भर्खरै :

प्रजातन्त्रबारे चीनको विचार र अभ्यास : एक चर्चा

प्रजातन्त्रबारे चीनको विचार र अभ्यास : एक चर्चा

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिले द्विमासिक रूपमा प्रकाशित गर्ने विचारप्रधान बुलेटिन छ्युशी Quishi को भाग १६ अङ्क ७० मा चीनको माटोमा हुर्किरहेको ‘पूर्ण प्रक्रियामा आधारित जनताको प्रजातन्त्र’ अर्थात् ‘Whole – Process People’s Democracy’ बारे मिहीन चर्चा छ । विश्व व्यवस्थामा पश्चिमा प्रजातन्त्र र प्रजातान्त्रिक अभ्यासमाथि प्रश्न चिन्ह उठिरहेको यो समयमा चीनको प्रजातन्त्रबारे छलफल या चर्चा सामयिक नै होला । चीन बोल्छ, “ चीनमा जनताको प्रजातन्त्र समाजवादको प्राण हो । चीनले गर्ने हरेक प्रजातान्त्रिक अभ्यास आधुनिक समाजवादी देश निमार्णका लागि आधार हुन् । ‘पूर्ण प्रक्रियामा आधारित जनताको प्रजातन्त्र’ समाजवादी प्रजातन्त्रलाई परिभाषित गर्ने महत्वपूर्ण कसी हो । चिनियाँ आधुनिकतालाई अझ विकसित बनाउन यो विचारले अहम् भूमिका खेल्दै छ ।” प्रजातन्त्रबारे चीनको यो विचार चिनियाँ आधुनिकीकरणका लागि मात्र होइन चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा अघि बढेको समाजवादी व्यवस्थाको संस्थागत संरचना विकासका निम्ति पनि जरुरी महशुश हुन्छ ।
‘पूर्ण प्रक्रियामा आधारित जनताको प्रजातन्त्र’ को विचारलाई नेता सी चिङफिङले हुर्काउनुभएको हो । माक्र्स, एङ्गेल्स, लेनिनले अघि बढाउनुभएको सर्वहारा वर्गीय प्रजातन्त्र र अध्यक्ष माओले विकास गर्नुभएको जनताको प्रजातन्त्रको आधारशीलामा नयाँ युगका लागि प्रजातन्त्रको नयाँ परिभाषा र अभ्यास भएको हो भन्न सकिन्छ । ‘जनताको शासन जनताको सेवाका लागि’ भन्ने विचारको अभ्यास चीनमा भइरहेको छ । सन् १९२१ बाटै चीनमा जनताले नेतृत्व गर्ने समाजको पकिल्पना सुरु भयो । सन् १९२७ बाट १९३७ मा भएको कृषि क्रान्तिको अवधिमा चिनियाँ सोभियत गणतन्त्रको स्थापना भयो । जापानी उपनिवेशविरुद्धको प्रतिरोध युद्धताका (१९३७ — १९४५) येनान र शान्सी, गान्सु—निङ्सिया सीमा क्षेत्रमा जापानी सेनाविरुद्ध प्रजातान्त्रिक राजनीतिक शक्ति केन्द्र स्थापना गरिएको थियो । जसमा ‘तीन—तेस्रो’ Three Thirds को सिद्धान्तअनुरूप कम्युनिस्ट पार्टीका सदस्य, प्रगतिशील विचार बोक्ने र मध्यमार्गी धारणा राख्ने तीन पक्ष सहभागी थिए । सन् १९४९ मा जनगणतन्त्र चीनको स्थापनापछि चिकपाले रचनात्मक ढङ्गबाट माक्र्सवादी सिद्धान्त प्रयोग गरी समाजवादी राज्य व्यवस्था अघि बढायो । विस्तारै राज्य प्रणाली, शासन प्रणाली, राजनीतिक बन्दोबस्त र आर्थिक व्यवस्था निर्माणको गति अघि बढ्यो । प्रजातान्त्रिक अभ्यासको यो सिलसिलाबारे चिकपा केन्द्रीय समितिको नीति अनुसन्धान अफिसका उपनिर्देशक शि झिहोङले लेखेका छन् ।
प्रजातन्त्रमा राजनीति र अर्थतन्त्रको आधार जनता हुन्छन् । जनताको आकाङ्क्षा र शक्तिले प्रजातन्त्र बलियो हुन्छ भन्ने अनुभव चीनको हो । अध्यक्ष माओले चीनमा समाजवादी व्यवस्था निर्माणको चरणमा ‘जनताको प्रजातन्त्र’ को धारणा विकास गर्नुभयो । आधुनिक चीनमा परामर्शमा आधारित प्रजातन्त्रको अभ्यास भयो । चीनमा चिकपाबाहेक आठ अन्य राजनीतिक दल छन् । जनताको अभिमतसहित ती दलहरू र सम्बन्धित निकायसँगको परामर्शबाट चीनको प्रजातन्त्र बलियो बनेको हो । अहिले राष्ट्रिय—अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरेका थुप्रै चुनौतीसँग सामना गर्दै आधुनिक समाजवादी चीन निर्माण र पुनर्जागरणका लागि ‘पूर्ण प्रक्रियामा आधारित जनताको प्रजातन्त्र’ को विचार विकास भएको बुझ्न सकिन्छ । प्रजातन्त्रप्रति जनताका नयाँ आकाङ्क्षा र अपेक्षा पूरा गर्न, विधिको शासन हुर्काउन चीन प्रतिबद्ध देखिन्छ ।
‘पूर्ण प्रक्रियामा आधारित जनताको प्रजातन्त्र’ इतिहास, माक्र्सवादी सिद्धान्त र अभ्यासको आधारशीलामा आधुनिक समयमा चिनियाँ जनताका प्रयत्नहरूको प्रतिफल हो भन्न सकिन्छ । त्यतिमात्र होइन चिकपाको उद्देश्य र नेतृत्वको नतिजा पनि हो यो विचार । यो व्यवस्थामा हरेक सङ्घसंस्था सङ्गठित प्रक्रियामा जाने पूर्ण तयारी र कार्यान्वयनमा जोड दिइन्छ । चिनियाँ व्यवस्थामा पार्टीको नेतृत्व सबैभन्दा माथि हुन्छ । जनताको सक्रिय सहभागिता, कानुनमा आधारित शासन व्यवस्था, संयुक्त मोर्चा र परामर्शमा आधारित प्रजातन्त्रको आधारमा पार्टी नेतृत्व र सरकार अगाडि बढ्छ ।
चीनको प्रजातन्त्रलाई पूर्ण प्रक्रियामा आधारित किन भनियो ? विधायिकी निर्णयलगायत पार्टी र राज्यले लिने सम्पूर्ण निर्णयहरू प्रक्रिया र प्रजातान्त्रिक विमर्शका आधारमा हुन्छ । हरेक बैठकको एजेन्डा र सङ्कल्प निर्धारणका लागि पार्टी सदस्यहरूसँगै अग्रज पार्टी कार्यकर्ताको धारणा अनुरोध गरिन्छ । अन्य राजनीतिक पार्टीको केन्द्रीय समिति, अखिल चीन उद्योग तथा वाणिज्य महासङ्घ, देशका प्रमुख व्यक्तित्व, बुद्धिजीवी, प्राज्ञ—विज्ञ र सङ्घसंस्थाबाट सल्लाह सुझाव सङ्कलन गरिन्छन् । २० औँ चिकपा केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका लागि यही प्रक्रिया अभ्यास गरियो । त्यतिबेला सङ्कलित धारणा र सल्लाहअनुसार प्रस्तुत दस्ताबेजमाथि २२१ पटक संशोधन भएको जानकारी छ । पार्टी दस्ताबेज या सरकारको योजनामाथि जनस्तरबाट छलफल र सुझाव सङ्कलन गर्नु नै प्रजातन्त्र हो ।
चुनाव या निर्वाचनमा मात्र होइन प्रजातन्त्रको निर्माण प्रक्रियामा समेत सम्पूर्ण जनताको सहभागिता अनिवार्य हुनुपर्छ भन्ने विचार चीनको हो । राष्ट्रपति सी भन्नुहुन्छ, “जनतालाई चुनावमा भोट लिन मात्र जगाउने त्यसपछि शीतनिद्रा या हाइबरनेसनमा पठाउने हो भने, जनतालाई चुनाव प्रचार अभियानमा मात्र बोलाउने त्यसपछि जनआवाज राख्ने मौका या ठाउँसमेत नदिने हो भने त्यो साँचो प्रजातन्त्र होइन, प्रजातन्त्रको उपहास हो ।” यसर्थ, पूर्ण प्रक्रियामा आधारित प्रजातन्त्र चुनावी प्रजातन्त्र र परामर्शमा आधारित प्रजातन्त्रको सुन्दर योग हो भन्न सकिन्छ । चीनमा मजदुर र किसानको अधिनायकत्व छ अर्थात् मजदुर र किसानको एकता छ । शासन प्रणालीमा जनकाङ्ग्रेस, राजनीतिक प्रणालीमा चिकपा नेतृत्वको बहुदलीय सहकार्य र राजनीतिक परामर्श, क्षेत्रीय जातीय स्वायत्तताको प्रणाली, समुदाय तहको स्वशासन प्रणाली चीनको राज्य व्यवस्थाको प्रणाली या विशेषता हो । यही प्रणालीका आधारमा सम्भावित देशभक्त संयुक्त मोर्चाहरू खडा गरी बहुआयामिक, खुला, व्यवस्थित प्रणाली या च्यानलहरू बनाइन्छन् । जनतालाई प्रजातान्त्रिक निर्वाचनमा, परामर्श, निर्णय प्रक्रिया, व्यवस्थापन र निरीक्षणजस्ता सम्पूर्ण प्रक्रियामा सामेल गराउनु पर्ने कानुनी व्यवस्था नै छ । यसले देशको आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक, पर्यावरणीय र अन्य क्षेत्रमा जनताको भूमिका र दायित्व पनि प्रत्याभूत गर्दछ । जनतालाई सरकारको आलोचना गर्ने अधिकार पनि हुनुपर्छ ।
चीनमा मानव अधिकार पूर्णतः संरक्षित छ । चीनले संसारमै सबैभन्दा ठुलो आकारमा सामाजिक सुरक्षा प्रणाली स्थापित गरेको छ । एक अर्ब ३० करोड जनतालाई आधारभूत स्वास्थ्य बिमाको सुविधा छ । त्यसमध्ये ज्येष्ठ नागरिकलाई दिइने सघन सेवा एक अर्ब जनतालाई छ । अहिले चिनियाँ जनतालाई अभाव थाहा छैन, सबै पुगीसरि छ । चिनियाँ जनता सुखी छन्, सुरक्षित छन् । जीवन निर्वाह, विकास र स्वास्थ्य सुविधाको ग्यारेन्टी छ । आर्थिक, राजनीतिक, सांस्कृतिक, वातावरणीय, सामाजिक अधिकार सुनिश्चित छ । चीन गरिबीविरुद्धको लडाइँमा विजयी बनिसकेको देश हो । मध्यम ढङ्गको समृद्धिबाट समाज समृद्धितिर अघि बढ्दै छ । साझा समृद्धि, आधुनिक समाज निर्माण चिनियाँ जनताको भविष्य हो । सन् २०४९ अर्थात् जनवादी गणतन्त्र स्थापनाको सय वर्षसम्ममा चीन पूर्णतः आधुनिक समाजवादी देश बन्ने पक्का छ । यसरी मानव अधिकार सुनिश्चित गर्नु र देश अनि जनताको भविष्यको प्रत्याभूति गर्नु प्रजातन्त्र हो भन्ने विचार छ्युशीको हो ।
जनता केन्द्रित विकास, सुशासन, इतिहासको पुनर्जागरण, चिकपाको बलियो नेतृत्व, माक्र्सवादी विचार, आर्थिक सुधार र खुलापनको व्यापक अन्तर्राष्ट्रियकरण, विज्ञान र प्रविधिको विकासमा विशेष जोड, परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यहरूले चीनको प्रजातन्त्रलाई निर्विवाद मलजल गरेको छ । यी फरक र परिपूरक विषय र क्षेत्रहरूमा चीनको विकासको शब्दचित्र पनि यस अङ्कमा देख्न पाइन्छ ।
चिनियाँ विशेषताको समाजवादको एउटा विशेषता प्रजातान्त्रिक अभ्यास नै हो । सहकार्य, सहभागिता, लाभ बाँडफाँड गर्ने चिनियाँ संस्कृति प्रारम्भिक कमिटिदेखि माथिल्लो निकायसम्म छ । चीनको प्रजातान्त्रिक अभ्यास मानव समाजको राजनीतिक विकासमा ठुलो योगदान हो भन्न सकिन्छ । चीनको पुनर्जागरण अभियानलाई सशक्त बनाउन चीनको आधुनिकीकरणले जरुर सघाउँछ । चीनलाई बलियो आधुनिक समाजवादी देश बनाउन भने चिनियाँ सभ्यताको उत्खनन् आवश्यक छ । आधुनिकता र सभ्यताको सवाल विश्वसँग जोडिन्छ, मानव सभ्यता विकासको इतिहाससँग जोडिन्छ । यसर्थ, चिनियाँ प्रजातन्त्रले विश्व सभ्यता पुनर्जागरणलाई पनि जोड दिन्छ ।
चीन ‘पश्चिमीकरण नै आधुनिकीकरण हो’ भन्ने मिथक मान्न तयार भएन । समाजवादी विशेषताको पृथक आधुनिकीकरणको अभ्यास या व्यवहार चीनले अगाडि बढायो । त्यसरी नै चीनले पश्चिमी शैलीको प्रजातन्त्र अनुकरण अस्विकार गर्यो । बरु नयाँ राजनीतिक प्रगतिसँगै चिनियाँ शैलीको प्रजातन्त्रको अवधारणा विकास ग¥यो । समयक्रमले पुष्टि गर्दैछ चिनियाँ आधुनिकीकरण नै व्यावहारिक एवम् दिगो छ, चिनियाँ शैलीको प्रजातन्त्र बढी सम्भाव्य र प्रभावकारी छ । नेता सीले भन्नुभएको छ, “स्वतन्त्रता, प्रजातन्त्र र मानव अधिकार मानव समाजको साझा आकाङ्क्षा हो । त्यही नै चिनियाँ कम्युनिस्ट पार्टीको लक्ष्य हो । संरा अमेरिकासँग अमेरिकी शैलीको प्रजातन्त्र छ । चीनसँग चिनियाँ विशेषताको प्रजातन्त्र छ, देश र भेषअनुसारका प्रजातन्त्रहरू । चीनमा अभ्यास भइहरहेको पूर्ण प्रक्रियामा आधारित जनताको प्रजातन्त्र देशको राष्ट्रिय अवस्था, इतिहास र संस्कृतिसँग अन्योन्याश्रित छ । यसले जनताको अभिलाषा प्रतिबिम्बित गर्छ र यो प्रणाली जनसहभागितामै स्थापित छ । कुनै पनि प्रजातान्त्रिक प्रणाली पूर्ण र खोट रहित हुन्न, नियमित विकास परिष्करणको जरुरत सदैव रहन्छ । यी दुई प्रजातन्त्रबिचको भिन्नताबारे भने छलफल आवश्यक छ । यद्यपि, जन अधिनायकवादी परिपाटीविरुद्ध तथाकथित प्रजातन्त्रको मेल सम्भव हुँदैन ।
देशको आफ्नो संस्कृति, इतिहास, अवस्था र अन्य देशको सम्मानका आधारमा विकसित चीनको प्रजातन्त्र पश्चिमा प्रजातन्त्रभन्दा धैरै आयाममा उत्कृष्ट छ । पछिल्लो समय पश्चिमी प्रजातन्त्रका कमजोरी या समस्या छताछुल्ल छन्, ती समस्याबाट भाग्दै छन् । विज्ञहरूकानुसार पश्चिमी प्रजातन्त्र धेरै अघि नै असफल भएको हो, पश्चिमी प्रजातन्त्र, प्रजातन्त्र नै होइन भन्ने निष्कर्ष धेरै अघि नै छलफल भएको हो । पुँजीवादी प्रजातन्त्रभन्दा समाजवादी प्रजातन्त्र प्रगतिशील हो । यसर्थ चीनको प्रजातान्त्रिक अभ्यास विश्व व्यवस्थामा यतिबेला सबैभन्दा प्रगतिशील अभ्यास हो । यो राजनीतिक अभ्यासले विश्व मानव समाजलाई नै बाटो देखाउने र सकारात्मक सन्देश दिने निश्चित छ ।
छ्युसीको यो अध्याय अङ्कमा चीनको उच्चस्तरीय विकासका लागि चीनले गर्नुपर्ने कामहरूबारे नेता सीको विचार सङ्ग्रहित छ । अबको प्राथमिकता नयाँ उत्पादकीय शक्ति केन्द्रको निर्माण र विज्ञान प्रविधिको बेजोड विकास नै हो । मानव समुदायको साझा भविष्य निर्माणका लागि शान्तिपूर्ण सहअस्तित्वको आवश्यकता र विश्व शान्तिका निम्ति भएका ऐतिहासिक पाइलाहरूबारे मिहीन चर्चा छ । शीतयुद्धको मानसिकता होइन आपसी विश्वास, सहयोग, मित्रता, सहकार्य र सम्मानका आधारमा अबको विश्व अगाडि बढ्छ । एक घ्रुवीयता, संरक्षणवाद, प्रभुत्ववाद, राजनीतिक हेपाइविरुद्ध बुहुपक्षीयता, स्वतन्त्र व्यापार, स्वतन्त्रता र देश—देशको सार्वभौम विचार अबको बाटो हो । युद्ध होइन शान्ति, आर्थिकमन्दी होइन समृद्धि, कचिङ्गल होइन एकता भन्ने भावना विकासको विकल्प छैन । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त खुला, समावेशी र विश्वव्यापी बनाइए मात्र विश्वमा भ्रातृत्व र साझा समृद्धि सम्भव छ ।
चीनले विश्वमा बहुधु्रव, आर्थिक विश्वव्यापीकरण र सुरक्षाको पक्ष लियो । प्रत्येक देशले आफ्नो निर्णय आफै लिन पाउने अधिकारको वकालत गर्यो । अन्तर्राष्ट्रिय नीति नियम कुनै एउटा देशले लेख्न पाउँदैन भन्दै आवाज दियो । समान र व्यवस्थित बहुपक्षीय विश्व अहिलेको आवश्यकता पनि हो । त्यसकारण, ग्लोवल साउथको एकता अगाडि बढ्यो । ब्रिक्स सहकार्य एउटा बलियो दृष्टान्त हो । विश्वको शान्ति, सुरक्षा र विकास नै चीन र यी सहकार्यहरूको प्राथमिकता हो भन्ने विचार छ्युशीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *