भर्खरै :

चिनियाँ कम्युनिस्ट पार्टीको सङ्क्षिप्त परिचय – २

चिनियाँ कम्युनिस्ट पार्टीको सङ्क्षिप्त परिचय – २

जनवादी केन्द्रीयता
चिनियाँ कम्युनिस्ट पार्टी सुरुदेखि नै माक्र्सवाद र लेनिनवादमा आधारित पार्टी हो । चिनियाँ कम्युनिस्ट पार्टीको साङ्गठनिक विकासमा जनवादी केन्द्रीयताको ठूलो महत्व छ । कुनै राजनीतिक प्रश्नहरूमा तल्लो तहदेखि नै गहन छलफल गरेर केन्द्रीय समितिले सामूहिक निर्णय लिने र निर्णय भइसकेपछि त्यसलाई पूर्णरूपले पालना गर्नुपर्ने जनवादी केन्द्रीयताको प्रक्रिया चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गर्दै आएको छ । जनवादी केन्द्रीयताको प्रक्रिया कडाइका साथ अवलम्बन गरिएको कारण चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको निर्णय बिनाहिच्किचाहट प्रारम्भिक तहसम्म कार्यान्वयन हुन्छ ।
चिनियाँ कम्युनिस्ट पार्टी चीनको शासकीय पार्टी हो । यसकारण राष्ट्रिय चरित्रका प्रमुख विषय तथा नीतिहरूमा निर्णय लिने अधिकार चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिलाई मात्र छ । मातहतका विभाग र पार्टी समितिहरूले यस्ता विषयमा सुझाव दिन सक्छन् तर कुनै निर्णय वा छुट्टै विचार सार्वजनिक गर्न पाउँदैनन् । पार्टीका तल्लो समितिहरूले माथिल्लो समितिको निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ ।
चिनियाँ कम्युनिस्ट पार्टीमा तल्लो सङ्गठनलाई असर गर्ने महत्वपूर्ण प्रश्नहरूमा निर्णय गर्दा पार्टीका तल्लो सङ्गठनहरूको राय लिनुपर्ने व्यवस्था पनि पार्टी विधानमा समेटिएको छ । केन्द्रीय समितिका उच्च नेतृत्व तहले असाधारण परिस्थितिमा बाहेक तल्लो समितिको अधिकार क्षेत्र तथा तल्लो समितिले सल्टाउनुपर्ने विषयमा हस्तक्षेप गर्दैन ।

बहुदलीय सहयोग र राजनीतिक परामर्शको प्रणाली
जनगणतन्त्र चीनमा चिनियाँ विशेषतासहितको समाजवाद अवलम्बन गरिएको छ । समाजवादी लोकतन्त्रको विकास र समाजवादी सभ्यताको राजनीतिक प्रणालीलाई प्रवद्र्धन गर्नु चिनियाँ विशेषतासहितको समाजवादको प्रमुख पक्ष हो । चीनको संविधानको धारा १ मा भनिएको छ, “जनवादी गणतन्त्र चीन श्रमिक वर्गद्वारा नेतृत्व गरिएको तथा मजदुर किसानको मित्रतामा आधारित जनताको प्रजातन्त्रको हुकुममातहत एक समाजवादी राज्य हो ।”
चीनमा अन्य राजनीतिक दलहरूलाई पनि प्राथमिकता दिइएको पाइन्छ । अन्य राजनीतिक दलहरू भए पनि निर्णय लिने काम चिनियाँ कम्युनिस्ट पार्टीले नै गर्दछ । संविधानको प्रस्तावनामा लेखिएको छ, “क्रान्ति र निर्माणको लामो समय कम्युनिस्ट पार्टीको नेतृत्वमा एउटा बृहत् देशभक्तिपूर्ण संयुक्त मोर्चाको गठन भएको छ । जसले समाजवादी पार्टीहरू, जनसङ्गठनहरू र सबै समाजवादी श्रमजीवी जनता, समाजवादका निर्माणकर्ताहरू, समाजवादका पक्ष लिने सबै देशभक्तहरूलाई समेटेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको बहुदलीय सहयोग र राजनीतिक परामर्शको प्रणाली आगामी लामो समयसम्म विद्यमान र विकास हुने छ ।”
जनगणतन्त्र चीनको संविधान र चिनियाँ कम्युनिस्ट पार्टीको विधानको प्रावधानअनुसार चिनियाँ कम्युनिस्ट पार्टी चीनको शासकीय पार्टी हो भने सहप्रजातान्त्रिक अन्य राजनीतिक दलहरूले बहुदलीय सहयोग र राजनीतिक परामर्श प्रणालीअनुसार देशको शासन सञ्चालनमा भाग लिन्छन् ।

चिकपाले चिनियाँ श्रमिक वर्ग, चिनियाँ जनता र चिनियाँ राष्ट्रको अगुवाइ गर्छ
चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा उल्लेख छ, “चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ श्रमिक वर्ग, चिनियाँ जनता र चिनियाँ राष्ट्रको अगुवाइ गर्छ । यो चिनियाँ विशेषतासहितको समाजवादको लागि नेतृत्वको मूल आधार हो । यसले चीनको उन्नत उत्पादन शक्तिहरूको विकासको प्रवृत्ति, चीनको उन्नत संस्कृतिको अभिमुखीकरण र बहुसङ्ख्यक चिनियाँ जनताको आधारभूत हितहरूको प्रतिनिधित्व गर्दछ । चिनियाँ जनतालाई साम्यवादको अनुभूति गराउने पार्टीको सर्वोच्च आदर्श र अन्तिम लक्ष्य हो ।”
पार्टीको विधानमा उल्लेख छ, “पार्टीको नेतृत्व भन्नाले मुख्यतया राजनैतिक, वैचारिक र सङ्गठनात्मक नेतृत्व भन्ने बुझिन्छ । पार्टीले सुधार, खुलापन र समाजवादी आधुनिकीकरण अभियानको आवश्यकताहरू पुरा गरी आफ्नो नेतृत्वलाई सुधार र सुदृढ गर्नुपर्छ । पार्टीले आर्थिक विकासमा ध्यान केन्द्रित गर्न शक्ति सङ्गठित र समन्वय गर्नुपर्छ । पार्टीले ट्रेड युनियन, युवा सङ्गठन, महिला सङ्घ र आम जनसङ्गठनहरूमा आफ्नो उपस्थिति फराकिलो पारेर आफ्नो नेतृत्व बलियो पार्नु पर्दछ । चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्ने साझा प्रयासलाई सफल पार्न पार्टी सदस्यहरूले जनतासँग घनिष्ठ सहकार्य गर्नुपर्छ ।”
चिनियाँ कम्युनिस्ट पार्टीले राज्य र सामाजिक मामिलाहरूमा कानुनबमोजिम आफ्नो कार्य पूरा गर्ने राज्यका अङ्गहरूमार्फत नेतृत्वको अभ्यास गर्छ । सबै तहका पार्टी समितिहरूले आ–आफ्नो तहका जनताको सरकार, न्यायिक निकाय र सम्बन्धित तहका अन्य संस्थाहरूमा स्वतन्त्र र कानुनबमोजिम समन्वयात्मक रूपमा काम गर्ने मूल नेतृत्वको भूमिका निर्वाह गर्दछ । राज्यका सबै तहका अङ्गहरूमा पार्टी सदस्यहरूले पार्टीको कार्यदिशा, सिद्धान्त र नीतिलाई पालना गरेर पार्टी समितिहरूले गरेका निर्णय र कार्ययोजनाहरू कार्यान्वयन गर्नुपर्छ । चिनियाँ कम्युनिस्ट पार्टीले राज्य शक्तिलाई कानुनबमोजिम नियन्त्रण गर्न राज्यका सबै तहका अङ्गहरूमा प्रवेश गर्छ । राज्य शासनको जिम्मेवारी बहन गर्न पार्टी समितिका सदस्यहरू राज्यका अङ्गहरूमा बसेर प्रशासनिक सेवा गर्छन् ।
अनुशासनको पालना
चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले अनुशासनलाई कडाइका साथ पालना गर्नुपर्छ । पार्टीको सबै तहमा अनुशासन निरीक्षणका निम्ति पार्टी विधानमै ‘केन्द्रीय अनुशासन निरीक्षण आयोग’ को बन्दोबस्त छ । पार्टी विधानको संरक्षण, पार्टीको कार्यदिशा, सिद्धान्त, नीति र निर्णय कार्यान्वयनको अनुगमन गर्ने र पार्टीको कार्यशैली सुधार वा समन्वयात्मक भूमिका निर्वाह गर्न आयोगले काम गर्छ । सबै तहका अनुशासन निरीक्षण आयोगले विशेष महत्व वा जटिल मुद्दाहरूको समाधानको गर्छन् । स्थानीय आयोग तथा प्राथमिक आयोगहरूले अनुशासन निरीक्षण गरी त्यसको प्रतिवेदन उच्च आयोगमा पेश गर्छन् ।
पार्टी सङ्गठनहरूले पार्टी अनुशासन उल्लङ्घन गर्ने सदस्यहरूलाई सुरुमा आलोचना गर्ने, उनीहरूको गल्तीको गाम्भीर्यता हेरी सुध्रिने अवसर दिने र गम्भीर गल्ती गरेको भए पार्टीबाट निष्काशन गर्नेसमेतको सजाय अवलम्बन गर्छन् । गल्ती गरेका पार्टी सदस्यहरूलाई चेतावनी, गम्भीर चेतावनी, पार्टीको पदबाट हटाउने र पार्टीबाट निष्काशन गर्ने प्रक्रियालाई चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गर्छ । सम्बन्धित व्यक्तिलाई आफ्नो प्रतिरक्षा गर्ने र बोल्ने मौका दिइन्छ । समितिको निर्णय चित्त नबुझे माथिल्लो समितिमा पुनरावेदन गर्ने मौका पनि सदस्यलाई दिइन्छ । यसरी चिनियाँ कम्युनिस्ट पार्टीले चीनमा सुशासन कायम राख्ने आफ्नो भूमिकालाई जीवन्त राख्न सफल रहेको छ ।
(झाङ्ग रोङ्चेनद्वारा लिखित The Communist Party Of ChinaM Its Organizations And Their Fucntions पुस्तक र जनगणतन्त्र चीनको संविधान, १९८२ मा आधारित)

२०८२ वैशाख १४ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *