भर्खरै :

राजा भगीरथ र उनको प्रयत्न

राजा भगीरथ र उनको प्रयत्न

वर्तमान भारतको उत्तर प्रदेशको अयोध्या जिल्लामा सरयू नदीको किनारमा अवस्थित अयोध्या सहर नै हिन्दू धार्मिक ग्रन्थ रामायणमा उल्लेख गरिएको अयोध्या सहर हो भनी धेरैले स्वीकार्दै आएका छन् । त्रेता युगमा कोसल अधिराज्यको राजधानी सहरको रूपमा रहेको थियो – अयोध्या । त्यही अयोध्यामा पहिलो राजा थिए – इछ्वाकु । पछि उनकै सन्तान दरसन्तानहरूले त्यहाँ शासन गरे । त्यसैले, तिनीहरूलाई इछ्वाकु वंश भनिन्छ । साथै सूर्यका सन्तान भनी गनिने भएकोले सूर्यवंशी पनि भनिन्छ । रामायणका प्रमुख पात्रका रूपमा रहेका राम यी नै इछ्वाकु एवम् सूर्यवंशी राजा थिए ।
त्रेता युगमा रामभन्दा धेरै पुस्ता अगाडि अयोध्यामा सूर्यवंशी प्रतापी राजा सगरले राज्य गर्दै थिए । हिन्दू कथा पुराणहरूमा वर्णन गरेअनुसार राजा सगरले अश्वमेघ यज्ञ सम्पन्न गर्नका लागि घोडाको निधारमा पृथ्वीका राजाहरू सबैले मेरो स्वामित्व स्वीकार्नु होला अन्यथा यस घोडालाई अपहरण गरी यस घोडाको रक्षाका लागि आएका मेरा सेनासँग युद्ध गर्न तयार रहनु होला भन्ने वाक्य उल्लेख गरिएको घोडालाई छाडेका थिए । धेरै राजाहरूले राजा सगरको आधिपत्यलाई स्वीकार्दै गए । अश्वमेघ यज्ञको सङ्ख्या पनि सय पुग्न लागेको थियो । यस्तो अवस्थामा स्वर्गका तत्कालीन देवराज इन्द्रलाई डर लाग्यो । किनभने, त्यतिखेर कसैले पनि सयवटा अश्वमेघ यज्ञ पूरा गरेमा त्यो देवराज बन्नको लागि योग्य ठानिन्थ्यो । देवराज इन्द्रलाई आफ्नो सत्ता गुम्ने डर भयो ! त्यसैले देवराजले गोप्यरूपले राजा सगरका अश्वमेघ यज्ञमा छाडेको घोडालाई पक्री कपिलमुनिको आश्रममा लगी त्यही बाँधिदिए । राजा सगरका साठी हजारको विशाल सेनाले उक्त घोडा खोज्दै जाँदा कपिलमुनिको आश्रममा भेटाउँदा, मुनिले घोडा चोरेको समातेको ठानेर तपस्यामा लीन भइबसेका कपिलमुनिलाई मार्न खोज्दा मुनि अति क्रुद्ध भई आफ्नो आँखाबाट आगोको ज्वाला निकाली ती सबै सेनालाई नै भष्म गरिदिए । तिनीहरू सबैलाई मोक्ष दिलाउन र खरानीको थुप्रो सफा गर्न त्यतिबेला पृथ्वीमा पर्याप्त पानी थिएन । त्यो समयमा गङ्गा नदी पृथ्वीमा नभई स्वर्गमा बस्दै आएको थियो । मृत राजकुमारहरूको खरानी सेचन गर्न, सफा गर्न र उनीहरूलाई मुक्ति दिलाउन गङ्गा नदीलाई धर्तीमा अवतरण गर्न आवश्यक भयो । त्यसको लागि राजा सगरले आफ्नी अर्की पत्नीतर्फका छोरा अंशुमानलाई स्वर्गबाट गङ्गा नदीलाई धर्तीमा ल्याउन आदेश दिए । अंशुमानले त्यसको लागि धेरै प्रयत्न गरे तर सफल भएन । त्यसपछि सगर राजाका नाति पनातिहरूको पालामा प्रयत्न गर्ने क्रममा राजा दिलिपले पनि सफलता पाएनन् । त्यसपछि राजा दिलिपको मृत्युपछि राजा भएका उनका छोरा भगीरथ आफ्ना पिता पुर्खाले गर्न नसकेका कार्य र पुर्खालाई मोक्ष दिलाउन स्वर्गबाट गङ्गा नदीलाई धर्तीमा अवतरण गर्न गराउन के कस्तो गर्नुपर्ने हो सो कार्यमा एकचित भई लागे ।
राजा भगीरथ गङ्गालाई पृथ्वीमा अवतरण गराउनको लागि गङ्गालाई खुसी पार्न उनको तपस्यामा लीन भए । धेरै वर्ष तपस्या गरेपछि त्यसबाट खुसी भई राजा भगीरथलाई दर्शन दिन गङ्गा बाध्य भइन् । राजाले गङ्गालाई पृथ्वीमा अवतरित हुन अनुरोध गरेपछि नकार्न पनि सकेन, सकार्न पनि चाहेकी थिइनन् गङ्गा । त्यसैले, गङ्गाले एउटा बहाना गरिन् । आफू स्वर्गबाट पृथ्वीमा झर्दा पृथ्वीमा नदीको वेग अत्यधिक हुने र त्यसलाई कसैले ठाम्न सक्छ ? भन्ने प्रश्न भगीरथ राजासामु राखिन् । अब राजालाई फसाद प¥यो । समस्या केबल शिवले मात्र समाधान गर्न सक्ला भनी उनी फेरि महादेवलाई खुसी पार्न उनको तपस्यामा वर्षाैँ लागे । अन्ततः महादेव खुसी भएर गङ्गाका वेगलाई आफ्नो जरामा ठामिदिन राजी भए । त्यसपछि मात्र गङ्गाको अवतरण पृथ्वीमा भयो । गङ्गा अति घमण्डी भएकीले त्यो तोड्न शिवले धेरै समयसम्म आफ्नो जराभित्रै लुकाई गङ्गालाई अलमल्याएका थिए । पछि फेरि राजा भगीरथकै अनुरोधमा आफ्नो जरा निचोरेर गङ्गालाई निकालिदिए । तर, अझै पनि गङ्गाको चञ्चलता रोकिएन । स्वच्छन्दरूपले यताउति उधुम मच्चाउन बाढी, कटान, बगान आदि गर्न थाले । सर्वसाधारण उनको कृत्यलाई सहन बाध्य थिए । गङ्गा नदीले ऋषिको पूजा सामग्री र अन्य सामानहरू बगाउन थालेपछि ऋषिले पूरा गङ्गा नदी नै पिइदिए । अब फेरि राजा भगीरथलाई समस्या भयो । उनी फेरि दौडिएर ऋषि आश्रयमा पुगे । उनलाई अनुनय विनय गरेर खुसी पारी ऋषिले आफ्नो घुँडा चिरेर गङ्गा नदीलाई निकालिदिए । अब बल्ल गङ्गा नदीको सेखी पनि झ¥यो र बिस्तारै बहन थाल्यो । आफ्ना पुख्र्याैली सगर राजाका साठी हजार पुत्रहरूको सेनाको खरानीको थुप्रोलाई कपिलमुनिको आश्रमबाट गङ्गा नदीद्वारा सेचन गरी वा बगाई आफ्ना पुर्खालाई मुक्ति दिलाउन र आश्रमस्थल सफा सुग्घर राख्न राजा भगीरथ सफल भए । यतिमात्र हैन यही घटनापश्चात् सारा पृथ्वी र पृथ्वीवासी गङ्गा नदीद्वारा सिञ्चित हुन पाए । पृथ्वीमा पानीको समस्या रहेन । फलस्वरूप राजा भगीरथको प्रयासले गर्दा पृथ्वीमा पानीको समस्या त¥यो र सबैले पानी प्रयोग गर्न पाए । सबैको जीवनमा जीवन्तता रह्यो । पानीको महत्वबारे यहाँ भनिरहन नपर्ला !
राजा भगीरथ र उनको सफलतासम्बन्धी यो एउटा पौराणिक कथामात्र हो । यसमा सत्यतथ्य वैज्ञानिकता खोज्नुभन्दा पनि यस कथाबाट हामीले के शिक्षा पाउन सकिन्छ ? यसलाई कसरी बुझ्नुपर्छ ? हामीले सोच्नु र बुझ्नुपर्ने कुरा यही नै हो । आफ्नो उद्देश्य परिपूर्तिको लागि, आफ्नो कर्ममा सिद्धि प्राप्तिको लागि जस्तोसुकै कठिन अवस्थामा समस्या आदि परे पनि त्यससित डटेर सामना गर्नुपर्दछ, बिचलित हुने होइन । प्रयत्न गरे सकिन्छ । यो कथाको सार पनि यही नै हो । सामन्ती एवम् पुँजीवादी समाज, वर्गीय शोषण, सामाजिक असमानता, विदेशी हस्तक्षेप तथा शासकवर्गको अकर्मण्यता र आफ्नो देशको सम्भाव्यताबारे जनतालाई बोध गराउँदै उनीहरूलाई सचेत पार्दै जनसङ्घर्ष गर्नु आवश्यक छ । विकृतिहरूको विरुद्धमा आन्दोलन गरी समाजवाद हुँदै साम्यवादी समाजमा पुग्न किसान, मजदुर, गरिखाने, देशभक्त, बुद्धिजीवी, साहुमहाजन एवम् सम्पूर्ण जनता आफ्नो उद्देश्यपूर्ति नभएसम्म लागि रहनुपर्छ र त्यसो गरेमा आफ्नो उद्देश्य सफल हुन्छ । राजा भगीरथको पौराणिक कथाबाट हामीले ग्रहण गर्नुपर्ने सार तत्व यही हो ।
कुनै पनि सत्कार्य प्रायः सजिलै सम्पन्न गर्न गा¥है पर्दछ । त्यसमा बिघ्नबाधा त आइरहन्छ । तर, सफल पार्न लागिपर्नुपर्दछ । राजा भगीरथले हामीमा लगाएको गुणलाई सम्झेर नै होला वा आभार व्यक्त गर्न र त्यसरी नै लागिरहन प्रेरणा दिनको लागि हाम्रा पुर्खाले बनाएका ढुङ्गेधारा र जलद्रोणीहरूको मुक्ति र राजा भगीरथको प्रतिमा स्थापित गरेको हामी देख्दछौँ । त्यस्ता मूर्ति एउटामात्र रहेमा त्यो भगीरथ राजाको प्रतिमा मानिन्छ । यो पनि प्रायः मल्लकालीन केही ढुङ्गेधारा र जलद्रोणीहरूमा मात्र पाइन्छ । दुईवटा ढुङ्गेमूर्ति भएमा यक्षको प्रतिमा भनिन्छ । राजा भगीरथकै अथक प्रयत्न र सफलतालाई सम्झाउने ‘भगीरथ प्रयत्न’ भन्ने भाष्य नै बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *