भर्खरै :

भारतीय स्वाधीनता सङ्घर्षमा लेनिनको प्रभाव

भारतीय स्वाधीनता सङ्घर्षमा लेनिनको प्रभाव

भारतमा अहिले दक्षिणपन्थीहरू राष्ट्रवादको पाठ पढाउँदै छन् । जबकि दक्षिणपन्थी शक्तिले कहिल्यै पनि देशभक्तिपूर्ण स्वाधीनता सङ्घर्षमा कहिल्यै भाग लिएको थिएन । उपनिवेशवादविरोधी सङ्घर्षमा राष्ट्रिय स्वयंसेवक सङ्घ सकेसम्म अछट्टै बसेको थियो । आज त्यसकै वैचारिक उत्तराधिकारीहरूले देशभक्तिको परिभाषा दिँदै छन् । यसो गर्दै गर्दा उनीहरू प्रायः माक्र्सवादी विचारलाई राक्षसीकरण गर्छन् । यति मात्र होइन, लेनिनजस्ता व्यक्तित्वलाई ‘विदेशी’ वा ‘राष्ट्रविरोधी’ भन्दै उनीहरू दत्कार्छन् ।
यो नयाँ कुरा होइन । सन् १९४० को दशकदेखि दक्षिणपन्थीहरूले झन् आक्रामक ढङ्गले माक्र्सवादको खेदो खन्न थाले । एसजी सरदेसाइ र राहुल सांकृत्यायनजस्ता विचारकले तिनका मनगढन्ते तर्कहरूको खण्डन गरिसक्नुभएको थियो । आजको मूलधारे बहसमा उहाँहरूका खण्डन–मण्डन उति छापिँदैनन् । लेनिनजस्ता व्यक्तित्वले कसरी भारतको स्वाधीनता सङ्घर्षलाई आकार दिनुभएको थियो भन्ने विषयमा आज इतिहासकै विद्यार्थीसमेत अनभिज्ञ छन् ।
लेनिनको जन्मोत्सवको अवसरमा टाढा रुसका यी क्रान्तिकारी कसरी भारतजस्ता देशको लागि आशा र वैचारिक स्पष्टताका प्रतीक बन्नुभएको थियो भन्ने विषयमा चर्चा गरौँ ।
समाजवाद, लेनिन र माक्र्सवादलाई ‘विदेशी’ भन्ने मान्छेले के बुझ्नुपर्छ भने आज जसलाई हामी ‘स्वदेशी’ वा भारतीय देशभक्ति भनी परिभाषा दिन्छौँ, त्यो परिभाषा अक्टोबर क्रान्ति र लेनिनबाट प्रभावित भएर बनाइएको थियो ।
लेनिन सोभियत सङ्घका वास्तुकार वा माक्र्सको विरासत अघि बढाउने एक दार्शनिक मात्र हुनुहुन्थेन । उहाँ साम्राज्यवादका निर्मम आलोचक पनि हुनुहुन्थ्यो । उहाँले साम्राज्यवादलाई सैन्य कब्जाकारी वा लुटेरा मात्र भन्नुभएन । लेनिनले खुला बजारु र ‘वैदेशिक लगानी’ को खोल ओढेर साम्राज्यवादले उपनिवेशको धनलाई निकै व्यवस्थित ढङ्गले चुस्दै लग्छ भनेर स्पष्ट पार्नुभयो ।
लेनिनलाई तानाशाह भनेर लत्याउनुको अर्थ भारतमा मात्र नभई अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका उपनिवेशवादविरोधी योद्धाहरूको पुस्तालाई उहाँको विचारले कसरी उत्प्रेरित गरेको थियो भनी बेवास्ता गर्नु पनि हो । लेनिनलाई पूर्णतः नकार्नुको अर्थ कहीँ न कहीँ दक्षिणी गोलाद्र्धका देशहरूमा चलेको स्वतन्त्रता सङ्घर्षहरूको बौद्धिक जगलाई नकार्नु हो ।
संरा अमेरिकामा डु बोइस, हुवे न्युटन, क्वामे तुरे र एन्जेला डेभिसजस्ता अश्वेत मुक्ति योद्धाहरू लेनिनका रचनाबाट अत्यन्त प्रभावित थिए । ‘ब्ल्याक प्यान्थर पार्टी’ का अध्ययन मण्डलीहरूमा लेनिनका रचना पढ्नुपर्ने अनिवार्य प्रावधान थियो । ल्याङ्सटन ह्युग्सजस्ता कविले समेत एकपल्ट लेनिनलाई कुनै सीमा वा छेकबारले छेक्न नसक्ने भनेका थिए† लेनिन विश्वभरिका शोषित–उत्पीडितहरूसँगै हिँडिरहेको लेखेका थिए ।
इतिहासकार बिपिन चन्द्राले आफ्नो पुस्तक ‘स्वाधीनताका निम्ति भारतको सङ्घर्ष’ मा लेख्छन्, “उपनिवेशवाद केवल नाङ्गो लुटपाट, तिरो–तिरान र व्यापारबाट मात्रै चल्दैन बरु खुला बजार र वैदेशिक पुँजी लगानीजस्ता अझ छद्म र पेचिला संयन्त्रबाट चल्छ भनी उहाँहरूले देख्न सक्नुभयो । उहाँहरूले भन्नुभयो । भारतलाई महानागरी देशमा खाद्यान्न र कच्चा पदार्थपैठारी गर्ने आपूर्तिकर्ता, महानागरी देशका उत्पादकहरूको बजार तथा बेलायती पुँजी लगानी गर्ने मैदानमा रूपान्तरण गर्नु नै १९ औँ शताब्दीको उपनिवेशवादको मूल चरित्र थियो ।”
उपनिवेशवादले वाणिज्य तन्त्रबाट अलग्गिएर खुला बजार र वैदेशिक पुँजी लगानीको आवरणमा काम गथ्र्यो । खुला बजारको कुनै विकल्प छैन भन्ने धेरैको बुझाइ थियो । लेनिनको विचारले त्यही गाँठोमा प्रहार ग¥यो । आर्थिक सङ्कटले तहसनहस भएको संसारमा सोभियत सङ्घको अर्थतन्त्र अछट्टै, स्थिर र प्रतिरोधीसमेत देखियो । भारतका स्वतन्त्रता सङ्ग्रामीहरूका सामु एउटा प्रश्न तेर्सियो – के समाजलाई अर्कै ढङ्गले व्यवस्थित गर्न सकिन्छ ? के औपनिवेशिक शोषण र पुँजीवादी लोभ–लालच दुवैको विकल्प सम्भव छ ?
लेनिनले सिद्धान्त मात्र दिनुभएन । कम्युनिस्ट इन्टरनेसनलमार्फत उहाँले विश्वभरि भइरहेका उपनिवेशवादविरोधी सङ्घर्षहरूमा समर्थन तथा ऐक्यबद्धता जनाउनुभयो । उहाँको विख्यात रचना ‘साम्राज्यवाद : पुँजीवादको उच्चतम चरण भारतको राजनीतिक विमर्शमा एउटा मुख्य सन्दर्भ सामग्री बन्यो ।
अखिल भारतीय टे«ड युनियन काङ्ग्रेस (एआइटीयूसी) स्थापना गर्ने सम्मेलनमा लाला लाजपत रायले घोषणा गरे, “पुँजीले मानव जातिलाई रगत चुसेर आफ्नो पाउमा झुकाइसक्यो । साम्राज्यवाद र सैन्यवाद पुँजीवादका जुम्ल्याहा सन्तान हुन् । यी तीन जना आपसमा गाँसिएका छन् ।” यो कुनै बिरानो विचार थिएन । यो विचार औपनिवेशिक समाज ज¥याकजुरुक उठिरहेको सङ्केत थियो । लेनिनजस्ता विचारकले यो सत्य उजागर गर्न सघाउनुभएको थियो ।
सन् १९०८ मा बाल गङ्गाधर तिलकको पक्राउबारे लेनिनले लेख्नुभयो । तिलकको पक्राउलाई लेनिनले ‘भारत एक प्रजातन्त्रवादीविरुद्ध अङ्ग्रेज स्यालहरूले घिनलाग्दो सजाय भन्नुभयो । तिलकप्रति लेनिनले ऐक्यबद्धता जाहेर गर्दा सोभियत सङ्घको स्थापना भएकै थिएन ।
तिलकले पनि सन् १९०६ मा भारतको नासिक सहरमा मन्तव्य दिँदै लेनिनको प्रशंसा गरे । उनले आन्दोलनको रुसी तौरतरिकाबारे बोले । उनले रुसको जनताबाट ‘सिक्नुपर्ने बताए । सन् १९०७ मा श्यामजी कृष्णवर्माले आफ्नो पत्रिका ‘भारतीय समाजशास्त्री’ मा बेलायत सरकारलाई होस खोल्न भारतीय जनताले आन्दोलनको रुसी विधि अपनाउनुपर्ने लेखे ।
साम्राज्यवादविरुद्ध सङ्घर्ष र औपनिवेशिक शोषण–दमनभन्दा फरक मार्गको खोजी २० औँ शताब्दीको प्रारम्भतिर आम बहसको मूल मुद्दा थियो । सन् १९२० को कम्युनिस्ट इन्टरनेसनलको सम्मेलनमा लेनिनले ‘राष्ट्रिय र औपनिवेशिक प्रश्न’ शीर्षकको निबन्ध प्रस्तुत गर्नुभयो । त्यसमा उहाँले उपनिवेशवादी शक्तिलाई कसरी परास्त गर्न सकिन्छ भनी प्रस्ट पार्नुभयो । यो दस्ताबेजलाई विश्वभरि कम्युनिस्टहरूले मात्र पढेनन् । उपनिवेश देशका स्वतन्त्रता आन्दोलन तथा मुक्ति योद्धाहरूले पनि त्यसको गहन अध्ययन गरे ।
भारतमा एसए डाँगे, मुजफ्फर अहमद र सिङ्गारवेलु चेटिएर जस्ता नेताको नेतृत्वमा विभिन्न कम्युनिस्ट समूहले देशैभरि आकार लिँदै गए । सन् १९२५ मा कानपुर सहरमा भारतीय कम्युनिस्ट पार्टीको स्थापना भयो । त्यसपछि पनि रुसी क्रान्तिको प्रतिध्वनि भारतीय राजनीतिमा गुञ्जिरह्यो । सन् १९३६ मा अखिल भारतीय विद्यार्थी फेडरेसन (एआइएसएफ) र अखिल भारतीय किसान सभाको स्थापना भयो । ती दुवै सङ्गठनको स्थापनामा बोल्शेभिक क्रान्तिको प्रभाव थियो । काङ्ग्रेस पार्टीभित्र र बाहिर दुवैतिर समाजवादी विचारले जरा गाड्दै गयो ।
भारतीय स्वतन्त्रता सङ्घर्षका नेतृत्वदायी व्यक्तित्वले सोभियत सङ्घ र बोल्शेभिक क्रान्तिकारी के भने त ?
सन् १९२८ नोभेम्बर ५ को दिन महात्मा गान्धीले आफ्नो पत्रिका ‘तरुण भारत’ मा लेखे, “हिंसाको बलमा कुनै पनि दिगो चीजको निर्माण गर्न सकिन्न भन्ने मेरो दृढ विश्वास छ । यद्यपि, बोल्शेभिक विचारको जगमा असङ्ख्य नारी पुरुषको शुद्ध बलिदानी भावना छ र तिनले आफ्नो लक्ष्यको निम्ति सबथोक समर्पित गरे भन्ने सत्यलाई अस्वीकार गर्न मिल्दैन । लेनिन जस्ता व्यक्तित्वको आहुतिले परिशुद्ध पारेको आदर्श कहिल्यै खेर जान सक्दैन ।”
भारतको प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले रुसी क्रान्तिको प्रशंसा गर्दै आफ्नो पुस्तक ‘भारतको खोज’ मा लेखे, “सोभियत क्रान्तिले समाजलाई फड्को मार्न ठुलो धक्का दियो । त्यसले यस्तो ज्वाला बाल्यो जसलाई निभाउन सकिन्न । त्यसले नयाँ सभ्यताको जग हाल्यो । त्यसमा मलाई कत्ति पनि शङ्का छैन ।”
नेहरू भित्री हृदयदेखि नै सोभियत सङ्घ र लेनिनको प्रशंसा गर्थे । सन् १९२७ मा उनले सोभियत सङ्घको प्रथम भ्रमण गरे । त्यो वर्ष अक्टोबर क्रान्तिको १० औँ वार्षिकोत्सव थियो । नेहरू जोनरिडको पुस्तक ‘संसार हल्लाउने ती दस दिन’ र लेनिनको पुस्तक ‘साम्राज्यवाद पुँजीवादको उच्चतम चरण’ बाट प्रभावित थिए ।
नेहरूले लेखे, “लेनिनको महान् अक्टोबर क्रान्तिकै बेला भारतमा हामीले हाम्रो स्वतन्त्रता सङ्घर्षको नयाँ चरण सुरु ग¥यौँ । लेनिनको उदाहरणले हामीलाई अत्यन्त प्रभावित ग¥यो ।”
रुसी क्रान्तिको प्रभाव कस्मिरसम्म पुग्यो । ‘कस्मिरका शेर भनिने शेख अब्दुल्लाह बोल्शेभिक क्रान्तिबाट प्रभावित थिए । उनले भारतका कम्युनिस्टहरूलाई ‘नयाँ कस्मिरको लागि एउटा घोषणापत्र मस्यौदा गर्न अनुरोध गरे । त्यो दस्ताबेजमा मजदुर, किसान र महिलालाई विशिष्ट हक अधिकार दिने प्रावधान थियो ।
सन् १९४४ मा लेखिएको ‘नयाँ कस्मिर’ कार्यक्रमको भूमिकामा शेख अब्दुल्लाहले लेखे, “वास्तविक स्वतन्त्रता आर्थिक मुक्तिबाट जन्मिन्छ । यो तथ्य सैद्धान्तिक रूपमा मात्र होइन सोभियत रुसले व्यवहार र विकासबाट पुष्टि गरिसकेको छ ।”
पीर जियासुद्दीन लेखक, पत्रकार र जम्मु–कस्मिरका पूर्वमन्त्री हुन् । उनले आफ्नो पुस्तकमा लेखे, “कम्युनिस्टहरूले सन् १९३६ देखि नै कस्मिरमा काम गर्न थालेका थिए । उनीहरूले राष्ट्रिय सभा पार्टीसँग निकट रहेर काम गरे । एमके अशरफ, बिपिएल बेदी, फजल इलाही कुर्बान र अजय घोष पटकपटक कस्मिर आइरहे । सन् १९३७ मा केएम अशरफले नेहरू पार्कमा आयोजित एक समरोहमा एउटा विद्यार्थी सङ्गठनको स्थापना गरे । त्यस कार्यक्रममा लेनिनको जीवनीलगायत विभिन्न माक्र्सवादी साहित्य वितरण गरिएको थियो ।”
सन् १९४१ मा नाजी जर्मनीले सोभियत सङ्घमाथि आक्रमण ग¥यो । कस्मिरी कम्युनिस्टहरूले फासीवादविरोधी मोर्चा नै गठन गरे । जीएम सादिक त्यसका अध्यक्ष बने र पीर जियासुद्दीन त्यसका संयोजक बने । सादिक पछि गएर जम्मु–कस्मिरका मुख्यमन्त्री बने ।  
भगतसिंहजस्ता क्रान्तिकारी मुक्तियोद्धाले पनि मारिनुभन्दा अगाडि लेनिनको पुस्तक पढिरहेका थिए । भगतसिंहका जीवनी लेखक चमनलाल र गोपाल टेगोरले भगतसिंह र उनका कामरेडहरूले कारागारमै लेनिनको स्मृति दिवस मनाएको चर्चा गरेका छन् । अजय घोष र धनवन्तरीजस्ता व्यक्ति भगतसिंहसँगै जेलमा थिए । उनीहरू पछि गएर भारतीय कम्युनिस्ट पार्टीका मुर्धन्य नेता बने ।
बीआर अम्बेडकरले समेत सोभियत सङ्घलाई अल्प विकसित देशहरूले अनुकरण गर्न योग्य समाज भने । आफ्नो रचना ‘राज्य र अल्पसङ्ख्यक’ मा अम्बेडकरले संसदीय लोकतन्त्रलाई नहटाई सोभियत सङ्घको समाजवादी मोडल अपनाउनुपर्ने पैरवी गरे । संवैधानिक राजकीय समाजवादको उनको प्रस्ताव र स्तालिनप्रति उनको प्रशंसा भाव एक ऐतिहासिक सत्य हो । माक्र्सवादलाई अस्वीकार गरे तापनि अम्बेडकरले त्यसलाई कहिल्यै पूर्णतः नकारेनन् । ‘बुद्ध र कार्ल माक्र्स’ नामक पुस्तकमा सोभियत सङ्घको आलोचना गरे तापनि अम्बेडकरले माक्र्सलाई आगोको सानो तर महत्वपूर्ण झिल्का भने ।
पुस्तकको निष्कर्ष खण्डमा अम्बेडकरले वर्गसङ्घर्ष तथा सम्पत्तिमाथिको निजी स्वामित्वलाई उन्मूलन गर्नुपर्ने आवश्यकतालाई स्वीकार्छन् । दर्शनशास्त्रको कर्तव्य समस्त संसारको पुनः रचना गर्नु हो भन्ने माक्र्सको भनाइलाई त्यसमा उनले मनन गरेका छन् ।
लेनिन तानाशाह वा प्रजातन्त्रविरोधी व्यक्ति हुनुहुन्थ्यो भन्ने आलोचनाबारे पनि छलफल गरौँ । उहाँले मानव अधिकारको उल्लङ्घन गर्नुभएको थियो भन्ने आरोप छ । यहाँनिर मानव गरिमा तथा अधिकारको पक्षमा उभिएका अफ्रिकी मूलका अमेरिकी चिन्तक र राजनीतिज्ञले लेनिन र सोभियत क्रान्तिलाई कसरी हेर्थे भनी जाँच्नु अर्थपूर्ण हुन्छ ।
रुसी क्रान्ति र कोमिन्टर्न (कम्युनिस्ट इन्टरनेसनल) को स्थापनाले विश्वभरिका साम्राज्यवादविरोधी बौद्धिक एवम् आन्दोलनलाई गहिरो प्रभाव पा¥यो । कोमिन्टर्नले अफ्रिकी देशहरूको पूर्ण स्वाधीनताको पक्ष लियो । डु बोइस र मार्कस गार्भेजस्ता अफ्रिकी मूलका अमेरिकी अगुवाहरूले लेनिन र कोमिन्टर्नको अडानको प्रशंसा गरे । अखिल अफ्रिकी सम्मेलनको नेतृत्व गरेका डु बोइसले सोभियत सङ्घलाई अन्तर्राष्ट्रिय मित्र माने ।
सन् १९२० मा लेनिनले अजरबैजानको बाकु सहरमा रहेको पूर्वेली जनताको सम्मेलन आयोजना गर्नुभयो । सन् १९२२ मा कोमिन्टर्नको सम्मेलन भयो । त्यसले उपनिवेशवाद र जातिवादबिच घनिस्ट सम्बन्ध भएकोमा जोड दियो । सम्मेलनले ‘अफ्रिका एक हो’ भन्ने (अखिल–अफ्रिकी) अवधारणा अङ्गीकार ग¥यो । त्यसले अमेरिका, क्यारिबिया र अफ्रिकामा अश्वेत जनताको सङ्घर्षसँग एकाकार हुने गरी कम्युनिस्ट आन्दोलन चलाउनुपर्ने आवश्यकतामाथि जोड दियो ।
नेल्सन मन्डेला, अमिलकार कब्राल, फ्रान्ज फानोन, क्वामे एनक्रुमा र जोमो केन्यात्ता लगायत धेरै उपनिवेशवादविरोधी व्यक्तित्वहरू अक्टोबर क्रान्तिबाट प्रेरित थिए । केन्यात्ता केन्याको स्वतन्त्रता सङ्घर्षका अगुवा थिए । उनी त्यहाँका प्रथम राष्ट्रपति बने । सन् १९२० को दशकमा उनले मस्कोमा रहेको ‘पूर्वका उत्पीडितजनको कम्युनिस्ट विश्वविद्यालय’ मा अध्ययन गरेका थिए ।
जमाइकाका अश्वेत अगुवा गार्भेले एकपल्ट लेनिनलाई ‘इतिहासकै एक महानतम् व्यक्ति’ भनेका थिए । सन् १९२४ मा लेनिनको मृत्यु भयो । शोकसभामा बोल्दै गार्भेले भने, “अश्वेत जनता लेनिनको मृत्युमा शोक व्यक्त गर्छन् किनभने रुसले हामी अश्वेतहरूलाई मात्र नभई संसारका सम्पूर्ण उत्पीडित जनतालाई आशाको किरण देखाउनुभयो ।”
आज सोभियत सङ्घ छैन । विभिन्न कारणले त्यसको पतन भयो । तर, सोभियत सङ्घ र लेनिनलाई आजका आँखाले मात्र हेर्नु हुँदैन । दुवैलाई तत्कालीन सन्दर्भमा राखेर बुझ्नुपर्छ । मन्डेलाले एकपल्ट भनेका थिए, “एकदलीय व्यवस्थामा प्रजातन्त्रले उत्तम काम गर्छ भने मैले त्यसलाई मनन गर्नेछु । त्यसले बहुदलीय व्यवस्थामा उत्तम काम गर्छ भने मैले त्यसलाई पनि मनन गर्नेछु ।”
लेनिन माक्र्सवादलाई व्यवहारमा प्रयोग गर्ने राजनीतिक नेता मात्र हुनुहुन्थेन । उहाँ एक दूरद्रष्टा (भिजनरी) पनि हुनुहुन्थ्यो । उहाँले माक्र्सले भनेझैँ संसार बदल्ने प्रयत्न गर्नुभयो । लेनिनलाई बदनाम गर्ने नकाम बोल्शेभिक क्रान्तिकै बेला सुरु भएको हो । यो नकाम आज पनि जारी छ ।
माक्र्सवादको प्रभाव रोक्न (उपनिवेशवादी युगका) धनाढ्य र बेलायतपक्षधर पत्रपत्रिकाले सोभियत सङ्घविरुद्ध दुष्प्रचार अभियान चलाए । लाला लाजपत राय त्यो प्रचारबाजीविरुद्ध उभिए । सोभियत सङ्घविरुद्ध झूटो प्रचार गरेकोमा आलोचना गर्दै उनले सन् १९२० जुलाई १८ को दिन ‘बन्देमातरमु पत्रिकामा लेखे, “खासगरी ‘पायोनियर’, ‘सिभिल एन्ड मिलिट्री गजेटु जस्ता पत्रपत्रिकामा पाखण्डी राष्ट्रहरूले बोल्शेभिकहरूविरुद्ध आक्रमण गरेको पढ्दा तिनले फैलाउने पाखण्ड र झूटको कुनै सीमा नहुने रहेछ भन्ने ज्ञात हुन्छ, ताज्जुब लाग्छ ।” अर्को एक लेखमा उनले बोल्शेभिक विचार एउटा मौलिक र वस्तुनिष्ठ विचार हुनाले त्यसलाई नष्ट गर्न सकिने उद्घोष गरे ।
लेख टुङ्ग्याउँदै गर्दा बाल गंगाधर तिलकको यो भनाइ मनन गरौँ । उनले भनेका थिए, “लेनिन शान्ति अनि उत्पीडितहरूप्रति न्यायको पक्षमा उभिनुभयो । उहाँले जमिनलाई किसानहरूबिच पुनः वितरण गर्नुभयो त्यसैले जनता र सैनिकहरूबिच लोकप्रिय बन्नुभयो ।”

(स्रोत : न्युजक्लीक । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *