भर्खरै :

एसियाका अमेरिकी सैन्य अखडा बन्द गर

एसियाका अमेरिकी सैन्य अखडा बन्द गर

राष्ट्रपति डोनाल्ड ट्रम्पले एसियामा रहेका अमेरिकी सैन्य अखडाको खर्च धान्न धौधौ भइरहेको गुनासो गरे । त्यसको खर्च जापान र कोरियाले व्यहोर्नुपर्ने उनले बताए । यसबारे टिप्पणी गर्दै अमेरिकी अर्थविद् तथा कोलम्बिया विश्वविद्यालयका प्रोफेसर ज्योफ्री साख्सले लेखे, “उत्तम सुझाव यहाँ छ – अखडाहरू धमाधम बन्द गर्नुस् र अमेरिकी सैनिकहरूलाई अमेरिका फिर्ता बोलाउनुस् ।”
साख्सको भनाइमा अमेरिकाले जापानमा ५० हजार सैनिक तथा कोरियामा झन्डै ३० हजार सैनिक तैनाथ गर्नुको उद्देश्य यी देशको सुरक्षा गर्नु होइन, बरु सो क्षेत्रमा बलप्रदर्शन गर्नु हो । विगत १ हजार वर्षको इतिहास हेर्दा चीनले एकचोटि मात्र जापानलाई कब्जा गरेको थियो । चीनलाई मङ्गोलहरूले छोटो समयको लागि शासन गर्दातिर त्यो कब्जा भएको थियो । त्यो भनेको झन्डै ७००–७५० वर्षअघिको कुरा हो । बरु जापानले चीनमाथि आक्रमण गरेको इतिहास त्योभन्दा लामो छ । आधुनिक इतिहासमा पनि जापानले चीनमाथि पटकपटक आक्रमण गरेको तथ्य जगजाहेर छ ।
साख्स लेख्छन्, “सन् १८९४–९५ मा जापानले चीन–जापान युद्धमा चीनलाई पराजित गरेर उसको भूमि कब्जा गरेको थियो र ताइवानलाई जापानको उपनिवेश बनाएको थियो । सन् १९३१ मा जापानले उत्तरपूर्वी चीन (मन्चुरिया) कब्जा ग¥यो र त्यहाँ मन्चुकुओ नामक उपनिवेश कायम ग¥यो । सन् १९३७ मा जापानले चीनमाथि आक्रमण ग¥यो र प्रशान्त क्षेत्रमा दोस्रो विश्वयुद्ध सुरु ग¥यो ।”
आजको मितिमा जापानले चीनमाथि आक्रमण गर्ला भनेर कसैले विश्वास गर्न सक्दैन । चीन र कोरियाको इतिहास पनि त्यस्तै छ । बितेको १ हजार वर्षको इतिहासमा चीनले कहिल्यै कोरियामाथि आक्रमण गरेन । एकचोटि मात्र त्यस्तो भएको थियो । संरा अमेरिकाले चीनमाथि आक्रमण गर्ने धम्की दिँदा मात्र चीन कोरियामा पसेको थियो ।
साख्स लेख्छन्, “सन् १९५० को अन्त्यतिर अमेरिकी फौज चीनको सीमातर्फ लम्केपछि चीन उत्तर कोरियातिरबाट युद्धमा प्रवेश ग¥यो । त्यो बेला अमेरिकी जर्नेल डगलस म्याकआर्थरले खेलाँची गर्दै चीनमाथि आणविक बम प्रहार गर्नुपर्ने प्रस्ताव राखेका थिए । म्याकआर्थरले त्यसबेला ताइवानमा तैनाथ चिनियाँ राष्ट्रवादी सेनालाई चिनियाँ मूलभूमि कब्जा गर्नका लागि सहायता दिनुपर्ने प्रस्ताव पनि राखेका थिए । धन्न राष्ट्रपति ह्यारी ट्रयुमेनले म्याकआर्थरको प्रस्तावलाई अस्वीकार गरे ।”
साख्सको विचारमा दक्षिण कोरियालाई उत्तर कोरियाविरुद्ध कुनै सुरक्षाको आवश्यकता छ भने त्यो क्षेत्रीय सुरक्षा व्यवस्थाबाट मात्र प्रभावकारी ढङ्गले हासिल हुन सक्छ । त्यो भनेको यस विषयमा चीन, जापान, रुस, उत्तर कोरिया, दक्षिण कोरिया अनि मात्र अमेरिकाको समझदारीमा यस्तो सुरक्षा व्यवस्था तय गर्न सकिन्छ । उनी भन्छन्, “तथ्य त के हो भने पूर्वी एसियामा रहेका अमेरिकी सैन्य अखडाहरू वास्तवमा अमेरिकाको शक्ति प्रदर्शन हो । त्यो जापान वा कोरियाको रक्षाको लागि होइन । यसकारण, पनि ती अखडालाई हटाउनुपर्छ ।”
साख्स लेख्छन्, “महाशक्ति देशहरूको अति उत्तम रणनीति भन्नु नै उनीहरू एकअर्काको सेरोफेरोबाट हट्नुपर्छ भन्ने हो । ट्रम्प अहिले आफ्नो खर्च घटाउने ताकमा छन् । यो एकदम गजबको काइदा हो । किनभने, अहिले (विदेशी भूमिमा रहेका सैन्य अखडाका कारण) प्रतिवर्ष अमेरिकी सरकारको २० खर्ब डलर खेर गइरहेको छ । त्यो भनेको अमेरिकाको कूल गार्हस्थ उत्पादनको ६ प्रतिशत हो । अमेरिकाका समुद्रपार सैन्य अखडाहरूलाई बन्द गर्नु एकदम उपयुक्त सुरुआत हुनेछ ।”
साख्स थप लेख्छन्, “विश्वका झन्डै ८० देशमा अमेरिकाका झन्डै ७५० समुद्रपार सैन्य अखडा छन् । यो ती अखडा बन्द गर्ने सबैभन्दा उपयुक्त समय हो । यसले अमेरिकाको बचत बढ्नेछ र पुनः कूटनीतिक उपायमा फर्किन सकिनेछ ।… तिमीहरू आफ्ना सैन्य अखडाहरू हाम्रो छिमेकबाट हटाऔ र हामी तिम्रो छिमेकबाट आफ्ना अखडा हटाउने छौँ । महाशक्ति देशहरूबिच यो परस्पर नीतिले विदेशी भूमिमा रहेका अमेरिकी सैन्य अखडामा अबका दशकहरूमा खेर जाने थप खरबौँ डलर रकम जोगिनेछ । यसो गरे आमसंहारकारी आणविक युद्धको खतरा समेत टर्नेछ ।”

स्रोत : न्युजक्लिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *