भर्खरै :

देशको अर्थतन्त्र सम्हाल्न नसक्नेहरू सरकारमा बस्नु हुन्न

देशको अर्थतन्त्र सम्हाल्न नसक्नेहरू सरकारमा बस्नु हुन्न

नेपालको शैक्षिक पाठ्यक्रम उत्पादन श्रमसँग जोडिएको हुनु आवश्यक छ । बेलायतको पाठ्यक्रमका वाक्यहरू भारत हुँदै नेपालसम्म नक्कल गरिएको उपयुक्त होइन । विद्यालय र विश्वविद्यालयका पुस्तक लेखकहरूले विदेशबाट सिकेर नेपालको परिवेशमा लेख्नु आवश्यक छ । विद्यार्थीहरूलाई राम्रो जागीर पाउने र धेरै पैसा कमाउने उदाहरण दिनुभन्दा पनि शिक्षा प्राप्त गरी देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने उदाहरण पाठ्यक्रम र पाठ्यपुस्तक हुनु उपयुक्त हुनेछ ।
नेपाल मजदुर किसान पार्टीले उत्पादन श्रमसँग जोडिएको विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने र युवालाई देशभित्र रोजगारी दिनुपर्ने विषय उठाउँदै आएको छ । विगतमा सांसदहरूलाई भन्सार छुटमा गाडी र निवृत्तिभरणको व्यवस्था गर्ने विधेयक संसद्मा पेश गरिएको बेला नेपाल मजदुर किसान पार्टीले विरोध गरेको थियो । सरकारको मन्त्री र राजनीतिक नियुक्ति भागबन्डामा नगएको पार्टी नेमकिपा हो । नेमकिपा र सरकारमा गएका कम्युनिस्ट नामका पार्टीहरू एउटै होइनन् । नेमकिपा पुँजीवादी सरकारमा नजाने जनताको पार्टी हो । नेमकिपाले निर्वाचनमा जनतालाई राजनीतिक रूपले शिक्षित गर्छ । पुँजीवादी पार्टीहरूले चुनावको अपिलसँगै पैसा र सामाना बाँड्छन् र भोज खुवाउँछन् । नेका, एमाले, माओवादीलगायत पुँजीवादी पार्टीहरूले निर्वाचनमा ६ करोड, १२ करोड रुपैयाँ खर्च गरेको बताउँदै निर्वाचन ऐन र आचारसंहिता सोझै उल्लङ्घन गरेका छन् । त्यस्ता पार्टी र उम्मेदवार दुवैलाई अयोग्य घोषणा गर्नु जरुरी छ । तर, सरकारका अधिकारी र निर्वाचन आयोगका अधिकारीहरू पनि शासक दलबाट भर्ती गरिएको हुँदा निर्वाचन ऐन उल्लङ्घन गर्नेहरूलाई ‘चोरलाई चौतारो’ जस्तै भइरहेको छ  ।
नेपाल शिक्षक महासङ्घमा आबद्ध १५ ओटा शिक्षक सङ्गठन सरकारमा गएका पार्टीको भ्रातृ सङ्गठनजस्तै भइरहेको हुँदाकाठमाडौँ केन्द्रित शिक्षक आन्दोलनआफ्नै पार्टीको विरोधमा मान्नुपर्दछ । पार्टीसँग मतभेद भए पार्टी त्याग गर्ने हो, टाँसेर बस्ने होइन । नेमकिपाको सिद्धान्तसँग सहमत नेपाल क्रान्तिकारी शिक्षक सङ्घका समर्थकहरू यो सडक आन्दोलनमा सहभागी हुनु जरुरी छैन । नेपाल मजदुर किसान पार्टीले देश र जनताको निःस्वार्थरूपमा सेवा नगरेका सरकारहरूलाई आलोचना गर्दै आएको छ । नेपाल शिक्षक महासङ्घमा आबद्ध शिक्षक सङ्गठनहरूले शिक्षकहरूसँग चन्दा उठाएर आ–आफ्नो पार्टीलाई बुझाउने र निर्वाचनमा सहयोग गर्ने गरेको जनगुनासो पुरानो हो । नेका, एमाले, माओवादीलगायत पार्टीको सरकारले नेपाल मजदुर किसान पार्टीलाई समर्थन गर्ने शिक्षकहरूलाई पक्षपातपूर्ण व्यवहार गर्नु प्रजातन्त्रविपरीत हो ।
निजामति कर्मचारी, शिक्षक, प्राध्यापक, सहकारीकर्मी, वन र गैरसरकारी संस्थामा संलग्न भएकाहरू शासक दलकै छहारी पाएर अनियमिततामा संलग्न भइरहेका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १४ अर्व रुपैयाँ भ्रष्टाचार भएको सार्वजनिक भयो । यसअघि वाइडबडी जहाज खरिदमा पनि अर्बौँँ रुपैयाँ भ्रष्टाचार भएको सार्वजनिक भएको हो । सरकार र यसका कर्मचारी भ्रष्टाचारको पर्यायजस्तै भइरहेको लामो भयो । शिक्षकहरू सचेत भएर यो यथार्थ विद्यार्थी र अभिभावकहरूलाई बताउनु आवश्यक छ ।
अधिकांश जिल्लामा ठुल्ठुला विद्यालय भवन छन् । तर, अभिभावकहरू रोजगारीको लागि प्रदेश र सङ्घीय राजधानीमा आएको हुँदा विद्यार्थी पनि यतै पढाउन ल्याइएका छन् । जिल्ला जिल्लामा विद्यार्थी घट्दै गएपछि शिक्षकहरूको पनि सहरतिरै सरुवा बढ्दो छ । यसले देशको सन्तुलित विकास हुने छैन । जिल्लाका विद्यालय र कलेजका शिक्षकहरू देशको सन्तुलित विकासको पक्षमा उभिनु जरुरी छ । सङ्घीयताको अर्थ विकेन्द्रीकरण हो ।
बसाइँसराइ सङ्घ र प्रदेश राजधानीमा बढाउनु केन्द्रीकरण हो । भर्नाको समयमा सामुदायिक विद्यालयमा शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । परिणाम यस वर्ष निजी विद्यालयमा विद्यार्थी भर्ना ३५ प्रतिशत पुगेको सार्वजनिक भयो । एसईईको उत्तरपुस्तिका परीक्षण रोकिएको छ । यही वैशाख ११ गते सुरु हुने कक्षा १२ को परीक्षासमेत अनिश्चित भयो ।
भक्तपुरले देशभरिका विद्यार्थीहरूलाई इन्जिनियरिङ शिक्षासहित अन्य विषयमा उच्च शिक्षाको अध्ययनको अवसर दिइरहेको छ । भक्तपुरबाटै विद्यालय शिक्षा नमूना हुने गरी अभियान सुरु गर्नु जरुरी छ । शिक्षकहरू विषयवस्तुमा परिपक्व हुनुका साथै आधुनिक प्रविधिमैत्री र गीत, सङ्गीत एवम् नृत्यमा समेत पोख्त हुनु आवश्यक छ । विद्यालय शिक्षा खेलाउँदै पढाउने हो । नेक्राशिसंघले शिक्षकहरूलाई शिक्षणविधिबारे तालिम व्यवस्था गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा अन्तरक्रियासमेत चालू राख्नु जरुरी छ ।
विश्वका राजनीतिक नेताहरू माक्र्स, एँगेल्स, लेनिन, स्तालिन र माओ त्सेतुङ् पनि शिक्षक नै हुनुहुन्थ्यो । नेपालमा शिक्षकहरू विद्यालय र विश्वविद्यालयका गुरु हुन् भने माक्र्स, एँगेल्स विश्वका मजदुरवर्गका गुरु हुनुहुन्छ । प्यालेस्टिन र युक्रेनमा भइरहेको साम्राज्यवादीहरूको अत्याचारको विरोध गर्न कथा बनाएर भए पनि शिक्षकहरूले विद्यार्थी र अभिभावकहरूलाई बताउनु आवश्यक छ । विद्यालय र विश्वविद्यालयका शिक्षकहरू परिवर्तनको लागि नयाँ पुस्ता तयार गर्ने बारुदखानाका वैज्ञानिकजस्तै हुनु आवश्यक छ । नेमकिपा र शासक दलहरूबिच रहेको सैद्धान्तिक भिन्नताबारे शिक्षकहरूले विद्यार्थीहरूलाई स्पष्टसँग बताउनु जरुरी छ । नेपाल मजदुर किसान पार्टीले राजनीतिलाई देश र जनताको निःस्वार्थ रूपमा सेवा गर्ने थलो बनाएको बारे नेपाली जनतालाई स्पष्टसँग बताउने जिम्मेवारी नेपाल क्रान्तिकारी शिक्षक सङ्गठनको पनि हो । बहुदल र गणतन्त्रको ३५ वर्ष सरकारमा गएका दलहरूले देश र जनताको निःस्वार्थरूपमा सेवा नगरेको यथार्थ देशको सार्वजनिक ऋण २७ खर्ब रुपैयाँ पुगेबाट स्पष्ट हुन्छ । अर्थमन्त्रीले अघिल्लो संसद्मा तलब खुवाउन धौ धौ भएको बताए । देशको अर्थतन्त्र चलाउन नसक्नेहरू सरकारको कुर्सीमा बस्नु हुँदैन, राजीनामा दिनुपर्दछ ।
(नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०८२ वैशाख ७ गते नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा सम्पन्न भक्तपुर नगरस्तरीय शिक्षक भेलामा व्यक्त गर्नुभएको मन्तव्यको सारः सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *