भर्खरै :

सिद्धिदाता गणेशको महिमाबारे सङ्क्षिप्त चर्चा

  • बैशाख १४, २०८२
  • विश्वमोहन जोशी
  • विचार
सिद्धिदाता गणेशको महिमाबारे सङ्क्षिप्त चर्चा

वैदिक सनातन हिन्दू धर्मका कथा पुराणहरूमा वर्णन गरिएका थुप्रै देवी देवताहरूमा चर्चित देवता गणेश पनि एक हो । कुनै पनि कार्य सुरु गर्नुभन्दा अगाडि सो कार्य निर्विघ्नताका साथ, सफलताका साथ पूर्ण होस् भन्ने कामना राख्दै पूजा अर्चना गर्नैपर्ने देवताको रूपमा यो देवतालाई लिइन्छ । यस्तो महत्व पाउने गणेशको परिवारको सम्बन्धमा उसलाई महादेव र देवी पार्वतीको पुत्रको रूपमा लिइन्छ । भाद्र शुक्ल चतुर्थीका दिन जन्मेका गणेशका दुई पत्नीहरू ऋद्धि (समुन्नति) र सिद्धि (सफलता) छन् । कतै बुद्धि नामकी तेस्रो पत्नी पनि छिन् भनी लेखिएको पाइन्छ । शुभ र लाभ उनका दुई भाइछोरा हुन् भने माता सन्तोषी छोरी हुन् । कुमार कार्तिकेय महादेवका जेठो पुत्र मनिन्छ । पुराणहरूमा उल्लेख भएअनुसार गणेशका कैयौँ नामहरू छन् । जस्तैः– गणेश, गणपति, विनायक, गजानन, विघ्नबाधा हराउने भएकोले विघ्नहर्ता, सिद्धि दाता, मङ्गल मूर्ति आदि । शिवगणका ईश्वर, पति, नाइके भएकोले गणेश, गणपति, विनयशील भएकोले विनायक, हात्तीको टाउको भएकोले गजानन विघ्नबाधा हराउने भएकोले विघ्नहर्ता, हरेक कार्य सफलतापूर्वक सम्पन्न गराउने भएकोले सिद्धिदाता, यिनको मूर्ति वा चित्रमात्र दर्शन गरे पनि मङ्गल हुन्छ भनी मूर्ति मङ्गल आदि भनियो !
अब हामी गणेशको स्वरूप र त्यसले प्रतीकात्मक रूपमा दिन खोजेको सन्देशबारे चर्चा गरौँ । उसको टाउको हात्तीको जस्तो देखिन्छ । पशुहरूमा हात्तीलाई बुद्धिमान मानिन्छ । यसले बुद्धिमत्तातर्फ सङ्केत गरेको देखिन्छ । हामी चारहाते, छ हाते, आठहाते वा १६ हाते गणेशको मूर्ति वा चित्रहरू देख्छौँ । तर, प्रायः चारहाते गणेशकै मूर्ति वा चित्रहरू देख्छौँ । ती हातमा एउटा अभय मुद्रामा रहेको पाइन्छ भने अरु हातहरू विविध आयुघमा कमलको फूल, लड्डु भएको भाँडो, डोरी, मुला आदि धारण गरिरहेको हामी देख्छौँ । यी विविध वस्तु हतियारले प्रतीकात्मक रूपमा के दर्शाउन खोजेको छ त एकपटक विचार गरौँ । गणेशले समातेको अङ्कुशले गलत कार्य गर्नमा अङ्कुश लगाई त्यसो गर्नबाट जोगिन र सुमार्गतर्फ लाग्न सङ्केत गर्छ । बञ्चरोले काठ चिरेजस्तै असहाय, गरीब, गरी खाने वर्गप्रति गरिने शोषण, दमन आदि कुकृत्यहरू चिर्नुपर्ने, टुक्राटुक्रा पार्नुपर्ने कर्तव्यबोध गराउँदछ । इच्छा वा स्वार्थ वा पासोतर्फ डोरीले सङ्केत गरेको छ । व्यक्तिगत स्वार्थ, लोभलालचरूपी पासो वा डोरीबाट हामी बाँधिनु हुँदैन । हिलोको बिच फुलेर पनि यति कमल सफा र सुन्दर रहेको हुन्छ । हामी पनि व्यक्तिगत कलुषित लोभलालचको भूमरीबाट मुक्त भई कमलको फूलझँै सुन्दर, सफा देखिनुपर्छ । निरङ्कुश पुँजीवादी एवं सामन्ती सोच र व्यवहारबाट समाजलाई मुक्त पारी कमलको फूलजस्तै सुन्दर, प्रिय समाजवादी चिन्तन र समाजवादी व्यवस्था स्थापित गर्नेतर्फ उन्मुख हुनुपर्छ भन्ने तन्मयको प्रतीकात्मक अर्थ डोरी र कमलको फूलले दिन्छ । यस्तो कार्य गर्ने हामीलाई हौसला दिने, अभयदान गर्ने उद्देश्यले गणेशको एउटा हात अभयदान मुद्रामा रहेको हामी पाउँछौँ । जब हामी शोषणरहित समतामूलक समाजवादी व्यवस्था समाज स्थापना गर्छौँ हामी सबै आनन्दित हुनेछौँ । अनि गणेशको हातमा रहेको मिठो लड्डु खाएसरह भइहाल्यो । अब उसलाई मनपर्ने मुला र डुबोको कुरा गरौँ । यसले मानव जाति आरोग्यतातर्फ सङ्केत गरेको छ । किनभने, जनै खटिरा आउँदा डुबो र पाचनक्रियालाई बलियो पार्न हामी मुला प्रयोग गर्छाँै । ठुलो शरीर भएको गणेशको बाहनको रूपमा सानो मुसा रहेको छ । आश्चर्यलाग्दो छ वा हाँसोलाग्दो छ – त्यो मुसा बाहन र भीमकाय शरीर गणेशको देख्दा । राम्रो नराम्रो मगन्ते महाजन आदि भनेर कसैलाई पनि हेप्नु हुँदैन किनभने कुन बेला के काम लाग्छ भन्न सकिन्न । पिता महादेवको आदेशअनुरूप सुमेरु पर्वत परिक्रमा गर्न मयुर चढेर दाजु कुमार उडेपछि भाइ गणेश मुसा चढेर परिक्रमा गर्न जानु कम गा¥हो थिएन । यस्तो परिस्थितिमा त्यही मुसाको सल्लाहअनुसार आफ्नो पिता महादेव र माता पार्वतीलाई नै सुमेरु मानी परिक्रमा गरी पिताबाट गणेशजीले कसैले पनि केही कार्य थालनी गर्नुभन्दा अगाडि गणेशको पूजा अर्चना सर्वप्रथम गर्नुपर्ने वरदान पाएर अहिलेसम्म हामी उसलाई पूजा गर्दै आएका छौँ । टोलटोलमा उसको मूर्ति र मन्दिर भएको हामी देख्छौँ । अर्ती भनेको धर्तीको पनि सुन्नु पर्छ, मान्नु पर्छ भन्ने तथ्यलाई यो घटनाले पुस्टि गर्छ । कसैलाई पनि हेला गर्नु हुँदैन भन्ने शिक्षा हामी पाउँछौँ । त्यस्तै गणेशको गर्धनमा सर्पलाई जनैको रूपमा धारण गरेको हामी पाउँछौँ । सर्पको बिष काम पनि लाग्छ । खतरनाक पनि छ । हामी सकारात्मक तथा नकारात्मक दुबै सँगसँगै भएको पाउँछौँ । यही भाव देखाउन खोजिएको छ । सर्पले साङ्केतिक रूपमा तन्दुरुष्टी पुनर्जन्म, उब्जाउ आदिको भाव पनि देखाउँछ भनिन्छ । यस्तो आकृतिको गणेशको मूर्ति वा चित्र बिहान सबेरै दर्शन गरेपछि हामीलाई अद्भूत किसिमको आनन्दको अनुभूति हुन्छ । अनि हामीमा सकारात्मक ऊर्जा उत्पन्न हुन्छ । त्यसको फलस्वरूप दिनभरिको हाम्रो कार्य सफलतापूर्वक सम्पन्न गर्न सहयोग मिल्ने भयो । त्यसैले गणेश मङ्गल मूर्ति भनेको भनी हामीले बुझ्नुपर्छ ।
मङ्गलबारको दिन, मङ्गल चौथीको दिन भाद्रशुक्ल चतुर्थीको गणेश चौथी वा च्वथाको दिन गणेशकोे विशेष पूजा अर्चना गरिन्छ । सबभन्दा महत्व गणेश चौथी (च्वथा) को दिन दिइन्छ । त्यो दिनलाई सानो दशैँको दिन भनिन्छ । यो दिन भने गणेशजीको बाहनको रूपमा सिंह रहेको हामी पाउँछौँ । अरु देवी देवताभन्दा गणेश पनि कम महत्व छैन भन्ने तथ्यतर्फ यसले सङ्केत गर्छ । आफूलाई सुन्दर मान्ने चन्द्रमाले गणेशको स्वरूप हेरी गिज्याउन थालेपछि रिसाएर गणेशले गणेश चौथी वा च्वथाको दिन चन्द्रमाको दर्शन गर्ने मानिसलाई चोरीको दोष लाग्छ भनी श्राप दिएकोले चन्द्रमाको दर्शन त्यो दिन गर्नु हुँदैन भनिन्छ । गिज्याउने चन्द्रमा, दोष व्यहोर्नु पर्ने अर्कै मानिस हामीलाई अद्भूत लाग्छ । त्यसको के–कारण रहेछ भने २७ वटा नक्षत्रहरूका चन्द्रमा स्वामी गुरु बृहस्पतिकहाँ अध्ययन गर्न जाने क्रममा गुरु पत्नी तारासित अनैतिक सम्बन्ध राख्दा बुध ग्रह जन्मेको थियो । गुरु बृहस्पतिले क्रुद्ध भई चन्द्रमालाई कुष्ठरोगी हुनुपर्ने श्राप दिएकोले कृष्णपक्षको १५ दिन रोग बढ्दै जाने र औँशीको दिन दुखाइ चरम सीमामा पुग्ने तथा शुक्लपक्षको १५ दिनमा दुखाइ क्रमशः घट्दै गएर पूर्णिमाको दिन पूर्ण आराम हुने भएकोले पूर्णिमाको दिन पूर्ण चन्द्र देखिने र औँशीको दिन पूर्ण लुप्त हुने भन्ने कथा पाइन्छ ।
चन्द्रमाले अर्काको खिसिट्युरी गर्ने गुरु आमा नै बाँकी नराख्ने यस्ता दुश्चरित्रका व्यक्तिसँग जो कोहीले पनि सङ्गत गर्छ भने उसले सङ्गतअनुसार फल पाउने भयो । गणेश चौथीको दिन चन्द्रमा दर्शन गर्ने भनेको त्यस्ता गलत प्रवृत्तिको व्यक्तिसँग सङ्गत गर्नेजस्तै भयो । अतः यहाँनिर पनि हामीलाई दुष्ट शोषक, भ्रष्टाचारी, सामन्त तथा पुँजीपतिहरूसित सङ्गत गर्नु हुँदैन भन्ने पाठ सिकाउँदै छ ।
यस्ता थुप्रै कारणले गर्दा प्रायः हाम्रो हरेक टोलमा जसो एक एक गणेशको मूर्ति, मन्दिर रहेको हामी देख्छौँ । चोभारमा रहेको जलविनायक, चाबहिलमा रहेको चन्द्रविनायक, मरु टोलमा रहेको अशोकविनायक र भक्तपुरमा रहेको सूर्यविनायक अति प्रसिद्ध चार विनायकका मन्दिरहरू हुन् । काठमाडौँको रत्नपार्क रानीपोखरीको छेउमा रहेको आफ्नो शक्ति (पत्नी) सहितको १६ हाते भएको गणेशको मूर्ति र मन्दिर पनि प्रसिद्ध छ । सांस्कृतिक सम्पदाको रूपमा गणेश मन्दिर र मूर्तिहरूको उत्तिकै महत्वपूर्ण छ । पहिले पहिले त विद्यार्थीलाई अक्षर लेख्न सिकाउँदा सर्वप्रथम गणेशाय नमः भन्ने लेख्न सिकाइन्थ्यो । त्यसपछि फ् नमः शिवायः अर्थात् गणेशलाई नमस्कार । कुनै पनि कुरा सिक्नुपर्दा पहिला विद्यार्थीमा नम्रता, विनयता, अनुशासन र आदर भाव हुनुपर्छ भन्ने भावले यी माथिका शास्त्रहरू लेखाउने र सिकाउने गरिन्थ्यो तर पश्चिमी प्रभाव भनौँ या सांस्कृतिक अतिक्रमण भनौँ ‘ए फर अप्पल’ भनेर सुरुमै सिकाउने गरेको धेरै पाइन्छ ।

सन्दर्भ ग्रन्थ सूची
१) जोशी, हरिराम/वि.सं. २०७०/प्रदीप अभिनव संस्कृति विश्वकोष/भक्तपुर : वर्कर्स पब्लिकेसन्स ।
२) दीप, ध्रुवकृष्ण/वि.सं. २०५८/हाम्रो संस्कृति हाम्रो ढुकुटी/ललितपुर : साझा प्रकाशन ।
३) रिजाल कमल/वि.सं. २०७२/पौराणिक पात्र र मिथकहरू/काठमाडौँ : डिकुरी पब्लिकेसन ।
४) सापकोटा, लिला प्रसाद/वि.सं. २०७२/विश्वका प्रमुख धर्म/काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान ।
५) गुगल तथा युट्युवमा पाइने केही वेबसाइटहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *