भर्खरै :

व्यापार घाटा बढ्दै जानु परनिर्भरताको सङ्केत हो

व्यापार घाटा बढ्दै जानु परनिर्भरताको सङ्केत हो

सरकारले कृषि वस्तुसमेत आयात गर्दा दैनिक ४ अर्ब १५ करोड रुपियाँको व्यापार घाटा भइरहेको छ । नेपालमै उत्पादन हुने धान, मकै, तेलहन, फलफूल, तरकारीसमेत अर्बौ रुपियाँको आयात हुनु सरकारको असक्षमता होइन र ?
चालु आर्थिक वर्षको ९ महिनामा ११ खर्ब २१ अर्ब ३३ करोड रुपियाँ व्यापार घाटा भएको सार्वजनिक भयो । तथ्याङ्कअनुसार मासिक १ खर्ब २४ अर्ब ५९ करोड रुपियाँ व्यापार घाटा भयो ।
यो तथ्याङ्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ९ महिनामा व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपियाँ थियो भने दैनिक ३ अर्ब ९० करोड रुपियाँ भइरहेको थियो ।
चालू आवको ९ महिनामा ९१ अर्ब २६ करोड रुपियाँको डिजेल आयात भयो । ६६ अर्ब ४ करोड रुपियाँको सोयाबिन तेल (कच्चा), ६३ अर्ब ७३ करोड रुपियाँको स्टिल तथा आइरन, ४७ अर्ब ७७ करोड रुपियाँको पेट्रोल, २५ अर्ब ३८ करोड रुपियाँको स्मार्टफोन, २२ अर्ब ६४ करोड रुपियाँको सनफ्लावर तेल (कच्चा), १७ अर्ब १२ करोडको सुनलगायत आयात भयो ।
नेपालको प्रमुख बालीको रूपमा रहेको धान १८ अर्ब ५ करोड रुपियाँ र चामल १३ अर्ब ७८ करोड रुपियाँको आयात गरिएको हुँदा देश आत्मनिर्भर नभएको पुष्टी भयो । १३ अर्ब ७३ करोड रुपियाँको मकै, ७ अर्ब ३४ करोड रुपियाँको स्याउ, ६ अर्ब ४५ करोड रुपियाँको लसुन र ६ अर्ब २ करोड रुपियाँको आलु आयात गरियो । भारत र चीनलगायतका देशबाट काउली, ब्रो काउली, आलु, टमाटर, प्याजलगायतका विभिन्न तरकारी आयात भइरहेको छ । ५ अर्ब ७८ करोड रुपियाँको बासमती चामल मात्र आयात भयो । स्वास्थ्यलाई फाइदा हुने विश्वकै उचाइमा फल्ने मार्सी धान खेतीलाई सरकारले पूर्ण वेवास्ता ग¥यो ।
चालु आर्थिक वर्षको ९ महिनामा १ खर्ब ८८ अर्ब १९ करोड रुपियाँको मात्र वस्तु निर्यात भयो । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १३ अर्ब ९४ करोड रूपैयाँको वस्तु निर्यात भएको थियो । यसवर्षको ९ महिनामा ६२ अर्ब ७८ करोड रुपियाँको सोयाबिन तेल, ९ अर्ब २३ करोड रुपियाँको सनफ्लावर तेल, ८ अर्ब ९ करोड रुपियाँको कार्पेट, ६ अर्ब २६ करोड रुपियाँको अलैंचीलगायत वस्तुको निर्यात भयो ।
यस वर्षको ९ महिनामा भारतसँग मात्रै ६ खर्ब ३५ अर्ब ७६ करोड रुपियाँको व्यापार घाटा छ । चीनसँग २ खर्ब ४५ अर्ब ६५ करोड रुपियाँ व्यापार घाटा छ । यो तथ्याङ्कले सरकार पूर्णरूपले परनिर्भर सावित हुन्छ ।
गुणस्तरीय मल र उन्नत बीउबिजन, सिँचाइ सुविधा, आधुनिक कृषि उपकरण भए खाद्य बालीको उत्पादन बढाउन सकिन्छ । विदेसिएका युवालाई कृषिमा लगाउने हो भने कृषि उत्पादनमा छिट्टै आत्मनिर्भर हुनेछ । पाखुरामा बल भएका करोड हाराहारी युवालाई विदेश पठाएर देश कसरी आत्मनिर्भर हुन्छ ?
नेपाली जनताको लगानीमा जलविद्युत उत्पादन गर्नेतर्फ सरकारको ध्यान गएको छैन । घरेलु तथा साना उद्योगको विकासले मात्र व्यापार घाटा कम गर्न सकिनेतर्फ सरकार लागेको छैन ।
सरकारको नियमित र चालू खर्चको लागि समेत वैदेशिक सहायता रकमकै भर पर्नुपर्ने राष्ट्रिय योजना आयोगको भनाइ सार्वजनिक भयो । अहिलेको यो तथ्याङ्कले आव २०८२/८३ मा पनि घाटा बजेट प्रस्तुत हुने भयो । शासक दल नेपाली कांगे्रस, एमाले, माओवादी, एकीकृत समाजवादी, मधेशवादी, राजमोलगायत सरकारमा गएका दल विदेशीको गोटी भएको हुँदा धान, मकै, तेलहन, फलफूल, तरकारीसमेत देशमा उत्पादन नभएको हो । समाजवादी गणतन्त्रले मात्र देश आत्मनिर्भर हुनेबारे नेपाली जनता सचेत हुनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *