भर्खरै :

‘बौद्ध जगत्का स्मरणीय व्यक्तिहरू’ प्रथम भाग र दोस्रो भाग पढ्दा

‘बौद्ध जगत्का स्मरणीय व्यक्तिहरू’ प्रथम भाग र दोस्रो भाग पढ्दा

‘बौद्ध जगत्का स्मरणीय व्यक्तिहरू’ प्रथम भाग र दोस्रो भाग छुट्टाछुट्टै प्रकाशन भएका दुई पुस्तकलाई एउटै पुस्तकमा सङ्ग्रहित यो पुस्तक बौद्ध धर्मका विशिष्ट व्यक्तित्वहरूको जीवनी, योगदान र स्मरणीय कार्यहरूको सँगालो हो । बुद्ध धर्मको ऐतिहासिक, धार्मिक र दार्शनिक पक्षबारे लेखिएको यो पुस्तकमा देश विदेशका विशिष्ट बौद्ध विद्वान्हरूको चर्चा गरिएको छ । पुस्तकको पहिलो भागमा १४ जना र दोस्रो भागमा १६ जना गरी ३० जना बौद्ध व्यक्तिहरूको सङ्क्षिप्त चिनारी, योगदान र प्रकाशित ग्रन्थहरूबारे लेखिएको छ । यस अर्थमा यो पुस्तक बौद्ध विद्वान्, साधक र अन्वेषकहरूको सङ्ग्रह हो भन्दा फरक पर्दैन ।
भारतको सहोरमा जन्मेका आचार्य दीपङ्कर श्रीज्ञानले तिब्बतमा बुद्ध धर्म प्रचारप्रसार गर्नमा विशेष योगदान गरे । नालन्दा विश्वविद्यालयका कुलपति भिक्षु बोधिभद्रको हातबाट श्रामणेर भएका आचार्य श्रीज्ञान विभिन्न शास्त्र त्रिपिटकका साथै तन्त्रशास्त्रको महापण्डित भए । तिब्बतमा सातौँ शताब्दीको मध्यमा सम्रात श्रङचङ गम्पोले बुद्ध धर्म भित्याएका थिए । दीपङ्कर श्रीज्ञानले धर्माेपदेशबाहेक प्रसिद्ध ग्रन्थ ‘बोधिपथ प्रदीप’ पनि रचना गरेका थिए । उनले धर्म र दर्शनसम्बन्धी ३५ वटा र तन्त्रसम्बन्धी ७० भन्दा बढी ग्रन्थ रचना गरे ।
अङ्ग्रेजहरूको शासनकालमा भारतीय संस्कृतिको उद्धार एवम् संरक्षण गरेका जनरल अलेक्जेन्डर कनिंघम सन् १८६१ मा बोधगया पुगेका थिए । भारतीय पुरातत्व सर्वेक्षण विभागका निर्देशकसमेत भएका उनले विभिन्न बौद्ध तीर्थ स्थलहरूको अन्वेषण, उत्खनन गरेर बुद्ध धर्मलाई विश्वसामु चिनाउने काम गरेका थिए ।
जर्मनीको देसाउमा जन्मेका फ्रेडरिक मैक्समुलरले लिपजिग विश्वविद्यालयमा संस्कृत भाषाको अध्ययन गरेका थिए । उनले संस्कृत नीति कथासङ्ग्रह ‘हितोपदेश’ अनुवाद गरेका थिए ।
सानै उमेरदेखि विलक्षण प्रतिभाका सर इडविन आर्नल्डले ‘द फिस्ट अफ द वेल्साज्जार’ शीर्षकको कविता लेखी ‘न्युडिगेट’ पुरस्कार पाएका थिए । उनले ‘द डेली टेलिग्राफ’ पत्रिकामा बुद्ध गयाको पवित्रता र दुर्दशाबारे लेख लेखेका थिए ।
कर्नर हेनरी स्टिल अल्कोट अमेरिकाको न्यु जर्सेमा जन्मेका थिए । उनी कृषितर्फ लागेर कृषि वैज्ञानिक पनि भए । पत्रिकामा सह–सम्पादकसमेत भएका उनी पछि सेनामा सक्रिय भए । उनले थेरवादी राष्ट्रहरूको मौलिक सिद्धान्तको प्रतिपादन गरे ।
अर्काे देशमा आफ्नो प्रभाव जमाउने अङ्ग्रेजको विरुद्धमा साथ दिन भिक्षु महावीर महास्थविर लठी, तलवार र भाला चलाउन जान्ने पहलमान थिए । उनले कुशीनगरमा मात्र होइन सारनाथमा पनि धर्मशाला बनाए ।
पूर्वीय भाषा, साहित्य र संस्कृत विषयका ज्ञाता तन पाभ्लोभिच मिनायफ रुसी निवासी हुन् । नेपालको पहिलो यात्रा गर्ने रुसी मिनायफ नेपाल विद्याका प्रवर्तक हुन् । उनले नेपालभाषाको शब्दकोश तयार गरेका थिए ।
बुद्ध धर्मका पुनरुत्थानको लहरबाट प्रभावित भएका टी डब्ल्यु रीस डाय विड्स पालि साहित्य र बौद्ध साहित्यको प्रचारप्रसार गर्ने इङ्गलैन्ड निवासी हुन् ।
पिताको नाउँमा अस्पताल खोलेर बिरामीको सेवा गर्ने मेरी एलिजावेथ फोस्तरको सहयोगले श्रीलङ्काको कैन्डीमा फोस्तर श्रामणेर विद्यालय स्थापना गरिएको थियो । विश्वमा बुद्ध धर्मको पुनर्जागरण गरेका उनले बुद्ध धर्म प्रचारको निम्ति सहयोग गरेको कारण उनलाई विश्व जगत्ले चिनेका थिए ।
धनवान भएर पनि धनको मोहमा नफस्ने धर्ममान साहु तिब्बतमा व्यापार गर्ने साहु थिए । नेपालको बुद्ध धर्म उत्थानमा उनको पनि महत्वपूर्ण योगदान रहेको छ ।
फ्रान्सका आचार्य सिलबेन लेवी संस्कृत, चिनियाँ र कुच भाषाविद् थिए । उनी नेपालको प्राचीन भाषा नेपालभाषाप्रति पनि रुचि राख्ने व्यक्ति थिए ।
बाल्यकालदेखि तीक्ष्ण र कुशाग्र बुद्धिका अनागरिक धर्मपाल बुद्धगयाको दुर्दशा देखेपछि बुद्धगया मन्दिर बौद्धहरूको हातमा लिने अभियानमा लाग्ने व्यक्ति थिए । भारतमा बुद्ध धर्म उत्थानमा उनको देन छ । उनको क्रियाकलाप देखेर बङ्गालका एक स्वतन्त्रता सेनानी विपिन चन्द्रपालले भनेका थिए, “भारतलाई बचाउने कुनै एउटा धर्म छ भने त्यो हो बुद्ध धर्म ।” धर्म प्रचारकै क्रममा उनी कलकत्तामा ५ वर्ष थुनिएका थिए ।
जर्मनीमा जन्मेका पाँल ढाल्के डाक्टरी शिक्षा हासिल गरेर होमियोप्याथिक चिकित्सातर्फ लागेका थिए । विभिन्न धर्म ग्रन्थ लेखेर पत्रपत्रिका प्रकाशन गरेर बुद्ध प्रचारमा लागेका उनले ‘बौद्ध प्रबन्धसङ्ग्रह’, ‘बौद्ध धर्म र विज्ञान’ एवम् ‘बौद्ध धर्म र मानवताको मानसिक जीवनमा त्यसको स्थान’ ग्रन्थ लेखेका थिए ।
श्रीलङ्का निवासी धर्मानन्द महास्थविरकै शिक्षाबाट प्रभावित भएर राहुल सांकृत्यायन भिक्षु भएका थिए ।
यसरी पहिलो भागमा १४ जना विभिन्न देशका बौद्ध विद्वान्, बौद्ध धर्म प्रचारक, ग्रन्थकारहरूको सङ्क्षिप्त जीवन परिचय दिइएको छ । दोस्रो भागअन्तर्गत त्यस्तै बुद्ध धर्मको प्रचारप्रसार गर्ने, बौद्ध दर्शनको विकास र विस्तार गर्ने १६ जना बौद्ध विद्वान्हरूको चर्चा गरिएको छ ।
भारतका प्राचीन बौद्ध दार्शनिक आचार्य धर्मकीर्तिको समस्त जीवन नालन्दामा अध्यापन कार्य, ग्रन्थ लेखन र शास्त्रार्थमा बितेको थियो । उनी तिब्बती सम्रात स्रङचङ गम्पोको समकालीन आचार्य थिए । आचार्य थियोडर र श्चेर्वात्स्की बौद्ध संस्कृतिका ज्ञाता, भारतीय दर्शन एवम् तिब्बती साहित्य क्षेत्रका अर्का विद्वान् हुन् । रुसी, जर्मन, फ्रेन्च र अङ्ग्रेजी भाषाका जानकार उनले जीवनपर्यन्त एक कर्मठ मनीषीको रूपमा जीवन बिताएका थिए । भारतीय विद्वान् एवम् दार्शनिक राहुल सांकृत्यायनले पनि उनलाई ‘महान् प्राच्यविद्’ मानेका थिए ।
इङ्गलैन्डमा बुद्ध धर्म उत्थानमा भिक्षु आनन्द मेत्तेøयको महत्वपूर्ण देन छ । बुद्ध र बौद्ध साहित्यसम्बन्धी पर्याप्त अध्ययन गरिसकेपछि उनी ‘आनन्द मेत्तेøय’ नामले परिचित भए ।
भारतमा जातिभेद, छुवाछुतविरुद्ध आवाज उठाउने एक भिक्षु बोधानन्द महास्थविर पनि थिए । उनले लखनउमा बुद्ध विहार निर्माण गरे ।
आचार्य धर्मानन्द कौशाम्बी पालि भाषा र साहित्यका प्रकाण्ड विद्वान् हुन् । उनले पालिभाषाको आचार्य पद पाएका थिए । भारतको सत्याग्रह आन्दोलनमा भाग लिएका उनी लेनिनग्राड पनि पुगेका थिए ।
जर्मनीका सुप्रसिद्ध भिक्षु आनातिलोक महास्थविरले ‘विशुद्धिमार्ग’ ग्रन्थको अनुवाद गरे । उनले बुद्ध धर्म अध्ययन गर्न सामुद्रिक यात्रा गरेका थिए ।
काठमाडौँका भाजुरत्न साहुलाई बुद्ध धर्ममा प्रभावित गर्ने व्यक्ति नेपालका प्रथम पत्रकार (बुद्ध धर्म र नेपालभाषाका) धर्मादित्य धर्माचार्य थिए । उनी नेपाल संस्कृतिका अनन्य भक्त थिए ।
भिक्षु ताई शू चीनमा बुद्ध धर्म प्रचार गर्नेमध्ये एक अग्रज थिए । उनी चिनियाँ विद्वान्हरू सनयात सेन आदिका समकालीन थिए । आचार्य नरेन्द्रदेव भारतीय संस्कृति, इतिहास, संस्कृत, भाषा, बुद्ध धर्म दर्शन र पालि साहित्यका अर्का विद्वान् हुन् । आचार्य नरेन्द्र देवका समविचारक र समधर्मीहरूमा राहुल सांकृत्यायन पनि एक हुन् । उनी काशी विद्यापीठका कुलपति र लखनउ विश्वविद्यालयका उपकुलपति पनि भए ।
तिब्ब्तबाट नेपालका विभिन्न स्तूपहरू दर्शन गर्न आएका क्यान्छ्या लामा (कुनसाँ लोसेल) को उपदेश सुनेर धेरै लामाहरू प्रभावित भएका थिए ।
मिस् आईबी हर्नर, भडन्त डी. शासनश्री महास्थविर, क्रिसमस हम्फ्रेले पनि विभिन्न देश र ठाउँको अध्ययन अनुसन्धान गरी कृति प्रकाशन गरेर बुद्ध धर्मको प्रचार गरेका थिए ।
धर्मादित्य धर्माचार्य आयुर्वेदिक वैद्यशास्त्रका जानकार थिए । पाटनका धर्माचार्यले ‘नेपाली बुद्धमार्गी सङ्घ’ स्थापना गरे । कलकत्तामा ‘नेपाली गुठी’ संस्था पनि उनले स्थापना गरे । उनले ‘नेपालभाषा साहित्यमा मुखपत्र’, ‘नेपालभाषा साहित्य मण्डल’, ‘नेपाली नागरिक’ आदि पत्रिका प्रकाशित गरे ।
पुस्तकमा इङ्गलैन्डका फ्रान्सिस स्टोरी बुद्ध धर्म प्रचार गर्ने उद्देश्यले सम्पूर्ण जीवन अर्पण गर्ने मनसायले बुद्धगया पुगेका थिए । त्यहाँ महाबोधि सभाका प्रमुख भिक्षु सङ्घरत्न स्थाविरक्षित दीक्षा लिई उनले ‘अनागरिक सुगतानन्द’ नामकरण गरेका थिए ।
डा. भिक्षु धर्मरक्षितको जन्म बुद्धको परिनिर्वाणस्थल कुशीनगरनजिक हतवा गाउँमा भएको थियो । उनले अशिक्षित एवम् साधनविहीन जनताको निम्ति ‘चन्द्रमणि पाठशाला’ खोलेका थिए । त्यसपछि उनले ‘महावीर मिडिल स्कूल’ र ‘बुद्ध हाइस्कूल’ पनि खोले । उनले ‘भंग भारती’, ‘बुद्ध महाप्रयाण’, ‘भक्तवर प्रल्हाद’ काव्य प्रकाशित गरे । उनले पालिभाषाको अध्ययन अध्यापन गराउन ‘पालि पाठमाला’ पुस्तक लेखे । उनी पत्रकारितामा मात्र होइन उनी प्रशासनिक क्षेत्रमा पनि लागेका थिए । उनी पालिभाषाका प्राध्यापक पनि भए ।
यसबाहेक पुस्तकमा ‘बौद्ध जगत्का स्मरणीय व्यक्तिहरू’ को आठौँ भाग र ‘बौद्ध जगत्का व्यक्तिहरू’ को प्रथम भाग पुस्तक परिचय पनि दिइएको छ । जीवनमा राहुल प्रसङ्गका केही स्मृति र दीपङ्कर विहारको सङ्क्षिप्त चर्चा गरिएको छ ।
पुस्तकका लेखक रत्नसुन्दर शाक्य र प्रकाशक भिक्षु महानाम महास्थविर र धम्म डिजिटल ललितपुरप्रति साधुवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *