बैङ्ककमा भीषण बाढी, हजारौँ नागरिक विस्थापित
- आश्विन ११, २०८३
भ्लादीमिर लेनिनको मृत्यु भयो ।
लेनिनको रूपमा संसारले यस्तो व्यक्तिको क्षति सहनुपरेको छ “जो आफ्ना समकालीन महापुरुषमध्ये सबभन्दा तेजिला महाप्रतिभा थिए” भन्ने कुरा दुश्मनको अखडाबाट समेत कतिपय व्यक्तिहरूले इमान्दारीसाथ स्वीकारेका छन् ।
..उहाँको मृत्युपश्चात् छिट्टै लेखिएका उहाँबारेको मेरा सबै लेख बडो पिर परेको अवस्थामा लेखिएका हुन् र राम्रा छैनन् । केही कुरा, जहाँसम्म मलाई लाग्छ, सबैले बुझ्ने शिष्टताको कारणले पनि मैले लेख्न सकिनँ । उहाँ सूक्ष्मदर्शी तथा बडो बुद्धिमान् मानिस हुनुहुन्थ्यो र भनिन्छ, ‘धेरै बुद्धिमा धेरै दुःख’ ।
उहाँ निकै अगाडि देख्न सक्नुहुन्थ्यो । सन् १९१९–१९२१ का सालहरूमा मानिसबारे गुन्दा अथवा कुरा गर्दा केही वर्षपछि उनीहरू कस्ता हुनेछन् भन्ने कुरा प्रायः ठीकठीक भनिदिनुहुन्थ्यो । उहाँले औँल्याइदिनुभएको भविष्यको कुरामा विश्वास गर्ने चाहना सधैँ हुन्थ्यो भन्ने होइन; कैयौँपटक यो पिरलाग्दो पनि हुन्थ्यो, तर दुःखको कुरा छ, कतिपय मानिसहरूबारे उहाँले दिनुभएको निराशाजनक चित्रण सत्य साबित भएको छ । उहाँबारेका मेरा संस्मरण नराम्रोसँग लेखिएका मात्र होइनन्, सिलसिला पनि मिलेको छैन र बिचबिचमा निकै छुट पनि रहन गएको छ । मैले लण्डन महाधिवेशनबाट सुरु गर्नुपर्ने थियो, जसबेला केही व्यक्तिहरूको शङ्का र अविश्वास तथा केहीको खुला दुश्मनीमात्र के भनौँ अझ घृणाको पनि भेलमा उहाँलाई स्पष्टसँग देख्ने मौका मैले पाएँ ।
आजसम्म पनि लण्डनको एक छेउमा अवस्थित हाँसोलाग्दो किसिमले भद्दा देखिने काठको चर्चका नाङ्गा भित्ताहरू म राम्रोसँग सम्झन्छु । गरिब पाठशालाका विद्यार्थीहरू पढ्ने कोठाजस्तै सानो साँगुरो कोठा, त्यसका धर्के झ्यालहरू अहिले पनि मेरा आँखाअगाडि नाचिराख्छन् । यो घर बाहिरबाट हेर्दा मात्र चर्चजस्तो देखिन्थ्यो, भित्र भने पूजा आदिका सरसामग्रीहरूको नाउँसम्म पनि थिएन† पुजारीको सानो टेबुलसम्म पनि कोठाको माझमा नराखिएर कोठाभित्र जाने बाटोमा दुईओटा ढोकाका बिचमा ठड्याइएको थियो ।
यसभन्दा अघि मैले लेनिनलाई भेटेको थिइनँ । उहाँका कृतिहरू पनि धेरै पढेको थिइनँ, हुन त पढ्नुपर्ने हो । तर, जे जति पढ्न भ्याएको थिएँ त्यसले र साथीहरूका निकै श्रद्धापूर्ण वर्णनले म उहाँतिर बेसरी तानिएको थिएँ । जब हाम्रो चिनापर्ची गराइयो, उहाँले मेरो हात दरिलोसँग दबाउनुभयो र तीखा आँखाले मलाई केलाउँदै चिरपरिचित व्यक्तिले झैँ ठट्यौलो स्वरमा भन्नुभयो, “बेस भयो, तपाईँ आउनुभयो । तपाईँलाई लडाइँ त मनपर्छ ? यहाँ ठुलो घम्साघम्सी हुनेछ ।”
मैले लेनिन यस्तो हुनुहोला भन्ने सोचेको थिइनँ । मलाई उहाँमा के त हो नपुगेको जस्तो लाग्यो– अप्ठ्यारो किसिमको उच्चारण, हात कता हो काखीमुनि घुसारिएका, अलि बाङ्गो छाँटले उभिएका । साँच्ची भन्ने हो भने उहाँ असाध्यै साधारण देखिनुहुन्थ्यो, नेतागिरीपनाको कति पनि आभास हुँदैनथ्यो । आफू साहित्यकार भएकाले र आफ्नो व्यवसायको नाताले स–सानो कुरा पनि खोजीनीति गरी हेर्ने मेरो बानी छ । कहिलेकाहीँ त वाक्क पनि लागेर आउँछ ।
जब म गे. भा. प्लेखानोभकहाँ ‘पु¥याइएको थिएँ’, उनी छातीमा दुवै हात बाँधेर उभिएका थिए, उनको हेराइ कडा र उराठलाग्दो थियो, त्यसरी नै हेरिराखेका थिए जसरी आफ्नो कामले पट्टाएको अध्यापक अर्को थपिन पुगेको नयाँ विद्यार्थीलाई हेर्दछ । उनले बडो चल्तीको वाक्य दोहो¥याइदिएः “म तपाईँको प्रतिभाको पुजारी हुँ ।” यसबाहेक मेरा सम्झनामा अड्नसक्ने अरू केही भनेनन् र महाधिवेशनको समत्रि नै न उनलाई न त मलाई नै ‘आत्मीय’ कुराकानी गर्ने इच्छा जाग्यो ।
तालु खुइलेका, अलि अप्ठ्यारोसँग बोल्ने, हृष्टपुष्ट यी मानिस भने एउटा हातले ठुलो निधार पुछ्दै, अर्कोले मेरो हात तान्दै निकै ज्यूँदा आँखा चम्काउँदै तुरुन्त नै ‘आमा’ पुस्तकका कमजोरीहरू बताउन थाले । इ.पा. लादीज्निकोभसँग लिएर उनले पाण्डुलिपि नै पढिसकेका रहेछन् । मैले किताब आत्तुरीमा लेखिएको कुरा बताएँ तर हतारिनुको कारण भन्न भ्याएको थिइनँ, लेनिनले समर्थन गर्दै टाउको हल्लाउनुभयो र आफैले प्रस्ट पार्नुभयो, हतारिएको अति राम्रो, किताब जरुरी थियो, क्रान्ति आन्दोलनमा कैयौँ मजदुरहरूले अचेतनरूपमा नै अकस्मात् भाग लिएका थिए र अब उनीहरू ‘आमा’ पढेर निकै फाइदा पाउनेछन् ।
‘अति समयोचित पुस्तक’ उहाँले गर्नुभएको यो एकमात्र प्रशंसा भए तापनि मेरा निम्ति औधि मूल्यवान् थियो । तत्पश्चात्, उहाँले कार्यतत्परतासाथ के सोध्नुभयो भने ‘आमा’ विदेशी भाषाहरूमा उल्था भइरहेको छ कि छैन, रुसी र अमेरिकी सेन्सरहरूले पुस्तकमा कत्तिको नोक्सान पु¥याए । लेखकमाथि मुद्दा चलाइने निधो गरिएको छ भन्ने थाहा पाएर उहाँले पहिले त निधार खुमच्याउनुभयो तर पछि टाउको उठाएर आँखा चिम्लनुभयो र एकदमै असाधारण हाँसो हाँस्नुभयो । उहाँको हाँसोले मजदुरहरूलाई तान्यो ।…
… अनि भ्लादीमिर इल्यीच छिटोछिटो मञ्चमा उक्लनुभयो, सही उच्चारण गर्न नसक्ने छाँटले पहिलो शब्द ‘ताभारिशी’ भन्नुभयो । उहाँ राम्रोसँग बोल्न सक्नु हुँदोरहेनछ भन्ने मलाई लाग्यो, तर एक मिनेटपछि नै म पनि अरू सरह उहाँको भाषणमा दत्तचित्त हुन पुगेँ । राजनीतिका जटिल विषयहरूबारे यस्तो सरल किसिमले बोल्न सकिँदोरहेछ भन्ने कुरा म पहिलोपटक देख्दै थिएँ । उहाँ सुन्दर–सुन्दर वाक्य रच्ने प्रयास गरिरहनुभएको थिएन, तर प्रत्येक शब्दलाई, उसको ठीकठीक अर्थलाई छर्लङ्ग्याएर अगाडि राखिदिनुहुन्थ्यो । उहाँको बोलीको असाधारण प्रभावलाई यहाँ व्यक्त गर्नु त्यति सजिलो छैन ।
उहाँको हात अगाडि बढेको र हत्केला अलिकता माथि फर्केको थियो । मानौँ ऊ त्यसले प्रत्येक शब्द जोखिरहेको थियो । उदारवादी पुँजीवादीका पछिपछि हैन, सँगसँगै पनि हैन, आफ्नै बाटोबाट हिँड्ने कामदारहरूको अधिकार र कर्तव्यलाई प्रमाणित गर्दै घतलाग्दो तरिकाले विरोधीहरूको भनाइलाई पन्छ्याइरहेको थियो । यो सब एकदम असाधारण थियो । उहाँ, लेनिन आफ्नो तर्फबाट हैन, इतिहासको आदेशअनुसार बोलिरहनुभएको छ भन्ने लाग्दथ्यो । उहाँको वक्तव्यको एकबद्धता, पूर्णता, सोझोपना र शक्ति तथा मञ्चमा उभिनुभएका स्वयम् उहाँ–दुरुस्त शास्त्रीय कलाका कृति हुनुहुन्थ्यो, सब कुरा छ, कुनै पनि नचाहिँदो अलङ्कार छैन, कतै भएको खण्डमा पनि देखिदैन, अनुहारमा दुई आँखा, हातमा पाँच औँला जत्तिकै त्यो स्वाभाविक लाग्दछ ।
समयको ख्यालले उहाँले पूर्ववक्ताभन्दा कम बोल्नुभएको थियो, प्रभावको दृष्टिले भने निकै बढी । म एकजनालाई मात्र यस्तो लागेको हैन, मेरो पछाडि बस्नेहरू पनि आश्चर्यचकित भएर कानेखुसी गर्दथे :
“बेजोड वक्तव्य…”
हुन पनि हो, उहाँको प्रत्येक तर्क त्यसमा निहित शक्तिले गर्दा आफैँ छर्लङ्ग हुन्थ्यो ।
मेन्शेभिकहरू निसङ्कोचरूपले के देखाइरहेका थिए भने लेनिनको भाषण उनीहरूलाई कति पनि मन परेको छैन र स्वयम् उहाँलाई त उनीहरू अझ बढी रुचाउँदैनन् । व्यवहारलाई चारैतिरबाट जाँच्नका लागि पार्टी क्रान्तिकारी सिद्धान्तको माथिल्लो स्तरमा उक्लनुपर्छ भन्ने कुरा लेनिन जति घतलाग्दो पाराले प्रमाणित गर्नुहुन्थ्यो उत्तिकै क्रोधपूर्ण आवाजहरू उहाँको भाषणमा बाधा दिन तम्सन्थे :
“महाधिवेशन दर्शनशास्त्रको मञ्च हैन !”
“पढाउनुपर्दैन । हामी स्कूले ठिटा हैनौँ !”
अग्लो, पसलेको जस्तो अनुहार भएको दाह्रीवाल विशेष कोसिस गरिरहेको थियो, बेञ्चबाट उठेर भकभकाउँदै भन्दथ्यो :
“ष–षड–यन्त्र…ष–षडयन्त्र हुँदै छ । ब–ब्लान्कियाहरू !”
रोजा लक्जेम्वर्ग ध्यानसँग सुन्दै टाउको हल्लाइरहेकी थिइन्, उनले एक बैठकमा मेन्शेभिकहरूलाई बडो राम्रोसँग जवाफ दिइन् :
“तपाईँहरू माक्र्सवादमा उभिनुभएको छैन, बस्नुभएको छ, अझ त्यसमै सुत्नुभएको छ ।”
अधैर्य, व्यङ्ग्य, घृणाको रिसाहा बतास बैठक कोठाभरि रिङ्रिङ्ती घुमिरहेको थियो, सयौँ आँखा भिन्दाभिन्दै रूपमा लेनिनको आकृतिलाई उजिल्याइरहेका थिए । उहाँ शत्रुतापूर्ण विरोधले औताउनुभएको देखिनुहुन्थ्यो । उहाँको बोलाइ जल्दोबल्दो तर सारपूर्ण र शान्त थियो, केही दिनपछि मात्र मलाई थाहा भयो, यस्तो शान्त बोलाइका लागि उहाँले कत्रो मेहनत गर्नुपरेको थियो । किन दुःख र आश्चर्य लागेर आउँथ्यो भने उहाँप्रति शत्रुतापूर्ण धारणा अपनाइनुको कारण एउटा साधारण स्वाभाविक विचारमात्र थियो : सिद्धान्तको उचाइबाट मात्र पार्टीले झै–झगडाको कारण बुझ्न सक्दछ । मलाई के प्रभाव पर्यो भने महाधिवेशनको प्रत्येक दिनले भ्लादीमिर इल्यीचलाई नयाँ–नयाँ बल दिन्छ, उहाँलाई हँसिलो र दरिलो पार्दछ । दिनानुदिन उहाँका भाषणहरू झन्झन् दृढ हुँदै जान्थे र महाधिवेशनमा भाग लिएका सबै बोल्शेभिकहरू दरिला, कडा हुँदै थिए । उहाँका भाषणबाहेक मलाई मेन्शेभिकविरुद्धको रोजा लक्जेम्वर्गको भाषणले पनि झन्डै त्यत्तिकै उमङ्गित तुल्यायो ।
फुर्सदको क्षण लेनिन कामदारहरूका माझमा देखिनुहुन्थ्यो । स–साना घरायसी कुरासम्म पनि उनीहरूलाई सोध्नुहुन्थ्यो ।
“अँ, स्वास्नीमानिसहरूको के खबर छ ? घर–व्यवहारले डुबाइसक्यो ? तैपनि, पढ्छन् ?”
लेनिनलाई पहिलोपटक देखेका केही मजदुरहरूका बिच उहाँको चालचलन र व्यवहारबारे हाइड पार्कमा कुरा चल्यो । एक जनाले असरपर्दो पाराले भन्यो :
“मलाई थाहा छैन, यहाँ युरोपमा मजदुरहरूको आफ्नै त्यस्तै बुद्धिमान् मान्छे हुनसक्ला, बेबेल अथवा अरू कोही । तर, यो मानिसलाई जस्तै तुरुन्तै मन पराइने अरू कुनै मानिस होला भनी पत्याउन सक्दिनँ ।”
अर्को मजदुरले भन्यो :
“यो– हाम्रो हो ।”
उसको कुरा काट्दै अर्कोले भन्यो :
“प्लेखानोभ पनि हाम्रो ।”
मैले बडो घतलाग्दो उत्तर सुनेँ :
“प्लेखानोभ हाम्रा गुरु हुन्, हाम्रा साहेब हुन्, लेनिन हाम्रा नेता र साथी हुन् ।”
एक जना तन्नेरीले व्यङ्ग्यात्मक टिप्पणी गर्यो :
“प्लेखानोभलाई लामो फ्रककोटले त अचेटेको छ ।”
एउटा घटना । रेष्टुराँ गइरहेको बेला भ्लादीमिर इल्यीचलाई एक जना मेन्शेभिक मजदुरले बाटोमा केही कुरा सोध्न रोक्यो । लेनिनले आफ्नो हिँडाइ धीमा पार्नुभयो, अरू साथीहरू भने अगाडि बढे । पाँच मिनेटपछि रेष्टुराँ आएर निधार खुम्च्याउँदै उहाँले भन्नुभयो :
“गजबको कुरा, यस्तो अबोध तन्नेरी पार्टीको महाधिवेशनमा आइपुग्यो । मलाई सोध्यो : मतभेदको वास्तविक कारण के हो ? हेर न, मैले भनेँ, तिम्रा साथीहरू संसद्मा विराजमान हुन चाहन्छन् तर हामीलाई विश्वास अर्कै के कुरामा छ भने मजदुरवर्गले घमासानका लागि तयारी गर्नुपर्दछ । बुझ्यो जस्तो छ…”
केही साथीहरूको जमातमा सधैँ त्यही सानो सस्तो रेष्टुराँमा हामी खाना खान्थ्यौँ । भ्लादीमिर इल्यीच एकदम कम खानुहुन्थ्यो भन्ने कुरा मेरा आँखाबाट लुकेन : दुई–तीनओटा फुलको अमलेट, सानो टुक्रा चिसो मासु, एक कटौरा बाक्लो कालो जाँड । उहाँ आफूबारे हेलचेक्रयाइँ गर्नुहुन्छ भन्ने कुरा स्पष्ट देखिन्थ्यो, तर मजदुरहरूबारेको उहाँको ठुलो चासोले मलाई अचम्मित पाथ्र्यो । उनीहरूको खानपिनको प्रबन्ध मा. फ्यो. आन्द्रेएभा गर्थिन्, उहाँ उनलाई सोध्ने गर्नुहुन्थ्यो :
“तपाईँलाई कस्तो लाग्छ, साथीहरू आधा पेट मात्रै त खाँदैनन् ? अघाउँछन् ? म्ह, म्ह… कि सैन्डबिच थप्नुपर्ला ?”
आफू बसेको होटलमा आइपुग्दा मैले एकपटक के देखें भने उहाँ चिन्तित मुद्रामा ओछ्यान छाम्दै हुनुहुन्छ ।
“यो तपाईँ के गरिराख्नुभएको ?”
“हेर्दै छ, तन्ना ओसिएका त छैनन् भनेर ।”
मैल उत्तिखेरै बुझ्न सकिनँ : लण्डनमा कस्ता तन्ना हुन्छन् भन्ने, उहाँलाई किन चाहिएको ? अनि म जिल्ल परेको देखेर उहाँले प्रस्ट गर्नुभयो :
“तपाईँले आफ्नो स्वास्थ्यको हेरविचार गर्नु जरुरी छ ।”
सन् १९१८ को शरद्मा मैले सोर्मोभवासी मजदुर दिमीत्री पाभ्लोभलाई, उनको विचारअनुसार, लेनिनको विशिष्ट विलक्षणता के हो भनी सोधेँ ।
“सरलपना । सत्य जत्तिकै सरल ।”
उनले नै राम्रोसँग विचार गरी निर्णय गरिसकेको जसरी उनले भने ।
थाहा भएकै कुरा हो, मानिसलाई सबभन्दा बढी नाटीकुटी गरी ऊसँग काम गर्ने कर्मचारीहरू जाँच्दछन् । तर, लेनिनका मोटरचालक, भुक्तभोगी मानिस गिल भन्दछन् :
“लेनिन विशेष किसिमका हुनुहुन्छ । त्यस्ता मानिस छैनन् । म्यास्नीत्स्काया सडकमा मोटरमा गइरहेका थिए, बडो तन्मयताका साथ मोटर चलाइरहेको थिएँ, मोटर बिगारिदिन्छन् कि भन्ने डर थियो, सङ्केत घण्टी दिन्थेँ, आत्तिरहेको थिएँ । उहाँले ढोका खोल्नुभयो, लड्ने डर हुँदाहुँदै पनि मोटरको पाउदा नहुँदै उहाँ मेरो आसनसम्म आइपुग्नुभयो र अनुरोध गर्न थाल्नुभयो : “गिल, न आत्तिनुस् सबै जसरी हिँडिरहेछन् त्यही चालमा हाँक्नुस् ।” म पुरानो ड्रात्र हुँ, मलाई थाहा छ यस्तो कसैले पनि गर्दैन ।”
उहाँमा परेका सबै छापहरू एउटै प्रवाहमा मिसिने त्यो स्वाभाविकता र लचिलोपना यहाँ प्रस्तुत गर्नु, चित्रण गर्नु गा¥हो छ ।
दिशासूचक यन्त्रको सुईझैँ उहाँको सोचाइको चुच्चो जहिलेसुकै कामदार जनताको वर्गीय हिततिर फर्केको हुन्थ्यो । लण्डनमा एक साँझ हामीलाई फुर्सद भयो, केही साथीहरू मिली प्रजातान्त्रिक नाट्यघर, ‘म्युजिक–हल’ गयौँ । भ्लादीमिर इल्यीच विदूषकहरू, ‘लवार–पाँडेहरू’ लाई हेर्दै तत्परतासाथ सरुवा हाँसो हाँसिराख्नुभयो । बाँकी कार्यक्रम सामान्य अभिरुचिका साथ हेर्नुभयो र ब्रिटिस कोलोम्बियाका मजदुरहरूले रुख काटेको दृश्यमा विशेष ध्यान दिनुभयो । सानो दृश्यमा जलको क्षेत्र देखाइएको थियो, त्यहीँ भुइँमा दुई जना खाइलाग्दा तन्नेरीले एक मिनेटमा करिब एक मिटरको रुखको फेद छुट्याइदिए ।
क्रमशः
स्रोत : हुरी चराको गीत र अरु कथाहरू
Leave a Reply