मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
नेपाल र भारतजस्ता देशमा पहिले–पहिले पोषण र स्वास्थ्यको छलफलमा केवल कुपोषण र रक्तअल्पता, हैजा र पखाला समेटिन्थ्यो । अहिले अर्को समस्या पनि थपिएको छ– मोटोपन ।
मोटोपनले सिर्जना गर्ने मुटु रोगलगायतका स्वास्थ्य समस्या पहिलेजस्तो युरोप र अमेरिकाको मात्र होइन; अहिले त नेपाल, भारत, बङ्गलादेशजस्ता मुलुकका पनि साझा बनेका छन् ।
पारु श्रेष्ठ (३३ वर्षीया एक महिला) ले पनि आफ्नो तौल ७५ किलोबाट ६० किलो (१० महिना भित्र) झारेकी थिइन् । उनी विवाहअघि ५६ किलो थिइन् । अग्ली, पातली पारुको विवाहपछि खानपान र जीवनशैली बदलियो ।
एउटा बच्चा पाएपछि त झन् चाकु, घिउ, मासु, अण्डा आदिले गर्दा उनको जीउ त फैलिँदै गयो । उनका बुबा ३० वर्ष नपुदै मधुमेहले बितेका थिए । आमा र बहिनी दुवै मधुमेहको उपचार गरिरहेका छन् । मैले उनलाई भने, “पारुजी तपाईँ त होशियार हुनुपर्छ है ¤ तपाईँको परिवारमा निकै समस्या छन् । तपाईँ यसरी नै मोटाउनुभयो भने तपाईँलाई पनि ती समस्या आउन सक्छन् । तपाईँको छोरो छ । अन्तर्राष्ट्रिय संस्थामा काम गरिरहनुभएको छ । अगाडि त्यति ठुलो भविष्य छ, स्वास्थ्य नै नराम्रो भएपछि त जति काम गर्न सक्ने हो, त्यति गर्न सकिन्न । त्योबाहेक जति पैसा भए पनि तपाईँले त्यसको प्रयोग आनन्दपूर्वक गर्न पाउनुहुन्न ।”
मैले उनलाई पटक–पटक शरीरलाई ध्यान दिन र खाना कम गर्न भनेपछि एकदिन खुसी भएर उनले भनिन्, “मलाई तौल कम गराउने संस्थाले आउनु भनेको छ । उनीहरूले ४० हजार लिएर ग्यारेन्टीका साथ तौल कम गराउँछन् रे दुई हप्तामा । उनीहरूले खानेकुराको चार्ट पनि दिन्छन् रे ! केही औषधि पनि दिन्छन् रे”
पारुको खुसीलाई काट्दै मैले भनें, “पारुजी त्यसरी ग्यारेन्टीका साथ तौल कम गर्ने कुनै व्यक्ति वा संस्थाले तपाईँलाई भन्छ भने, त्यो त सोह्रै आना ठग हो । त्यस्तो कुनै औषधि छैन, जसले जादुको छडीले झैँ तपाईँको तौल कम गराओस् । फेरि त्यस्ता औषधि के–कस्ता हुन्, कसरी काम गर्छ थाहा नै नपाइकन कसरी प्रयोग गर्नुहुन्छ ?
त्यसरी औषधि प्रयोग गरेर तौल घट्ने भए त अमेरिकाका त्यतिका मानिसले घटाउँथे होलान् नि ! त्यसरी एकैचोटि तौल घटाउने क्रियालाई त्याग्नोस् र खानेकुरा कम गर्नोस् । कोदो, फापर, गहुँको च्याँख्ला आदिको प्रयोग बढी गर्नुस् । चकलेट धेरै नखानोस् र प्रमुख कुरा पानी खाने र व्यायाम गर्नुस् । त्यो ४० हजार चाहि राख्नोस् र तपाईँको तौल कम भएपछि कुनै राम्रो काममा प्रयोग गर्नुस् ।’
त्यसपछि उनले कोदो र फापर किनिन् र त्यसैलाई आफ्नो दैनिक भोजनको अङ्ग बनाइन् । हरियो तरकारी र टुसा उमारेको तरकारी अफिसमै लैजान थालिन् । बिहान उठेर व्यायाम गर्न थालिन् । दुई महिनामा उनको तौल ५ किलो कम भयो । उनको अनुहारको छालामा चमक आयो । ६ महिनामा त उनको १० किलो तौल घट्यो । पारु झन्डै बिहेअघिको जस्ती भइन् ।
“तपाईँले मेरो ४० हजार त बचाउनुभयो, साथै मलाई अत्यन्तै जीवनोपयोगी ज्ञान पनि दिनुभयो”, एकदिन उनले खुसी हुँदै भनिन् ।
धेरैलाई मोटोपनबाट छुटकारा पाउन निकै गा¥हो हुन्छ । किनभने, खाना खाएर, मज्जासँग सुतेर, तेल र मसला हालेको मासु खाएर तौल जति मज्जासँग बढ्छ त्यति नै मज्जासँग घटाउन गा¥हो हुन्छ ।
मासु र तारेको आलुका स्वाद त जिब्रोमा यसरी बसेको हुन्छ कि त्यसको अगाडि पछि हुने दुखाइ पनि बिर्सिइन्छ ।
कति जना मानिसहरू यस्तै खाना र बियरबाट हुने मोटोपनको कारणले हुने उच्च रक्तचापको कारणले ‘पक्षघात’ भएपछि पनि रक्सी, मासु, तेल हालेको खान छोड्दैनन् र वास्तवमा विस्तारै आत्महत्या गरिरहेका हुन्छन् । लोग्नेमानिसहरू मात्र होइन, महिलाहरू पनि मोटोपनले पैदा हुने समस्याले ग्रस्त हुन्छन् तर पनि जिब्रोलाई तह लगाउन सक्दैनन् ।
५२ वर्षकी शोभा (नाम परिवर्तन) जो एक पत्रकार पनि हुन् उनलाई केही दिनअघि भेट्दा उनको पेट त घ्याम्पोजस्तै भएको रहेछ । मेरो आँखा परेर होला उनले भनिन्, “हेर न नखाउँ भन्दाभन्दै कोच्याएका छन् मानिसले, त्यसैले अलि पेट बढेको छ ।”
५ फिटकी शोभा ७५ किलोग्रामकी भइछन् । उनलाई देख्दा लाग्यो, कसरी भुईंतिर हेर्छिन् होला ! चार तला माथि भ¥याङ चढ्दा त उनलाई स्वाँ–स्वाँ नै भयो । तर, पनि उनले भनिन्, “मेरो त तौल घटाउने कुनै विचार छैन । तिमीले भने जस्तो कोदो, फापर र टुसा उमारेको दिनदिनै खान गा¥हो हुन्छ मलाई ।”
उनलाई अब खानाको विषयमा कुरा गर्न छाडिसकेकी छु । किनकि जबसम्म मनैबाट तौल घटाउँछु भनेर लाग्दैन, हाम्रो भाषण र लेखले केही काम गर्दैन ।
मध्यमवर्गीय परिवारमा मात्र होइन, गाउँका मानिसमा पनि विभिन्न किसिमका जङ्कफुडले मोटोपनको समस्या बढ्न थालेको छ । यसले मानिसलाई धेरै प्रकारका समस्या देखिन्छ । स्वास्थ्य त चौपट नै हुन्छ । तर, पनि जिब्रोको स्वाद रोक्न किन नसकेको होला ?
Leave a Reply