, २०८२
  • न्हुछेरत्न वुद्धाचार्य
  • विचार
हाम्रो संस्कृति

“संस्कृति राष्ट्रको पहिचान हो, संस्कृतिबिना समाज असभ्य बन्छ ।”

– पारसनाथ

नेपाल हिमालयको काखमा रहेको प्राकृतिक खजानाले परिपूर्ण भएको एक स्वतन्त्र राष्ट्र हो । यस राष्ट्रमा मानिसको प्रादुर्भाव भई आफ्नो अस्तित्व र उत्तरोत्तर प्रगतिको लागि साधन जुटाउन र उत्पादन गर्न थालेपछि सभ्यताको सुरुवात भएको थियो । तर, भौतिक आवश्यकताको पूर्तिले मात्र मानिसलाई सम्पूर्ण आनन्द, सन्तुष्टि र शान्ति पाउन नसकेपछि मानिसले जुन नयाँ चिजको स्वतन्त्र रूपले सिर्जना ग¥यो, त्यही उसको संस्कृति बन्यो ।
कुनै देशको संस्कृति त्यस देशका मानिसहरूको मनोभाव र उनीहरूले आफूसँग भएका मौलिक गुणहरूको आधारमा आध्यात्मिक सन्तुष्टि र आनन्दको लागि झन्झन् राम्रो असल बन्न र उँभो लाग्न गरेको कोसिसको देखिने रूप हो ।
यो राम्रो, असल बन्ने र उँभो लाग्ने कामलाई त्यस देशको भौगोलिक र भौतिक वातावरणले प्रभाव पारेको हुन्छ । यसैले हाम्रो संस्कृतिमा यहाँको प्राकृतिक सौन्दर्य, यहाँको युग युगका मानिसहरूले गरेको आकाङ्क्षा, सुख शान्तिमय जीवन र त्यसको लागि गरिआएको सङघर्षको प्रवाहले ओतप्रोत छ ।
यो प्रवाह दुई–चार हजार वर्ष अगाडिको मात्र होइन, हिमाली पर्वत र फेदको आवादी जतिकै पुरानो समयदेखिको अटुट प्रक्रिया हो ।
हाम्रो संस्कृति हिमालय पहाडबाट निस्केका नदीहरूद्वारा बनाइएका फाँटमा विकसित भएको सभ्यता जतिमात्र होइन । यो हिमालय पहाडको आवादी जतिकै पुरानो छ ।
कुनै पनि राष्ट्रको अस्तित्व त्यसको संस्कृतिकै कारणले रहेको हुन्छ । यो कुरा इतिहासले हामीलाई बताइसकेको छ कि भिन्न भिन्न राष्ट्रमा बेग्ला बेग्लै संस्कृति छन् ।
राष्ट्र विशेषको सामाजिक तथा सांस्कृतिक उच्चता र सभ्यता पनि चाडपर्वबाट प्रकट हुन्छ । किनभने, चाडपर्व संस्कृतिको एक प्रमुख अङ्ग तथा विकसित समाजको प्रतीक हो । हरेक चाडपर्वको समयमा विभिन्न देवदेवीहरू अतिरिक्त, मानिस, पशुपक्षीको समेत पूजा गरिन्छ । उदाहरणार्थ गुरु पूजाको दिन आफूलाई शिक्षा दिने गुरुको, कुशे औँसी, मातृ औँशीमा क्रमशः आफूलाई जन्मदिने बाबु र आमाको पूजा गरिन्छ । गोवद्र्धन पूजाको दिन नेवारहरूले आफ्नो शरीरको (म्हपूजा) गरिन्छ । कुकुर तिहार र काग तिहारको दिन क्रमशः कुकुर र कागको पूजा गरिन्छ । नाग पञ्चमीको दिन नागको पूजा गरिन्छ । हाम्रो पुर्खाले संस्कृतिलाई जीवित गर्न विभिन्न देवी देवताको मन्दिर बनाएर पूजा आराधना गर्ने संस्कार र संस्कृतिको विकास गरे । विभिन्न जनजाति र धर्म एवम् सम्प्रदायका मानिस आ–आफ्नै किसिमका रीतिथिति बसाउन स्वतन्त्र थिए । जन्म, विवाह, मृत्युजस्ता कार्यमा जुट्ने र सहयोग गर्ने संस्कृति र व्यवहारको विकास भयो ।
नेवार संस्कृतिमा खानपानको पनि निकै महत्व छ । नेपालमा पाइने खाने वस्तुहरू तथा गरिने कार्यहरूको आचारविचार गर्दा नेपालका चाडपर्वको पृष्ठभूमि अहिलेको यो आणविक तथा वैज्ञानिक युगलाई सुहाउँदो स्वास्थ्य रक्षासम्बन्धी अनेक शिक्षाप्रद तथा प्रेरणादायक कारणहरू पनि भेटाउन सक्छौँ । किनभने, नेपालमा प्रत्येक चाडपर्वका बखत सर्वप्रथम गरिने कार्यहरू नुहाइ, धुवाइ, लिपपोत सफासुग्घरका कार्यहरू स्वास्थ्यको लागि गरिन्छन् ।
नेवार जातिमा कडा परिश्रम गर्ने कृषकहरूको संस्कृतिले नेवारको खानपानको संस्कृतिलाई चिनाउँछ । चिउराको साथ विभिन्न गेडागुडी तथा बलबद्र्धक खानपानमा वैज्ञानिकता लुकेको हुन्छ । नेवारी विशेषताका खानपानमा बारा, चतामरी, छोयला (पोलेको मासु) लगायत अनेक परिकार हुन्छ । जसमा ती परिकार तयार पार्नका लागि चाहिने मरमसला सामग्रीका साथै पकाउने ढङ्गको नेवारी समाजमा संस्कृति झल्कने यी खानपानको विशेष महत्व रहेको छ ।
उपत्यकाका प्राचीन हिन्दू संस्कार र विधिअनुसारका प्रायः चाडपर्व मनाउने गरी हाम्रो संस्कृतिलाई बचावट गरेको देखिन्छ । यसैमध्येको घण्टाकर्ण चतुर्दशी जसलाई नेपालभाषामा गठामुग च¥हे पनि भनिन्छ । यसै दिन कुमार कार्तिकेको पूजा गर्ने गरिन्छ । गठेमगल नेवार जातिभित्रको सबैभन्दा प्राचीन तथा पुरानो चाडको रूपमा रहेको देखिन्छ । गठेमगल भन्ने पुतलाको दुवै कानमा घण्टा झुन्डयाइराखेको हुनाले यसलाई घण्टाकर्ण पनि भन्ने गरिन्छ । नेपालको नेवार जातिलाई जात्रा भोज भतेर धेरै गर्ने जातिका रूपमा चिन्ने गरिन्छ । सापारू (गाईजात्रा) तथा जनैपूर्णिमा चाडपर्वमा अनेक गेडागुडी मिलाएर क्वाटी खाने चलन छ । गाईजात्रा एक संस्कृति झल्किने नेपालको प्रमुख जात्रा हो । गाईजात्राको बखत आठ दिनसम्म नाच प्रहसन आदि गर्ने गरिन्छ । यो जात्रामा ख्यालठट्टादेखि रहर बहर तथा आमोद प्रमोद गरिन्छ । यो जात्रामा भक्तपुरमा छुट्टै संस्कृति झल्किने नाचगान तथा घिन्ताङघिसिले मनोरञ्जन प्रदान गर्छन् । हाम्रो संस्कृति बचाउने कार्यमा भक्तपुरका कृषकहरूको ठुलो देन छ । गाईजात्रा नेपालको जीवन्त संस्कृतिको रमणीय झलक हो ।
फेरि हाम्रो संस्कृतिमा महत्वपूर्ण जात्रामध्ये इन्द्रजात्रा पनि हो । इन्द्रजात्राको अवसरमा धेरै पुरानो अग्लो रथ बनाएर इन्द्रको मूर्तिे स्थापना गरी इन्द्रको पूजाका साथै बत्ती बाल्निे गरिन्छ । यसमा धेरै परम्परागत देवी नाच तथा दस अवतारको प्रदर्शन हुन्छ । भक्तपुरमा मान्द्रोबाट बनेको हात्ती (पुलुकिसी) को जात्रा मनाइन्छ । फेरि दैत्य (मूपात्र) जात्रा पनि अर्को रौनक देखिन्छ । नैतिक मूल्य मान्यताले हाम्रो संस्कृतिको प्रतिनिधित्व गर्छ ।
समुदायका मानिसले पालना गर्ने रीतिरिवाज मनाइने चाडपर्व, भेषभूषा, खानपान आदिसँगै तिनले पालना गर्ने सामाजिक मूल्यका अस्तित्वभित्र सांस्कृतिक रूपले बाँधिएका हुन्छन् । हाम्रो संस्कृतिले मानिसलाई सांस्कृतिक मूल्यले नै एकताको भावना विकास गर्न मद्दत गर्छ ।
तसर्थ, विशेष समुदाय वा जनसङ्ख्याको एक मात्र प्रतिनिधि संस्कृति हो । यसले जनसमुदायलाई जीवनमार्ग दिन्छ । समुदायले सामना गरेका समस्या समाधानमा संस्कृतिको ठुलो भूमिका देखिन्छ । हाम्रो संस्कृतिले हामीलाई व्यक्तिगत रूपमा नभई सिङ्गो राष्ट्रको लागि सोच्न सिकाउँछ ।
सन्दर्भ सामग्री
१) नेवार जाति र संस्कृति : शिरिष अर्याल, आर्थिक पत्रिका २०७३
२) नेपालको इतिहास र सांस्कृतिक पक्ष : भुवनलाल प्रधान
३) हाम्रा चाडपर्वोत्सव : पुण्यरत्न वज्राचार्य, नेपाल पत्रिका, त्रिवि
४) हाम्रो सांस्कृतिक विशेषताहरू : सुशिला खरेल, नेपाल पत्रिका, त्रिवि
५) मानव जाति र संस्कृतिको साइनो : डा. पारसनाथ यादव

Leave a Reply

Your email address will not be published. Required fields are marked *